खाडलालयका ज्ञानी वासिन्दालाई

- धीरकुमार श्रेष्ठ

संयोगवश एकपटक छिमेकी देशको छिमेकी राज्यको भ्रमण गर्ने अवसर मिलेको थियो । त्यहाँको धर्ती टेक्नुमात्र के थियो, विशाल–विशाल खाडलहरूले स्वागत गरिहाल्यो । तीनचार तले घरको अग्लाइ जत्राजत्रा खाडलहरू जहाँतहीँ बाटैभरि भेटिए । ठूला डाला भएका ट्रकहरू जब एउटा खाडलबाट निस्केर अर्कोमा पस्थे, त्यतिबेला लचकलचक लच्केर यतै भुइँ छोला–छोला जस्तो उतै माटो खाला–खाला जस्तो गरिहाल्थे । एक त सडक भनाउँदो बाटोको त्यस्तो अवस्था थियो भने अर्कातिर वर्षामास परेकोले लेदो हिलो चारैतिर छ्यालब्याल । बाटो हिँड्ने बटुवाहरूले माथिमाथिसम्म धोती र सारी उचालेर हिँडेको देख्दा त कोनि केलाई भन्दा देख्नेलाई लाज भने जस्तो आफ्नो आँखा आफै छोप्नपर्ने । होइन भने नराम्रो नहेर भन्नेहरूका परदेशमा राम्रो देख्नै नपाइने । एक ठाउँ होइन दुई ठाउँ होइन, जताततै यस्तै हाल देखेपछि जान्ने भइटोपलेर हालचाल सोधिहालियो, ‘होइन हौ, याँ’को सर्कार के हेरिबस्छ ? आँखा छैन कि क्या हो ? सडकको यस्तो दुरावस्था भइसक्दा पनि कानमा तेल हालेर सुतेको छ ! जनताको ज्यानको माया छैन ?’

छिमेकी देशका छिमेकी राज्यका चालक पनि छिमेकी नै थिए । प्वाक्क जवाफ दिइहाले, ‘सडक राम्रो बनायो भने त गाडीहरू स्पिडमा कुद्छन् अनि दुर्घटना बढ्छ भनी हाम्रा मुख्यमन्त्री जवाफ दिन्छन् ।’

मुखभरिको जवाफ पाएपछि अक्क न बक्क भइयो । छेउ समाऊँ छेउ छैन, टुप्पो समाऊँ टुप्पो छैन । छेउटुप्पै नभेटिने जवाफ पाएपछि नाजवाफ भइयो । चिप्लेकिराजस्तो यता समायो यतै चिप्लिने उता समायो उतै चिप्लिने जवाफ पाएपछि नाजवाफ नभई पनि सुख ! बरु नसोधेर चुपचाप बसेको भए जितिने रहेछ जस्तो भयो । बडो जान्ने भइटोपल्दा खोपिल्टामा परियो । तै–तै उम्किने दाउ त खोज्नै प¥यो । खोजियो तर तावाबाट उम्केको माछो भुङ्ग्रोमा परे जस्तै भइयो ।

‘कतै भ्रष्टाचारका कारण त जनताले यस्तो सास्ती खप्नुपरेको होइन ?’ अर्कोचोटि जान्ने भइटोपलेर जानीजानी बाघको मुखमा हात घुसारियो ।
‘भ्रष्टाचारका कारण जनताले दुःख पाउँछन् भन्ने कुरो सरासर झुट्टा हो । यो विरोधीहरूले लगाउने आरोप हो । यसमा सत्यता छैन । फेरि जनताले भ्रष्टाचारको के खाइदिएका छन् र भ्रष्टाचारले जनतासँग बदला लिने ? यस्तो तीन न तेह्रका कुरा गर्नेहरू कि त पागल हुन् कि त पागल होइनन् । भ्रष्टाचारजस्तो स्वच्छ छवि भएका नेतालाई पनि जथाभावी आरोप लाउने हो ? भन्न पायो भन्दैमा जे मन लाग्यो त्यही भन्न पाइन्छ भनेर हाम्रा मुख्यमन्त्री भन्नुहुन्छ ।’

‘अनि कोनि के–के घोटालाको आरोप लागेको छ भन्छन् नि त ?’ लरतरो हिसाबले हार मान्ने देशका वासिन्दा थिए र !

‘कस्तो वाहियात प्रश्न ! यो सबै मेरा मतदातालाई भड्काउने विपक्षीहरूको चालबाजी हो । कतै पशुपक्षीले खाने चारा पनि मान्छेले खान्छ त ! यस्तो अनर्थ पनि दुनियामा कतै हुन्छ ? बेबकुफहरू भनेर हाम्रा मुख्यमन्त्री जङ्गिनुहुन्छ । यस्तो त उहाँ सुन्नै चाहनु हुन्न ।’

त्यसदिन घाँटीमा अड्केको हाड आन्द्रामा गएर बिझाउन थाले जस्तै भयो । बित्थामा सडकको पिच उप्के जसरी कुरो उप्काए जस्तै भयो । क्यै सीप नलागेपछि मुखमा खिप लगाउँदै थान्को लागियो ।

आजभोलि छिमेकी देशको छिमेकी राज्य होइन, आफ्नै देशको आफ्नै राज्यमा भ्रमण गर्दा यस्ता सुवर्ण अवसरहरू जताततै उपलब्ध भएको देख्दा आग्राको कुरो गर्दा गाग्राको जवाफ पाइने भयले निर्भय हुन सकिएको छैन । र त चैतवैशाखमा धुलो उडोस् कि असारसाउनमा हिलो जमोस्, भेडियाधसान गर्न छाडेर कसान गर्न जानेको छैन । बरु हदै ग¥यो भने सडक हिल्याएर धान रोप्न र धूलो धुल्याएर पिठो कुट्नमा महारथ हासिल छ । अगाडि इनार पछाडि कुवाँ भइसक्दा पनि लचक–लचक र मचक–मचक मच्किन पाउँदा दसैँमा रोटेपिङ र लिङ्गेपिङ खेल्दाको जस्तो आनन्द बाह्रै मास निःशुल्क प्राप्त भइहाल्छ । कसैको पत्ती भाँच्चियोस् कि हर खुस्कियोस्; कसलाई के खाँचो परेको छ र ! ‘गडङ्डङ’ पहिरो गए जस्तो र भुइँचालो आए जस्तो प्राकृतिक अनुभव पाइला–पाइलामा गर्न पाइन्छ भने कसलाई के सरोकार सडकलाई चिल्लोचापुल्लो बनाउन ? यो युरोप–अमेरिका हो र ? युरोप–अमेरिकातिरका हरू त यस्ताको मजा लिन हाम्रामा धाउँछन् भने हामी किन उनीहरूको सिको गर्ने ? गर्नै परे छिमेकी देशको छिमेकी राज्यको सिको गरे बरु जितिन्छ । यसैमा हाम्रो भलाइ छ । किनभने हिमालयको देशलाई खाडलालयको देश बनाउन सके त्यसैलाई देखाएर अनुदान–सनुदान कोनि के–के भन्छन्; पड्काउन पाइन्छ भनेर कतै छिमेकी देशको छिमेकी राज्यका छिमेकी मुख्यमन्त्रीको सिको गरेर हाम्रा मुख्य व्यक्तिहरू भन्दै छन् कि ? प्रश्न खाडलालयका देशका ज्ञानी वासिन्दालाई ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 21 बैशाख, 2068

लेखकका अन्य रचनाहरु