खुसी के हो ?!

- रामशरण पुडासैनी

‘खुसी के हो ?’

मैले सोधेँ या मलाई सोध्यो कसैले । उत्तर पनि मैले दिएँ या मलाई दियो कसैले । उत्तरले पटक्क चित्त बुझेन मलाई । सामाजिक शाास्त्र संकायको विद्यार्थी म, साहित्यमा रुचि भएको तर व्यावसायिक पत्रकारितालाई जीविकोपार्जनको माध्यम बनाएको । साहित्यिक वा सामाजिक क्षेत्रका उत्तरहरु जटिल प्रकृतिको हुने रहेछ । प्रश्नकर्तालाई एउटै उत्तरले चित्त बुझ्न पनि सक्छ, सय उत्तरले धित नमर्न पनि सक्छ । प्रश्न एउटै हुन्छ– कुनै उत्तरले कसैलाई चित्त बुझाउन पनि सक्छ । कसैलाई फिटिक्क मन नपरिदिन सक्छ । तुरुन्तै बटम दबाएजस्तै तर्कसंगत उत्तरबाट सन्तुष्ट हुन पनि सक्छ, क्रुद्ध पनि । अथवा त्यही जवाफले त्यत्तिबेला आक्रोशित बनेको व्यक्ति पछि फर्केर पश्चाताप पनि गर्न सक्छ । म्याथम्याटिक्सजस्तो विषय नभएकाले मूर्त प्रश्नको अमूर्त उत्तर आउन सक्छ, अमूर्त प्रश्नको मूर्त जवाफ पाइन सक्छ । त्यत्तिबेला जाँचकीले ठीक भन्ने कि बेठीक, मगज रन्थनाउन सक्नु पनि एकप्रकारको बिशेषता मान्नुपर्छ ।

हत्पत्ति उत्तर जमेन खुसीको । कसैकसैले सुखी हुनु खुसी हो भने कसैले आनन्दको अर्काे नाम आँकलन गरे । राम्रो हुनु, प्रगति गर्नु, पैसा कमाउनु, इज्जत मानसम्मान बढ्नु, प्रतिष्ठा कायम राख्नु, आफन्तसँग सम्बन्ध राम्रो हुनु । नातेदार साथीभाइ आउजाउ गर्नु खुसी हुनुको प्रमाणपत्र हो भन्ने घोषणा पनि गरे । खुसी हुनु हाँसिरहनु हो भने कसैले, रुँदा पनि कति मान्छे खुसी हुन्छन् अथवा खुसीले पनि कति मान्छे रुन्छन् भन्ने तर्क अघि सारे कसैले । अझै सतही र सामन्य सिसिमको चटपटे उत्तर आयो, चटपटे स्वाभावका मान्छेको । गम्भीर ढंगले सोच्नेहरु गमेको गम्यै पनि भए । मैले खोजेजस्तो गतिलो जवाफ मिलेन। म्याथम्याटिक्सको जस्तो ठयाक्कै खुसी भनेको ..... भन्ने उत्तर आउनुपर्ने । उत्तर कसैले काट्न नसक्ने हुनुपर्ने । उत्तरदाताको उत्तरबाट निरत्तर बनून् प्र्श्नकर्ता भन्ने अभीष्ट पूरा हुन सकेन ।

कसैले खुसीलाई सन्तुष्टिको पर्याय मानेका छन् । कसैले पुस्त धन कमायो भने मान्छले खुसी आर्जन गर्न सक्छ भन्ने विश्वास राखेका छन् । मानिसका आआफना अनुभव हुन्छन्, त्यही बोल्छ । अनुभवविनाको मान्छेबोलाई फितलो हुन्छ, गतिलो हुँदैन । अनुभवले नै मानिसको अत्मविश्वासमा जराको काम गर्दोरहेछ–च्याप्प समाइराख्ने । शिक्षा पनि मानिसलाई दरिलो देखाउने काण्ड हो । तर बाँसको जस्तो खोक्रो काण्डले आत्मविश्वासी भन्दा परविश्वासी बनाउँछ । खोक्रो काण्डको रुख कुनैपनि बेला पटक्क भाँचिनसक्छ । भित्र खोक्रो बाहिर मोटो देखिनुको नियति बाँचेको छ यसले । बरु संस्कारजस्तो गतिलो शिक्षा केही हुँदोरहेनछ । व्यक्तिको विश्वास र सत्यता शिक्षामा होइन, संस्कारमा आधारित हुँदोरहछ । व्यक्तिले खोज्ने खुसी तादात्म्यता संस्कारसँग पनि जोडिन्छ । आआफ्नो पृष्ठभूमि बोकेका समाज, संस्कारका मानिसले आआफ्नै ढुङ्गले खुसीलाई परिभाषित गर्लान् । शिक्षालयमा कखरा घोकाएजस्तो खुसी घोकेर कसरी सम्भव होला ? अनुभूतिको उच्चतम अनुभूति, सन्तुष्टिको सर्वोच्च अनुभूति खुसी हो । यो त व्यक्तिपिच्छे फरक हुन्छ । ठाउँपिच्छे फरक हुन्छ । समयपिच्छे फरक हुन्छ र संस्कारपिच्छे फरक हुन्छ ।

मानिस खुसीका लागि बाँचेको छ । संसार जित्नुको मज्जा भनेको खुसी आर्जन गर्नु हो । आफ्नो खुसीका लागि संसारका सबै चिजलाई तिलाञ्जली दिने मानिसहरु छन् । आफूलाई जे गर्दा आनन्द प्राप्त हुन्छ त्यही खुसी हो भने मान्छे यहाँ जहिले पनि, जे पनि गर्न हरदम तयार रहन्छ । कति मानिसहरु अरुका खुसीका लागि बाँचेका छन् । आफ्नो लागि संसारको खुसी समाप्त पार्ने पनि मान्छे छन् । त्याग गरेर खुसी हुनभन्दा हरुको हरेर खुसी हुने ज्यास्ता छन् समाजमा। समाजमा खुसीकै लागि अपराध बढेको हुँदोरहेछ । चोरी, डँकैती, लुटपाट, अपहरण, बलात्कार, हत्या, र युद्धसम्म भएका छन्– खुसी प्राप्तिका लागि । अज्ञात खुसीका लागि अज्ञात स्थलमा, अज्ञात काम गरेर व्यक्तिहरु अज्ञात गर्तमा फस्दोरहेछ ।

तिमीजस्तो रोइरहने मेरो बानी छैन
आँसुले मुहार धोइरहने मेरो बानी छैन
दुःख मात्र जिन्दगी, सुख के हो प्रिय !
दःखकै गीत गाइरहने मेरो बानी छैन ।

लेख्न त लेखियो । त्यो पनि आत्मरतिकै लागि, स्वान्त सुखाय मानिसका लागि निकै महत्व राख्ने चिज रहेछ क्यार ! अनेकन मानिसका उपायहरु छन् जसले ऊ दुई मिनेट भए पनि खुसीमा रम्न चाहन्छ । त्यही दुई मिनेटको चरम आनन्दानुभूतिका लागि मानिस वषौँ कठोर सङ्घर्ष गर्न रमाउँछ । के पल नै सही खुसी भइदिन लाखौ प्रयास भइरहन्छ । हरेक सङघर्षका पछाडि कतैनकतै कहीँनकहीँ केहीनकेही खुसीका अंशहरु अन्तरनिहीत छन्, हुन्छन् । त्यही भगीरथ प्रयत्नमा हुन्छ मान्छे । जिन्दगीभर माजिसहरु दास बन्न तयार हुन्छ– पलीय खुसीका निम्ति । दुई मिनेट खुसीका लागि मानिस जन्मकैद कारागारबास स्विकार गर्दछ । मानिस खान्छ, पिउँछ, हिँड्छ, पोशाक लगाउँछ, पुस्तक पल्टाउँछ, कविता लेख्छ, अहोरात्र काम गर्छ, खेलकुदमा भिड्छ– मात्र खुसी प्राप्त गर्ने अभिलाषाले । खुसी पाउने लालसाले सामाजिक रुपमा हैसियत वा तह हासिल गर्न अभिप्रेरित छ हरेक । पाइलापाइलामा आशाको किरण बोकेर उद्दीप्ति खोजिरहेको छ त के त्यो खुसी प्राप्तिका लागि होइन ? सिङ्गै पृथ्वीभरका मान्छे आफ्नो इच्छाअनुकूलको खुसी प्राप्त गर्नका लागि स्वाभाव मिल्ने प्रतिस्पर्धीसँग अघोषित रुपमा म्याराथन दौड बनेर कुधिरहेछन् ।

सुख पाउनु खुसी हुनु हो, सुखको क्षणमा मानिस केही समय खुसी हुन्छ । तर सधैँ मानिसले सुख पाइरहन सक्छ, सधैँ मान्छे खुसी भइरहन भने सक्तैन । त्यही सुख मान्छेका लागि तनाव, भय, चिन्ता आदिको रुपमा रुपान्तरण हुन थाल्छ । मान्छेपिच्छे फरक हुने खुसी, एउटै मान्छेमा पनि समयपिच्छे फरकफरक भइदिनसक्छ । आकाशगंगामा उल्काजस्तो कहिलेकाहीँ आक्कलझुक्कलमा देखा पर्छ खुसी । त्यसैको बलबुतोमा अर्को खुसीको परिकल्पना गरेर मान्छे बाँचेको हुन्छ । सुखमात्र हुने भएको भए सायद मान्छे बाँच्थेन, खुसीले मान्छेलाई बँचाएको छ, बाँच्न अभिप्रेरित गराएको छ । चाहे आफ्ना लागि होस् या अरुका लागि । अरुका खुसीका लागि मान्छे आत्मदाह नै सम्म गर्न तयार हुन्छ । अनि हत्या पनि गर्न पछि पर्दैन खुसीका लागि ।

– ‘के हो खुसी ?!’

–‘सुरेन्द्रको छोरी । सुरेन्द्रको छोरीको नाम हो खुसी । ’ कसैले भन्यो–‘ हो, सुरेन्द्रले खुसीको लालसाले आफ्नो छोरीको नाम खुसी राखेको छ ।’

एउटा साथी छ, सुरेन्द्रमान । जसले छोरीको नाम जुरायो–खुसी । सुरेन्द्र र सारिका भाउजुले अपनाएको खुसी प्राप्तिको बाटो उत्तम नै हुनसक्छ । जसमा सायदै आरोहअवरोह होओस् अथवा दीर्घकाल खुसीलाई च्याप्प मुट्ठीमा कस्ने अर्को जन्तर नबनुन्जेल यो बाटोलाई भरपर्दो विकल्प मान्न सकिन्छ । तत्काललाई यो जत्तिको खुसीप्रप्तिका लागि अर्को गतिलो बाटो नहुनसक्छ । मानिस जिन्दगीभर सङ्घर्ष गरिरहँदा पनि खुसी विरलै हात पार्न सफल हुन्छ । वा पाउँदै नपाउन पनि सक्छ तर आफ्नै छोरीको नाम खुसी राखेपछि त्यसको सट्टाभर्ना बढी नै भयो, कम भएन । आनन्द अनुभूत गर्ने यो एउटा तरिका हो, नभए जिन्दगीभर मानिसले अप्राप्य त्यो खुसी खोजिरहनुपर्ने हुन्छ । सन्तुष्टिको अधार हो, सुरेन्द्र–सारिका दम्पत्तीको खुसी अन्वेषण तौरतरिका ।

म बेलाबेलामा आत्तिन्छु, खुसी अन्वेषणको गहिराईमा विनाखुसी निसास्सिइने पो हो कि ! सानो खुसीमा खुसी हुनु, सानो दुःखमा दुःखी हुनु मान्छेमनको उपज हो । थोरै निराशामा निराश हुनु, थोरै सफलतामा उत्साहित हुनु पनि त रहेछ नि ! खुसीले पागल हुँदा मान्छेले के गर्छ होला ! हास्ने, रमाउने, उफ्रने, अझ ‘सेलिबे्रट’ गर्ने चलन छ । खुसीले चरमचुलीमा पुग्दा त्यसलाई कसरी आत्मसात् गर्ने, सुग्राह्य बनाउने अथवा दीर्घअनुभूत गराउने, त्यसको तरिका खोजी गर्ने भन्ने सवाल पनि आउने गर्छ । सगरमाथीय खुसी अथवा आकाशीय खुसी आर्जन गर्नेहरुको अनुभूति ग्रहण गर्न पाइयो भने आफैँले अनुभूत गरेभन्दा कम नै सही, खुसी केही हदसम्म प्राप्त गर्न सकिएला कि । कोही पनि गायक, कलाकार, चित्रकार, कवि बाहेकको साधारण मानिसले आफूले अनुभूत गरेको विश्वको सर्वाधिक खुसीलाई कसरी फोटोकपी गरेर सुरक्षित राख्ला ! यस्तोखाले मेसिनको निर्माण गर्न सकिन्न ? जसले संसारभरका मानिसलाई खुसी तुल्याउन सकियोस् । संसारमा एउटा छुट्टै खुसी देश निर्माण गर्न सकिन्न ? जहाँ मान्छेले एकपटक त्यहाँ पुगेर खुसी प्राप्त गर्न सकोस् । भन्न त केही देशलाई खुसी त होइन, सुखी देशचाहिँ मानेका छन् तर अन्तरपीडा अभिव्यक्त हुँदा त्यो झन तनावी, भय र सङ्कट देश साबित भएका शब्दचित्र पोखिएका छन् ।

खुसी भनेको भावना हो ।

ढोका थुनेर म निबन्ध लेखिरहेको बेलामा अनूज शिव वियोगी बोल्यो । खुसीको मापन भावनाले मात्र गर्न सकिन्छ । मनसँग गाँसिएको तन्तु हो खुसी । हरेक ब्यक्तिका खुसी फरकफरक हुने गर्छ । कसैले ढिँडो खान पाउँदा खुसी हुन्छ, कोही जागिर पाँउदा । बाबुआमा बिदेश गएको छोरो घरफर्किदा खुसी हुन्छन्। तन्नेरीहरु बिहे गर्दा खुसी होलान्, एउटा बालक पहिलोपटक किताब बोकेर विद्यालय जान पाउँदा मख्ख पर्छ । कोही सिनेमा हेर्दा रमाउछन् । कोही मदिरा सेवन गर्न ज्यान फाल्छन, कसैलाई कविता लेखेपछि संसारकै शक्तिशाली हुँ जस्तो लाग्छ । कसैको मन अभावमा रहेकाहरुलाई अभावपूर्ति गराउनमा । अनेकन विचार, मन, स्वभाव भएका छन् । बालबालिकाको मुहारमा खुसी देख्दा, कैयन खुसी हुन्छन् । कोही पुस्तकालयमा पाठक देखेर अथवा बाढीमा हेलएिकाहरुलाई उद्धार गर्न पाउँदा स्वयम्सेवक औधी रमाउलान्. । सबै मानिस खुसी अपहरण गरेर आफू उत्कर्ष खुसी बाँचेका हुदैनन् ।

एकाथरि भन्छन्– मान्छे कहिल्यै खुसी हुँदैन । सधँै खुसीको पछिपछि लागिरहन्छ । भेटन उपक्रम गरिरहन्छ । समात्ने प्रयत्न गरिराख्छ । खुसीसँगको बिनाजम्काभेट उसका परिवार, नातागोता र आफन्तले गहिरो बेखुसी भेट गर्छन् । जीवनभरि गरिने÷ देखिने काम आवरण हो, गुदी त अर्कै हुन्छ । दृश्य मात्र हो मानवीय गतिविधि, परिदृश्य मात्र हो, सक्रियता अन्तर्बस्तु अलग हुन्छ । जसलाई ऊ स्वयम्बाहेक अरुले देख्न सक्दैन । किनभने अदृश्य अन्तर्शक्तिले बाँधिएको हुन्छ खुसी, जेलिएको हुन्छ भयङ्करसँग । साधनाबिना खुसी असम्भव छ ।
अर्काथरि भन्छन, खुसी नहुने मान्छे टिक्न सक्दैन । हरेक कुरामा खुसीधारण गर्नुपर्छ । विशाल संसारमा चाहेको सबै प्राप्ति हँुदैन । आफूले गर्न सक्ने र आफनो बशमा भएको भन्ने ‘प्रयास’ मात्र हो । आफूले प्रयास मात्र गर्न सकिन्छ । सफलता अर्कैको मातहतको बिषय हो । सडकजाम गरेर, बन्दहडताल गरेर, वा नाराबाजी गरेर प्राप्त हुने कुरा होइन । खुसी प्राप्तिको लागी राँके वा मसाल जुलुस गरेर हुँदैन । धर्नाबाट पनि सम्भव हँुदैन । सानोसानो प्राप्तिमा खुसी हुनुपर्छ । दङ्ग पर्नुपर्छ । फुरुङग हुनुपर्छ अनि हातमा प्याकेटका प्याकेट लडडु बोकेर बधाई ग्रहण गरिरहनु पर्छ । यसो गर्दा आफुभन्दा बाहेक अरु बढी खुसी हुन्छन् । अरु खुसी भएपछि त्यसको बृहत्तर प्रभाव आफूमा पनि पर्दछ । खुसीलाई पनि सदुपयोग गर्न जान्नु्पर्छ ।

अनेक हुन सक्छन नि खुसीका स्रोत ! मज्जाले हाँसिदिनु पर्छ । रमाइदिनु पर्छ । साथीभाइका बिहे, वर्तमान, वर्थडे आउँछ, गइदिनुपर्छ । ताली पड्काइदिनुपर्छ । आफना र अरुहरु नातेदार, इष्टमित्र, साथीभाइका छोराछोरी पास हुन्छन् । खेल जित्छन्, पुरस्कार पाउँछन । खुसी भइदिनुपर्छ । पर्वहरु आउँछन् । रमाइलो मानिदिनुपर्छ । आत्मीयहरु भ्ेटिन्छन्, आउँछन, जान्छन्, उत्साहित भइदिनुपर्छ । हाँसिदिनुपर्छ । रमाइदिनुपर्छ । बधाइ दिनुपर्छ । कदर गरिदिनुपर्छ । सम्मान गरिदिनुपर्छ, र खुसी भइदिनुपर्छ । खुसी नहुने मान्छे कहिल्यै खुसी हुन सक्दैन । खुसी उत्पादन गर्न नसक्ने मान्छे, प्रवद्र्धन गर्न नसक्ने मान्छे, कहिल्यै अजश्र खुसीको अनुभव गर्न सक्दैन– उसले फूुलको जिन्दगी गुमाएर काँडाको जिन्दगी बाँच्न पुग्छ ।

खुसी हुन त्यसभित्रै पसिदिनुपर्ने रहेछ । खुसीलाई आत्मीकरण गर्नुपर्नेरहेछ । खुसीधारण गर्न नसक्ने व्यक्ति पृथ्वी आफ्नै नाममा पास गरिदिए पनि चिन्ताग्रस्त हुन्छ । ब्रह्माण्ड सम्हाल्ने जिम्मेवारी पाए पनि दुिखत बन्छ अथवा केही नपाए झन् दुखितको दुखित नै भइराख्छ । घटनाक्रमहरु भइराख्छन्, सानोतिनो आरोहअवरोहमा लचकता देखाउनुपर्छ । ओरालो लाग्दा अनुहार खुम्चन्छ । उकालो लाग्दा अनुहार चम्कन्छ । त्यही हो नि खुसी । सम्झँदा खुसी पाइलैपिच्छे पनि भेट्न सकिन्छ । आजीवन साक्षात्कार नहुन पनि सक्छ । खुसी भनेको त खुसी नै पो रहेछ त !

हेटौँडा–९ पशुपतिनगर

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 16 बैशाख, 2068

लेखकका अन्य रचनाहरु