बन्दुकको छाया

- होमशंकर बास्तोला

ऊ त्यो बिद्रोही जो अनेकौं युद्धमा सामेल थियो । युद्ध मैदानमा भएका यावत घटनाहरुप्रति ऊ विज्ञ थियो । घाइतेका ककर्श आवाज र चीत्कारका स्वरहरु उसले राम्ररी सुनेको थियो । युद्ध लड्दालड्दै मृत्युमा विलीन हुन लागेका र जिन्दगीको भीख मागिरहेका दृष्यहरु उसले राम्ररी देखेको थियो । आफ्ना मित्रहरु आफ्नै आँखा अगाडि गोली र बारुद पिएर मृत्युवरण गरेका ह्रदयविदारक अवस्थाहरुलाई उसले नजिकबाट अवलोकन गरेको थियो । ऊ युद्धमैदानमा हुँदा आफ्नो योजना अनुसार सम्पूर्ण बिद्रोही साथीहरुलाई दुस्मनको बिरुद्धमा लड्न उत्साहित गरिरहन्थ्यो ।

उसका धेरै योजनाले सफलता पाएका भए पनि एउटा दुस्मनको क्याम्पलाई उसको योजनाअनुसार आक्रमण गर्दा सफलता पाउन सकेको थिएन । तीनचार चोटि नै उनीहरुले दुस्मनको इलाकामा धावा बोलिसकेका थिए । दुस्मनको इलाका पहाडको माथि डाँडो ठाउँमा थियो । कार्यालय र निवासमुनि खोलाको किनार र गहिरो ठाउँ भएकाले लड्न कठिन थियो । क्याम्पबाट टाढाटाढा देखिने हिमालको सुन्दर चमक देखिरहेको र पहाडमुनि कलकल बगिरहेको खोलाको सुसेली आइरहेको हुन्थ्यो । क्याम्प सुरक्षाका लागि सेन्ट्रीमा बसेको सिपाहीलाई कलकल बगिरहेको खोलाको अवाजले उसको ह्दयलाई तरङ्गित पारिरहन्थ्यो । चुक पोखेजस्तो रातको अन्धकारमा आएको कुनै आवाज उसको र क्याम्पमा रहेका फौजीहरुको कानमा ठोक्किदा उनीहरु सर्तक रहन्थे । यसरी नै उनीहरुले धेरै रात बिताएका थिए । झिसमिसमा भाले बासेको आवाज पारि गाँउमा सुनेपछि त्यो रातबाट बाँचेको आभास उनीहरुलाई हुन्थ्यो ।

ऊ जो बिद्रोही दुस्मनको क्याम्पमा पुगेर सूचना प्राप्त गर्न चाहन्थ्यो । तर उक्त कार्य र उसको यात्रा कठिन थियो । ठाउँठाउँमा दुस्मनका चेकपोष्टहरु थिए । उनीहरुले थाहा पाउने बित्तिकै ऊ पक्राउ पर्न सक्थ्यो वा मारिन सक्थ्यो । तर उसले दृढ निश्चय ग¥यो । ऊ दृढ लक्ष्य प्राप्तिका लागि ज्यानको बाजी राख्दै विभिन्न ठाउँमा रहेका प्रहरीका चेकपोष्टहरु पार गर्दै दुस्मनको क्याम्पतिर बढिरहेको थियोे । ऊ त्यसरी अघि बढ्दा साधारण भेषमा थियो । प्रहरी चेकपोष्टमा उसलाई देख्दा ऊ कुनै गाउँको वासिन्दा होला भन्ने सोचेर प्रहरीले छाडिदिइरहेको थियो । जीवनमा उसले विभिन्न किसिमका अनुभवहरु हासिल गरेको थियो । वर्तमानमा उसको लामो भूमिगत जीवनको अनुभव थियो । गाउँमा गाइबाख्रा चराउँदा र कतै फिर्काउँदा ढुङ्गा हानेर फिर्काउने र लठ्ठीले खेद्ने गरेको अनुभव भए पनि ऊ बिद्रोहीमा सामेल भएपछि बन्दुक बोक्न जानेको थियो । बन्दुक पड्काउन जानेको थियो । ऊ खानेपानीका फलामका पाईँपहरुमा बारुद तथा बिस्फोटक पदार्थहरु हालेर बम बनाउँथ्यो । उसले पार्टीको निर्देशनमा धेरै ठाउँमा बम बिस्फोटन गराएको थियो । उसले गरेको विस्फोटनमा जेजस्तो क्षति भए पनि ऊ एकपटक अलि दुःखी भएको थियो । उसले बिछ्याएको बारुदमा परेर हलो जोत्दै गरेको धने माइलो र एकहल गोरु ठहरै भएका थिए । गोरुको मायाभन्दा उसलाई धने माइलाको धेरै माया लागेको थियो । धने माइलो गाउँको गरिब थियो । उसको एउटा सानो छाप्रो थियो । वर्षायाम्मा पानी पर्दा उसको चुल्हो हिलै हुन्थ्यो । उसको परिवारमा कोही थिएन । गतवर्ष मेलाबाट फर्केदै गर्दा उसकी श्रीमती बर्बाेटेको पहिरोले किचेर ठहरै भएकी थिई । त्यसले ऊ धेरै दुःखी भएको थियो । उसकी स्वास्नी मरेको दुई महिना अगाडि डाँडघरे महाजन मर्दा खोलामा मान्छेहरुको अटिनअटि उपस्थिति थियो । तर उसकी श्रीमतीको मलामीमा वीस जना मान्छे पुग्न हम्मेहम्मे परेको थियो । त्यस पहिरोमा परेर मृत्यु भएका र आर्थिक सहायता माग्न सदरमुकाम पुग्नेहरुले प्रशासनबाट केही राहत पाए भन्ने उसले सुनेको थियो । ऊ सदरमुकाम पुग्न समेत पैसा नभएको कारण उसले दैविप्रकोप सहायता पाउने कुरै थिएन । एकदिन मालिकको खेत जोतेर फर्कदै गर्दा धने माइलोसँग उसको भेट भएको थियो । ‘बाबु ! सहरबाट कहिले आउनुभो ? साँच्ची ! बाबु त सहरबाटै आन्दोलनमा लाग्नुभो रे नि ? हामी गरिबहरुका लागि तपाईहरुले आन्दोलन गरेको रे ! हो बाबु ?’ धने माइलाले उसलाई प्रश्न गरेको थियो । ‘हो दाइ ! हामी यी सामन्तीहरुको बिरुद्धमा लडिरहेका छौं । तपाईहरुले हामीलाई साथ दिनुपर्छ ।’ उसले उसको साथ मागेको थियो । ‘अर्काको नजोती खान पाइने होइन । हामी गरिबको जिन्दगी हलो कोदालोमा बित्छ ।’ धने माइलोले हातले निधारको पसिना पुछ्दै हरिसले भुइँमा टेकेर ढड्याएको हलो काँधमा हालेर उक्कालो लागेको थियो । धने माइलाले लगाएको कपडा र उसको अवस्था देखेर उसलाई दया लागेको थियो ।

केही दिनपछि धने माइलो बिस्फोटनमा परेर मरेको सूचनाले उसको ह्दयमा अलिकति पीडा भएको थियो । ‘हामी गरिब र शोषित जनताको पक्षमा लडिरहेका छौं, तर हाम्रो निशाना उनीहरु नै किन बनिरहेका छन् ? छ्या ! निर्दोश मान्छेको सफाया गर्नु हाम्रो भूल हो । त्यसर्थ युद्धको चपेटामा परेका ती निर्दोश आमाहरु, बच्चाहरु, वृद्धहरु र आमनागरिक मारिएकोमा उनीहरुका आफन्तसँग क्षमा माग्नै पर्छ । नत्र इतिहासले हामीलाई धिक्कार्ने छ ।’ उसले यस्तै सोचेको थियो त्यतिखेर ।

ऊ अझै भूमिगत थियो र उसको रेकर्ड प्रत्येक चौकीहरुमा पु¥याइएको थियो । ऊ भूमिगत हुँदा उसको नाम भूमिगत थियो । प्रहरीले उसको फोटो प्राप्त गरेर त्यसैको आधारमा पक्रने योजना बनाएको थियो । प्रहरीले जारी गरेको पक्राउ गर्ने लिष्टमा उसको भूमिगत नाम भए पनि सक्कली नाम र फोटो फेला पार्न सकेको थिएन । त्यसर्थ पुलिसले पक्राउ गर्न नसके पनि केही रेकर्डहरु प्राप्त गरेको थियो । शङ्कास्पद व्यक्तिहरुको नाम लिष्टमा उसको पनि नाम आर्मीक्याम्प, सुरक्षाकर्मीहरुको क्याम्प र सम्पूर्ण प्रहरी चौकीहरुमा पु¥याइएको थियो । तर ऊ आफ्नो चलाखी प्रदर्शन गर्दै र प्रहरीपोष्टहरु पार गर्दै सैनिक क्याम्प नजिक पुग्यो । ऊ क्याम्प अगाडि हिँडिरहँदा बर्दी लगाएको र कुममा विभिन्न चिन्ह भएको एउटा अग्लोअग्लो मान्छे उसले देख्यो । ऊ झस्कियो । ‘ओ ! मित्र कता ? धेरै दिनपछि भेट भयो नि ?’ उसले आश्चर्य मान्दै ऊसँग हात मिलायो । ‘मित्र ! म पारि गाउँमा हिडेको, त्यहाँ आफ्नो मान्छेलाई भेट्नु थियो ?’ उसले शङ्का मेटाउने प्रयास ग¥यो । ऊ उसको विद्यार्थीकालको मिल्ने साथी थियो । विद्यार्थीकालको पढाइमा ऊभन्दा बढी जान्ने भएकाले उसलाई धेरै सहयोग गरेको थियो । मेजरले उसलाई त्यही बस्ने आग्रह गर्दै भन्यो ‘मित्र के गर्दे हुनुहन्छ ? आज यतै बसौं । धेरै भयो हाम्रो भेट नभएको पनि ।’ उसले त्यहाँ बस्ने आग्रह गर्दा नगर्दै ऊ त्यो क्याम्पको प्रमुख हो भन्ने थाहा पाइसकेको थियो । अब उसलाई ढुङ्गा खोज्दा देउता मिलेझैं भयो । ‘हुन्छ नि ! धेरै भयो भेट नभएको पनि ? तपाईसँग भेट गर्ने धेरै प्रयास गरेको थिएँ तर आजसम्म सम्भव भएको थिएन । तपाई मेजर हुनुभो भन्ने सुनेको त थिएँ तर बधाईसम्म दिन पाएको थिइनँ । आज अकस्मात भेट भयो । ईश्वरले पनि जुराएरै आज भेट गराएजस्तो लागिरहेछ ।’ उसले उसको मन जित्न अनेक बढाइचढाइ ग¥यो । ऊ उसको विश्वासपात्र बनेर क्याम्पमा छिर्न चाइरहेको थियो । विद्यार्थीकालमा ऊ जति नजिक थियो, त्यत्ति नै ऊ नजिक हुन चाहन्थ्यो । उसले उसलाई भेटेर सजिलो महसुुस गरेको बतायो । धेरैपछि मित्रसँग भएको भेटको खुसियालीमा खाइपियाइको राम्रो व्यवस्था मिलाएको थियो । ऊ पिउने भए पनि मित्रको आग्रहलाई नकार्न नसकेर थोरै पियो र मातेको अभिनय ग¥यो । उनीहरु त्यहाँ पिइरहँदा त्यस क्याम्पको सुरक्षालगायतका कुराहरु र कमजोरीहरुका बारेमा ऊ जानकारी लिइरहेको थियो । उसले मित्रलाई क्याम्पभित्रका सम्पूर्ण गतिविधि बतायो । उसले क्याम्पकोे अवलोकन गर्ने आग्रह ग¥यो । अवलोकन गराउन पहिले त ऊ मानेको थिएन तर उसले धेरै ढिपी गरेकाले सम्पूर्ण क्याम्प उसले देखायो । ऊ क्याम्पभित्रको विभिन्न ठाउँमा पुग्दा सिपाहीहरुद्वारा सम्मान पाइरहेको थियो । उसले बिद्रोहीले आक्रमण गर्न सक्ने स्थिति र क्याम्पको कमजोरीका बारेमा सोध्दा ऊ विश्वास गरेर बताइरहेको थियो । भूमिगत मित्रले पहिले नै सरकारी कार्यालयको केन्द्रीय कार्यालयमा काम गरिरहेको बताइसकेको थियो । ऊ सरकारी कर्मचारी हो भन्ने सोचेर र पुरानो मित्र सम्झेर युद्ध कौशलता, बिद्रोहीसँग बच्न, भिड्न प्रयोग गर्ने योजनाको बारेमा बताइरहेको थियो । उसले हरेक सिपाही रातमा हुनसक्ने भीषण भिडन्तका लागि तयार रहेका र प्रत्येक सिपाही र अफिसरहरु बन्दुकको नालमा जीवन राखेर रात काटिरहेको बतायो । उसले यी कुरा भन्दा ऊ मौन थियो । मेजरले बिद्रोहीहरुको विरोध गरिरहँदा ऊ हो हो भनेर बाहिरबाहिर सही थापिरहेको भए पनि भित्रभित्रै बलिरहेको थियो । ‘सुरक्षाकर्मीहरुले पनि जनतालाई विनासित्तिमा दुःख दिइरहेछन् भन्ने सुनिन्छ त ? बिद्रोहीहरु पनि जनताको मुक्तिका लागि लडिरहेकाछौं भन्छन् नि ?’ उसले उसलाई व्याङ्गे प्रहार ग¥यो । ‘सोच्नोस् मित्र । उनीहरु केका लागि युद्ध गरिरहेका छन् ? गरिब जनताको मुक्तिका लागि लडिरहेका छौं भन्छन् तर एकछाक खान नपुग्ने र हलो जोतिरहेका हलीको टाउकोमा बम राखेर हली र गोरु मार्छन् । पैसा हुने र गाउँमा शोषण गर्नेहरु सदरमुकामको सुरक्षाघेराभित्र बसिरहेका छन् । हामी भने उनीहरुको जीवन सुरक्षा गर्न आफ्नो जीवन बन्दुकको नालमा बिछ्याएर रात काटिरहेका छौं । साँच्ची पारि गाउँमा हलो जोत्ताजोत्तै एकजना कृषक बम बिस्फोटन भएर मरेछ । मित्र भन्नुहोस् उसको के दोष थियो ? बिद्रोही मित्रहरुको के बिगारेको थियो ? ऊ त त्यस गाउँको जमिन्दारको हली थियो । उसको घर पनि गोठ भन्न लाएकको थिएन । यही हो जनताको युद्ध !’ मेजरले त्यसो भनिरहँदा धने माइलो मारिएको उसलाई याद आयो । तर ऊ केही नबोली मेजरको भनाइलाई समर्थन गर्दे उसका कुरा सुनिरहेको थियो ।

‘मित्र तपाई त शहरमा बस्नु हुन्छ । यहाँ गाउँमा जनताले कति दःुख पाएका छन् त्यो तपाईलाई थाहा छैन होला । हामीले पनि जनतालाई दुःख दियौ होला । हामीले गल्ति गरेका छैनौं र हामीद्वारा जनता पीडित भएका छैनन् भन्न म चाहन्न । युद्धकालमा बिद्रोहीलाई सेवा दिएको र सहयोग गरेको निहुमा नागरिकहरु मारिएका वा पक्राउ परेका अवस्य छन् । त्यसमा कति दोषी र कति निर्दोश व्यक्ति परेका होलान् तर बिद्रोही मित्रहरुले जनतालाई गरेको पीडा कसले बुभ्mछ ? हो हामीहरु उनीहरुसँग लड्न र युद्ध गर्न चाहन्नांै तर सरकारले लगाएपछि हामीले गर्नैपर्छ । हामी आफ्नै मित्रहरुसँग लडिरहेका छौ । आफ्नै दाजुभाइहरुसँग लडिरहेका छौ । नेपालीसँग नेपाली लडिरहेका छौ । आखिर मित्र भन्नोस् ! हामीले युद्ध गरेर के पाउँछौं । पीडा, चीत्कार, भग्नावशेष, गरिबी, जर्जरता, कुरुपता । हिजोको त्यो सुन्दरशान्त देश आज आगोमा बलिरहेछ । हामीले युद्धमैदानमा लडेर जिते वा हारे पनि हाम्रो जित वा हार हँुदैन । माथि केन्द्रमा बसेर शासन गर्ने व्यक्तिहरुको जित हुन्छ । हामी भने युद्धमैदानमा बन्दुक सिरानी हालेर अनिदो रात काट्नु पर्छ । बिद्रोही मित्रहरु पनि यो कुरा किन बुभ्mदैनन् ? बन्दुकको बलले कहांँ सत्ता प्राप्त भएको छ र ? यदि उनीहरु जनताकै लागि लडिरहेका छन् भने जनताको विश्वास जित्नु पर्छ । बन्दुक लिएर मात्रै लड्नु पर्छ र जितिन्छ भने कुरा दिवासप्ना हो । उनीहरु सत्ता प्राप्त गर्न खोज्छन् भने चुनावमा गएर सरकारमा आए भैहाल्यो नि ! हाम्रो कार्य सरकारले दिएको निर्देशन पालना गर्नु हो । उनीहरु भोलि सत्तामा आएर हामीलाई जे आदेश दिन्छन् । त्यो हामीले मान्नै पर्छ । आज हामीबीच लड्नु नेपालीले नेपालीलाई मार्नु बाहेक अरु केही उपलब्धि हुँदैन ।’ उसले युद्धकालको भयावहता र अनाहकमा निर्दोश व्यक्तिहरु, बिद्रोहीहरु, आफ्ना समकालीन मित्रहरु, आफ्नै दाजुभाइहरु, देशका नागरिकहरु मरिएकोमा रोष प्रकट ग¥यो । मेजरले यसरी बक्दा ऊ मौन भएर सुनिरहेको थियो । रात धेरै छिपिसकेकाले मेजरले भोलि भेटेर कुरा गर्ने आग्रह गर्दै उसलाई सुताउन पठायो ।

ऊ ओछ्यानमा गएर सोच्न थाल्यो । ‘हामी किन लडिरहेका छौं ? हामीले निर्दोष जनता, आफ्नो र परिवारको पेट भर्न बन्दुक बोक्ने सिपाहीलाई मारेर के पाउँछौं ? उनीहरुका परिवारका आँसु, पीडा, राष्ट्रको जर्जरता, हो ! हामीले पाउने यही नै हो । क्रान्ति भनेको बन्दुक बोक्नु मात्र होइन । विचार बोक्नु पनि हो । महात्मागान्धीले गरेको अहिंसाको आन्दोलन पनि क्रान्ति नै थियो । त्यही क्रान्तिले भारतमा स्वतन्त्रता स्थापित ग¥यो । हामी चाहिँ किन बन्दुक बोकिरहेका छौं ? हामी किन जनतासँग भोट मागेर सत्ता प्राप्त गर्दैनांै, किन ? जनताको एउटा भोट एउटा गोली हो । बन्दुकको गोलीभन्दा जनताको भोट कति शक्तिशाली हुन्छ ! चुनावबाट आउने अमेरिकी राष्ट्रपति कति शक्तिशाली छ ।’ उसले फेरि सोच्यो– ‘अब हामी परिवर्तन हुनैपर्छ । वर्तमान सरकारसँग निर्वाचनको माग गरेर चुनावमा जानैपर्छ र जनताको मन जित्नैपर्छ । तर त्यो निर्वाचनपछिको सरकार शक्तिशाली होस् र त्यसले जस्तोसुकै निर्णय गर्न सकोस् ।’ उसले आफ्ना दुबै हात कडा पारेर मिलायो । ऊ ओछ्यानमा ढल्कियो र निदायो । त्यस क्षणमा उसले आफ्नो बन्दुक सम्झियो । ऊ दुस्मनको क्याम्पतिर हिँड्नुभन्दा अघि उसको हातमा बन्दुक थियो । उसले त्यही हातले धेरै पटक बन्दुक पड्काएको थियो । फायरिङ गरेको थियो । उसलाई बन्दुकको अझै धङधङी थियो । उसको हातमा बन्दुक हुँदा आफूलाई ऊ निडर भएको सम्झिन्थ्यो । उसले आफ्नो हात मुठ्ठी खुलाएर हे¥यो । उसलाई हातमा बन्दुकको छाया भएको भ्रम भयो । उसले छाया मेटाउन दुबै हात घर्षण गरेर मोल्यो र टक्टक्यायो । तर उसले आफ्नो हातमा अझै बन्दुकको छाया देख्यो । ऊ झसङ्ग बिउँझियो । ऊ बिउँझदा झिसमिस भइसकेको थियो । ऊ उठ्यो र मेजरसँग बिदा नमागी क्याम्पको गेटमा आइपुग्यो । आफू हिँडेको समाचार गेटमा छाडेर ऊ फटाफट सडकबाट पूर्वतिर लाग्यो । उसको छाया क्याम्पको गटेबाट बिस्तारैबिस्तारै मधुरो हुँदै विलीन भयो ।

दुबेकोल–७, खोटाङ

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 10 बैशाख, 2068

लेखकका अन्य रचनाहरु