'समुद्र र सपना' सँग एकैछिन

- भारती गौतम

वाक्य जति छोटो छ अर्थ त्यति नै लामो छ। शव्द जति सजिलै पोखिएका छन् आयतन त्यतिनै गहनतामा गहिरिएको छ। मैले उल्लेख गरेको अनि केहि अर्थ्याउन खोजेको वाक्य मेरो कविताको शीर्षक हैन, अनि ज्ञान, धन या नाम कुन्नी के के हो थप्न मुगलान पसेको आठ वर्ष पछि अकस्मात आफ्नी प्रेयसीलाई लेखेको पत्रको अंश त यो पक्कै हैन। करीव दुई हप्ता अगाडि वसन्तको भर्खरैको तातेसंगै मुस्काउन आरम्भ गरेका पालुवा र मुनाले चिहाएको एउटा विहान मेरो हातमा परेको अझै प्रेसको गन्ध नसकिएको कथा संग्रहको नाम म उल्लेख गर्दैछु।

“समुद्र र सपना” नाम आफैमा एउटा कथाको पूर्णता हुदाहुदै पनि यो नामको घुम्टो भित्र झन्डै डेढ दर्जन सुन्दर र सरल आकर्षक कथाहरु समेटिन पुगेका छन्। मेरो यो पृष्ठभूमी भर्खरै पुस्तक वजारको बसन्तमा थपिएको एउटा फूल एउटा कथा संग्रह वारेको हो, अनि यस पुष्पकी माली अर्थात यसकी जननी संजु बजगाई रहेकी छन्। नेपाली कथा साहित्यको भवनमा यो संग्रहले एउटा वलियो ईंटा थपेको त छदैछ यसको साथै नेपाल वाहिर बस्ने स्रष्टाको सिर्जना भएको तथ्यले यो संग्रहले डायस्पोरिक साहित्याकाशको संस्थापनमाको शिलान्यास नै गरेको छ भन्नु पर्दा हिचकिचाहट भएको छैन।

मानव सभ्यताको आरम्भ र कथा को आरम्भ एकै ठांउमा राखेको खन्डमा कथानै जेठो हुन आउछ भन्दा अतिशयोक्ति हुन्छ नहोला। सभ्यताको आरम्भ हुनलाई पहिले मान्छेको सृष्टी हुनु पर्छ र भावना मान्छेको सृष्टी संगै हुन्छ। भाषा र शव्दको उत्पत्ति हुनु भन्दा पनि अघि नै एउटा मान्छेले अर्को मान्छेसंग आफ्ना भावना र समबेदनाहरु आदान प्रदान गर्ने माध्यम भेटिसकेको हुन्छ। सुख पर्दा फक्रिने मुस्कान र शोक पर्दा वर्षिने आंखा बुझ्न न भाषा चाहियो नत साहित्य नै चाहियो। मान्छेले यसैगरी आफ्ना सुखका र दु:खका अनुभवहरु, आफ्ना वावुआमाका कुरा, छोराछोरीका कुरा, त्यसैगरी वाजे बराजु , छिमेकीका कुरा गर्ने ईसाराहरु र हाउभाउहरु सभ्यता भन्दा अगाडी नै बचाईको अभिन्न अंग वनाईसकेका हुन्छन्। आजको कुरा, हिजोको कुरा, अस्तिको कुरा अनि उहिलेको कुरा यसो गर्दा गर्दै मान्छे कथा वाच्न थालेको हुन्छ। आफ्नो कथा अर्केले भन्ने, अर्काको कथा आफूले भन्ने , आफ्नै कथा आफैले भन्ने, आफूले देखेको सपनाको कुरा अर्कालाई सुनाउने, आफूले कल्पेको कल्पनाको कुरा अर्कालाई सुनाउने यस्तै यस्तै गरी शायद कथाको आरम्भ भएको हुनु पर्छ।

एकादेशमा------ भनेर आरम्भ भएर --सुन्नेलाई सुनकोमाला---यो कथा वैकुण्ठजाला—का कथाहरु म सानै छंदा मेरा काकाले सुनाउनु हुन्थ्यो। पाईडपाईपरको वांसुरी जस्तो काकाको आकर्षक र जिवन्त कथाहाल्ने प्रकृतिले गांउ भरीका केटाकेटीहरु झुम्मिदा काकाको सवैभन्दा नजीक वस्न पाउदा हिमालको टुप्पामा पुगेको अनुभव आफूलाई हुन्थ्यो। कल्पना, तर्कना अनि दिवास्वप्नले वास्तविकताका ठेस, ठेला र ठक्कर भन्दा टाढाको "युटोपिया"मा पुर्याउने भएर होला परिकथा, देवकथा, पन्चतन्त्र जस्तो नैतिक कथा र पुराणकथाहरुको लोकप्रियतामा कहिल्यै धमिरा लाग्न नसकेको। पहिले पहिले त वेद अनि धर्म र पुराणका कथाहरु विद्वानहरुले कण्ठाग्र गर्थे अरे पछि विस्तारै लिखित रुपमा पाईन थालेका मात्र रहेछन्।

सामान्यतया लिखित अनि मौलिक नेपाली कथा साहित्यको ईतिहास नै शताव्दिको हाराहारीमा भैरहेको परिस्थितिमा महिला कथाकारहरु भेट्टाउनु त वास्तवमा मरुभुमीमा ओत भेट्नु जस्तो मात्र हुनु अस्वाभाविक भएन। जन्मिनु भन्दा पहिलेदेखि मानवीय हक र हितका थुप्रै वन्द वाटाहरुले महिलालाई पहिले बावुको , पछि लोग्नेको अनि अझ पछि(सती प्रथा ब न्द भए पछी) छोराको संरक्षकत्व दिएर हिफाजतको बहानामा नियन्त्रणको नत्थी भिराईदिएको तथ्य त्यसमाथि सामान्य मान्छेको परिभाषाको झन्डै झन्डै किनारातिर हुत्तिन पुगेको महिलावर्गले आफूलाई साहित्यिक सिर्जनाको विषयवस्तु वाट सर्जक सम्म पुर्याउन थुप्रै पहाड उक्लिनु परेको ईतिहासका पानाको मसी पनि सुकेको छैन। हाम्रो परिप्रेक्षको मात्र नभएर विश्वकै साहित्यिक उन्नतिको ईतिहास पल्टाउदा पनि पुरुष को तुलनामा सयौं वर्ष लागेको छ महिला स्रष्टा जन्मिन। मुलुकको समृद्दी र सभ्यताका कदमहरुको आधारमा महिला- पुरुष विचका विषमताका कदमहरु पनि फरक पर्दा रहेछन्। ,मुलुकको समृद्दि र सभ्यताका पाईलाहरु जति अगाडी छन् त्यसै अनुरुप महिला समानता पनि अगाडी तर्फ वढ्दो रहेछ तर खरायो र कछुवाको गतिमा। सभ्यता र समृद्दी को केहि अंश मात्र महिलाको पोल्टामा पर्न गए पनि खडेरीको सफा आकाशमा कालो वादलको सानो धर्को थपिएकै हुन्छ।

भर्जीनीया उल्फ, जेन अस्टिन, एलिस वाकर, टोनी मोरिसन, माया एन्जेलो क्याथरिन म्यानसफिल्ड जस्ता लेखिकाहरु पश्चिमी साहित्यको आकाशमा चम्किन थालेको नै पनि अठारौं शताव्दीको अन्त्य र उन्नाईसौं शताव्दिको आरम्भ तिर आएर मात्र हो। त्यस्तै भारतमा सरोजिनि नायडु, अमृता प्रितम , भारती मुखर्जी आदी महिला लेखकहरुले अरु विधाको साथै कथालेखनमाआफ्नो स्थान वनाउदै गएका पाईएको परिस्थितिमा नेपालमा त धेरै पछि सम्म पनि स्वतन्त्र लेखनको नै वातावरण थिएन भने त्यसमा महिला लेखक भन्ने त निकै पछाडिको कुरा भयो। प्रतिकुल परिस्थितिका ईंटा चोईटाएर भए पनि नेपालको नारी लेखन शुन्यचाहि भएको थिएन।

घरैमा वसेर घरपरिवारको गतिविधि साहित्यको माध्यमवाट अभिव्यक्त गर्नु र परचक्रिको घरमा पाएको केहि समय उवारेर उ घर र यो घरलाई साहित्यमा समाहित गराउनु उस्तै हुदैन। आफ्नै घरवाट नेपाली कथा साहित्यको अभिवृद्दिमा योगदान गर्ने महिलाहरु देवकुमारी थापा(धेरैजसो लेखन नेपालमा), पारिजात(कर्म थलो नेपाल नै), पद्मावती सिंह, अनिता तुलाधार, सीता पाण्डे,ईन्दिरा प्रसाई, शान्ता श्रेष्ट,जलेस्वरी, वेन्जु, मन्जु, बाबा वस्नेत हिरण्य कुमारी पाठक, शुभ स्रेष्ट, भागीरथी श्रेष्ट आदी स्थापित भैसकेका छन् भने २०४६ यता अरु थुप्रै कथाकाहरु पनि थपिएका छन्। त्यस्तै कमला सांकृतायन, गोमा शर्मा, देवकुमारी थापा, चन्द्रकला नेवार, कुमारी खाती, अम्वालिका, लक्खिदेवी सुन्दास देखि विन्द्या सुव्वा, शान्ति क्षेत्री आदीले नेपाली कथा साहित्यको भवनमा नेपालवाहिरवाट दह्रा ईटाहरु थपेको पाईएको छ । राजनीतिक प्रतिकूल वातावरण भएकोवेला नेपाली साहित्य नेपाल वाहिर वढि फस्टाउने गरेको तथ्य खोज्न नेपाली साहित्यको ईतिहास पल्टाए मात्र पुग्छ।

उहिले हामीले सुन्दै आएको नेपाल वाहिरको सिमाना भारतीय उपमहाद्वीपवाट जति जति फराकिदै गयो नेपाल पनि विस्तारै फैलिदै गयो। देवकोटाको "के नेपाल सानु छ"? चरितार्थ भएको यो वर्तमान परिस्थितिमा नेपाल साच्चै ठुलो भएको छ , तन्किएको छ। वसन्तको वास्ना फैलिए जस्तो या जंगलको डढेलो फैलिए जस्तो नेपाल संसारभरी फैलिएको छ। विश्वका सवै कुनाका शहरमा नेपाल राती वास वस्छ, अनि विहान व्युझिन्छ, कतै हातका ठेला व्युझिन्छ, कतै दुखेको कम्मर व्युझिन्छ, कतै कसेको पटुकि व्युझिन्छ, कतै लागेको भुडी व्युझिन्छ, कतै मर्सिटिज र भक्सवागेन अनि टोयटा केम्री कार व्युझिन्छ कतै महिनौको वेकार व्युझिन्छ, जता नेपाल व्युझिन्छ एउटा भावना व्युझिन्छ। कतै आंखा वगाएर कतै आंखा सुकाएर , कतै मन पगालेर, कतै मन फटाएर संसारको कुनाकुनामा नेपाल भावना वाट व्युझिन्छ। त्यहि भावनाका निकासहरु कागजमा पोखिदा सिर्जना बन्छ। त्यस्तो सिर्जना डायस्पोरिक परिभाषामा परिभाषित भएर आफ्नो घरको लागि समेत वाहिरको गन्ध भएको स्वादिस्ट खाना वन्छ।संजु वजगाईको सिर्जनाको प्रस्तुत कथा संग्रह "समुद्र र सपना" नेपाल वाहिरको मसलामा स्वादिस्ट नेपाली तरकारी भएको छ।

"लेखनको सिलसिलाले लामै समय लियो। त्यहि समयावधिमा भेटेका,भोगेका, सुनेका, पढेका, सुखद्, दुखद् विभिन्न खाले प्रसंगहरुले झक्झक्याएर लेखनलाई अघि वढाउन प्रेरित गरिरहे"।
संजु बजगाईको उक्त अभिव्यक्तिले नै उनको कथासंग्रह "समुद्र र सपना" भित्रका सवै कथाहरुवारेको चिनारी दिईसकेको छ। साहित्य समाजको दर्पण हो, भनेर उहिले सुनेको कथनलाई अहिले परिभाषित र केहि परिमार्जित गर्नु पर्दा साहित्य मानसपटलमा कुदिएको भावनासंग भौतिक अनुभूतिको संगम शायद साहित्य हुन सक्ला। उहिले जस्तो सवै साहित्यकार एउटै सामाजिक परिस्थितिका सन्तान नभएर आफ्नो मानसपटलसंग आ-आफू उभिएको सामाजिक अनुभूतिको परिवेशको विविधताले साहित्यलाई समाजको दर्पणवाट पनि तन्काएको भन्न मिल्छ। एक भन्दा वढी समाजको दर्पण साहित्य हुन पुगेको यो परिप्रेक्षमा संजु वजगाईको "समुद्र र सपना" सहि अर्थमा डायस्पोरिक रचना भन्न हिचकिचाउनु पर्दैन। घरमा वसेर परदेशको कल्पना गर्नु या परदेशमा भौतिक रुपमा रहे पनि भावनात्मक रुपले घर छोड्न नसकेर आफ्नो वरीपरीको यथार्थनै देख्‌न नसकिने गरी घर संझिएर वरपिपल, देउराली, एकान्ते कुवा, या छर्छरे वारी संझिएर रचिएका रचना भन्दा यो रचनाले वास्तवीकता र भावनात्मकतालाई एकाकार पारेको छ। यो अर्थमा परदेशको गमलामा फुलेको सुन्दर नेपाली गुरांस भने पनि हुन्छ।

"समुद्र र सपना"लाई दशवटा नामले बुझिने विद्याकी देवी सरस्वती भने जस्तै यसमा समाविष्ट झन्डै डेढ दर्जन कथा र तीनका शीर्षकलाई परिभाषित गरेर एउटै शव्दमा भन्नु पर्दा "नारी" या महिला भन्न मन लाग्छ। नारीलाई चारैतिर वाट बुझ्न र पढ्न अनि अनुभव गर्न यी सवै कथाले उत्तिकै योगदान पुर्याउनछन्। यी कथाहरु नेपालका नारीको कथा, नेपाल वाहिरका र वाहिरैका नारीको कथा, नेपाल वाहिरका तर नेपाली नारीको कथा, शिक्षित नारीको कथा, अशिक्षित नारीको कथा, परम्परावादी नारीको कथा, आधुनिक नारीको कथा, नारीवादी नारीको कथा, संकुचित नारीको कथा, नारीको शरीरको ब्यथाको कथा, नारीको मनको व्यथाको कथा, कलीला नारीको कथा, वैंशालु नारीको कथा, अलिक पाका नारीको कथा अनि यन्त्र नारीको कथाहो। कथा समष्टीमा एउटी नारीको विभिन्न व्यक्तित्वको कथा भने पनि हुन्छ अनि वेग्ला वेग्लै व्यक्तित्वका नारीको एउटै व्यक्तित्वको कथा भने पनि हुन्छ।

"म पहिले एउटा लेखक हुं अनि मात्र एक नारी हुं" भनेर प्रसिद्द अमेरिकी लेखिका क्याथरिन म्यानसफिल्ड ले भने जस्तै समुद्र र सपना की कथाकार संजु बजगाई भने कहिं पहिले नारी अनि कथाकार र कतै पहिले कथाकार अनि नारी रहेकी छन्।

नारीका व्यक्तित्वहरुको कथा हो भनेर मात्र "समुद्र र सपना" प्रति न्याय हुन सक्तैन, यसमा स्थानिय समाजको अरु पक्ष पनि प्रसस्त भेटिन्छ। त्यसैले यो कथा संग्रहको सानो चिरफारको सहयोगले यसको पुष्टी खोज्नु पर्ला कि?

"समुद्र र सपना"कथा संग्रहका कथाहरुलाई क्रमश केलाउदा पनि हरेकले वेग्ला वेग्लै रुपले नारीको नाडी छाम्न सफल भएका देखिन्छन्।

"समुद्र र सपना" कथामा उमेरको डाडा माथि पुग्नलागेकि कान्छिआमा अधवैंसे पति की दोस्री पत्नीको भुमिकामा चुर्लुम्म डुवेर वर्षेनीका छोराछोरी संग रित्तिएको आफ्नो वैंश, अनि आदर्श र परम्परागत मान्यता अन्तर्गत पालना गर्नु पर्ने कर्तव्यको धुलोले पत्रैपत्र छोपिएका आफ्ना रहरहरु र सपनाहरु समुद्री लहरले उदांगिन पुगेको बिडम्वना प्रस्तुत गरिएको छ। जग्गेमा संगै वसेपछि पहिलो पटक देखेका मान्छेलाई आफ्नो भविष्य स्विकार्दै त्यो मान्छेको वरीपरीको जीवनलाई नियती मान्न पुगेका कान्छिआमाहरु आफ्ना रहर र आकांक्षाका ओछ्यानमा निदाएर समुद्रको छेउमा आएर व्युझिन पुगेको तथ्य सरल र रोचक ढंगले प्रस्तुत गरिएको छ। त्यसैगरी "सप्तकोशीको किनार वाट" शीर्षक कथामा हाम्रो समाजका मनुदेवीहरु आफ्नो गांस र कपास (लुगाफाटो)काटेर, अनि विदेशिएको लोग्नेको अभाव अंगालेर भोलिको स्थीर शुरक्षित भविष्य जोगाउन लिलाम गरेको वर्तमानले निलिएका हुन्छन् अनि यसैपनि आफू मरिसकेको वर्तमानवाट सधैंको लागि विलाउदा आफ्नो सडेको शरीरका अवयवहरु पनि निमिट्यान्न हुन नपाउदै आफ्नो भागको ओछ्यान भरपुर हुन्छ पतिको दोस्रो बिहेले। छोराछोरीका आंखावाट आमाको अभाव सुकेको सुक्नु अगाडी मनुदेवीको सट्टा भित्रिईसकेको हुन्छ।, पुरुष प्रधान समाजको सत्य यस्तै छ।

"ईर्षा", "सम्बन्धको दूरी", "अर्को मोड", र "आत्महत्याको शृंखला"मा हाम्रो सामाजिक परिस्थितिले र आफ्नो आधा अंग मानिएका पुरुषले समेत कदर नगरिएको र कदर गर्न आवश्यक नठानिएको नारी भावनाको खाडल गहिरिदै गएर बाहिर हेर्दा सग्लो तर भित्र भित्र बिग्रिसकेको फल जस्तै देखिने भावनात्मक भोकले व्याकुल नारीहरुको मनोविज्ञानको विश्लेषण गरेको छ। सवै दृष्टीले सहि देखिएको पारिवारिक तस्वीर भित्रका विरोधाभास यथार्थलाई मनोवैज्ञानिक ढंगले उतार्न खोजिएको छ। "सम्बन्धको दूरी" र "अर्को मोड" मा भावनात्मक निकटताको अभावले टाढिन गएको दाम्पत्य जीवनले भावनात्मक भोकको रनाहा मेट्न नारीद्वारा चालिएका शाहसी र क्रान्तिकारी कदम उल्लेख गरिएको छ। आफूसंग मन मिल्ने मान्छेसंग भन्दा हाम्रो समाजको बिहे धर्मसंग, परिवारसंग, परम्परासंग र समाजसंग गरिने भएकोले ती सवैको अगाडी सुखी देखिएको सम्बन्धको असन्तुष्टीले आखिर आत्महत्या सम्म पुर्याएको तथ्य आत्महत्याको शृंखलामा चलाखी साथ देखाईएको छ। सिद्दान्तमा जति आदर्श देखिए पनि व्यवहारिकतामा उहि परम्परावादी पुरुषको लाछीपना अनि त्यसको विरुद्द सकारात्मक जीवन वाच्ने शाहसी महिलाको कथा "एम्वुस" देखिन्छ।

त्यस्तै "वन्द झ्याल'", "क्रसरोड" , "फेरि उहि सपना" ले नारीका नारीवादी भन्दा अर्कै पक्ष देखाउन खोजेको भए पनि उनीहरुको चरित्रले पनि समाजले नारीको लागि लेखिदिएको भुमीका निर्वाह गर्न लाई नै बाध्य "बन्द झ्याल"कि सरस्वती र "फेरि उही सपना"की शकुन्तला हुन् भने "क्रसरोड"की पात्रले पनि नारी समवेदनशील ह्रदय र आफ्नो आर्थिक परिस्थितिको कारण क्रसरोडमा पर्नु परेको विडम्वना देखाईएको छ। शायद पुरुष पात्र भएको भए यो स्थिति आई नपर्न पनि सक्थ्यो। "पपेट" पुरुष प्रधान समाजप्रतिको व्यग्यात्मको प्रस्तुति हो।

डायस्पोरिक परिप्रेक्षमा रचिएको भन्न सवैतर्फवाट मिल्नेगरी "ग्यास चेम्वरको छेउवाट" "मार्गरेट र मेरी आमा" कथा पर्न आउछन्। यी दुईकथाहरु कुनैपनि परिस्थितिमा नेपालमा रहेर या अन्त कतै रहेर भन्न नसकिने कथा हुन्। ईजरायलमा काम गर्न जाने महिलाहरुको वढ्दो प्रबृत्तिलाई स्वीकार्नु को साथै दोस्रो विश्व युद्दमा हिटलरको निरंकुशताले यहुदीहरुले भोग्नु परेको नारकिय स्थितिको केहि ज्ञान दिन खोजिएको छ भने मार्गारेट र मेरी आमामा विकसित मुलुकका पाल्तु जनावरको स्थिति हाम्रो मुलुकका आमाहरुको भन्दा उच्च रहेको मार्मिक तर यथार्थ चित्रण गरिएको छ। त्यस्तै 'गुलावी फ्रक' ले पनि गरिवी र अभावले बिक्रीमा भएको हाम्रो मानवता र त्यस वारेको अन्तर्द्वन्द सारै आकर्षक प्रस्तुतीसंग वताईएको छ। हातमा चाचा पेटमा माम र आंगमा नानासंग विनिमय अस्तित्वहरु स्वाभिमानको कसीमा यथार्थलाई तौलिन बाध्य भएका छन्।

"हामी वस्तुलाई जे जस्ता छन् त्यस्तैमा हेर्ने हैन वरु तिनीहरुलाई हामी जस्तो छौं त्यस्तै रुपले हेर्छौं","लेखकको भुमिका सवैले भन्न सकिने कुरा भन्नु हैन, वरु आफूले भन्न नसकेको कुरा भन्न सक्नु हो'अमेरिकी प्रसिद्द लेखिका एनिस लिनले भने जस्तै एकजना नारीद्वारा थुप्रै नारी ह्रदय केलाएर तयार गरिएको संजु वजगाईको "समुद्र र सपना"ले पनि परिस्थिति जे छ त्यहि रुपमा भन्दा परिस्थितिलाई आफ्नो अनुसार विश्लेषण गरेको भन्न मिल्छ।

संजु वजगाईको यो पहिलो पुस्तकले नै उनलाई एउटी परिस्कृत कथाकारको रुपमा स्थापित गर्न सक्ने थुप्रै संभावना मध्ये उनको विषयवस्तुको छनौट, कलात्मक प्रस्तुती, सरल र सहज भाषाको प्रयोग, थोरैमा धेरै कुरा भन्नसक्ने क्षमता, कथा प्रस्तुतीमा साहित्यकारिता र कवितात्मकता पनि पर्न आउछन्। प्रतिकात्मकता, र दर्शन अनि मनोवैज्ञानिकता पनि संजु वजगाईको लेखन विशेषता भित्र पर्न सक्छ। कथा पढ्दा सवैलाई आफ्नै कथा जस्तो लाग्नु यहांका प्राय कथाहरुको विशेषता पनि हो।

डायस्पोरिक पृष्ठभुमीवाट जन्मिएको सहि अर्थमा डायस्पोरिक कथा संग्रह "समुद्र र सपना" ले नेपाली डायस्पोरिक कथा साहित्याकाशमा यस्तै यस्तै उज्याला ताराहरु थपिन सकिने सपना देखाएको छ। कथाकारलाई बधाई !

वोस्टन, अमेरिका

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 7 बैशाख, 2068

लेखकका अन्य रचनाहरु