सडक

- जगदीश घिमिरे

रछान बनाउनु परे
कोपरा मिल्काउनु परे
प्लास्टिक कसिङ्गर फ्याक्नु परे
चर्पी बगाउनु परे
सडक छ

विद्रोह गर्नुपरे
समर्थन गर्नुपरे
टायर बाल्नु परे
मान्छे मार्नु परे
‘अधिकार’ का
स्वदेश – विदेशप्रायोजित
यावत् नाराजुलुस गर्नुपरे
बम पड्काउनु परे
सडक छ

चर्पी छैन दिसा–पिसाप गर्न – सडक छ
आँगन छैन बिस्कुन सुकाउन छ्वाली सुकाउन –
सडक छ

आपूmले गर्दा त्यो अधिकारको धर्मयुध्द हुन्छ
अरूले गर्दा त्यही पाप, अन्याय, अत्याचार हुन्छ

सडक मिचे हुन्छ जग्गा बढाउनु परे
कटघरा हाल्नु परे पसल थाप्नु परे
सडक च्यापे हुन्छ घर बनाउनु परे
सडक बारे हुन्छ भोजभतेर गर्नुपरे
सडक ढाके हुन्छ जात्रा, वरयात्रा, शवयात्रा गर्नुपरे
सडक बन्द गरे हुन्छ आन्दोलन गर्नुपरे
साँढे छोडे हुन्छ पुण्य गर्नुपरे
बाख्रा छाडे हुन्छ आयआर्जन गर्नुपरे

सडकमा नै बन्दुक बोकेका सत्ताहरू हिँड्छन्
नेता र राष्ट्रपतिको सुरक्षाका नाउँमा
सडकमा नै बन्दुक बोकेका विद«ोहहरू हिँड्छन्
हक र अधिकारका नाउँमा
सडकमा नै डाका र अपहरणहरू हिँड्छन्
चेली–बेचुवा र बेचिने चेली हिँड्छन्
रोजगारीका नाउँमा
बलात्कार हिँडछन् पाप हिँड्छन्
भोक हिँड्छन् रोग हिँड्छन्
चोर हिँड्छन् तस्कर हिँड्छन्
सबै हिँड्छन्
जो सांसद, सभासद्, मन्त्री, अधिकारवादी, उद्योगी
व्यापारी, धनीमानी भैसकेका
वा हुने लाइनमा बसेका छन्

सडकले कसैसँग केही सोध्दैन – खोज्दैन
तस्करसँग दामासाही माग्दैन
चोरसँग चोरीका
मन्त्री–साशकसंग धूसको भाग खोज्दैन
कसैको पनि कालो कमाइको हक खोज्दैन
तिनका संरक्षक हिँड्छन्
देशसेवाको राजनीतिका नाउँमा
त्यसैले त नेताहरू यति समृध्द र
पूजित छन्

सडकले नै पाल्छ छाडा कुकुर
आश्रयविहीन मान्छे
जसलाई ‘सद्दे’ले पागल भन्छन्
जसले ‘सद्दे’लाई पागल भन्छन्

सडकले कसैसँग नागरिकता सोध्दैन
कसैको लालपुर्जा हेर्दैन
सडकले नेपालीलाई आफ्नो
र विदेशीलाई पराई ठानेको छैन
कसैलाई विभेद गर्दैन सबैलाई आश्रय दिएको छ
सडक नेपाल आमा हो संसारको एक मात्र
“वसुधैव कुटुम्बकम्” साधक

सडकमा मान्छे किचे हुन्छ
गोली हाने हुन्छ
तक्मा दिए हुन्छ
दुत्कारे हुन्छ
लत्याए हुन्छ
बलात्कार गरे हुन्छ
सडक समाधिस्थ योगी हो
उसलाई केही फरक छैन
सडक निर्विकार छ

सडकको रछाने छातीमा
मान्छे, कुकुर, गाइर्, गोरु, गिद्ध
एकैपटक झुत्ती खेल्छन्
सबै मन्जुर छ उसलाई
सबै अत्याचारहरू मन्जूूर छ उसलाई
कुनै गुनासो छैन

सडक बाढीमा बगेको छ
झरीमा रुझेको छ
युद्धमा भत्केको छ
सदा त्रस्त छ
सदा पीडाग्रस्त छ

सडकमा सबै कोलाहल गर्छन्
तर ऊ सदा मौन छ
सडकसँग कुनै शब्द छैन, फिराद छैन
विद्रोह र क्रान्ति छैन
सडक सदा शोषित छ

जसका नाउँमा जसका भरमा
सबैले युद्ध गरेका हुन्
जसलाई ढाल बनाएर युद्ध जितेका हुन् र पगरी
गुतेका हुन्
जसलाई भ¥याङ बनाएर सत्ता चढेका हुन्
लौरो बनाएर जँघार तरेका हुन्
अनि ती सबैले त्यही सडकलाई बिर्सेका हुन्

त्यही सडक त्यो नेपाली हो –
निमुखाभन्दा निमुखा
सामान्यभन्दा सामान्य
सीमान्त बस्तीको सीमान्तभन्दा सीमान्त बासिन्दा
सदा शोषित भुइँमान्छे

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 6 बैशाख, 2068

लेखकका अन्य रचनाहरु