तारागण सम्मेलन

- योगेन्द्र उपाध्याय "पुष्प"

चुक घोप्ट्याइएको एक रात, चकमन्न थियो आँैशिको त्यो रात ! सारा संसार पलभरको लागि श्मशानमा बदलिएझैँ देखिन्थ्यो । मैले सुनेको यथार्थ थाहा छैन, त्यो रातको सामना गर्न नसकेर र सामना गर्ने प्रयासमा कैयाँै दीपहरु असमयमै मृत्यूवरण गर्न बाध्य भएका थिए । म यो कुरामा विश्वास गरुँ या नगरुँ बडो द्विविधामा छु किनकि चन्द्रमा पनि डराएर कतै लुकेको थियो त्यो रातमा तर यो पनि सत्य हो कि दीपको अनुपस्थिती अँध्यारो हो, अँध्यारोको कुनै अस्तित्व हुँदैन र अस्तित्वहीन वस्तुले कसैको अस्तित्व मेटाउन सक्दैन ।

मुटुभित्र चीसोपन विस्तारित गर्ने त्यो रातमा घटेको एक अचम्मको घटना का साक्षी दुईजना मात्र एक म एक भगवान ।

घटना नै त्यस्तो अचम्मको थियो त्यसैले आज कैयौँ वर्ष पछि त्यसको वर्णन गर्न लाग्दा पनि मलाई अचम्म नै लागिरहेको छ । घटना त्यो समयको हो जब म एक पत्रकारको हैसीयत राख्दथेँ । त्यो हैसीयतमा हैसीयत नदेखेर हैसीयत राख्ने अर्कै पेशा पनि वरण गरेँ तर पनि त्यो एकमात्र घटनाको आधा साक्षि भएकाले म गौरवान्वित हुन्छु र त्यतै कतै आफ्नो हैसीयत लुकेको अनुभव गर्छु ।

तारागण सम्मेलन !!

न देखेको, न सुनेका,े न सोँचेको एक अनौठो सम्मेलन ।

‘‘आकाशको अध्याँरो हटाउन तारामण्डलको भूमीका‘‘

देखेको, सुनेको, भोगेको एक विषयमा ।

अलग अलग समुह थिए अलग अलग विचार थिए र ती अलग विचारका अलगै उपविचारहरु पनि थिए तर सबैको विचार यहि ठाउँमा आएर रुक्दथ्यो ‘आकाशको अँध्यारो हटाउने प्रोजेक्ट हाम्रो झोलीमा पर्नुपर्छ‘ अचम्मको माग थियो यो ! अँध्यारो हटाउने मुख्य बुँदाभन्दा कसले हटाउनेमा बढी केन्द्रित थिए उनीहरु । अँध्यारो हटाउनु छ जसले हटाएपनि भयो जसरी हटाएपनि भयो चाहे टुकी बालेर हटाउ, चाहे चीम बालेर । त्यसमा सम्मेलन गर्नु के जरुरी छ र ? फेरी मलाइ यहाँनिर आश्चर्य लाग्छ ! सबै तारा मिलेर एकसाथ बलले भ्याएजती प्रकाश छरे, उज्यालो आँफै भै हाल्थ्यो यसमा तँ तँ र म म किन विचमा ल्याउन पर्यो तर पत्रकार भएको नाताले म त्यहाँ केहि बोल्न मिल्ने अवश्था थिएन । पत्रकार ! पेशा नै यस्तो जसलाई हरेक कुरा थाहा हुन्छ तर केहि बोल्न लाग्दा निषेध गरिन्छ । हिम्मत गरेर स्वतन्त्र विचार राख्नासाथ सूर्यवादी, चन्द्रवादी र नजाने के के वादीको उपाधी दिइन्छ ।

गुच्छे ताराको नाईके आफ्नो समूहको बलमा चिच्याउँदै थियो ‘हाम्रो समूह ठूलो भएकाले हाम्रो प्रकाशलाइ पहिलो प्राथमिकता दिनु पर्दछ ।‘ त्यसलाई काट्दै थिए सप्तर्षि तारागण ‘समूह ठूलो हुँदैमा केहि हुँदैन गुच्छे तारामा प्रकाशको मात्रा कम भएकाले उसको प्रकाश अपर्याप्त छ‘ भनेर । सप्तर्षि तारागणको एउटै माग थियो — ब्रह्माण्डको उत्पत्तिकाल देखी वर्तमानसम्म साथ ब्रम्हाण्डको नछोडी अवलोकन गरेकाले र ब्रह्माण्डको बारेमा अत्याधिक जानकारी भएकाले प्रकाश कहाँ कति दिने र कहाँ कति नदिने जस्ता बाँडफाँडका कुरामा पनि पोख्त भएकाले उज्यालो छर्नमा अग्रणी भूमीका हाम्रो हुनुपर्छ । ‘आगो ताप्नु मुढाको कुरो सुन्नु बुढाको‘ भन्ने प्रचलित नियम त हो तर म अचम्म परेँ यी अग्रणी बुढाहरुको मति भुटिएकोमा — उज्यालोको पनि बाँडफाँड । सप्तर्षीकै बिचबाट फेरी अर्काले — सुर्य र चन्द्र एक अर्कासँग मिलेर असँवैधानीक रुपमा दिन र रात दुवैमा राज गरे चम्कँदै गए प्रकाश बढाउँदै गए र आज उनीहरुको एकछत्र साम्राज्य छ, यो ब्रम्हाण्डमा । सुर्यले हामीमाथि ठूलो अत्याचार गरेको छ । सुर्यले आफूले पाएको प्रचण्ड तेजले हामीलाइ निस्तेज गरिनै रह्यो सृष्टिको सुरुवात देखी आजसम्म । उसको प्रकाश समानुपातिक रुपले वितरीत थिएन त्यसैले त आजसम्म पनि यहाँ कुनै स्थान निकै प्रकाशित छन् भने कुनै स्थान अँध्याराका शिकार भएका छन् । उदाहरण शनिलाई र ब्ल्याक होललाइ लिन सकिन्छ । त्यस परम शक्तिशाली सूर्यलाई निश्तेज पार्ने अचुक उपाय सप्तर्षि देखी वाहेक कसैलाई ज्ञात छैन भनी दावी समेत गरे । अचम्म छ यदि सूर्यले यो ब्रम्हाण्ड नबनाइदिएको भए यी तारागणको अस्तित्व नै रहने थिएन जसको विरासतमा यो ब्रम्हाण्ड बन्यो उसलाई नै फलाना र ढिस्काना आरोप प्रत्यारोप लगाएर आफू ठूलो बन्न चाहँदैछन् यिनीहरु । फेरी अहिले त सूर्य पनि छैन भने प्रकास दिनुमा भन्दा सूर्यलाइ धिक्कार्नुमा किन यीनीहरुले आफ्नो समय किन फाल्दैछन् ? अर्को कुरा सूर्यको तेज ब्ल्याक होलले सदुपयोग नगरेको हो । यसमा सूर्यको के दोष छ र ? अनि शनि पनि त सूर्यको प्रकाश लिन नचाहेर पर भागेको हो नि । सूर्यले प्रकाश नदिएको हैन शनिले आफ्नो वरीपरि पर्खाल लगाएर प्रकाशको बाटो रोकेको हो । कतिपय ठाउँमा सूर्य गलत हो कमसेकम दिनमा चम्केपनि रात ताराहरुको भागमा दिएर उनीहरुलाई प्रकाशित हुने मौका दिनुपर्ने हो तर सूर्यले त्यसो गर्नुको साटो चन्द्रमा बनायो र उसलाई प्रकाश उधारो दिएर आफ्नै साम्राज्यलाई निरन्तर फैलाइरह्यो तर जे सुकै भएपनि सूर्यले यो ब्रम्हाण्ड निर्माण गरेर हामीमाथि लगाएको गुन हामीले कहिल्यै विर्सन भने हुँदैन ।

तिनतारा र ध्रुवतारा केहि निराश तर आफ्नो पनि पालो आएकाले उत्साहित झैँ देखिन्थे । धु्रवतारा परको कुनाबाट मुठ्ठी बटारेर भन्दै थियो — ब्रम्हाण्डको मूलधारबाट टाढा भएकाले हामीलाई सधैँ उपेक्षित दृष्टिले हेरीयो हाम्रो प्रकाशको कुनै परवाह गरिएन तर यदि अझै पनि हाम्रो प्रकाशलाई समरुपले वितरण नगरी उपेक्षा भावले हेरेमा हामी आकाशगँगाको साथ दिनेछौँ, हामी आकाशगँगामा मिल्नेछौँ । ध्रुवताराले केहि बढी बोल्यो झैँ मानेर तिनताराले बिचमा काट्दै भन्यो धु्रवतारा र हाम्रो माग एउटै हो अन्यथा हामी आकाशगँगाबाट सहयोग मागेर प्रचण्ड प्रकाशित भइ अन्य सबै तारालाई निश्तेज पार्ने छौँ । यस सम्बन्धमा हाम्रो र आकाशगँगाको द्विपक्षीय सहमति पनि भैसकेको छ । धिक्कार छ तिनतारा र धु्रवतारा ! आफ्नो अपनत्व भन्दा अरुको बलमा चिच्याउने तिमीहरु — मेरो दमित मनबाट निस्केको आवाज मैले बाहेक कसैले सुनेन ।

राशिताराहरु केहि ठोस निर्णय दिएर यस समस्याको निकास दिन सक्षम छन् होला झैँ मलाई लाग्यो किनकि उनीहरु निकै गम्भीर र केहि गमेर बसेका देखिन्थे । यीनले कैयौँपटक सूर्यको बाटो परिवर्तन गर्न लगाएर सूर्यको एकछत्रता चल्दैन भनेर स्वतन्त्रताको बिगुल फुकेका थिए । यिनीहरुले सूर्यका कतिपय कदमहरुलाइ निस्तोनावेद पार्न पनि सक्षम भएका थिए । सूर्यलाई यिनीहरु चुनौति पनि दिन सक्थे किनकि सूर्य पूर्ण रुपमा जीवनका आरोह अवारोहमा यीनमाथि नै निर्भर हुने गर्दथ्यो तर अहिले सूर्य छैन तर सूर्यको साथ रहेका यीनको यौटै मात्र प्रस्ताव आयो । सूर्य असक्षम होइन तर हामी सक्षम हुन लाग्दा उसले हामीलाई सक्षम हुने मौका दिएन यो नै उसको ठूलो भूल हो । हामी यो ब्रम्हाण्डको चारैतिर फैलेर बसेका हुनाले हाम्रो प्रकाश अरुभन्दा प्रभावकारी हुनेछ त्यसकारण हाम्रो नेतृत्वमा निस्केको प्रकाश पुञ्जले यो ब्रम्हाण्ड प्रकाशित हुनुपर्नेछ । हे भगवान ! जुन गोरु आएपनि कानै चिरेका । जसबाट आशा थियो मेरो उ पनि आशातीत देखिएन ।

राहु भन्दै थियो यदि मलाई मेरो प्रकाश छर्ने अवसर प्राथमिकताका साथमा दिइयो भने म सूर्यलाई दिनको समयमा र चन्द्रलाई रातको समयमा ग्रास गरिरहने छु र म लगाएत सबैले आफ्नो प्रकाश हमेशा हमेशा फिँजाइरहन पाउने छौँ तर राहुको कुत्सित मनस्थितीको बारेमा सबैलाइ ज्ञात भएकाले उसलाइ बोल्ने समय नै सिद्धिएको जानकारी गराए आयोजकले । राहु चुप लागेपछि टाउको नभएको केतु पनि आफ्ना इशारा नदिनुनै उचित ठानी शान्त बसीरह्यो ।

नक्षत्रगणहरु साइन्टिफीक कुरा गर्नमा माहिर । उनीहरु क्याल्कुलेशन गर्दै थिए बोल्ने मौका आउने क्षणको प्रतीक्षामा थिए । नक्षत्रगण मध्ये एक बुजुर्गले भने ‘सूर्यले प्रकाश दिँदा व्याप्त अल्फा, बिटा र गामा जस्ता एक्सरेहरु ले सबै ग्रह र ग्रहवासीलाई प्रभावित पार्यो र नढाँटी भन्न पर्दा सप्तर्षिमा ५ प्रतिशत गामा रे छ, धु्रवतारामा १५ प्रतिशत रे छ र अन्य तारागणको प्रकाशमा पनि रे नै रे छ र ओजोन तह पनि कमै छ तर नक्षत्रमा बाक्लो ओजोन तह भएकाले रे निस्के पनि ब्रम्हाण्डमा फैलने कुनै चान्स नभएकाले उज्यालो गराउने कार्य नक्षत्रलाइ सुम्पनुपर्ने छ‘ । यहाँ कति बाक्ला ओजोन भएका आए र पछि ओजोन मेटाएर कति विकीरण फैलाए त्यसको हिसाब लगाउने क्याल्कुलेटर नै बनेको छ्रैन । त्यसकारण नक्षत्रले फुर्ती नलाए पनि हुन्छ ।

यहाँको बढ्दो विवाद देखेर आकाशगँगाले हस्तक्षेप पो गर्ने हो कि भन्ने आशँका मभित्र व्याप्त थियो तर पूर्व दिशामा कुनै एक वस्तु नौलौ र अद्भूत अदम्य प्रकाश छर्दै प्रकाशित हुँदै थियो । उसका लालीमाले सुन्दरतामा सुन्दरता थप्दै थिए । त्यसले मेरो चीसो मनको चीसो विस्तारै सोँस्दै थियो । उता तारागण सम्मेलनबाट अस्फुट आवाज आउँदै थियो — हामी पुनः आउने छौ........हाम्रो तेज............नयाँ यूग.............. विस्तारै त्यो अद्भूत वस्तु व्रम्हाण्डको मध्यमा आयो हेर्दा हेर्दै म उसलाई हेर्न नसक्ने भएँ र आफ्नो हातमा रहेको कापीमा सम्मेलनका बुँदाहरु पढेँ र आफैले आफैलाई भने — उज्यालो चाहिएको हो यो ब्रम्हाण्डलाई जसले दिन चाहन्छ दिन सक्छ, चाहे एकले एक्लै दियोस् चाँहे हजाराँैले यो महत्वपूर्ण होइन महत्वपूर्ण त प्रकाश हो ।

यो नयाँ वस्तुमा पनि गामा रे नभएको होइन तर यसको विरुद्धमा ओजोन तयार पारेर उसका गामा रे हरुलाइ रोक्ने प्रयास सम्पूर्ण ब्रम्हाण्डवासीले गनुपर्ने छ ।

शब्दमा दिने प्रकाशले बाटो सजिलो बनाउँदैन । म अर्को कालरात्रीको आशँकाले भयभित थिएँ तर म यस कुरामा ढुक्क थिएँ कि अबका १५ दिन पूर्णीमाका हुनेछन् ।

यो नलेखिएको यथार्थ घटना मैले लेखेँ । कतिले मलाई पागल भन्लान् यो पढे पश्चात् तर यसको यथार्थ मैले पहिले भने झैँ मलाइ थाहा छ र भगवानलाई ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 1 बैशाख, 2068

लेखकका अन्य रचनाहरु