हेलम्बु स्मृतिका बिम्बहरु : सेर्माथाङ र तार्केघ्याङ

- घनश्याम शर्मा

नयाँ नयाँ ठाउँहरु घुम्ने रहर सबैले पालेका हुन्छन् । मान्छेका यस्ता रहरले त्यतिखेर मात्रै मूर्तता प्राप्त गर्छ जब हरेक किसिमले ऊ त्यो यात्राका निम्ति आफुलाई तैयार गर्छ । दशैंको पूर्वसंध्यामा हेटौंडा बहुमुखी क्याम्पसमा स्नातकोत्तर समाजशास्त्र अध्ययनरत साथीहरुलाई मैले हेलम्बु यात्राको निम्ति प्रस्ताव गरेको थिएँ । मेरो विचारमा हेलम्बु यसकारण पनि आएको थियो कि २०५६ सालतिर म मेलम्ची खानेपानी आयोजना अन्तर्गतको प्रवेशमार्गको सर्वेक्षणको सिलसिलामा हेलम्बु गा.वि.स. को टिम्बुसम्म पुगेको थिएँ । त्यस पटक हेलम्बु गा.वि.स.का रमणीय पर्यटकीय स्थलहरु सेर्माथाङ र तार्केघ्याङ पुग्ने आफ्नो रहरलाई थाती राख्दै म काठमाडौं फर्केको थिएँ । मनमा एउटा गहिरो खाल्डो परेको थियो उक्त रमणीय स्थल पुग्न नपाएको । यो खाल्डो पुर्ने अवसरको खोजिमा त म थिएँ नै । मेरो प्रस्तावलाई सबै साथीहरुले एकैपटक समर्थन गरे । वहाँहरु सबै प्रति म कृत कृत भएँ मनमनै कि यस पटक अर्थात् करीब एक दशकको अन्तराल पछि भए पनि हेलम्बुको शीखर चुम्ने मेरो सपना साकार हुँदै थियो ।

दशैं हाम्रा घर आँगनबाट विदा भैसकेको थियो । तिहारको प्रतिक्षा थियो । दशैं र तिहारबीचको समय सबैका निम्ति घुमफिर गर्ने एउटा उचित अवसर पनि हुन्छ हामी सबैले यस्तै ठान्यौं र हाम्रो एउटा समूह नै तैयार भयो १५ जना साथीहरुको । मित्रहरु अर्जुन श्रेष्ठ , रुपक खुलाल र आत्माराम थापा अनि सुबोध घिमीरेको बिशेष सक्रियता । बिशेषतः लक्ष्मण शर्मा र वीरेन्द्र शाहलाई हाम्रो अनुरोध थियो हामीसँग सम्मिलित हुनका निम्ति । भीम तिमिल्सिना जागीरे पनि भएका कारण छुट्टी निकाल्न असमर्थ । पोखरा निवासी बराल सरले समेत आफ्नो असमर्थता व्यक्त गर्नु भयो । विगतको सोलु भ्रमणमा आफुले भोग्नु परेको कठीनाईं र तनावको स्मरण गर्दै लक्ष्मण शर्मा त्रसित हुनुहुन्थ्यो । अध्ययन भ्रमणमा हरेक सदश्यका आ आफ्ना पृथक रुचीका कारण आफुलाई अत्यन्त गाह्रो परेको नमीठो संझना वहाँको स्मृतिमा बारम्बार आईरहन्थ्यो ।

कार्तिक महिनाको पहिलो दिन, पहिलो विहानको पहिलो सूर्यको किरण हाम्रा शरीरमा स्पर्ष नगर्दै हामी हेटौंडाको बैंक रोडमा भेला हुन थाल्छौं । दुई वटा टाटा सुमो गाडी रिजर्व गरेका छौं, हेटौंडादेखि काठमाडौंसम्मको यात्राका निम्ति । काठमाडौंदेखि हेलम्बुको यात्रामा टिम्बुसम्म कसरी जाने कुनै निर्णय गरेका छैनौं । माइक्रोबस रिजर्भ गरेर जाने विचार छ , मिलेन भने बस त छँदैछ अन्तिम उपायका रुपमा । सबैका आँखामा उत्सुकता र भ्रमणको कौतुहलता दौडिरहेको देख्छु म । विहानको सात नबज्दै , हटियाको आकाशबाट सूर्यको प्रथम किरण हाम्रा शरीरमा स्पर्श नहुँदै हामीले हेटौंडा नगरीलाई केही दिनका निम्ति विदाईका हात हल्लायौं । आन्तरिक पर्यटन प्रबद्र्घनमा समेत योगदान हुने एउटा सानो अनुसन्धान रिपोर्ट समेत तैयार हुने हाम्रो सोचाई । हामीले विषय छान्यौं

“हेलम्बुको सामाजिक जनजीवनमा पर्यटनले पारेको प्रभाव ” विषय अत्यन्त चाखलाग्दो ठान्यौं सबैले । निकै लामो बहस र विचार मन्थन पछि हामीले सो विषयको टुङ्गो लगाएका थियौं । क्याम्पस प्रशासनले सो विषयमाथि रिपोर्ट पेश गर्ने शर्तमा पच्चिस हजार सहयोग पनि ग¥यो, हाम्रा लागि सद्भाव स्वरुप प्रदत्त सो रकमका निम्ति क्याम्पस प्रमुख गिरी सर प्रति हामी सबै आभारी त भयौं नै ।

बैंक रोडबाट टाटा सुमो गाडी महेन्द्रचोक हुँदै चौकीटोल पुगिसक्दा बजारमा केही रिक्साको चहलपहल भर्खर शुरु मात्र भएको थियो । महिला मित्रहरुले खानेकुराको राम्रै जोहो गरेका छन् । बिशेषतः मनिषा डङ्गोलले एक झोला जसो खानेकुरा नै बोक्नु भएको छ । दुईटै सुमो जिप सँगसँगै जस्तो गुड्न थाल्छन् । जति अगाडि बढ्छौं हेटौडा छुट्दै जान्छ , काठमाडौंको लक्षित दूरी कम हुँदै जान्छ । मलाई यात्रा गर्दा लाग्ने रोचक पक्ष यो पनि हो । लक्ष्योन्मुख दूरी कम हुँदै जानु र बेला बेला अब त यति किलोमीटर मात्र बाँकी छ है भन्दै रोमाञ्चित हुनु एक प्रकारको आनन्द ।

हेटांैडादेखि काठमाडौसम्मको यात्राका तीन वटा विकल्प छन् । प्रथमतः लामो दुरी, बसको यात्रा छनोट गर्दा हेटौडा, नारायणघाट, मुगालिङ हुँदै मलेखु, नौबिसे अनि थानकोटबाट भित्रिने करीब दुईसय किलोमीटरको दुरी तय गर्नु पर्छ । विकल्पका रुपमा त्रिभुवन राजपथ हुँदै हेटौडा, भैस, सिमभंज्याङ, दामन, टिस्टुङ, पालुङ, नौबिसे हुँदै काठमाडौंसम्म करीब १५० किलोमीटर । तेश्रो सबैभन्दा छोटो र छिटो गन्तव्य हो हेटौडा, भैंसे, भीमफेदी,कुलेखानी, दक्षीणकाली हुँदै काठमाडौं करीब ८५ किलोमीटर दुरी । यो रुटमा हेटौंडाबाट तीन घण्टामा नै सानो जीपहरुले बिशेषतः टाटा सुमोहरुले काठमाडौं पु¥याउँछन् । हामी यही तेश्रो विकल्पको यात्रा छान्दछौ । कुलेखानी डयामसाईट देखि करीब २५ किलोमीटरको यात्रा कच्चि सडकमा गर्नुपर्छ । जोखीमपूर्ण यात्रा ।

हेटौंडा काठमाडौं फास्ट ट्रयाकका कुराहरु धेरै पटक उठे । बेला बेला उठ्ने यस्ता प्रसङ्गहरु बजेट अभावका कारण उसरी नै सेलाउने गर्छन् । म कल्पना गर्छु यदि साँच्चिकै यातायातको यो विकल्पले पूर्णता पायो भने काठमाडौं देखि पूर्वाञ्चल जाने सबै सवारी साधनले यही रुट छनौट गर्नेछन् । समय र इन्धनको ठूलो बचत हुनेछ । तत्काल भने यो सबै हुनेछ मात्रै ।

भैसे दोभानको पुल क्रस गरेपछि हामी दाहिने लाग्छौं भीमफेदी तर्फ । बायाँ जाँदा त्रिभुवन राजपथको बाइरोडको बाटो । कुलेखानी क्षेत्रबाट संकलन हुँदा बाँकी रहेको पानी बोकेर भैंसे बगर हाँसिदिन्छ हाम्रा अगाडि । बगरमा ढुङ्गौ ढुङ्गा छन् । काला ढुङ्गा र सेता गोला ढुङ्गा, पानी कम छ । बर्षात् भरखरै सकिएको छ यसकारण पनि भित्ताहरुमा पहाडका जताततै हरियाली अँगालोमा बेरिएको छ । अघाउन्जेल आफ्ना आँखा टाँसीरहन मन लाग्छ यी हरिया पहाडका छातीमा । गाडीको गतीले खोला, गाउँ, घर, सडक, भित्ताका रुखहरु फनफनी घुम्छन् । तिव्र गतीको परिणाम सबै छुट्दैछन् , हामी अगाडि गुड्छौं । नयाँ गाउँ, अर्को भित्ता, खोलाको मुहानतर्फ मुखरित छौं हामी ।

गाडीमा हाँसो छ एकनास । ड्राइभर रमाईलो छन् । फेरिफेरि गीतहरु बजाउँदैछन् । नयाँ नयाँ दोहोरी गीत र हिन्दी पप । सात जना पुरुषहरुको समूह छ यो गाडीमा । अर्कोमा आठजना महिला मित्रहरुको समूह । हामी अनुमान गर्छौ उनीहरु पनि हामी जस्तै रमाईरहेका होलान् त्यो गाडीमा । म संझिन्छु मुलुकमा पहिलोपटक गाडी यही बाटोबाट लगिएको थियो । राणाहरुले रैतीहरुलाई बोकाएर भए पनि आफ्ना लागि काठमाडौं खाल्डोमा गाडी पु¥याएको इतिहास छ । उसबेला भारतको सक्सौलदेखि नेपालको अमलेखगंजसम्म रेल सेवा संचालनमा थियो । पछि सो रेल भैंसेसम्म पनि आउने योजना थियो । सडक यातायातको विकाससँगै रेल पनि विस्थापित भयो । अमलेखगंजमा अझै पनि उसबेलाको रेलको लाईनमा राखिएका फलामे पटरी भेटिन्छन् । रेल्वे स्टेशनको अस्थिपंजरभित्र विषादी भण्डारण गरिएको छ । चुरे पहाडलाई प्वाल पारेर बनाईएको सुरुङको अस्थिपंजर हाम्रो निकम्मापनमाथि व्यङ्ग्य गरिरहेकै छ अझै ।

भैंसेबाट उकालो लागेको हाम्रो गाडी सुपिङ हुँदै भीमफेदी बजार आईपुग्छ । कुनै बेलाको मकवानपुर जिल्लाको सदरमुकाम भीमफेदी बजार , उब्जनी कम हुन थालेपछि बिराउन छाडेको पाखो बारी जस्तै लम्पसार छ । हेटौंडा सदरमुकाम सरेपछि ओईलाउन थालेको भीमफेदी आफ्नो इतिहास च्यापेर बुढ्यौली काटिरहेको मान्छेको अवस्थामा छ । कुनै बेला भीमफेदी सैनिक स्कूल अत्यन्त चर्चामा थियो । बढ्दै गएका बोर्डिङ स्कूल र जताततै खुलेका निजी विद्यालयले यो पनि भित्तामा ओझेल परेर झोक्राई रहेको खोरेत लागेको गोरुको अवस्थामा देखिन्छ । सेता घर र हरियो पाखाले भने सुन्दरता प्रदान गरेको छ । हामी यो पुरानो भीमफेदी बजारको पूल नाँघेर पारिपट्टि पुग्छौं । जीर्ण फलामे पूल, पानी विनाको बगरमा लम्पसार छ । घटघट ढ्याङ आवाजका साथ उकालो चढ्छौं । साँघुरो सडक तीन मीटर चौडा, घुम्ती र मोडहरु जियोमेट्रि नमिलाएर बनाईएका । मोडहरुमा गाडी घुमाउन चाहिने रेडियस पुग्दैन र ब्याक गर्दै गाडी घुमाउनुपर्छ । दुईतिरबाट गाडी आउँदा साइड दिन धेरै अफ्ठेरो । पासिङ जोन को कमीका कारण यात्रामा खतरालाई बोकेरै हिडिरहनुपर्छ ।

मकवानपुरका डाँडा र भित्ताहरुमा विहानको घाम हाँस्न थालेपछि हामी पनि प्रफुल्ल हुन थाल्यौं । गफको सुरमा जाडो र चिसो सिरेटो बिर्सदैछांै । आकाश नीलो घुम्टो उघारेर हामीमाथि छोपिएको छ । सेता बादलका टुक्राहरु कताकति देखिन्छन् नीलो आकाशमा सेता टाटा बनेका । मकवानपुरका सेन राजाहरुलाई जितेपछि पृथ्वीनारायण शाहले काठमाडौं हान्न तैयार गरेको चिसापानी किल्लामा पुग्छौं हामी । त्यहाँभित्र कालीको मन्दिर छ । पृथ्वीनारायण शाह देवीका भक्त थिए भन्ने कुरा उनले ठाउँ , ठाउँमा स्थापना गरेका देवीका मन्दिरहरु साक्षी छन् । पृथ्वीनारायणले टुक्रा टुक्राबाट जोडेको सिङ्गो नेपाल पुनः संघियताको नाममा टुक्राहरुमा बिखण्डन पो हुने हो कि ? हामी बहस गर्छौ । नेपाल एकिकरण ठीक थियो वा थिएन त्यो छुट्टै बहस हुनसक्छ । हामी यतिखेर देउरालीको भंज्याङ्मा पुग्छौं र रोकिन्छौं । डाँडाको टुप्पोमा बसेर चारैतिर हेर्नु, जंगल, भीर, पहरा पर पर क्षितिजसम्मै आफुलाई उडाएर लैजानु आफ्नो मनलाई , एउटा मीठो कल्पना । सबैजना गाडीबाट झर्छौ । चिसो छ चीया र नास्ता खाने प्रस्ताव गर्छौ । आर्थिक जिम्मेवारी रुपक खुलालको । हामी पन्ध्रजनामा पद्माको बहिनी पनि काठमाडौं जाने भएपछि सोह्र हुन्छौं । खाजाको टेबुलमा सबैजना लहरै बस्छौं । एउटा हलचल नै हुन्छ केहीबेरका निम्ति । पद्माको बहिनी बोल्दिनन् । उनलाई अफ्ठेरो लागेको हुनसक्छ । हामीले धेरै प्रयत्न ग¥यौं तथापि उनको मुहारको असजिलोपनको पर्दा हटाउन सकेनौं । उनलाई दिदीहरुका साथीसँग खुल्न गाह्रो भयो होला । खाजा खाँदा पनि महसुस गरेको अफ्ठेरोपन सबैका मनमस्तिष्कमा निकै समयसम्म टाँसिरहने खालको थियो त्यो ।

खाली पेटमा थुप्रै खानेकुराहरु पालै पालो उदरस्थ गरियो । रुपक र आत्मारामको ख्यालठट्टा अनि बेला बेला सुबोधको छेडखानी अर्जुन श्रेष्ठको मुस्कान र गंभीरता , अर्थपूर्ण लाग्छन् मलाई । वाक्यपिच्छे नै हँसाउने अम्बिकाको कला, पद्माको गला, विस्तारै बोल्ने सानो स्वरमा साउती मारेजस्तो लागिरहने शशीको आवाज, मनिषाका आँखाले चियाईरहने कौतुहलता, बिष्णु , कान्छी दिदी र मंजुको गंभीरता हाम्रो यात्राका वैधिव्यता र मौलिकता हुन् । यस अर्थमा यो यात्रा झन् रोचक र हर्षित बन्दैछ ।

चाईनिजहरुले निर्माण गरेको कुलेखानी डयामसाईटमा पुगेपछि धेरै कुराहरु स्मृतिमा आउँछन् । संकटकालमा यो बाटो यात्रा गर्दा गाडीबाट झारेर पैदल हिंडाईन्थ्यो सबैलाई । एकपटक कुलेखानी ड्याम भत्केर भयङ्कर ठूलो बाढी आयो । केही चाइनिज र थुप्रै मकवानपुर जिल्लावासीका घर सहित सोहोरेर मानिसहरुलाई राप्तिको बगरमा हेटौंडा पु¥याईदियो सो दुर्घटनामा आफ्नो सबै परिवार गुमाएका एक जनालाई गजुरीमा कामको सिलसिलामा २०५७ सालतिर भेटाएको थिएँ । त्यस रात उनी हेटौंडा बसेकाले बाँचेका थिए रे । आमा–बाबु, श्रीमती र छोराछोरी सहितको उनको परिवारलाई त्यस क्रुर दुर्घटनाले चुँडालेको थियो । घाम आकाशको मध्यतिर सर्दैछ । काठमाडौंको हाम्रो दूरी छोटिदैछ । हाम्रो गाडी यसपटक कच्ची सडकमा पसिसकेको छ । धुलो र खाल्डाले यात्रा केही कष्टप्रद हुँदैछ तथापी बेला बेला साथीहरुले सुनाउने जोक र भाका हालेर गाउने गीतले यो सबै बिर्साई दिएको छ । सिस्नेरी, टेक्कर, फर्पिङ हुँदै दक्षीणकाली पुग्छौं । उपत्यकाको खाल्डो हामीतिरै चियाएरै पर्खिरहेजस्तो लाग्छ । सबैका सपनाको गन्तव्य, हामी नेपालीको चाहनाको शहर, बाध्यताको सहर, निरुपाय यो खाल्डोमा पस्नै पर्छ । हामी पनि पस्यौं र बल्खुमा सबैजना पुनः भेला भई रत्नपार्कतर्फ लाग्यौं ।

पद्माको बहिनीलाई बल्खुबाटै दाईले लिएर जानु भयो । उनी काठमाडौं पढ्छिन् । अब हाम्रो पन्ध्र जनाको समूह । पुरानो बसपार्कमा खानाको अर्डर गर्छौ । किउलसम्म जाने बसको टिकट काट्छौं । काठमाडौंको कोलाहल हामीमाथि अरिङ्गाल जस्तै खनिएको छ । सानो श्वरमा बोल्दा सुनिदैन । गाडीको ध्वनी प्रदुषण मान्छेको भीड मलाई मन नपर्ने कुरा । मान्छेले यस्तै आफुलाई मन नपर्ने कुराहरुसँगै पनि दैनिक जीवनमा बाध्यतावश हातेमालो गरिरहेनै पर्छ । हामी खाना खान थाल्छौं। एउटै होटेलमा खाना पुग्दैन । अर्कोबाट ल्याईन्छ । भोकाएका छौं सबैजना र एउटा भोकको कोलाहल पनि सिर्जना गर्छौं हामी आफै ।

मध्यान्ह बाह्र बजे हेलम्बुका निम्ति हामी प्रस्थान गर्छौ । २७ डिग्री ३४ मिनेट अक्षांस र ८६ डिग्री ४ मिनेट देशान्तरमा अवस्थिति बनाएको सिन्धुपाल्चोक जिल्लामा तेह्र वटा इलाका छन् । ७९ वटा गाउँ विकास समितिमा विभक्त सो जिल्लाको क्षेत्रफल २५४२ वर्ग किलोमिटर छ । औषत ब्यास ४९.३८ किलोमिटर रहेको जिल्लाको उत्तर दक्षीण लम्बाई करीब ५३ किलोमीटर छ । पूर्वमा दोलखा पश्चिम नुवाकोट उत्तर रसुवा र दक्षीणमा काभ्रे र रामेछापसित टाँसिएको छ । पाँचपोखरी, हेलम्बु क्षेत्रजस्ता प्रमुख पर्यटकीय केन्द्र रहेको जिल्लाका मुख्य व्यापारिक केन्द्रहरु तातोपानी, बाह्रबिसे, चौतारा, खाडीचौर र मेलम्ची हुन् । सबैभन्दा बढी हिन्दु धर्मालम्वी ६२.५३ प्रतिशत छन् भने सबैभन्दा कम ०.०१ प्रतिशत किराँतहरु बस्छन् । तामाङ ३२.२१ प्रतिशत छन् । करीब तीन लाख जनसंख्या सिन्धुपाल्चोक जिल्लामा छ ।

बस अरनिको राजमार्गमा भक्तपुर हुँदै उकालिन्छ । दोहोरी शुरु हुन्छ । जगाते, नलिनचोक हुँदै पलाँसेको भित्तामा रातो रंगले. रंगाएका घरहरु देखेपछि गाउँको संझना हुन्छ । साँगा भंज्याङ्मा ठडिएको महादेवको विशालकाय मूर्तिले काठमाडौं उपत्यकालाई आफ्ना गाँजाले लएिका आँखाले शहरको विदु्रपतामाथि ब्यङग्य गरेको झैं देख्छु म । कुनै व्यापारीले भर्खरै बनाएको उक्त मूर्ति करोडौं लागतमा बन्यो । भारतबाट कालीगडहरु ल्याईयो । नमुनाको मूर्ति छ भगवान् महादेवको । साँगा भंज्याङ्बाट उपत्यका ओझेल पर्छ । काभ्रे जिल्लातर्फ हाम्रो यात्रा उन्मुख छ । सबै जना रमाईरहेकै छौं । यात्राको अर्थपूर्ण क्षणहरु सबैले सँगालिरहेकै छन् । सुबोधको हातमा भएको घुमाउने यन्त्र (मुभि क्यामेरा) घुमिरहेकै छ । काभ्रेको पुरानो शहर बनेपा । गाडीको चक्का पंचर हुन्छ । यान्त्रिक साधनले कुनै पनि बेला धोखा दिन सक्ने संभावना जहिले पनि रहन्छ । तर यो भने ठूलो धोखा थिएन र तुरुन्तै मर्मत भईहाल्यो ।
हामीहरुले नाम्चे घुम्ने पनि योजना बनायौं, अन्नपूर्ण क्षेत्र जोमसोम लुमाथाङ्सम्मै जाने कल्पना ग¥यौं । मनाङ हुँदै एकफन्को मार्ने, अहँ त्यो पनि साकार हुन सकेन । म भित्रको यायावरीले कुनै बेला आफ्नो मुलुकका यी सबै महत्वपूर्ण ठाउँहरु घुम्ने रहर पालेर राखिरहेको छ , हेरौं समयले मलाई कहिले साथ दिन्छ । नयाँ ठाउँ, नौलो परिवेश, विविध संस्कृति र समाजलाई हेर्ने बुझ्ने रहरको तिर्खाले कहिल्यै छाडेको छैन मलाई । धित् मरुन्जेल एउटा चौतारीमा थकाई मार्ने रहर, डाँडाका टुप्पा र नागीमा अघाउन्जेल सुस्ताउँदै नीलो क्षितिजतिर नियाली रहुँ रहुँ लाग्ने कल्पनाले कहिल्यै छाडेको छैन ।
आत्माराम र रुपक बेस्सरी कस्सिन्छन् दोहोरीमा उता पद्मा , अम्बिका, कान्छी दिदी र बिष्णु । धुलिखेलको डाँडाबाट पूर्वतिर अर्को संसार चिहाउन पाईयो काभ्रे र सिन्धुको । बस धुलिखेलबाट पाँचखाल हान्निन्छ । धुलिखेलको डाँडा काठमाडौं नजिकै जन्मिन पाएकोले भाग्यमानी छ । ठूला ठूला रिसोर्ट र होटलहरु छन् । नेपालका धेरै ठाउँबाट विभिन्न सेमिनार र गोष्ठी गर्न आउने अनि विदेशी स्वदेशी पाहुनाको स्वागतका निम्ति आफ्नो हृदय खोलेर बसेको छ धुलिखेल । उद्योग व्यवसायी एवम् राजनितिज्ञ बेल प्रसाद श्रेष्ठको योगदान ठूलो छ, धुलिखेललाई धुलिखेल बनाउनमा । नेपालका विभिन्न ठाउँमा धुलिखेले साहु का नाममा परिचित थुप्रै व्यापारीहरु छरिएका छन् । धुलिखेल सांस्कृतिक र ऐतिहासिक बिम्ब लाग्छ मलाई ।

पाँचखालको मूला प्रख्यात मानिन्छ । यू.एन. मिसनको निम्ति नेपाली सेनाको तालीमकेन्द्र र बाहिनी अड्डा छ । जिरो किलोबाट माथि नौ किलोमिटर उक्लिदा डाँडाको टुप्पोमा पलाञ्चोक भगवती छिन् । हामी उत्तरतिर हानिन्छौं मेलम्चीतिर । केही अगाडि पुगे पछि शुरु भएको कच्ची सडकको यात्रा अब किउल पुगेर मात्र टुङ्गिन्छ । बाहुनी पाटीमा चिया चमेना खान्छौं । साँघुरो सडक उसमाथि सडकमा पल्टिएको एउटा ट्रकले हामीलाई केहीबेर अवरोध गर्छ । म इन्द्रावतीको बगरतिर हेर्छु । स्मृतिमा अविरल बग्छ इन्द्रावती र रमेश विकल पालैपालो आउँछन् । २०४१ साल ताका नै पढेको थिएँ अविरल बग्छ इन्द्रावती । माँझीहरुको सामाजिक जनजीवन समेटिएको गाउँले परिवेश बोकेको सामाजिक उपन्यास । बेला बेला साथीहरु सुस्ताउँछन् । मंजु दिदी विमला र कान्छी दिदी अनि बिष्णु उति सारो खुलिसकेका छैनन् बाँकी हामी एघार जनाको समूह धेरै ओपेन छौं । होमनाथ र नवराजजीहरु भने केही रिजर्भ देखिन्छन् । मेलम्ची आईपुग्यौ । मेलम्ची बजार, मेलम्ची खानेपानी योजनाको कार्यालयतिर मेरा तिर्खाएका आँखाले धेरैबेर हेरिरहे र मनमनै आफैसित प्रश्न गरे – “के साँच्चै मेलम्चीको पानी पिउने काठमाडौंवाशीको सपना कुनै दिन पूरा होला ?” उत्तर भने मेलम्ची र इन्द्रावतीको बेगले बगाएर कतै पु¥याएको भान भयो ।

पाक्नै आँटेको धानखेत । पहेंलपूर धानका बाला झुलेका इन्द्रावती फाँटका खेतहरु हेरेर कहिल्यै धोखो नमेटिने रहेछ । इन्द्रावती बगरलाई छाडेर मेलम्ची खोलाको किनारै किनार कच्ची सडकमा नाँच्दै उकालो लाग्छ हाम्रो बस । मेलम्ची खोलामा मिसिने अन्य स–साना खोलाहरु मेलम्चीमा मिसिन जति आतुर छन् हामी उस्तै आतुर छौं हेलम्बु पुग्न । ओहो तालामाराङ खोलामा पुल बनिसकेछ । दुईतिर अग्ला अग्ला डाँडाको च्यापबाट बगेको मेलम्ची खोलामा सेतो पानी बगिरहेछ दूध जस्तै लोभलाग्दो यसरी खेर गएको पानी देख्दा, काठमाडौंका धारामा भ्यागुता, गडयौंला र ढल समेत मिसिएर झर्छ हाम्रो बिडम्बना ! हामीलाई साँझले अँगालोमा बेर्न खोजिरहेछ हतार हतार । गाउँमा साँझ ओर्लिदैछ, हाम्रो बसको गती घट्दो छ सडकको अवस्थाका कारण । साँझ ७ः०० बजेतिर हाम्रो यात्राको गन्तव्यमा पुग्छौं किउल बजारमा । मेलम्ची खोलाको किनारमा अवस्थित सानो बजार दुई चारवटा होटेल र पसल अलिमाथि गाउँ । धानबारी भित्तातिर हामीलाई नियाली रहेको । थकानपूर्ण यात्रालाई होटेलका दुइटा कोठामा बिसाउँछौं, हामी भोलीको यात्राको योजना बनाएर निद्रादेवीको काखमा सबैले आफुलाई समर्पण गर्छौं ।

दोश्रो दिनको झिसमिसे उज्यालो मेलम्ची खोलाको बगरमा अवतरण हुने बित्तिकै हामी उठ््छौं । नित्यक्रियाबाट निवृत्त भएर सेर्माथाङको डाँडालाई लक्षीत गर्छौं । हामी सेर्माथाङ हुँदै तार्केघ्याङ जाने र त्यहाँबाट टिम्वु हुँदै फर्किने योजना बनाउँछौं करीब तीनदिनको पैदल यात्रा । खोलाको बगरले बोकेर ल्याएको चिसो हावा हाम्रा कान नाक र आँखालाई स्पर्ष गर्छ । चिसो स्पर्ष । हामी चिया पिउँछौ चिसो भगाउने प्रयास । नास्ता गर्छौ पेटको आग्नेय शान्त पार्ने अर्को प्रयास । उकालो चढ्नुछ करीब चार पाँच घण्टाको सबैजना लीको जोहो गर्छौ । लुगाहरु धेरै बोकिएछ । स्लिपिङ ब्याग र मेट्रेस, ज्याकेट स्वेटर आदि । ब्यागप्याक गह्रुँगो लाग्छ र होटेल साहुजीलाई एकजना भरिया खोजिदिन आग्रह गर्छु । साथीहरुलाई माईन्ड नगर्नु होला भन्दै अनुरोध गर्छु । वहाँहरु सबैले मलाई गर्ने आदर र सम्मानको म चीर ऋणी छुँ ।

राजु एउटा पात्र मेरा निम्ति , सानै छ , आमा मरेकी , बाबुले लुगा सिउने काम गर्छ र दुईटा टुहुरा छोराहरुको पालनपोषण गर्छ, राजु मेरो झोला बोक्न तैयार हुन्छ । उसको उमेर हेर्दा र शरीर देख्दा विश्वास लाग्दैन तर उसको साहसलाई सलाम गर्न मन लाग्छ र राजु मेरो ब्यागप्याक उचालेर आफ्नो क्षमतासँग तुलना गर्छ । म उसलाई राम्रै पैसा दिने सोच बनाउँछु । ऊ हामीसँग हिंड्न खुशी हुन्छ । राजुको भाई पनि झण्डैले हामीसँगै जान तयार थियो तथापी उसलाई फकाएर फर्काईयो र हामी सेर्माथाङलाई लक्षित गर्दै विहान सात बजे नै उकालोतिर अभिमुख भयौं । विहानको चिसो हावा हाम्रो अंग अंग ठिहि¥याउने प्रयास गर्छ । हामी आफ्नो स्फूर्तिलाई ताजा बनाउँदै स सानो गोरेटोमा कमिलाको ताँतीमा रुपान्तरण हुने प्रयास गर्छौ । फाट्टफुट्ट कतै कतै घरहरु देखिन्छन् बाँकी धानबारी, कोदोबारी मकै रित्तिएर ढोड बाँकी रहेका मकैबारी । मनिषा पहिलापल्ट हेटौंडा छाडेर निस्केको रे ! पहाडका उकाली ओराली हिंडेको बानी छैन ।आत्मारामलाई छालाको जुत्ताले असहज बनाईरहेको महसुस गर्छु म । मुभिङ क्यामेरा अक्सर सुबोधको हातमा घुमिरहेको हुन्छ । साथीहरु आ–आफ्ना क्यामेराले क्लिक क्लिक गरिरहन्छन् । टाढा टाढाका वस्तिबाट मानिसका दृष्टि हाम्रो लश्करमा ठोकिन्छन् र सबैमा कौतुहलता पैदा गरेर हामी हिंडिरहन्छौ ।

बाटोमा पानी घट्ट । हामी सबै अडिन्छौं । खोलामा मात्रै घट्ट देखेको मलाई पनि डाँडाको मध्य भागमा घट्ट देख्दा अचम्म लाग्छ । प्रायः मनिषा सबैभन्दा पछाडी । दुई घण्टा उकालो चढेपछि केही खाजा खान्छौं । मनिषा, शशी, पद्मा लगायतका साथीहरुले हेटौंडा देखुन् पोको पारेर ल्याएको खाजा । भोक लागेको बेला, चौतारीको आँगन बनाएर बस्छौं हामी र दालमोठ, भुजिया, चिउरा आदि खान्छौं । घामका रापिला कीरणले शरीरलाई तताएकोछ । उकालोमा सास फुल्छ । गुलाबको फूल हाँसे जस्तै, मित्र अर्जुन श्रेष्ठको मुस्कान फुल्छ सेता दाँतहरुसँगै गुराँस फुलेजस्तै । पद्माको कोकिल कण्ठ ब्युझिन्छ हिमालका टुप्पामा परेको घामको पहिलो किरण जस्तै । शशीका ठूला आँखा भित्ता र डाँडा पाखाका हरिया बुट्यानमै टाँसिरहन खोज्छन्, अम्बिकाको हाँसो र रुपकको ब्यङ्ग्य चारैतिर छरिन्छ धानको बीउँ जस्तै । श्रमजिवी मान्छेका शरीरले उत्सर्जन गरेझैं हाम्रा शरीरबाट अविरल अविश्रान्त पसिना चुहिरहेछन् । हाम्रो सानो साथी हामी सबै भन्दा अगाडि हिंड्छ । झण्डै आफुजत्रो रुकस्याकसँग उसले गरेको संघर्ष देख्दा लाग्यो हामीलाई बाँचिरहन संभवतः कसैले सिकाईरहनु पर्दैन क्यार ।

हामी जुन गोरेटो हिंड्दै छौं । यो पर्यटकीय पदमार्ग होईन, हामी त गाउँको गोरेटो हिंडिरहेछौं । काठमाडौं देखि हेलम्बुको पदयात्रा गर्नेहरु सुन्दरीजलबाट आफ्नो गन्तव्य शुरु गर्छन् । चार घण्टा जतिमा चिसापानी पुगेपछि त्यहाँबाट करीब दुई घण्टामा पाटी भंज्याङ पुग्छन् । चिप्लिङ थोदोङ हुँदै गोल्फु भंज्याङ, घ्याङ्ग आउँछन् । तत्पश्चात् कुटुङ्गछाङ्ग, मेलम्चीघ्याङ्ग, तार्केघ्याङ्ग, सेर्माथाङ हुँदै ककनीबाट मेलम्ची बजार झर्ने गर्छन् जहाँबाट काठमाडौं फर्किईन्छ । हामी भने किउलबाट सेर्माथाङ र तार्केघ्याङ हुँदै टिम्बुतिर झरेर पुनः किउल नै फर्किने योजना अनुरुप उकालो चढ्दैछौं ।

बाटोमा कता कति भेटिने मानिसहरुलाई सोध्छौं –
सेर्माथाङ पुग्न अब कति समय लाग्ला ?

प्रायः सबैको जवाफ हुन्छ एक डेढ घण्टा । तर हामीले त्यस्तो एक डेढ घण्टा दुई पटक जति हिंडिसक्यौं तथापि सेर्माथाङ अझै पुगेका छैनौं । चित्रे एउटा सानो गाउँ । केही घर धुरी, कोदोबारी, मकैबारी । जीवन निर्वाहको आधार । हामी जति उकालो चढ्दै जान्छौं घामको थप्पड हाम्रा गालामा तातो भएर अनुवाद हुन्छ । सबैका अनुहारमा गुराँस फुलिरहेको देख्छु म , रातो गुँरास ।

चित्रे पछि निगाले गाउँ पुग्छौं । कुनै समय यस गाउँमा मोटर पनि कुद्ने होला कि ? सोच्नै पर्दैन अत्यन्त न्यून संभावना । निगालेको कोदो र मकै रोपिएको बारीमा सेर्पिनी दिदी सूर्यका किरणलाई हत्केलाले छोप्ने प्रयास गर्दै हाम्रो लश्करतिर हेर्छिन् । यही बेला म उनको तस्वीर उतार्छु । एउटा मौलिक तस्वीर, मौलिक अनुहार । उकालोमा हामीसँग एउटा बृद्ध अनुहार जम्का भेट हुन्छ । उमेरले असी नाघेको यो सेर्पा अनुहारको ढाडमा बोकेको भारी देख्दा आफ्नै जीवनशैलीसँग रिस उठेर आयो । किन एउटा रुकस्याक आफै बोकिएन भन्दै । मान्छेको शरीर जतिसुकै दुःख र पीडामा पनि अभ्यस्त बन्दै जाँदो रहेछ, यी बृद्धबाट यही सिकें मैले । उमेरसँग पौठेजोरी खेल्दै गरेको उनको जीवनकथा झल्किने अर्को एउटा तस्वीर मैले डिजिटल क्यामेराको गर्भमा गर्भादान गराई दिएँ, भोली पर्सि एल्बम पुत्र बनाएर सजाउनेछु । विकाश र निर्माण चित्रे र निगाले गाउँ भन्दा कति सूदूरमा होला राजधानी अवस्थित रहेको काठमाडौंसँग सिमाना जोडेर मितेरी लाउँदै गरेको गाउँको हविगत !

निगाले गाउँको टुप्पोमा अवस्थित बुद्धको प्रतिमा हेर्ने रहर तबमात्र साकार हुन गयो जब हामी निगालोका झाडीको बीच गोरेटोबाट अन्तिम विन्दुमा पुग्यौं ।

अहा ! कति सुन्दर बुद्ध । लुम्बिनीमा जन्मिएका सिद्धार्थ गौतम उनको जीवनको कालखण्डमा कुनै बेला के यत्तिकै सुन्दर थिए होलान् मन भित्र एउटा प्रश्न खडा हुन्छ । सिङ्गो डाँडा र उकालोसँगको पौंठेजोरीमा विजेता बन्दै हामी बुद्धको प्रतिमा अघिल्तिर लम्पसार पल्टिन्छौं थकाई मार्न । अत्यन्त आकर्षक यो प्रतिमा बनाउन करीब रु एक करोड खर्चिएको अनुमान गरिन्छ । कुनै धनी मानी बौद्धमार्गीले काठमाडौं देखि हेलिकप्टरमा ओसारेको थिए रे ! जूँगा भएको बुद्ध प्रतिमा पहिलोपटक यहाँ देखे मैले । मूर्तिको चारैतिर घुम्यौ हामी । अब हामीलाई उकालो चढ्नु छैन । डाँडाको ठडिएको अन्तिम बिन्दुमा पुगेर आकाश छुने हाम्रो प्रयत्न । हामी माथि अब आकाश मात्रै छ । नीलो आकाशले हामीलाई चियाईरहेको लाग्छ । एउटा सानो ध्यानस्थल पनि छ । संभवतः सुनको जलप लगाईएको आकर्षक मूर्तिको चारैतिर रमाई रमाई फोटो खिच्यौं ।

मध्यान्हको सूर्य पश्चिम यात्रामा यात्रारत हुँदा हामी दक्षीणतिर आजको वासस्थानतिर लाग्छौं । सेर्माथाङ् गाउँ अझै एक डेढ घण्टा हिंड्नु पर्छ । केल, गोब्रे सल्ला, धुपि सल्ला, ऐअँर र कटुसका रुखहरुले भरिएको जङ्गल । शान्त जङ्गल कोलाहलविहीन । जङ्गली चराचुरुङ्गी र जनावरको आश्रयस्थल । हामी अब तेर्सो तरपायाँ बाटो हिंडनु पर्छ । सडक निर्माण गर्ने क्रममा डोजर लगाएर भत्काईएका पाखा र पहिरोहरु देख्छौं । सडक त कहिले पो बन्ला र ? भित्ताहरु भत्काउने र प्रकृतिलाई अस्तब्यस्त बनाउने काम भने भएको छ । बाटोमा एउटा बृद्ध भेटिन्छन् , निगालोबाट बुनेका चित्रा र अन्य सामान बेच्न हिंडेका ७५ बर्षे उमेरमा पनि उद्यमशिलताको यो नमूना देखेर मन त्यसै त्यसै आल्हादित हुन्छ । म केही बेर उनीसँग भलाकुसारी गर्छु । उद्यम गर्न चाहनेलाई उमेर बाधक बन्दो रहेनछ । स्थानीय कच्चा पदार्थको प्रयोग गर्दै बनाईएका स्थानीय घरेलु सामानको उचित बजार प्रबद्र्धन भै दिए हाम्रो व्यापारघाटा केही कम हुन्थ्यो कि ? आफैसँग कुरा गर्दै ती बृद्धसँग हाँसेर विदा भएँ । चाउरिएका अनुहारको मुस्कान सहित उनी छुट्टिए साथै एउटा अर्थपूर्ण हाँसो अलप भयो ।दिउँसो साढे एक बजेतिर हामी सेर्माथाङ पुग्छौं । अहा ! भित्तामा लुकेको सुन्दरीको अनुहार जस्तो । घुम्टोभित्रबाट सुन्दर आँखाले चियाईरहेको सेर्माथाङ साँच्चै अनुपम सुन्दर गाउँ छ । कोलम्बसले अमेरिका पत्ता लगाउँदा के खुशी भए थे होलान् र ? हामी सेर्माथाङ पुग्दा त्यति खुशी देखियौं । थकित शरीरमा पनि जून जस्तै टल्केका सबैका अनुहार दिउँसोको खाना र साँझको वासस्थानको खोजीमा चारैतिर नियालीरहेका थिए ।हामी एउटा घरको आँगनमा भेला हुन्छौं जहाँ हाम्रो आजको बासस्थानको बन्दोबस्त हुँदैछ र खाना पनि पकाउने अर्डर गछौं । साहुजी र साहुनी सेर्पा र सेर्पिनी दिदी अत्यन्त आत्मिय लाग्छन् । सुन्दर गाउँजस्तै सुन्दरता उनीहरुका अनुहारबाट आल्हादित देख्छौं हामी । बौद्ध धर्मालम्बी उनीहरुको यो गाउँमा जीव हत्या वर्जित छ । बुद्धको अहिंशावादी सिद्धान्तको पूर्णरुपमा परिपालन गरेका छन् उनीहरुले । सानो मीठो श्वरमा कुरा गर्ने उनीहरुको जीवनशैलीमा हामी अभ्यस्त भैसकेका छैनौं । ठूलो ठूलो श्वरमा गफ गर्छौ जुन कुरा यहाँ वर्जित भएको थाहा पाएपछि हाम्रो श्वर साउतीमा परिवर्तन हुन्छ ।

प्रतिव्यक्ति पाँचसय रुपैयाँमा एक छाक खाना भोली विहानको ब्रेकफास्ट र सुत्ने व्यवस्था समेत पाईयो । दिउँसो साढे तीन बजे खाना खायौं । अत्यन्त सफा सुग्घर भान्छामा सजाईएका आकर्षक भाँडा कुँडा, काठमाडौंका कुनै पनि ठूलो रेस्टुरेन्टमा पाइने सबैखाले खानेकुराको मेनु देख्दा हामी सबै छक्क प¥यौं । साहुजी लाङ्टाङ् राष्ट्रिय निकुञ्जका कर्मचारी समेत हुन् । छोराछोरी काठमाडौं बौद्धमा बस्छन् रे । आत्मीय सेर्पिनी दिदीको आतिथ्य हाम्रा निम्ति स्मरणयोग्य रह्यो । तातो पानी समेत व्यवस्था भएकाले दिनभरको पसिनालाई केही साथीहरुले विदाई ग¥यौं । भोजनपश्चात् सेर्माथाङ्को सिरानमा रहेको गुम्बा र ध्यानस्थलमा हामीलाई साहुजीले घुमाउनु भयो ।

बौद्धमार्गी भिक्षुहरु यस ध्यानकेन्द्रमा तीनवर्ष तीन महिना तीन दिन तीन घण्टा तीन मिनेट तीन सेकेण्ड बसेर ध्यान गर्छन् । यो समय उनीहरुका निम्ति आफुलाई सून्यमा रुपान्तरण गर्नु हो । बाफ रे हामी अचम्मित हुन्छौं यस्तो सुनेर । तीन मिनेट पनि चुप लागेर बस्न नसक्ने हामीलाई एक मिनेटको मौन धारण कस्टप्रद बन्न जान्छ । डाँडाको सिरानमा अवस्थित यस ध्यानकेन्द्रमा ६ वटा कोठा र एउटा शौचालय अनि स्नानागार छ । चारैतिरबाट भर्खरै केही भिक्षुहरु हिंडिसकेकाले केन्द्र खाली छ । यो तीन अंकको अवधीमा उनीहरु एउटै शब्द उच्चारण गर्दैनन् । अति आवश्यक पर्दा लेख्छन् । उनीहरुको भोजनको बन्दोवस्त गाउँलेहरुले गर्छन् ।
सेर्माथाङ गाउँ छ , घरहरु छन् ढुङ्गा बिच्छाईएका आकर्षक गोरेटाहरु छन् । पूर्णिमाको जून आकर्षक बनेर उदाउँछ सेर्माथाङ्का रातहरुमा, हिमालका चुचुराको प्रभातीय किरणलाई सेर्माथाङ एकटकले मुस्कुराएर हेर्ने गर्छ, गाउँवाशी अधिकांश भने विस्थापित भएर काठमाडौं छिरेका छन् । प्रायः तेश्रो मुलुक पसेका छन् । आकर्षक गाउँ टुहुरो लाग्छ । गुम्बाको आँगनबाट अस्ताउँदो आकर्षक सूर्यको गोलो रातो डल्लोलाई मेरो हातमा उतारेर तस्वीर खिच्ने प्रयत्न गर्नु हुन्छ मित्र अर्जुन । क्षितिजमा अस्ताउँदो सूर्यको गोलो अनुहार एकछिनमै हाम्रा आँखाबाट ओझेल हुन्छ र साँझको गोधूली सेर्माथाङ्को आँगनबाट विस्तारै अँधेरोमा रुपान्तरण हुन्छ । त्यो अँधेरो रात हाम्रा आँखामा मीठो निन्द्रा भएर आईदिन्छ र हामी भोली विहानको सूर्योदय हेर्ने प्रतिक्षामा कतिखेर निदाउँछौ कुन्नि ? मीठो म्याकरोनीको खाना सँगै एउटा दिनको अन्त हुन्छ ।

भोलीपल्ट विहान हामी सूर्यको पहिलो किरणलाई हिमालका टाकुरामा हाँसेको हेर्न चाहन्छौं । गुम्बाको फराकिलो चौरमा भेला हुन्छौं पालैपालो । विहानको झिसमिसेमा नै भेला भएका हामीले हिमाल रातै भएर हाँसेको हेर्न निकैबेर प्रतिक्षा ग¥यौं । सूर्योदयको तस्वीरहरु आ–आफ्ना क्यामराभित्रै लुकायौं । वासस्थान कम होटेलमा फर्केर चिसो मौसममा तातो चिया र नास्ता खाएर यी एक जोडी शेर्पा दम्पत्तिसँग विगत चौविस घण्टामा भएको आत्मियतालाई बोकेर तार्केघ्याङतिर उन्मुख भयो हाम्रो टोली ।

यहाँबाट तार्केघ्याङ करीब पाँच छ घण्टामा पुगिन्छ । खासै उकालो ओरालो छैन अब । जंगल, गोरेटो, पर्यटकीय पदयात्रालाई पछ्याउँदै हिंड्छौ हामी । हाम्रो अनुसन्धानका निम्ति डाटा संकलन गर्ने कार्य तार्केघ्याङमा गर्ने निर्णय गर्छाैं । बाटोमा कताकति विदेशी पर्यटकहरुसँग जम्काभेट हुन्छ र उनीहरु ‘नमस्ते’ भन्छन् । हामी ‘हलो’ भन्छौं । हामीलाई अंग्रेजीमोह उनीहरुलाई नेपाली सिक्ने रहर ।

सेर्माथाङ र तार्केघ्याङ अनि मेलम्चीघ्याङ क्षेत्रमा पुष महिनामा हिउँ पर्ने गर्छ । महिनौंसम्म हिउँ जमेपछि यी गाउँहरुको जीवन कस्टप्रद हुने गर्छ । सेर्माथाङ र तार्केघ्याङको बीचतिर घ्याङ्गोल पर्छ । आकर्षक घ्याङ्गोल गुम्बा रहेको गाउँको होटेलमा हामी चिया पिउन र थकाई मार्न बस्छौं । जर्मन पर्यटकको जोडी बसिरहेका छन् तातो चियाको बाफ उनीहरको रातो अनुहारमा टाँसिरहेको देख्छु म । हाम्रो समूह देखेर केही अनौठो मानिरहेका छन् , उनीहरु । यिनीहरु प्नि पो घुम्दारहेछन् भन्ठानेका होलान् सायद । केही गाईड र भरिया बाहेक कुनै नेपाली पदयात्री हामीले भेट्टाएनौं । आन्तरिक पर्यटन प्रबद्र्धनमा हाम्रो योगदान नगन्य लाग्छ मलाई ।

हामी घ्याङ्गुलबाट तार्केघ्याङतिर लाग्छौं । मेलम्चीको मुहानतिर अवस्थित गाउँ आजको हाम्रो गन्तव्य र हाम्रो यात्राको अन्तिम विन्दु । त्यसभन्दा उता जाने लक्ष्य छैन हाम्रो । बाटोमा बाक्लै जंगल पर्छ । अक्करको भीरबाट गोरेटो बनाईएको छ । गोरेटो शीत ओढेर लम्पसार छ । रुखका पातहरुमा बाक्लै शीत टाँसिएको छ । विहानको घाममा टल्कीएका कटुसका पातहरुबाट शीतका थोपा चुहिएका तप ! तप ! जति हेर्दा पनि हेरौं लाग्ने दृश्य कहिल्यै आँखाबाट ओझेल नभैदिए हुने ।

भुईंकाफल टिप्न थाल्छौं हामी । भुईंकाफल गुलीयो हुन्छ । स सानो बच्चा उमेरमा खुबै खान्थ्यौ हामी । सुनसान जंगलको चौरमा राता भुईंकाफलका गेडी । जूकाको आक्रमणबाट त्रसित हुन्छौं हामी र फटाफट कुद्न थाल्छौं । विविध विषयमा गफ निरन्तर र यथावत भईरहन्छ । समूह उस्तै कहिले कस्तो त कहिलो कस्तो ।

भोक र थकाईको आक्रमणबाट हामी सिथिल हुँदै जान्छौं । सेर्माथाङ्बाट नजिकै दृष्टिगोचर भएको तार्केघ्याङ भने जति हिंड्यो उति झनै टाढा लाग्न थालिरहेको छ हामीलाई ।

करीब पाँच घण्टाको यात्राको गन्तव्य अर्को रमाईलो आकर्षक गाउँमा पुगेर अन्त हुन्छ हाम्रो । अहा ! तार्केघ्याङ हामी सबैका आँखामा खुशी नाँच्न थाल्छ । वैशालुले लुकाएर, साँचेर राखेको जोवनजस्तो तार्केघ्याङ हामीलाई नै पर्खेर बसिरहेको जस्तो लाग्छ । गाउँको बीचमा रहेको गुम्बाको आँगनमा कुनै भोजको आयोजना भैरहेको छ । मानिसहरु भोज समाप्त गरेर सरसफाईमा ब्यस्त छन् । हामी खाने प्रबन्ध र वासस्थानका निम्ति खोजी गर्छौं ।

तार्केघ्याङ्मा एउटा मात्र होटेल छ । जहाँ वीस पच्चिस जना पाहुनालाई मात्र वासस्थान उपलब्ध हुन सक्छ । केही साथीहरु सो होटेलमा जानु भयो तर वास नपाईने जानकारी सहित निरास भएर फर्किनु भयो । हामी सबैका अनुहार एकाएक मेलम्चीघ्याङमाथिको आकाशमा केही समय अघि मडारीरहेको कालो बादल जस्तै भए र एकले अर्कोलाई प्रश्नसूचक अनुहारले हेर्न थाल्यौं “लौ अब के गर्ने ? त्यहाँ त कुईरे पाहुना आउनसक्छ त्यसैले तपाईहरुलाई बस्न दिन सक्दैनौं ” भने नि ?

तत्पश्चात् अर्जुन जी र म गएर निकै पापड बेल्यांै । मैले होटेलवालासँग निकै अनुनय विनय गरें । यदि कुनै कुहिरे आएमा मध्येरातमा भए पनि खुला चौरमा सुतिदिने वाचा गरेपछि बल्ल राजी हुनु भयो ।

“म त एउटा कोठाको पाँचसय लिन्छु । खाना सादा खाएमा एकसय रुपैयाँ अमलेटको पचास रुपैयाँ आदि आदि । ”

हामीले अत्यन्त हर्षित हुँदै वहाँको शर्त स्वीकार ग¥र्यौ । प्रतिव्यक्ति पाँचसय अनुमान गरेको ठाउँमा झण्डै सय रुपैयाँ मात्र पर्ने भो कोठाको । पाँचवटा खटिया जहाँ दुई दुई जनाको दरले पनि सुत्न मिल्ने । यतिखेर भने हाम्रा अनुहारको बादल हटेर घाम लागिसकेको थियो । मध्यान्हको उजेलो घाममा सबैका अनुहार चम्किएका थिए अप्रत्यासित रुपमा ।

दिउँसोको भोजन पश्चात् हामीले तार्केघ्याङ निवासीहरुसँग अन्तवार्ता गरेका थियौं । पन्ध्रवटा गाउँहरु नुर्बुगाउँ, ठूलो ढुङ्गा, तातुङ, घ्याङ्गुल, तासिघ्याङ्, न्याल्मुनेस, तार्केघ्याङ, मेलम्छीम घ्याङ, नाकोदे, सर्कथली, पारधाङ, टिम्बु, होरिङ, याम्बालामा र ककनी हेलम्बुमा अवस्थित छन् । १०८ घरधुरी भएको तार्केघ्याङमा हाल तीस घरमा मात्र मानिस बस्छन् । गाउँभरीमा जम्मा १०२ जनाको जनसंख्या विद्यमान छ । जसमध्ये महिला चालिस जना र केटाकेटी चार जना । साङ्गे लामा हेल्मो, सोनम तोक्पे हेल्मो, छङ्गा डोल्मा सेर्पा, फुरेसी लामा, पेम्बा, कान्छा, किन्जो, लाक्पा, टेम्बा साङ्गे लगायतसँग अन्तवार्ता गरियो ।

सबैजनाको नागरिकतामा शेर्पा अथवा लामा थर लेखिएको भए ता पनि तार्केघ्याङवासी आफुलाई हेल्मो जातीका रुपमा चिनाउन चाहन्छन् । पहिचानका निम्ति भैरहेको क्रान्तिमा एउटा श्वर ‘हेल्मो’ यसरी पनि उठेको छ ।

कुनै बेला हेलम्बुको स्याउ अत्यन्त लोकप्रिय मानिन्थ्यो । यातायात अभावका कारण भरिया लगाएर सडकसम्म अर्थात् काठमाडौं पु¥याउँदा ढुवानी पनि नउठ्ने भएपछि हेलम्बुवासीले आफ्नो परिचय बोकेका स्याउका रुखहरु दनादन काटेर फ्याँकिदिए । बिक्रि नभएको स्याउलाई माटोमा खाल्डो खनेर गाड्दा समेत माटोको उर्वराशक्ति ह्रास गर्दै अम्लीयपन बढ्ने भएकाले यस्तो गर्नु परेको सबैको तर्क थियो । जसरी हेलम्बुमा स्याउ मासियो उसरी नै रिफाईनिङ मेसिनको अभावमा गुल्मीका गाउँहरुमा मानिसले धमाधम कफिका बोटहरु काटेको तीतो घटना मेरो दिमागमा बारम्बार दोहोरिईरह्यो ।

गाउँबाट अत्यधिक मानिसहरु द्धन्द्धका कारण विस्थापित भए । ती मध्ये धेरैजसो अमेरिका र यूरोप पुगिसकेका छन् । यहाँ बस्नेहरु पनि हिउँ पर्न थालेपछि काठमाडौं झर्ने गर्छन् । ‘हे’ भनेको आलु र ‘लम्बु’ भनेको मूला बाट सन्धि हुन गई अत्यधिक मूला र आलु उत्पादन हुने भएकाले हेलम्बु हुन गएको जनश्रुती छ । पर्यटनको विकासले जनजीवनमा पारेको प्रभाव वर्तमानमा खासै उल्लेखनीय नभए ता पनि विगतमा धेरै तार्केध्याङवासीहरुलाई अनपेक्षित लाभ भएको तथ्य सबैले स्वीकारे । हेल्मो क्षेत्रको श्रोतको उपयोग गरेर काठमाडौं लैजान लागेको पानी आयोजनाको नाम हेल्मो खानेपानी आयोजना राखिनु पर्ने आवाज उस्तै चर्को रुपमा अभिव्यक्त भयो । विभिन्न उमेर समूह र पेशा भएका व्यक्तिहरुको भनाईलाई हामीले संगठित ग¥यौं ।
शेर्पाहरुको आतिथ्यताले हामी सबैलाई अत्यन्त प्रभावित बनायो । सानो मीठो श्वरमा बोल्ने बानी, आदरभाव, खाना पस्किंदा व्यक्त सत्कारभाव, भान्छाको सरसफाई, सरल र मिजासिलोपन अनुकरणीय लागे हामीलाई । होटेलवाला साहुजीको छोरीलाई देखेपछि मलाई कुमार बस्नेतको उही –“हेलम्बुका सेर्पिनी, थाकखोलाका थकाल्नी, रुम्जाटारे गुरुङ्सीनी राम्रा भन्छन् सबैले ” भन्ने गीतको संझना भयो । राम्री सेर्पा नानी साहुजीकी छोरी ।

अम्बिका, शशी, पद्मा, मनिषा, बिष्णुहरुले त यीनै नानीका सेर्पा पहिरन डोचा समेत लगाएर तस्वीर खिचाए । मीठो संझनाका निम्ति । एउटा अर्को रातको शरणमा हामी पुग्यौं ।

भोलीपल्ट हाम्रो गन्तव्य काठमाडौं हुँदै हेटौडा फर्किनु । सबैजना आ–आफ्नो वासस्थानतर्फ फर्किन आतुर देखिन्छन् । सञ्जु (कान्छि दिदी) र बिष्णुको जागीरको सवाल छ । पद्माको अफिसको काम धेरै थुप्रेको चिन्ता छ । मन्जु दिदीको शरीर गलेको देखिन्छ तथापि हिम्मत कतिखेरै पनि हार्नु भएन । रुपकलाई मकवानपुर कलेज पर्खिरहेको छ । अर्जुनको व्यस्तता, मेरो कार्यालयको कामको चाप बढिरहेको होला यस्तै अनुमान गर्छु ।

सेर्माथाङ र तार्केघ्याङ यी दुई हेलम्बु यात्राका बिम्ब बनेर हाम्रो मनमस्तिष्कमा टाँसिरहे सदाका लागि । हामी भने टिम्बु र किउललाई लक्ष्य बनाएर प्रभातीय घामका पदचापहरु पछ्याउँदै लेकको बाटो ओरालो झरिरह्यौं । मेरो कानमा भने पूरानो त्यही गीत बारम्बार बजिरह्यो –
हिउँ खोलाको पानी छुनै नहुने
लेकको भिरालो बाटो हिंड्नै नहुने

मध्यान्हको घाम हामीसँगै हिंडीरहेको छ । पाखा पखेरा र डाँडामा छरिएको पहेंलपुर विहानको घाम मध्यान्हमा केही तातो भएर पोखिएको छ । हाम्रो कल्पनाको स्याउबारीले छपक्क छोपिएको हेलम्बुका गाउँमा कताकति एक दुई बोट स्याउ उभिएका देख्छौं र हामी उत्फुल्ल भएर तस्वीर उतार्छौं हेलम्बुको स्याउको र इतिहास संझिन्छौं । जंगल, ऐंसेलु र चुत्राका घारी । पारी पारी सम्म देखिने मनमोहक दृश्य । डाँडाको टुप्पोमा पैदलयात्रा गर्नुको आनन्द बेग्लै । सबै होचा थुम्काथुम्की र गाउँहरु तल तल, थकाई मारेर सुस्ताएका देखिने । विजयको एउटा भाव मनमा उत्पन्न हुने ओहो कति अग्लो डाँडा चढिएछ । बाह्र बजेतिर हामी टिम्बु पुग्छौं । टिम्बु खोलाको चीसो पानीमा विगत दुई दिनदेखि शरीरमा टाँसिएका पसिना पखाल्ने विचार उत्पन्न हुन्छ र खोलामा हेलिन्छु म । उफ ! कति चिसो पानी । यो टिम्बु खोला पनि केही तल पुगेपछि आफ्नो अस्तित्वलाई मेलम्ची खोलामा विसर्जन गर्छ । आफ्नो अस्तित्व हराए पछि तलतिर ऊ टिम्बु हुँदैन, मेलम्ची बन्छ । खाना पाक्दैछ । तीन दिनको पैदलयात्राको थकानलाई आफ्नो ब्यागप्याकको सिरानीमा बिसाउने प्रयत्न गर्छन् साथीहरु ।

टिम्बु बजार । यहाँबाट दैनिक उपभोग्य सामानहरु किनेर मानिसहरु सेर्माथाङ र तार्केघ्याङ अनि मेलम्चीघ्याङसम्मै बोकाएर लैजान्छन् । प्रति केजी चार रुपैयाँ ज्यालामा सामान पु¥याएर उनीहरु त्यही दिन तल झर्छन् । कारण जति माथि र उकालो चढियो उपभोग्य बस्तुको मूल्य पनि उसरी नै उकालो चढ्ने गर्छ । होटेलको बरण्डा र आँगनमा हामीले कब्जा जमाएका छौं । अगाडिको पसलमा बेतिनी गा.वि.स.को गोल्मा भंज्याङका एक जोडा युवक भारीको प्रतिक्षामा देखिन्छन् । कोही शेर्पा साहु माथिबाट झर्नेछ र उसको सामान बोकेर उनीहरु उकालो लाग्नेछन् । माइला तामाङ र कान्छा तामाङ नाम गरेका यी तामाङ युवकहरु प्रतिनिधी नेपाली गाउँले युवक लाग्छन् । फुटेका नाङ्गो कुर्कुच्चा, कम्मरमुनीको शरीर छोप्ने फाटेको पाइन्ट र पुरानो मैलो शरीरमा झुण्डिएको इस्टकोटले उनीहरुको अर्थशास्त्र पढ्न धेरै मेहनत गर्नु नपर्ने । यहाँका मानिसहरु सरकार अथवा कुनै दलप्रति पनि आशावादी देखिदैनन् । पंचायतकालीन सशक्त राजनितिज्ञ पशुपति शमसेर राणालाई भने श्रद्धा गर्दा रहेछन् । हेलम्बुमा विजुली बत्ति बालेर विकासको उज्यालो भिœयाएका उनी पटक पटक तार्केघ्याङ र सेर्माथाङमा काठमाडौंदेखि हेलिकप्टरमा आउने गरेको बताउँथे त्यहाँका बासिन्दा ।

हाम्रो लश्कर किउलतर्फ उन्मुख हुन्छ । मेलम्ची खोलाको बगरमा झर्छौं । टिम्बुसम्मको मेलम्ची प्रवेशमार्गको सडक ठाउँ ठाउँमा टेवा पर्खाल भत्किएर अबरुद्ध छ । यसकारण हामी किउलसम्म पैदल नै हिंड्नु पर्छ । दूध जस्तै सेतो मेलम्चीको पानी देखेर हामी सबैको हृदय रसाउन थाल्छ । विभिन्न ढङ्गमा तस्वीर खिच्छौं हामी संझनाका निम्ति । मेलम्ची तरेर पुनः किउलको बजार पुग्छौं । ला ! काभ्रे बन्द पो रहेछ हिजै देखुन ! हामी सबैका अनुहार अन्यौलताको कुहिरोमा हराउँछन् । कहिले खुल्ने होला ? अन्यौल छ तथापि टिकट बुकिङ गर्छौं भोली नै काठमाडौं जाने । पहिलो दिन बास बसेको घरमा विदेशी पर्यटकहरु बसेकाले हामी अर्कै नयाँ घरमा जान्छौं । यो होटेल होइन निजी घर हो । हामीलाई आश्रय प्रदान गरेकाले वहाँहरुप्रति कृत कृत भयौं ।

साँझ रमाईलो गर्ने विचारले केही दाउराको जोहो ग–यौं । यातायात बन्दका कारण रित्तो सडकमा दाउरा थुपारेर नाचगान पो गर्न थाल्यौं हामी । सबै साथीहरु गाउँलेसँग भाखामा भाखा मिलाएर गाउँन र नाच्न थाले । हामी पन्ध्रै जना गोलो घेरा बनाएर आगोको वरिपरि नाँचेको यो जीवन्त क्षणलाई सायदै कसैले बिर्सिएलान् । गाउँलेको हामी प्रतिको सौहार्दता र प्रेमलाई अविश्मरणीय बनायौं हामीले । मादलको रमरमबाट थकित भई कोठामा फर्कियौं हामी छिप्पिदो रातसँगै ।
“लौ न मेरो मोबाईल खोई ? ”

आत्मारामको सशंकित आवाजले सबैलाई स्तब्ध पा¥यो एकछिन । सबैका खल्ती र झोला कोठाका कुना कुना टकटकयायौं, अहँ मोबाईल भेटिएन । भिनाजुबाट उपहारस्वरुप प्राप्त सो मोबाईल हराएपछि टर्चले नाचगान स्थल वरिपरि सर्च गरियो । न त हाम्रा आँखाले मोवाइल भेट्टाउन सक्यो न त मोबाईलका आँखाले हामीलाई हेरिदियो । रमाईलो पछिको एउटा साँझ केही बेर शोकमग्न भयो । मोबाईल भेट्टाउने आशा मारेरै हामी आ–आफ्नो ओछ्यानमा लम्पसार भयौं ।

अर्कोदिन विहान सात बजे नै गाडी आउँछ भनिएको थियो । हामी हतार हतार नित्यकर्मबाट निवृत्त भएर तैयार भयौ तथापी गाडी आएन । अर्जुन, रुपक, आत्माराम लगायत केही साथीहरु बसपार्क गयौं । आज पनि यातायात खुलेन, भोली पक्कै खुल्छ होला भन्ने खबर मात्र बोकेर फर्कियौं । यस्तो खबरले कान्छी दिदीको अनुहार चिन्ताले छोपियो । मन्जु दिदीको ब्यग्रता झनै बढ्यो । बिष्णु र पद्मा आफ्नो अफिसको काम संझेर चिन्तित हुन थाले । अन्यौल्पूर्ण अर्को दिन । मैले केही किताब बोकेको छु । प्रदिप नेपालको “बाघमारेको लालसलाम” कथासङग्रह पढेर सकें । राजनैतिक कथाहरु । शुकरातका पाइला र घनचक्करका पाना केही पढें । सबै जनाको आजको दिन छटपटीमा नै बित्यो ।

भोलिपल्ट फट्केश्वरसम्म चारहजार रुपैयाँमा पु¥याईदिने बचन दियो एउटा गाडीवालले । मर्नु भन्दा बौलाउनु निको पन्ध्रसयभन्दा थोरैले पुग्ने ठाउँमा चारहजार, हाम्रो बाध्यताको फाइदा उसले लियो । हामी बाध्य र विवश थियौं ।

अन्यौलपूर्ण अनुहारमा खुशी छर्दै हामी फट्केश्वर पुग्यौं र काभ्रे जिल्लालाई छलेर सिन्धुपाल्चोकबाट काठमाडौं निस्कने फट्केश्वर साँखु सडकको यात्रामा पैदलै भए पनि जाने जमर्को ग¥यौं । यो निर्णय हाम्रा निम्ति साहसिक काम थियो । यतिका दिन पैदलयात्रा गरेर थाकेका हामी अझै लगभग दुईदिन पैदलै हिंड्न तम्सिएका थियौं ।

अचानक हाम्रा अघिल्तिर एउटा बस आइपुग्यो जुन साँखु हुँदै काठमाडौं जाँदै थियो । कोचाकोच गरेर हामी केही साथीहरु बसभित्र पस्यौं र कोही छतमा । बस फट्केश्वरबाट उकालो चढ्यो धूलो उडाउँदै कच्ची माटे सडकमा । यसपटक भने हामी सबैले जीवनसँग हदैसम्म संझौता गरेका थियौं । साँघुरो सडक, मोड्न नमिल्ने घुम्ति, घुम्तिमा गाडी उकाल्दा ब्याक गर्दै पुनः काट्नुपर्ने त्यति गर्दा पनि एउटा चक्काको आधि भाग जहिले पनि भीरतिरै हुने । सबैजना सास थामिरहेका । केही साथीहरुसँग म पनि छतमा छु । बसको छत कम मृत्युशाला धेरै बोध भईरह्यो । मित्र होमनाथको अनुहारमा मृत्युको छायाले घेरिरहेको लाग्थ्यो । वहाँ त बाटोमा नै बस रोकेर पटक पटक झर्न खोजिरहनु भयो र बरु पैदलै हिंडेर काठमाडौं पुग्छु भन्नुहुन्थ्यो । डर, त्रास र भयले आक्रान्त मानिसको अनुहारको बिम्ब कस्तो हुँदोरहेछ वहाँको तस्वीर हेरेपछि सबैजना छक्क पर्छौ । नाङ्लेभारेसम्म उकालो चढेको बसले हामीलाई काठमाडौंतिर ल्याएको हो वा यमपुरीको यात्रा गराईरहेछ भन्न गाह्रो थियो । लोकल कोदोपाइरिनलाई एकाविहानै उदरस्थ गर्नेहरु भने निडर भएर आफुले बोकेको कोदो पाइरिनको जर्किनबाट छछल्किएर बासना फिंजाईरहेको जर्किन अँठ्याएर बसिरहेका छन् ।

सिन्धुपाल्चोकका गाउँको मनमोहक दृश्यलाई भने आँखाभरि बोकेर ल्याउन बिर्सेनौं हामी । थुप्रै तस्वीरहरु हाम्रो डिजिटल क्यामेरामा कैद भए । नाङ्लेभारेमाथिको नीलो आकाश हेर्दै ओरालो झरेपछि देखिएको चारभंज्याङ खाल्डोको कंक्रिटको जंगलले मनभरीका हरिया डाँडा काँडाहरुलाई विस्थापित गरिदियो । साँखुहुँदै पुरानो बसपार्क र तत्पश्चात् बल्खु पुगेर हेटौंडा जाने टाटा सुमो चढेपछि हामीले ढुक्क भएर लामो श्वास फेरेका थियौं । टेक्करमा खाजा खाँदै यात्राका तरङ्गहरु मनमा दौडाउँदै संझिरह्यौं । अन्धकार साँझमा हेटौडा नगरी पुग्दा भने सेर्माथाङ र तार्केघ्याङका बिम्बहरु मेरो मनमस्तिस्कमा छाईरहे । मलाई लाग्यो सबैलाई पनि मलाई जस्तै भईरहेको होला ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 30 चैत्र, 2067

लेखकका अन्य रचनाहरु