म मरिसकेँ

- हरिप्रसाद भण्डारी

“को छ भित्र ?” महाकवि लक्ष्मीप्रसाद देवकोटाका घरअगाडि पुगेर कवि केदारमान व्यथितले सोधे ।

“को हो ? हामी छौँ, माथि आउनुहोस् ।” भित्रबाट नारी आवाज आयो ।

कवि व्यथित केही गुनगुनाउँदै भित्र पसे र सिँढी उक्लदै तलामा गए ।

तलामा बैठकजस्तै एउटा कोठा थियो । उक्त कोठामा एकजना व्यक्ति च्यादरले पूरै शरीर ढाकेर सुतिरहेका थिए । परिवारका अन्य सदस्यहरू मलिन अनुहार बनाएर उनका वरिपरि बसिरहेका थिए । त्यहाँको स्थिति हेर्दा वातावरण तनावग्रस्त छ भन्ने कुरा सहजै अनुमान गर्न सकिन्थ्यो ।

कवि व्यथितका मनमा जिज्ञासा जाग्यो । सुक्ष्म अवलोकनपश्चात् सुकुलमा बस्दै सोधे– “कोही बिरामी भयो कि ?”

“होइन... ।” लामो सास फेर्दै श्रीमती देवकोटाले उत्तर दिइन् । च्यादर ओढेर सुतेका देवकोटा रहेछन्, जवाफ दिए— “होइन व्यथितजी बिरामी मात्रै होइन, म मरिसकेँ । म जिउँदो रहिन आजदेखि ।”

देवकोटाले त्यसो भन्दा घरका परिवारहरूको अनुहार झन् मलिन देखियो । देवकोटाको जवाफ व्यथितलाई अनौठो लाग्यो र उनले आँखैआँखाले त्यहाँ भएकालाई सोधे ।

“आज पितृश्राद्धको दिन, सबै काम सकिएर भान्सामा जानेबेला भएको छ । भान्सामा जान मान्नुहुन्न, यसै सुतिरहनुभएको छ ।” आँखा रसिला बनाउँदै श्रीमती देवकोटाले भनिन् ।

“किन र ? देवकोटाजी ! खाना नखाने ? जाऊँ हिड्नुहोस् भान्सामा ।” व्यथितले अनुरोध गरे ।

“खान्न, म मरेका मान्छेले किन खानुप¥यो ?”

“मरेको मान्छे रे ! के ठठ्यौली गर्नुभएको तपाईंले ....?”
“ठठ्यौली होइन, म ठीक कुरा गर्दैछु । म मरिसकेको छु । अब मैले खानु बेकार छ । बरु मलाई भान्सामा होइन, मसानघाटमा लैजाने व्यवस्था गर्नुहोस् ।” मुखै नखोली देवकोटाले जवाफ फर्काए ।

देवकोटाका कुरा सुनेर सबैजना दिग्दार त भइनै रहेका थिए, व्यथितलाई पनि सनक चलेछ । उनले च्यादर बाहिरैबाट ‘ए पागल ! तेरो मासु अझ मरेको छैन’ भन्दै देवकोटालाई बेसरी चिमोटे । उनको चिमोटाइले देवकाटोलाई पीडा भयो र “ऐया” भन्दै ओढेको च्यादर पर हुत्याउँदै उठे । देवकोटा एउटा लँगौटी मात्र लगाएर सुतेका रहेछन् । उनी उठेर बसेपछि व्यथितले भने— “खोइ त कहाँ मर्नुभएको रहेछ, तपाईं ? मृतशरीरमा चेतनातत्व हुँदैन । तर तपाईं त चिमोटाइको पीडाले उठ्नुभयो । त्यसैले तपाईं मर्नुभएको छैन ।”

“कस्तो कुरा गर्नुभएको व्यथितजी तपाईंले ? म मरिसकेँ भन्दा पनि पत्याउनुहुन्न तपाईं ? हेर्नोस् माथि भान्सामा १८÷२० वर्षकी बाहुनी नानी छन् भान्से, घरभरि छोरी ज्वाइँ र अरू पाहुना छन् । हाम्रो ब्राह्मण संस्कारमा भान्सामा जाँदा धोती फेरेर जानुपर्छ र चौकाको पिर्कामा बसेर खानुपर्छ तर आज मसँग भान्सामा जाँदा लगाउने एउटा धोतीसम्म छैन । सधैँ त श्रीमतीले पकाउँथिन् । त्यसबेला कहिलेकाहीँ लँगौटी मात्र लगाएर र कहिलेकाहीँ श्रीमतीको पछ्यौरा फेरेर जान्थेँ भान्सामा । तर आज त्यसरी जान पनि सकिरहेको छैन । मैले जीवनमा यति परिश्रम गर्छु तर एउटा धोतीसम्म छैन मसँग । यो लँगौटी मात्र लगाएर कसरी जाऊँ भान्सामा ? ल भन्नुहोस् त ! एउटा धोतीसम्मको व्यवस्था गर्न नसक्ने मजस्तो व्यक्ति बाँचेको के सार भयो ? म मरेबराबर भइन ?”

यसको जवाफ व्यथितसँग पनि थिएन । उनी पनि मलिन र गम्भीर देखिए । देवकोटाको उक्त उद्गार सुनेपछि त्यहाँ कोठामा भएका सबै व्यक्तिका आँखा रसाइरहेका थिए ।

केही बेर पहिलेको ठट्यौली वातावरण गम्भीरतामा परिणत भयो ।

(यो प्रसङ्गलाई देवकोटाले पागल कवितामा उल्लेख गरेका छन् ।)

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 28 चैत्र, 2067

लेखकका अन्य रचनाहरु