देशले रगत मागे

- योगेन्द्र उपाध्याय "पुष्प"

देशले रगत मागे मलाइ बली चढाउ..... । यो मलाइ अत्यन्त हृदयस्पर्शी लाग्ने गीत हो । हुन पनि वास्तवमा देशलाई चाहिएजति रगत बगाउनेहरुले भरीएको देश हो नेपाल । यो भूमी पृथ्वीनारायण शाहदेखी अप्रतिगामीहरुका रगत सिँचीएको छ । परमवीर योद्धा बलभद्रदेखि लिएर प्रतिगामीहरुका रगत बगेका छन् । शहीदको रगतले यो देशको माटो मुछिएको छ भने राणाहरुको रगत धानको बालामा झुलेको देख्न सकिन्छ । महत् नेताहरु विपी र मदनको रगतका दागहरु पनि यत्रतत्र भेटिन्छ भने इतिहासमा नाम हराएकाहरुको रगतको वास्ना बासन्ती पवनमा अनुभव गर्न सकिन्छ । इतिहासमा अँग्रेजसँग लड्दा बगेका रगत र वर्तमानमा आफूले आफ्नै खुट्टा काट्दा बगेका रगतको कुरा गर्ने हो भने लाल सागर हेर्न अरु कतै जान पर्दैन ।

यहाँ कुखुराको रगत पनि बगेकै छ, राँगाको रगत पनि बगेकै छ, बाख्राको पनि बगेकै छ केको मात्र रगत बग्दैन र यहाँ प्याकेटका रगत पनि बगेकै छन् हुँदा हुँदा रगत दान गरेर रगत बगाउने धोको पुर्याउने पनि छन् हाम्रो देशमा ।

कसैले शब्दमा रगत बगाउँछन्, कसैले साहित्यमा रगत बगाउँछन्, कसैले क्रान्तिको नाममा रगत बगाउँछन्, कसैले शान्तिको नाममा रगत बगाउँछन्, कसैको रगत फोकटमा बग्छ, कसैको रगत बगेपछि किमती बन्छ तर बगेका रगतहरु बग्नुअघि कीमति हुन्छ या बगेपछि किमती र किमत के रगतको यो छुट्याउन निकै गाह्रो ।

मन्दिरमा रगत, मस्जिदमा रगत, घरमा रगत, बजारमा रगत, सडकमा रगत, दरवारमा रगत, झोपडीमा रगत, अस्पतालमा रगत, युद्ध मैदानमा रगत, व्यापारमा रगत, बेकारीमा रगत, नोकरीमा रगत, धर्ममा रगत, पर्वमा रगत, पीडामा रगत, खुशीयालीमा रगत, जन्ममा रगत, मरणमा रगत, प्रेममा रगत, घृणामा रगत, यत्र तत्र सर्वत्र रगत त्यसैले त त्यो घटना याद आउँछ जब कर्णले मर्ने समयमा कृष्णलाई विन्ती गर्छन् मलाई त्यस्तो धर्तीमा दाहसँस्कार गरियोस् जहाँ कुनै रगतको छिटा नपरेको होस् । कृष्णले ध्यान दृश्टिले हेर्दा कतै पाउँदैनन् त्यस्तो धर्ती शिवाय कुरुक्षेत्रको एक वित्ता जमीन । आश्चर्य ! जहाँ १८ अक्षौहिणी मान्छे मरे त्यो ठाउँमा एक बित्ता जमीन रगत विहीन । त्यहि ठाउँमा कर्णको दाहसँस्कार हुन्छ । अन्दाज लगाऔँ यो विश्वमा कति रगत बगे होलान् । अब धर्तीमा त्यो ठाउँ छैन जहाँ रगत नबगेको होस् । तर यति धेरै रगत बगेर र बगाएर हाँसिल गरेका उपलब्धिहरु ????

विश्वयुद्धका रगत, गृहयुद्धका रगत, खेलका रगत, हत्याका रगत, आत्महत्याका रगत, रणभूमीका रगत, रँगमञ्चका रगत, स्वतन्त्रता सँग्रामका रगत, परतन्त्रताका रगत, रेनाताका रगत, जीशसका रगत, गान्धीका रगत, भोकका रगत, भोगका रगत, आतँकवादका रगत, स्वरक्षाका रगत, अमेरीकाका रगत, अफगानीका रगत, लिबियाका रगत, सोमालीयाका रगत, जर्मनीका रगत, पोल्याण्डका रगत, सन्तका रगत, चोरका रगत, रावणका रगत, रामका रगत, प्रकृतिले बगाइदिएका रगत, आफैले बगाएका रगत, बमले बगाएका रगत, खुकुरीले चाटेका रगत, तरवारले पीएका रगत, धनुवाणका टुप्पाका रगत, भालामा सेरीएका रगत, कराहिमा पाकेका रगत, सडकमा पोखिएका रगत, हरे शिव !

सिमानामा रगत, सिमाना बनाउन बगाइने रगत, विकाशमा रगत, विनाशमा रगत, आविश्कारमा रगत, स्वीकारमा रगत, तिरस्कारमा रगत । रगत रगत रगत यहाँसम्मकि पिउने पानीमा पनि रगत । आज मलाई महशुस हुन्छ म कति रक्त पिपासु छु मैले पिउन्न पानी पिउँछु रगत ।

कुनै देशले रगत माग्दैन र कुनै देशले रगत माग्छ भने त्यो रक्त पिपाशु राक्षस हो, देश होइन । देशले आश्था माग्छ र आश्था दिनेहरुको रगत देशप्रति अनाश्थितहरुले बगाउँछन् । यसकारण आश्था बगाउन नसक्ने हामीहरु आश्था बगाएका शहिदहरुको आश्थालाई रगतको गाली नदिऔँ । रगत त के छ र ? खुट्टा काटेपनि बग्छ, घाँटी काटेपनि बग्छ । रगत त के हो र ? देश लुट्नेहरुको पनि बग्छ, देश निर्माताहरुको पनि बग्छ ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 25 चैत्र, 2067

लेखकका अन्य रचनाहरु