ग्याँसच्याम्बर छेउबाट

- सन्जु बजगाईं

“म्याडम रुथ म केही घण्टापछि फर्किने छु । आराम गर्दै गर्नुहोला ।” मैले उनले सुन्ने गरी भने ।

“मध्यान्न हुन लागिसकेको छ । मलाई पार्क लगेर छोडिदेउ र तिम्रो कामका लागि जाऊ ।” उनले अड्चो थापिन् ।

“पार्कको बहानामा म रोकिने छैन । आजको दिन मलाई केही घण्टा बिर्सनु पर्छ ।” म उनी बसिरहेको बाल्कोनिमै गएर बोलें ।

यिनी बच्चाले जसरी सताउँछिन मलाई । एकै मिनेट छोड्दिनन् । दिनभर यिनका कुराहरु सुनिदिनु पर्छ । खाना खाँदा पनि छेवैमा बसिदिनु पर्छ । लुगाहरुदेखि लिएर कपालको स्टाईलसम्म मेरै हातहरुले ठिक गरीदिनु पर्छ । कहीलेकाहीं आमा भेट्न आएकी आफ्नै छोरीले गरेको पनि मन पराउँदिनन् । असाध्यै काखे भएकी छन् । पार्कको बहाना बनाएर अहिले पनि मेरा पाउहरुलाई बाँध्न खोज्दैछिन् । तर आज मैले आफ्नो भावनात्मक सम्बन्ध साटासाट गर्न पुग्नै पर्ने छ ।

“म्याडम रुथ, मैले जानै पर्छ । मेरा साथिहरु पर्खिरहेका छन् ।” मैले उनका गाला सुम्सुम्याउँदै भने ।

“ओहो ! तिम्रा साथीहरुकहाँ, मलाई पनि लिएर जाऊ ।” उत्साहित हुँदै बसिरहेको आराम चेयरबाट जुरुक्क उठिन् र लागिन् आफ्नो कोठातिर । उनलाई नमनाई मैले कहीं निस्कन मिल्दैन थियो । म उनका पछि लागे ।

“बेन्जामिनलाई फोन गर । गाडी लिएर आओस् ।” म उनका पछिल्तिर पुग्दा गाडी ड्राईभरलाई बोलाउने आदेश दिईसकेकी थिईन् । अब उनलाई साथै लानुभन्दा पर मेरो केही चल्नेवाला थिएन त्यहाँ ।

बेन्जामिनले गाडी ल्याएर घरै अगाडी रोक्यो । म्याडम रुथ टाउकोमाथि गुलाबी ह्याट सजाएर निस्किईन् । जब–जब उनलाई हुँदैन भन्यो तब–तब उनी फुर्तिलि अधबैंशे झैं हुने गर्छिन् । आज पनि उस्तै फुर्तिलि भएकी छन् ।

म्याडम रुथलाई देखेर बेन्जामिनले टाउकोको ‘कीपा’(यहुदी पुरुषहरुले लगाउने एक प्रकारको सानो टोपी ) झिक्यो अनि अलिकति निहुरिएर तिनको दायाँ हातमाथि चुम्बन ग¥यो । मैले गाडीको ढोका खोलिदिएँ । उनी बसिन् । म पनि तिनको छैवैमा बसें ।

“म्याडम कहाँ लैजाउँ ? बेन्जामिनले गन्तब्य सोध्यो ।

“ईलाट् सीटी छोडिदेउ ।” मैले भनें ।

“साँझ एडमलाई केही नसुनाउँनु । फर्किहाल्ने हो ।” म्याडम रुथले बेन्जामिनलाई बेलैमा सचेत गराईन् ।
उनको एउटै मात्र छोरो एडम ! डेड सी नजिकैको शहरमा मर्सिडिज कारको डिलर खोलेर बसेको छ । आमालाई भेट्न शनिबार पारेर आउने भए पनि हरेक साँझ फोनबाट दिनभरको जानकारी माग्छ । सपिङ्ग गर्दा फलफुल किन कम किनेको ?पार्क किन सबेरै गएको ? के खाएको ? किन अबेरसम्म नसुतेको ? सम्पुर्ण कुराको जानकारी दिनुपर्छ । यो बेन्जिामिन त सकुनी जत्तिकै छ । ग्यारेजमा गाडी थन्क्याँउछ र नियमित जस्तो एडमलाई हाम्रो दैनिकीको बेलिबिस्तार लगाउँछ । यसबापत हरेक महिनाको अन्त्यमा केही रकम बोनस झै पाउँछ र दङ्ग
पर्छ । ईलाट् सीटी जान बेन्जामिनले गाडी हाई वे तिर मोड्यो । म्याडम रुथलाई कारको तिब्र गति मन पर्दैन । उनले आँखा चिम्लिइन् । मैले भने हाई वेको तेज गतिसँगै गुडेको मनलाई स्थिर बनाउन खोजिरहें ।
००००
म्याडम रुथले दिएको जीन्दगी भन्नु पर्छ मैले । बम र रकेटको धम्कीभित्र बाँचिरहेका इजरायलीहरुबिच जीवन भेट्ने आश बोकेर पुग्नु थियो । हामी भए त उखान भन्थ्यौ–‘आफै त महादेव उत्तानो पर, कसले देला वर !’ इजरायलीहरुले यसो भनि हालेका थिएनन् ।

आफ्नो देशको धरातल छोड्दा जीवन थिएन, ज्यान मात्र थियो आफूसँग । दुई छोराछोरीकी कलिली आमा थिएँ म । तिनीहरुको बाबुको नाम मात्र थियो साथ थिएन । गन्तब्यलाई झटारोको भर छोडँे । लागे खाउँला नलागे आँत मारौला ! छोराछोरीले पनि के–कति बुझे ? मानिदिए आमा छोडेर बस्न । नाबालक छोडेर आकाशमा पखेटा फिजाउँदा अमिल्ईएको मनको पाटो चुँडेर अरुलाई चखाउने मिलेन ! आकाशभरीको यात्रामा एक्लै चाखे । ईजरायलको ‘बेन ग्युरोन एयरपोर्ट’ मा जहाजले उतार्दा प्रकृतिले झमक्क साँझ पारेपनि मध्यदिन झैं झलमल थियो वरिपरि । तर मेरो मनभित्र भने नयाँ धर्तीमा परिआउने सम्पुर्ण कुराहरुको भय कालो अँध्यारो भएर पोतिएको थियो ।

लिन आउनेको नाम र फोन नं. को जोहो थियो तर उसको आकृति थाहा थिएन । एराईभल गेटमा उभिएर मेरो नाम बोक्ने कोही छ कि भनि चिहाईरहें । त्यो भब्य सजिएको माहौलमा आँखाले केही देखेन । मान्छे लिन नआए के पो होला ? खुट्टाहरुमा वाष्पीकरण शुरु भयो । माताजी निर्मला देवीले भन्थिन्– ‘आपतमा माता जी बाहेक केही नसोच । तिम्रो रक्षा म गर्ने छु ।’ मैले अन्त्यमा माताजीको सहारा लिएँ । माताजीले सिकाएको योग मन्त्र बोले । बिरानो ठाउँमा यो नै मेरो विश्वासरुपी साहारा थियो ।

“ज्ञानुदेवी ! ज्ञानुदेवी नेपाली !........।” एउटा धोद्रो आवाज सुनियो ।

“म ज्ञानुदेवी हुँ .........।” भोकाएको ब्वाँसो जस्तै थिएँ म ।

मेरो नाम कागजमा कोरेर उभिएको भए त्यो धोद्रे आवाज भेट्न मैले कष्ट गर्नु पर्ने थिएन । तर त्यसले त्यसो गर्नु जरुरी संझिएनछ । स्वीकारे सबै । त्यसले मलाई आफ्ना समानहरु गाडीमा राख्न भन्यो । मैले सामान राखेँ । एउटा डर सकिएर मनमा अर्को डर शुरु भो । यो धोद्रे आवाजले कहाँ पु¥याउला ? भन्न त मलाई पठाउनेले सिधै मान्छे लिन आउँछ , असल घरको मान्छे हो, एकदम राम्रो भनि पठाएको हो । तैपनि आजसम्म सुनेका अरुहरुका बोझिला कुराहरुलाई किनारा लगाईहाल्न मैले सकिरहेकी थिईन । मन कक्रियो बाटैभरी ! गाडीमा हालेर झण्डै पन्ध्र किलोमिटर कुदायो कि ? केहीबेरको अन्तरालमा एउटा घरको गेटभित्र हुल्यो गाडी । अंगे्रजीका अस्पष्ट उसका शब्दहरुलाई पछ्याउँदै घरभित्र छिरें म ।

“मैले काम गर्नु पर्ने घर यहीं हो ?” निश्चित गन्तब्यको लागि मेरो मन अधिक हतारिएको थियो ।

“यही घर हो । तिमीले मेरी आमा रुथसँग बस्ने हो । यिनको हेरबिचार तिमीले आफ्नी आमा ठानेर गर्नुपर्ने छ ।” धोद्रे स्वरवालाले भन्यो ।

मैले मुन्टो हल्लाएर उसलाई विश्वास दिलाईदिएँ । यो तात्तातो मौखिक कन्ट्रयाकले निकै सान्त्वना मिल्यो मलाई । मैले धोद्रेस्वरकी आमालाई हेरे । चौरासी गर्ने उमेरकी थिई, आराम चेयरमा बसेर टीे. भी. सुन्दै थिई । बिजुलीको तरङ्गको हिसाबमा सबै राम्रै पाएँ ।

“म एडम ! एडम मोस्कोभिसी ! यो घरको मालिक ।”

बल्ल धोद्रे स्वरवालाले सभ्य भएर आफुलाई चिनाउँदै हात ते¥स्यायो मतिर । मैले पनि हात ते¥स्याउँदै आफ्नो नाम भनिदिएँ । त्यसपछि टाउकोको कीपा झिक्यो र आफ्नी आमाको हातमाथि चुम्बन ग¥यो । उसकी आमासँग पनि मेरो औपचारिक चिनाजान गराईदियो । यसबेलासम्म उज्यालो–अँध्यारो केही फरक नदेखेका मेरा आँखाहरुले बल्ल कोठाभित्र बलेको बत्ति महशुस गरे । मलाई ठूलो छलाङ्ग मारे जत्तिकै भो । हेब्रु भाषाको पारखी त्यो धोद्रे स्वरले कनेर बोलेको अंग्रेजीमा मैले आफूले निभाउने भूमिकाको जानकारी पाएँ । उसले मेरो कोठा देखायो र मेरा समान राख्न भन्यो । खानेकुराका लागि किचेन देखाईदियो र भन्यो–‘आमालाई दिउँसोको बाह्रबजे भन्दा अगाडी नउठाउनु । मेरी आमा राम्रो अंग्रेजी बोल्छिन् । कुरा गर्न चिन्ता मान्नु पर्दैन । ड्राईभर यही माथ्लो घरमा बस्छ । बाँकी सहयोग उसैले गर्ने छ ।’ धोद्रे स्वरले एकै सासमा कुरो भनि सिध्यायो अनि बिदा लियो उसकी आमासँग ।

छोराछोरीसँगको बिछोडमा ब्यग्र दुखेको मन, बिरानो मुलुक, बिराना मान्छे, बिरानो घरभित्रको बिरानो बिस्तरामा कचपचिएको रात गुज्रियो । बिहान बिउँझिएर भ्यालबाट चिहाउँदा बाहिर देखिएका दृष्यहरुले भुमरीमा रुमलिएझै बनायो । मान्छेहरुले बोल्दा सुनिने नितान्त नौला शब्दहरुले आफू बस्ने ग्रह नै बदलिएको भान भो । तैपनि नयाँ ठाउँको आफ्नो सकुशल बिहानीमा सम्पुर्ण कुराहरु गौण ठाने । मध्यान्नमा म्याडम रुथलाई उठाउनु थियो । चेतनामा शंका भर्दै पसे तिनको कोठामा ।

“म्याडम रुथ ! म्याडम रुथ ! तपाईले उठ्ने समय भयो ।” मैले आफ्नो कामको श्री गणेश गरे ।

“तिमी ज्ञानुदेवी, बस यहाँ छेवैमा ।” बुढ्यौलीको चरमबिन्दु छोएपनि तगडा रहेछ आवाज । उनले पहिलो संबोधनमै छेउमा बस्न गरेको आग्रहले मन भरिएर आयो । कठोरता र दरिद्रताभित्र हिजोसम्म जुहारी खेलेको मेरो मनले उनको एकै बोलीमा देउता भेट्यो । म उनको नजिक गएँ ।

“तिमी त भर्खरकी केटी पो रहिछौ त !” जवाफमा म शायद लजाईदिएँ । दुई बच्चाकी आमा हुनुको आधारमा तिनले मलाई निक्कै परिपक्क कल्पना गरेकी हुँदिहुन् ।

“तिमीलाई बुढाबुढीको स्याहार गर्न मन पर्ला के ?” तिनीलाई मेरो उपस्थितिले शंका पैदा गराईदिएको हुनसक्छ ।

“मलाई बच्चाबच्ची र बुढाबुढीको असाध्यै माया लाग्छ ।” मैले भने ।

“तिमीभित्रको कोमल मनले नै यहाँसम्म ल्याएको हो त उसोभए ?” तिनले केरकार गरिन् ।

मन बाँधेर त्यागेको हिजोको संसारको पुनरावृति गर्न मन थिएन मलाई । के भनुँ ? मेरा बच्चाहरुको बाबु हामीलाई बिर्सिएर अर्कै दुनियाँमा रमायो । आफ्नो देशको माटोमा गरीबि र निराशा मात्र फल्ने गर्छ । सन्तानलाई पाल्नु दायित्य भो, त्यसैले आएकी भनुँ ? म्याडम रुथका अगाडि आँखाबाट आँशु झार्नु बाहेक अर्को जवाफ मसँग थिएन ।

“रुनु र हार्नुले मलाई एउटै अर्थ दिन्छन् ।” रोईरहेकी मलाई हेर्दै घुमाउरो पारामा उनले चेतावनी बोलिन् । “नुहाउने पानी तैयार छ टबमा ।” तिनले नुहाउने समय भैसकेको थियो । मैले आफ्नो नौलो दैनिकीलाई अगाडि बढाउन चाहँे ।

“हतार नगर । हामीले एक–अर्कालाई चिन्नु प¥यो नि !” तर तिनको भनाईमा रुखोपन भेटियो ।

उनले आफ्ना कुराहरु भन्दै गईन् । “तिमीले हिटलर सुनेकी छ्यौ ?” एकाएक तिनले हिटलरको कुरो उप्काईन् ।

“स्कूलमा पढेकी अलिअलि ।” उनी यहुदी हुनुको नाताले हिटलरको कुरो उप्काउनुलाई मैले सामान्य ठाने ।

“त्यसको साक्षात्कार गराउँछु म तिमीलाई । जीवनमा दुख र भयको अर्थ बुझाउँछु ।” शायद उनको बहादुरीको मुख्य अर्थ थियो त्यसभित्र । म अलमलमा परें । उनले वृतान्त बताउन लागिन् ।

हिटलरले १९४२ ताका यहुदीहरुलाई बन्दी बनाएका बिभिन्न क्याम्पहरुमा लाखौ यहुदीहरुको नरसंहार देखेको त्यो पुरानो ईतिहास तिनका आँखामा जीवन्त रहेछ अझै ।

तिनले सुनाईन्–‘नाजीहरुले हाम्रो परिवारलाई बन्दीगृहमा राखेको बेला म केटाकेटी नै थिएँ । मेरो साथमा मेरी सानीआमा थिईन् । हामीलाई राखेको क्याम्पमा आईमाई र केटाकेटीहरुलाई मात्र ग्यास च्याम्बरमा पठाईन्थ्यो । कत्ति बच्चाबच्ची त भित्र नपुग्दै मरिसकेका हुन्थे । पुगेकाहरुलाई ग्यासको छिटो र अधिक प्रभावका लागि पहिले पानीमा नुहाउन लगाउँथे । त्यसपछि ग्यास छोड्ने फलामे चाङ्गमाथि लस्करै बसाईन्थ्यो । बिस्तारै छोडिएको ग्यासको प्रभावले तिनीहरुहरु छट्पटिएर मर्थे । तिनका मरेका लाशहरु जलाउन बडेमानका भट्टीहरु बनाईएका थिए । एकमुष्ट थुपारेका लाशहरुमाथि नाजीहरुका बुट नाचेको बिचलित भई हेरेको, रगतको हिलो माथि हिडेको क्षण, मान्छेको चिच्याहट.........!’ बाह्र बर्ष पुग्नै लाग्दा भोगेको यो बिभत्स समयको बयान गर्दा गर्दै उनको अनुहार निलो देखियो ।

तिनले भन्दै गईन् – “मेरा बाबु र काकालाई पहिले नै हामीलाई राखिएको क्याम्पको आँगनमा बन्दुकका नोकले हिर्काएर मारिसकेका थिए । म र मेरी सानीआमा सहित अरु सयौं आईमाई केटाकेटीहरुलाई भने सानो रेलमा हालेर ‘ओसस्वीट’ भन्ने बधशालामा पठाउन क्याम्पमा उर्दी जारी भएछ । सानीआमाले मलाई सुनाईन् । हामीलाई ठेल्दै, घिसार्दै रेलका डब्बाहरुमा कोचियो । नाजीहरुले बाटैमा हाम्रो कपाल खौरिदिए जसबाट हामीलाई पनि भट्टीमा हाल्नेछन् भन्ने प्रष्ट थियो । रेल आफ्नै गतिमा कुदिरह्यो । हामीले दुरी पार गर्दै जाँदासम्म मान्छेका लाश जलाएको धुँवाले भरिएको कालो आकाश रेलको डब्बाको सानो भ्यालबाट देखिन्थ्यो । सबै भोगियो........ ।” तिनी अड्किदै बोलिन् ।

“तपाई कसरी बाँच्न सक्नु भयो त ?” मैले गह्रौ मन पारेर सोधें ।

“मार्न लगिएका हामीहरुको रेल बधशाला पुग्नु केही अगावै दुर्घटना भो । ठुलै र्दुघटना थियो त्यो । रेलका डिब्बाहरु मकैका फूल उछिट्टिए जसरी उछिट्टिएका थिए । किचिएर , थिचिएर, थुप्रै मरे । बाँचेकाहरुको लागि साँझपरेको त्यो क्षण, भाग्न उत्तम थियो । मर्नु निश्चित छदै थियो बधशाालामा ग्यास पिएर किन मर्नु ? अन्तै मर्ने बिचारले हामी थुप्रै भाग्दै जाँदा ओस्कर साईन्डलरको फ्याक्ट्रीमा पुगेका थियौ । आखिर ओस्कार साईन्डलरले दिएको शरणले नै हामी बाँच्न सक्यौं ।”

छोटकरीमै किन नहोस् यी वृद्ध आफ्नो बाल्यकालको ईतिहास शान्त भएर सुनाईन् । मैले विभत्स बर्णन सुनिरहें ।

“अब तिमी मलाई भन, मान्छेले भोग्ने दुख र भयको पराकाष्ठा यो भन्दा अरु के हुन सक्ला ?” तिनले त उल्टो प्रश्न पो ते¥स्याईन् ।

“यो प्रश्न मलाई किन त ?” मैले प्रतिप्रश्न गरे

“केहीबेर अगाडी खसेका तिम्रा आँशुले प्रश्न गर्न बाध्य पारे मलाई । म कमजोर आत्मबल भएको मान्छे मन पराउन्न । मलाई सकारात्मक बिचार भएको र जीवनमा सधै शसक्त रुपमा प्रस्तुत हुन खोज्ने मान्छे मात्र मन पर्छ ।” उनी प्रष्टरुपमा बोलिन ।

केही क्षणको भलाकुसारीमा म्याडम रुथले मेरो मानसपटलाई सकारात्मक गन्तब्यतर्फ मोडिदिईसकेकि थिईन् । उनले सुनाएको यो भयावह वृतान्तका सामुन्ने मैले भोग्नु परेको दुखको कुनै तुलनै भएन । लोग्नेले धोका दिनु, आर्थिक अभावमा जीवन गुजार्नु, ऋणपानमा अल्झिनु, छोराछोरीबाट केही समयका लागि टाढा हुनु जस्ता कुराहरु त जीवनका पाटा रहेछन् । मान्छेको जीवनको पो महत्व हुँदोरहेछ !

“म्याडम रुथ, म प्रण गर्छु, मेरो बिगत र वर्तमानमा मैले छोडेर आएका कलिला छोराछोरी र मेरो देश संझेर फेरी म रुने छैन ।”

कठघराको कैदीले जसरी शफत खाएँ मैले उनको अगाडि । दिनहरु बित्दै गए । म्याडम रुथको खारिएको चेतनाले मेरो मनलाई पढ्न कत्ति दिन पनि लागेन । बिगत केही वर्षको समयमा मैले ईमान्दार भएर तिनलाई जे दिएँ, त्यो भन्दा बढी उनले मलाई दिईन् ।
० ० ० ० ०
“गाडी कहाँ पु¥याएर रोक्नु ?”

दोश्रो विश्वयुद्धतिर हराएको मेरो चेत बेन्जामिनको आवाजले झस्कियो । ईलाट् सीटी छिरीसकेछ हाम्रो गाडी, पत्तै भएन मलाई । मस्त निदाईरहेकी म्याडम रुथलाई हेरें । निन्द्रामा स्वर्गीय आनन्दले सुन्दर सपनाहरु भोगिरहेकी हुँदीहुन् । उनको यो मर्सिडीजभित्र बसेकी छु ! तर म्याडम रुथको प्रेरणाले म आफैलाई मर्सिडीज गुडाउन सक्ने बनाएको छ आज । ‘जीवन भोग्न हो भने, रुने होईन हिम्मत गर ।’ यिनीबाट पाएको यही प्रेरणाले म मेरो अस्तित्व देख्दै छु ।

“मलाई जीवन दिने मेरो जीन्दगीकी ‘ओस्कार साईन्डलर’ ब्युँझिने होईन ? बेन्जामिनले गाडी रोकिसक्यो ।” मैले तिनको कानैमा स्वर भरें ।

“क्रुर नाजीकी प्रतिनिधि मेरा कानका तन्तुहरुको बध किन गरेकी ?” ठट्टा गर्दै ब्युँझिईन् उनी ।

मेरो महान् चाड दशैंको टीकाको यो दिन, एकअर्कामा सद्भाव साट्न हतारिदै जीवन, आत्मविश्वाश र मानवताको कुरा गर्ने म्याडम रुथलाई लिएर छिरें आप्पा र करिमा बस्ने घरतिर ।

ब्रसेल्स, बेल्जियम

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 22 चैत्र, 2067

लेखकका अन्य रचनाहरु