सोमराज ‘अभय’ : मेरो उचाइको जग

- नरनाथ लुइँटेल

कलेजको कक्षा, रेडियोको कार्यक्रम, साहित्यिक जमघट, निकै अस्तव्यस्त र बेफुर्सदीले घेरिरहेकै बेला मेरो सुदूरपूर्वी झापाले एउटा जानकारी दियो– ‘जुही’ले सोमराज अभय विशेषाङ्क प्रकाशित गर्दैछ । झापा, मोरङ र सुनसरी हुँदै तीनतिरबाट तीन तरेली आग्रह त्रिवेणी बनेर मेरा कानमा ठोकिइरह्यो– अभयसम्बन्धी संस्मरण नै ठेले पनि हुन्छ । चैतको दोस्रो हप्ता झापाको गौरादहमै झापाली महाकविका रूपमा अभयप्रति सम्मान समारोह गर्दै जुहीको अभय विशेषाङ्क सार्वजनिक गर्ने कार्यक्रम तय भइसकेको छ । यस्तो खबर सुनेर मेरो मन चैतको गुराँस फुले जस्तै ढकमक्क फुल्यो । मेरा अस्तव्यस्तताहरू आफैँ थान्को लागे, बेफुर्सदी आफैँ फतक्क गल्यो र थकाइले पनि थकाइ मार्न बाध्य भयो । पूर्वको यो खबरले मेरो मनोचेतनालाई झन्डै एक सय असी डिग्री घुमाएर झापा पु¥यायो, झापाको पनि गौरादह पु¥यायो, गौरदहको पनि धिमधिमे लग्यो । चौँतिस÷पैँतिस वर्ष अघिको सुदूर विगत पर्लक्क पल्टिएर बग्रेल्ती दृष्यचित्रहरू मेरा सामु उभिन थाले । म निर्निमेष हेर्दै ती दृष्यचित्रहरूलाई टिपेर क्रमशः अक्षरहरूमा उन्न खोज्दैछु ।

अभयको म फुच्चेसाथी
दुई हजार तिसको दशक आरम्भ भएको दुई तीन वर्ष मात्र हुँदैथियो । म हाफ पाइन्ट मुनि चप्पल बिनाका खालीखुट्टा लिएर धिमधिमेबाट गौरादहको जमावि धाउन थालेको थिएँ । छ सात कक्षाको सिँगाने छात्र हुँदाको कुरा हो यो । मेरो साहित्यिक अभिरूचिले भर्खर थिगिरी थिगिरी गर्दैथियो । तुकबन्दी मिलाई दुई–चार पङ्क्तिका दुई–चारवटा कविता कोरेर स्कुले साथीहरूलाई सुनाउँदा विद्यालय परिसरमा फुच्चे कविको उपाधि पाइहालिने बेलाको कुरा हो यो । स्मृतिका पत्रहरू फुकाउँदै जाँदा थुप्रै केस्राहरू फेला पर्छन् । तिनै पत्रभित्र म फेला पार्छु– विद्यालयका आदरणीय गुरु जगन्नाथ दाहाल, कृष्ण न्यौपाने, घनेन्द्र शर्माहरूका प्रेरक अनुहार । कक्षामा र कक्षा बाहिर पनि अतिरिक्त कार्यकलाप अन्तर्गत साहित्यिक कार्यक्रमहरूमा मेरो सहभागितालाई हौस्याइरहने, हर्दम उचालिरहने र मलाई यतातिर थिरीथिरी गराउने उहाँहरूप्रति म सदैव शिर झुकाउँछु ।

विस्तारै विद्यालय बाहिर पनि आयोजित हुने साहित्यिक जमघटतिर मेरा पाईला टेकिन थाले । स्मृतिको एउटा केस्रो यसरी केस्रिन्छ । राजा वीरेन्द्रको जन्मोत्सवका अवसरमा आदर्श पञ्चायती पुस्तकालयले आयोजना गरेको प्रतियोगितात्मक कविता गोष्ठीमा म पनि सहभागी भएको रहेछु । मेरो स्मृतिले भन्छ– त्यस प्रतियोगितामा मैले सुनाएको कविता थियो– ‘घ्याम्पे भुँडी ठडियो’ । अरू को को के के भए मलाई संझना छैन तर मेरो कवितालाई पहिलो घोषित गरियो र रातो रङ्को फुल्टिनसहित दुई वटा मानेकपी पुरस्कार दिइयो । पुस्तकालयको ठूलो सभाकक्षमा आयोजित गोष्ठीमा पुरस्कार थापेर स्रोता दीर्घातिर फर्किरहेको बेला बीचैमा निहुरेर म फुच्चेलाई अँगालो मार्ने मेरा पिताजीकै उमेरका व्यक्ति हुनुहुन्थ्यो सोमराज अभय । उहाँले पनि गोष्ठीमा लयबद्ध कविता नै सुनाउनुभएको थियो । मेरो बाल मष्तिष्कमा त्यो बेला उहाँले सुनाएको कविताको कुनै फाँकी वा गेडो स्थिर रहन सकेनछ । रहेको भए आहा, अहिले सम्झँदा कति रमाइलो हुन्थ्यो ।

गोष्ठी सकिएपछि बेलाबेला मैले देख्ने गरेका तर त्यति नजिकबाट बोलचाल नभएका व्यक्ति सोमराजसँगै म घरतिर फर्किएँ । सोमराजको घर पनि आखिर धिमधिमे नै रहेछ । मेरो घर गौरीगञ्ज जाने मूलबाटोमै र उहाँको चाहिँ मूलबाटो छोडेर निकै भित्र छिर्नुपर्ने धिमधिमे बाँधतिर । बाटोमा निकैबेर कविताकै कुरा भए । कुराकानीकै प्रसङ्गमा सोमराजले मलाई भन्नुभयो– ए, फुच्चेकवि, तिमी पनि कवि म पनि कवि, हामी अब कविसाथी भयौँ नि । साथी नै भइसकेपछि त साथीकोमा पनि जाने, आफ्ना कविता साथीलाई सुनाउने, अनि साथीको कविता आफूले सुन्ने पनि पो गर्नुपर्छ नत्र केको साथी ? आफ्नो पिताजी उमेरका मान्छे मेरा साथी रे । मलाई केही अनौठो र केही रमाइलो पनि लागिरहेको थियो । उहाँले अझै थप्नुभयो– लौ फुच्चेकवि, पहिले तिमी मेरो घर आउने कि म तिम्रो घर आउने ? धिमधिमे स्कुल (मैले पाँच कक्षासम्म पढेको स्कुल पनि यही हो ।) को छेउमा रहेको दफामा थेगो भएका अधिकारीको चिया पसलनेर अइपुगेपछि हामी रोकियौँ । किनभने अब सोमराज आफ्नो घर जान मूलबाटो छोडेर पश्चिम लाग्नुपर्ने भो, मचाहिँ सिधै अलिकति दक्षिण । छुटिट्नुभन्दा अघि उहाँ ठेगान गर्न खोज्दै हुनुहुन्थ्यो– पहिले म उहाँकोमा कविता सुन्न जाने कि, उहाँ मकहाँ कविता सुन्न आउने ? मैले उहाँलाई पहिले मेरा कविता सुन्न मेरो घर आउने निम्ता दिएँ आगामी शनिबारका निम्ति । त्यसपछिको अर्को शनिबार म उहाँकोमा जाने ठेगान भयो । हामी छुट्टियौँ र आ–आफ्नो बाटो लाग्यौँ ।

काउलीबारीमा कविता श्रवण
एक हप्ताको फेरो मारेर शनिबार पनि कति छिटो आएछ कुन्नि, पुसको चिसो बिहानसँगै सोमराज मेरा घर आँगनमा टुप्लुक्क देखिनुभयो । आमाले पनि चिन्नुहँदो रहेछ । घरमा गुडगुडे हुक्का समातेर बुबा तमाखु गुडगुडाउँदै हुनुहुन्थ्यो । बुबासँग पनि उहाँको चिनाजानी राम्रै रहेछ । केहीबेर भलाकुसारी भयो । त्यसपछि भने हामी घुस्रियौँ गुवालीमाथि पराल राख्ने गरेको एक कउललाई सन्ठीले बारेर माटोको लिउन हानी भित्र र बाहिर चिल्याइएको सानो कोठातिर– जहाँ म लेखपढ गर्ने र सुत्ने गर्दथेँ । सोमराजले मलाई आफ्ना कविता सुनाउन भन्नुभयो । मैले क्रमैसँग सुनाउँदै गएँ, बडो ध्यान दिएर उहाँले सुन्नुभयो । तीन चार कक्षा पढ्दा लेखेका दुई चारवटा, पाँच कक्षा पढ्दा लेखेका चार पाँचवटा र धिमधिमे स्कुल पास गरी जमावि पुगी छ–सात कक्षा पढ्दाका आठ दसवटा कविता सुनाउँदा मेरा सबै कविता निख्रिए । फूल, पात, पत्कर, पानी पोखरी, साथीसङ्गाती, ढुकुर जुरेला आदि विषयमा लेखिएका आफ्ना सबै कविता सुनाउन मलाई आधा घण्टा पनि लागेन । उहाँले फुच्चे साथीका कविता मन परे भन्नुभयो र कविता अरू के कस्ता विषयमा पनि लेख्न सकिन्छ भनेर पनि बताउनुभएको सम्झना छ– मानिस कसरी दुख गर्छ, किन दुखी छ, एउटा मान्छेले अर्को मान्छेलाई नै किन दुःख दिन्छ ? उहाँले यस्ता विषयमा पनि कविता लेख्न सकिन्छ भन्दा मेरो ज्ञानको ढोका अझै फराकिलो भएको ठानेको थिएँ त्यसबेला । त्यसपछि अर्को शनिबार उहाँकै घरमा जाने र कविता सुन्ने निम्तो मलाई दिइराखेर उहाँ फर्किनुभयो ।

२०३२ सालतिरको माघ दोस्रो वा तेस्रो हप्तातिरको एउटा अर्को शनिबार एका बिहानै म सोमराज कट्टेलको घर खोज्दै उडुवा थापाको घर पुगेँ । उडुवा दाइकी आमा अर्थात् थपिनी आमै हाम्रो घरतिर पनि आउजाउ गर्नुहुन्थ्यो । एक–दुईपटक आमाका पछि लागेर म पनि थापाको घर पुगिसकेको थिएँ । समग्र धिमधिमे अन्तर्गतकै त्यो अर्को गाउँ थियो । मेरो घरबाट करिब बिस–पच्चिस मिनेटको दूरीमा । थपिनी आमैले आँगनबाटै औँल्याइ दिनुभएको घर ताकेर म कट्टेलको घरमा पुगेँ । मलाई देखेर घरमुली अभय खुसी हुनुभो । आँगनमा घाम ओर्लिसकेको थिएन । बेरेको गुन्द्री काखीमा चेपेर उहाँले मलाई घरको पूर्वतर्फ करेसाबारीमा लैजानुभयो । करेसाबारीमा हिउँदे तरकारी साग, काउली, मुला आदि लहलह थियो । काउलीबारीको बीचतिर गुन्द्रीको एकछेउमा म बसेँ र अर्को छेउमा उहाँ बस्नुभयो । अब मलाई कविता सुनाउने पालो उहाँको थियो । उहाँ आफ्ना कविता सुनाउन थाल्नुभयो । मैले लेख्ने गरेको माने कपीभन्दा केही ठूलो आकारको कपीको ठेली नै पल्टाएर उहाँ कविता सुनाई रहनुभएको छ । म पनि चाख मानेर सुनिरहेको छु । लयवद्ध उहाँको वाचनमा पनि गज्जबको आकर्षण रहेको म संझिरहेको छु । मेरा निम्ति आश्चर्यजनक कुरा के थियो भने उहाँको कविता टुङ्गिने छाँटकाँटै देखिन्न । झण्डै डेढ–दुई घण्टा लगातार सोरघोरका साथ उहाँले कविता पढिरहनुभयो । उहाँले वाचन गरेको लामो न लामो कवितामा पात्रहरू पनि उभिए, पात्रहरूले आपसमा कुराकानी पनि गरे, आश्चर्यजनक घटनाहरू पनि घटेको थाहा पाइयो । हैन, कवितामै कथा पनि आउँछ कि क्या हो ? मेरो जिज्ञासा मडारिन थाल्यो ।

मेरो बाल–जिज्ञासा मेट्दै उहाँले भन्नुभएथ्यो– कविता छोटा पनि हुन्छन् लामा पनि हुन्छन् । लामा कवितामा कथा पनि हुन्छ, पात्र पनि हुन्छन्, उनीहरू आपसमा कुरा पनि गर्छन् । यस्ता लामा कविताहरूलाई काव्य–महाकाव्य भनिन्छ र हप्तौँ लगाएर पढ्नुपर्छ । लेख्नेले पनि एक छिन, एक दिन होइन महिनौँ र वर्षौ लगाएर लेख्ने गर्छन् । यसरी मैलै पहिलो पटक उहाँबाटै कविताको ठूलो रूपका बारेमा जानकारी पाएको पनि म आज संझिरहेको छु ।

लामा र ठूलो आकारमा कविता लेख्ने देवकोटा ठूला कवि हुन् भन्दै उनले लेखेको मुनामदन पढ्ने सल्लाह मलाई सोमराजले नै दिनुभएको थियो । साँच्चै रमाइलो लागेको थियो पहिलोपटक मुनामदन पढ्दा । मैले लय हालेरै पढेको थिएँ किनभने आमालाई पनि सुनाउनु थियो । पढ्दा सबै बुझियो तर क्षेपक अन्तर्गतका कतिपय पङ्क्तिमा लय हाल्न सकिन र बुझिएन पनि । त्यस्ता पङ्क्तिको अर्थ बताइदिन मैले उहाँलाई नै आग्रह गरेको र उहाँले बताइदिएको पनि संझना अझै छ मसित ।


मलाई उचाल्ने अभय
सम्झना भन्ने कुरो पनि यस्तै यस्तै रहेछ– बाटिएको डोरी फुकाए जस्तो, एउटा पोयो फुकायो अरू अरू पो आफै फुक्दै जाने । एउटा अर्को पोयो पनि फुस्क्यो फेरि । कुरो म आठौँ कक्षामा पुगिसकेपछिको हो क्यारे । म पढिरहेको जमाविको प्राङ्गणमा जिल्लाभरिकै ठूलठूला कवि लेखकहरू जम्मा भएका थिए । अरूअरू विद्यालयका विद्यार्थी र शिक्षकहरू पनि आएका थिए । भद्रपुर चन्द्रगढीतिरबाट भवानी घिमिरे, चूडामणि रेग्मी, नकुल काजी, वसन्तकुमार खड्का आदि आदि पनि आइपुगेका रहेछन् । आयोजक को थियो र के कसरी आयोजना गरियो– त्यो मलाई ख्याल छैन, विधागत प्रतियोगिता पनि रहेछ । मलाई घनेद्र सर, जगन्नाथ सर र कृष्ण न्यौपाने सरहरूले प्रतियोगीका रूपमा भाग लिन उराल्नुभयो । कविता, कवितामै कथा र गद्यमा फाट्फुट्ट कथाहरू पनि लेख्न थालिसकेको थिएँ । मैले लेखेका केही कथाहरू सरहरूलाई पनि देखाएको थिएँ । उहाँहरूले हेरिसकेको ‘बाँसुरी’ शीर्षकको एउटा कथा प्रतियोगितामा सामेल गर्न र वाचन गर्न भन्नुभयो । कविता त छँदै थियो । विद्यालय प्राङ्गणमा बनाइएको अग्लो मञ्चमा उक्लिएर मैले मेरो पालो आएपछि पहिले कविता पढेँ । त्यसपछि अरू चार पाँचजनाले पालो पु¥याए । त्यसपछि फेरि आएको मेरो पालोमा मैले त्यही बाँसुरी शीर्षकको कथा पनि सुनाएँ ।

अघिल्लो दिन दिनभरि प्रतियोगी रचना सुन्ने सुनाउने र भोलिपल्ट अप्रतियोगी पाहुना कविहरूका कविता सुनाउने त्यसपछि मात्रै प्रतियोगिताको परिणाम घोषणा गर्ने कार्यक्रम रहेछ । परिणाम घोषणा गर्नुभन्दा पहिले कविता सुनाउनेहरूको पङ्क्तिमा भवानी घिमिरे, चूडामणि रेग्मी। नकुल काजीहरूसँगै सोमराज अभय पनि हुनुहुन्थ्यो । भवानी घिमिरे र सोमराज अभयले वाचन गर्नुभएका कविता अरूका भन्दा अलि लामा थिए । मलाई भने घिमिरेले कविता वाचन गर्दा जोसिएर भाषण गरे जस्तो लाग्यो, अनि सोमराज अभयले आफ्नो कविता वाचन गर्दा सारङ्गी रेटेर गाइनेले गीत गाए जस्तो लागेको थियो । अलि पछि पो मैले कुरो बुझेँ– घिमिरेले गद्यशैलीमा लेखिएको बेछन्दको कविता सुनाउनुभएको रहेछ र हाम्रा अभयले चाहिँ शास्त्रीय छन्दमा लेखिएको अलि लामो कविता लयबद्ध रूपमा वाचन गर्नुभएको रहेछ ।

समारोहको अन्ततिर बोल्ने वक्ता भने मलाई कथा सुनाउन उराल्ने घनेन्द्र शर्मा सर हुनुहुन्थ्यो । परिणाम घोषणा गर्दा मेरो नाम दुइ चोटि उच्चारण गरियो– कवितामा द्वितीय र कथामा प्रथम भनेर । मलाई नै थाहा थिएन यस्तो कसरी भयो ? हातले राम्रा अक्षरमा लेखिएको प्रमाणपत्र र केही कितावहरू पुरस्कारमा प्राप्त भए । कितावहरू मध्येको एउटा चाहिँ भवानी भिक्षुको ‘गुनकेशरी’ कथासङ्ग्रह थियो भन्ने पनि मैले बिर्सनै सकेको छैन । पुरस्कार थापेर म मञ्चबाट ओर्लदै थिएँ त्यसैबीच मलाई कसैले भुइँबाट जुरूक्कै उचाल्यो । ओरिपरि हँसिलो मुद्रामा मेरै सरहरू हुनुहुन्थ्यो । मलाई जुरूक्कै उचालेर पिठ्यँुमा धाप दिने अग्लो मानिस म फुच्चे साथीका साथी सोमराज अभय नै हुनुहुन्थ्यो । यसरी नै म थिगिरी थिगिरी गर्दै गएँ घनेन्द, कृष्ण र जगन्नाथ सरहरूबाट । यसरी नै म उचालिँदै गएँ सोमराज अभयबाट । मेरो अहिले सानोतिनै भए पनि जुन उचाइ निर्माण भएको छ, नेपाली साहित्यमा मैले होचो–अग्लो जुन उचाइ प्राप्त गरेको छु, यस उचाइको जगका पनि जग हुनुहुन्छ मेरा समादरणीय सोमराज अभय ।

हाइस्कुले जीवन–अवधिको एउटा अर्को स्मृति–पोयो फुस्कियो फेरि । धिमधिमे स्कुल छेउमै एक समय उपप्रधानपञ्च बनिसकेका धर्मराज पौडेलको घर थियो । (धर्मराज अहिले छन् कि छैनन् थाहा छैन, तर घर भने अहिले पनि होला) धर्मराज पौडेलको घरमा कताबाट हो कुन्नि एकजना पौडेल आइपुग्नुभयो नाम थियो शिवराज । रसिक स्वभावका र साहित्यिक अभिरूचि भएका शिवराज छन्दमा निकै सुन्दर कविता लेख्नुहुन्थ्यो । छोटै अवधिमा सोमराज अभय र शिवराज पौडेलको हिमखिम राम्रैसित बढ्यो, बीचमा म पनि तानिएँ । हामी प्रायः जुट्न थाल्यौँ कहिले धर्मराजको घरमा त कहिले सोमराजको घरमा, अनि कहिले जम्न थाल्यौँ मेरै घरको ग्वालीमाथिको सानो कोठामा । हामी घण्टौँ गफिन्थ्यौँ । हाम्रा गफ केन्द्रित हुन्थे कविता, काव्य, निबन्ध कथा आदितिर । आफूले पढेको कुनै कृतिमाथि मौखिक समीक्षा समेत गर्न थालेका थियौँ । दार्जिलिङे लेखकको जस्तो लाग्छ– ‘पूर्णिमा’ उपन्यास पढेपछि मैले त्यसका बारेमा मौखिक चर्चा गरेर दुवैजनालाई दङ्ग पारेको संझना पनि ताजै जस्तो छ मसँग । आ–आफ्ना नयाँ सिर्जनाको वाचन गथ्यौँ र वाचित सिर्जनामाथि टिप्पणी र प्रति–टिप्पणी पनि गथ्यौँ । शिवराजले त्यो बेला रचना गरेका शृङ्गारिक कविताका कतिपय पङ्क्तिहरू निकै पछिसम्म म गुनगुनाउँथे । अहिले भने विस्मृतिको गर्भमा कता पुरिएछन् कता, अनेक सम्झन खोज्दा एउटै पनि पङ्क्ति स्मरणमा आउन सकेन ।

पञ्चायतका तेइस अवतार र घरभित्रै थुनुवा
यस्तै यस्तैमा दुई हजार छत्तिस साल आयो । म एसएलसी परीक्षा सकेर बरालिइरहेको थिएँ । छत्तिस सालको आन्दोलनको सफलताले नयाँ किसिमको सरगर्मी ल्याइदिएको थियो हाम्रो गौरादहतिर पनि । त्यही बेलाको आसपासतिर हो क्यारे– मञ्जुल–रामेश, शम्भु राई र जेबी टुहुरे गीति कार्यक्रम लिएर दुधे आउँदै छन् भन्ने सनसनी गौरादहसम्म आइपुग्यो । धिमधिमेबाट अभय र म पैदलै दुधे पुगेको र हामीले सुन्ने गरेभन्दा बेग्लै खालका गीत सुनेर सँगै फर्किएको झुलोमुलो संझना पनि मसँग बाँकी नै छ ।

हाम्रो कवि चेतनाले पनि राम्रैसँग फड्का मार्न थालिसकेको थियो । तीस वर्षे पञ्चायती शासनको विपक्षमा धमाधम कविताका पङ्क्तिहरू सिर्जना हुँदैथिए । अवतार वर्णनको नक्कल गर्दै मैले एउटा कविता सिर्जना गरेछु । शीर्षक थियो– ‘पञ्चायती प्रभुका तेइस अवतार वर्णन...’ । कविताको प्रथम पङ्क्ति थियो– प्रथम अवतार प्रभु पञ्चायती रूप धारणम्... । यसको पहिलो स्रोता बन्नुभयो गैरादह बजारकै गोगो होटलवाला निलम श्रेष्ठ । उहाँले त्यस कवितामा अझै केही थपथाप गर्न सघाउनु भयो । पन्ध्र अवतार वर्णनमा सकिएको मेरो कवितालाई त्यसपछि मैले तेइस अवतारसम्म तन्काएँ र सोमराजलाई पनि देखाएँ । उहाँले पनि खुब मन पराउनुभयो ।

पाँच पूर्वशर्त पूरा गरेर मात्र जनमत सङ्ग्रह गराउनुपर्ने माग गर्दै जिल्लामा सभाहरू हुँदैथिए । गौरादहमा पनि एउटा आमसभा हुनेभयो । भाषण गर्न नेताका रूपमा द्रोणाचार्य क्षेत्री आउने रे । आमसभा हुने बिहान माइक व्यवस्थापन गर्न निलम सर म दुईटा साइकलमा पाइडल मार्दै गौरीगञ्जसम्म पुग्यौँ । केवी मरठ्ठा, बलराम न्यौपाने, निलम श्रेष्ठ, सोमराज अभय, मेरा सहपाठी चन्द्र नेपाली आदिको सक्रियतामा गौरादह बजारमै भव्य आयोजना गरियो सभाको । त्यति धेरै मानिसको जमघट भएको सभा मेरा निम्ति भने पहिलो थियो । मैले त्यस अघि मेला बजारमा र रामलीलामा मात्रै त्यस्तो हुलहाल देखेको थिएँ । सभामा सोमराजले बहुदलको पक्षमा लेखिएको कविता सुनाउनुभयो । अनि मलाई पनि त्यही निर्दलीय प्रभुका तेइस अवतार कविता सुनाउन भन्नुभयो । म त्यही कविता सुनाउन थालेँ । पञ्चायती कालका काला कर्तुतहरूको पर्दाफास गरिएको त्यस व्यङ्ग्यात्मक कविताले धेरै मानिसहरूको मन छोएछ, पङ्क्ति नै पिच्छेको गगनभेदी तालीका कारण मैले रोकिई–रोकिइ कविता वाचन गर्नुपरेको थियो । सोमराजले जुटाइदिनु भएको यो अवसरले मलाई बेग्लै खालको अनुभूति गरायो । कवितामा मानिस यसरी पनि रमाउन सक्दोरहेछ भन्ने थाहा पाएर मलाई पनि औधी खुसी लाग्यो । द्रोणाचार्य र केबी मराठ्ठाहरूले पनि निकै प्रशंसा गर्नुभएथ्यो मेरो कविताको । (पछि पर्चा कविताका रूपमा छापिएर पूर्वाञ्चलका अधिकांश जिल्लामा प्रशारित भयो त्यो कविता ।)

मेरो र सोमराजको जीवनकै अर्को अविष्मरणीय घटना भएको थियो त्यसै दिन । आमसभाको विरोधमा जमाविका विद्यार्थीहरूको जुलुस बजारतिर आउँदैछ भन्ने खबर सभास्थलसम्म आइपुग्यो । सभा अन्त्यतिर पुगिसकेकै थियो । अझै केही हतार गरेर टुङ्ग्याइयो । अतिथि द्रोणाचार्य छेत्री र आयोजनामा सक्रिय रहेका हामी केही मराठ्ठा बस्नुभएको घरतिर पस्यौँ र चिया सर्वत खानतिर लाग्यौँ । सभा तितरबितर भइसक्दा नसक्दै चर्को–चर्को नाराका साथ विद्यार्थीको जुलुसले बजार प्रवेश ग¥यो । बजारको मुखैमा रहेको गोगो होटललाई जुलुसले घेरा हालेको दृश्य हामीले मराठाको घरको माथ्लो तलाको झ्यालबाटै प्रष्ट देख्यौँ । गोगो होटल निलम श्रेष्ठको थियो र उहाँ भने हामीसँगै हुनुहुन्थ्यो । निलम सर ओर्लिएर घेरिएको आफ्नो घरतिर जान खोज्नुभयो तर द्रोणाचार्यले उहाँलाई कुनै अप्रिय स्थिति आउन सक्छ भनेर रोक्नुभयो । केहीबेरमै जुलुसको एउटा हिस्सा गोगो होटललाई छोडेर हामी बसेको घरलाई घेर्न आयो । उनीहरूले लगाएका नारा अन्तर्विरोधी थिए, कोही बहुदलको समर्थनमा चिच्याइरहेका थिए त कोही बहुदलकै विरोधमा ।

केही उत्तेजित विद्यार्थी हामी बसिरहेको घरभित्र पस्न खोजे, तर चौकीबाट आएको प्रहरीको सानो टुकडीले उनीहरूलाई भित्र पस्न भने दिइरहेको थिएन । केही बेरपछि केवी माथि उक्लनुभयो र एउटै कोठामा थुप्रिएका हामी सबैलाई बेग्लाबेग्लै कोठामा हुल्नुभयो । अनि बाहिरबाट ढोका तानेर एकएक वटा ताल्चा मारिदिनु भयो । हामी अब बिल्कुल बन्दी भयौँ । त्यसको झन्डै एक घण्टापछि तीन चार जनाको विद्यार्थी समूह केबीसँगै माथि आयो । केबी भन्दै हुनुहुन्थ्यो– कोही छैन, कोही छैन, भित्र मान्छे भएको कोठामा पनि कहीँ ताल्चा मारिएको हुन्छ ? अन्ततः ती विद्यार्थीहरू तल झरे । साँझ खस्न थालेको थियो भिड तितरबितर हुँदैगयो र आखिर सुनसान भयो । द्रोणाचार्य र साथमा आएकाहरू जिप रिजाप गरेर त्यही साँझ फर्किनुभयो । सोमराज अभय र म पनि बन्दी–जीवनबाट मुक्त भई आ–आफ्ना घर फर्किएका थियौँ ।

मरठ्ठाको घरमा केही घण्टा घेरिएको र थुनिएको घटनापछि केही दिनमा नै म धादिङतिर लागेँ र हेडमास्टर भएँ । बहुदलको पक्षमा भोट हाल्ने काम मैलै धादिङबाटै गरेँ । सोमराज अभयसँगको मेरो साहित्यिक भेटघाट भने क्रमश ओझेल पर्दैगयो । तथापि हामीबीच पत्राचार भने चलिरह्यो । हुर्किरहेको राजनीतिक चेतना र साहित्यिक सन्दर्भले भरिएका– लामा–लामा चिठीहरू हामीबीच आदानप्रदान भइरहे । त्यो बेलाका कतिपय चिठीहरू मसँग त छैनन्, अभयसँग सुरक्षित छन् होलान् भन्ठान्छु । धाँधलीपूर्ण जनमत सङ्ग्रहमा पञ्चायतलाई नै जिताएपछि लगत्तै २०३७ सालमा झापामा पाटा आन्दोलन चर्कियो । त्यही आन्दोलनको क्रममा सोमराज पक्राउ परेको थाहा पाएँ । उहाँ अमानवीय यातनासँगै लामै समय चन्द्रगढी जेलमा थुनिनुभएको जानकारी मैले धादिङमै पाएको थिएँ । अब भने पत्राचार पनि रोकियो । तीन वर्षको हेडमास्टरी छोडेर म काठमाडौँँ छिरेँ । दुई वर्षको क्याम्पस जीवनलाई बीचैमा थाति राखेर फेरि धादिङ फर्किएँ । सोमराज पनि परिवार झापामै छोडेर जन्मथलो संखुवासभा उक्लिनुभएछ । हिमालय उच्चमाविको संस्थापनामा सङ्लग्न भई त्यतै अध्यापन कार्यमा लाग्नुभएछ । त्यसबीच दुईचार पटक म झापा पुगेँ, तर संखुवासभामा रहनुभएका सोमराजलाई मैले झापामा भेट्ने कुरै भएन । बरू फाट्टफुट्ट कविता बनेर पोखिएका र अप्रकाशित महाकाव्य ‘विद्रोही काले’को चर्चा–परिचर्चा भएर ‘जुही’का केही अङ्कहरूमा छाएका सोमराजलाई मैले फेला पारेको थिएँ ।

घट्टेकुलाको जम्काभेट
चालिसदेखि पचासको सिङ्गै दशक र साठीको आधा दशक हामी आपसमा बेखबर जस्तै भएछौँ । पचासको दशक लाग्दा नलाग्दै समयले थप्पड हानेर मलाई पुनः राजधानीतिरै पछा¥यो । जीवन सङ्घर्षको मेसोमा सोमराज हिमालय उच्च माविमा पढाइरहनुभएको थियो । म पनि राजधानी पसेर स्नातकोत्तर सकी कलेजहरूतिर पढाउन थालेको थिएँ । बिहान सबेरै कलङ्कीबाट दौडिँदै डिल्लीबजारको सगरमाथा कलेजको कक्षा सकी पैदल छोटो बाटो घट्टेकुलो–अनामनगर हुँदै शंखमूलको एसभी एकेडेमी, त्यतैबाट एघार पैँतालिसको कक्षा भेट्न महेन्द्ररत्न क्याम्पस ताहाचल, दैनिकी बडो दौडधुपमा चलिरहेको थियो । एक बिहान म सगरमाथा कलेजको कक्षा सकी एसभी एकेडेमी ताकेर दौडिरहेकै बेला घट्टेकुलो चोकमा सोमराज अभयसँग आकस्मिक र अनपेक्षित रूपले जम्काभेट हुनपुग्यो । कुरो साठी वा एकसठीको हिउँदतिरकै हुनुपर्छ । निकै लामो अन्तरालपछि मेरो र अभयबीचको भेट थियो यो । उहाँ पनि असाध्य खुसी हुनुभयो, मेरो त कुरै गर्नु परेन । मैले जानकारी नै नदिई एसभी एकेडेमीको एक पिरियड हापिदिएँ । अभय त्यो बेला पेटसम्बन्धी समस्याले अस्वस्थ भएर उपचारको सिलसिलामा संखुवासभाबाट काठमाडौँ आउनुभएको रहेछ । छोरा सुदर्शन यतै मास्टरीमा संलग्न । छोराकै डेरामा घुस्रिएर अस्पतालको चेकजाँचमा लागिरहेको उहाँले बताउनुभयो ।

घट्टेकुलो चोक पश्चिमको कुइनेटोमा रहेको चिया पसलमा पसेर चिया पिउँदै हामी निकैबेर गफियौँ । उहाँले मेरो राजनीतिक र साहित्यिक सक्रियता, प्रकाश साप्ताहिकको ‘क्षेपन’ स्तम्भलेखन, रेडियो नेपालबाट प्रशारित घटना र विचारको सञ्चालन आदिका बारेमा आफू जानकार रहेको बताउनुभयो । आफ्नो प्रिय फुच्चे साथीले प्रगति गरेकामा गौरव लागेको कुरा समेत व्यक्त गर्नुभयो । मैले उहाँको पछिल्लो अवधिको लेखन तथा प्रकाशनका बारेमा जिज्ञासा राखेँ । उहाँले अनेकन प्रयत्न गर्दा पनि आफ्नो महाकाव्य विद्रोही काले प्रकाशित गर्न नसकेकोमा मानसिक रूपमै पीडित भइरहेको बताउनुभएको थियो । आफूूले पनि केही मद्धत गर्न नसकेकामा मलाई पनि अग्घोर हीनताबोधको अनुभूति भयो त्यसबेला । मैले मेरो घरमा बस्ने गरी आउन उहाँलाई आमन्त्रण गरेँ । उपचार प्रक्रिया टुङ्गिन लागेको र केही दिन मात्रै काठमाडौँ रहने अनि समय अनुकुल भएमात्र मेरो घर आउन सक्ने बताउनुभयो उहाँले । हामीले यो रमाइलो जम्काभेटलाई नरमाइलो मान्दै बिदा ग¥यौँ र आ–आफ्नो बाटो समात्यौँ ।

विद्रोही काले हातपरेपछि.....
हुलचालपूर्ण तबरले अरू केही दिन, महिना र वर्षहरू लुसुक्कै बितेर गए । २०६५ सालको दसैँ आरम्भ हुनै लागेको थियो । एक बिहान अभय पुत्र सुदर्शन कट्टेल मेरो घर पहिल्याउँदै आइपुग्नुभयो । अभयको अप्रकाशित हुँदै चर्चित रहेको ‘विद्रोही काले’ महाकाव्यको प्रकाशित ठेली मेरा हातमा थमाइराखेर भाइ सुदर्शन फर्किनुभयो । म एक प्रकारले हतप्रभ जस्तै भएँ । छोरी राधिकाको आर्थिक सौजन्य र उपेन्द्र पागलको अथकित प्रयासमा जुही प्रकाशन झापाबाट ‘विद्रोही काले’ महाकाव्य छापिएछ । तीस वर्षको प्रसवकाल बेहोरेर जन्मिएको कृति अहिले मेरा हातमा छ । कलेजमा दसैँ विदा लागिसकेको थियो । बाहिर निस्कनुपर्ने केही कामहरू थिए तर ती कामलाई मैले कटौती गरेँ र पलेटी कसेर एकाग्र मनले पृष्ठहरू पल्टाउँदै ‘विद्रोही काले’ पढ्नथालेँ । नबिसाइकन निरन्तर पढिरहेँ । साँझ चार बजेतिर मैले महाकाव्यको बाइसौँ सर्गमा प्रवेश गरेँ । स्मृतिको पर्दा विस्तारै विस्तारै खुल्दैगयो । काउलीबारीमा गुन्दीमाथि बसेर सोमराज अभयले म फुच्चे साथीलाई २०३२ सालतिर सुनाउनु भएको लामो न लामो कविता त यही सर्ग पो रहेछ ।
भोका नाङ्गा अपठितहरूकी मूर्त चेतना आज बलिन,
मधुमय फलकी कोमल लतिका शान्तादेवी हाय जलिन्
अत्याचार विरोधी क्रान्ति यिनै हुन् मर्न तयार
जिउँदै मारे शोषकहरूले लौन बचाओ आज गुहार । ......

श्लोकै पिच्छेको गुहार शब्दको पुनरूक्तिले मेरो बाल्यकालीन संझनाको पोयो फुकाउन मद्धत पु¥याएको थियो । मैले तुरून्तै महाकाव्यको पृष्ठभागमा दिइएको फोन नम्बर मार्फत् विराटनगरमा रहनुभएका अभयसँग सम्पर्क स्थापित गरेँ र भावविव्हल हुँदै भनेँ– सोमराज ज्यू, तपाइँले ३३ वर्ष अघि मलाई काउलीबारीमा सुनाउनुभएको लामो कविता त ‘विद्रोही काले’ महाकाव्यको बाइसाँै सर्ग पो रहेछ हैन ? मैले त भर्खर पो थाहा पाएँ । मेरो कुरा सुनेर फोनमै उहाँ पनि हर्षतिरेकले हाँस्नुभएको थियो ।

म विगत पाँच वर्षदेखि नेपाल एफएममा साहित्य सुधा नामको साहित्यिक कार्यक्रम संयोजन र सञ्चालन गर्दै आएको छु । ‘विद्रोही काले’ महाकाव्य पढिसके लगत्तै सोमराज अभय र उहाँको महाकाव्यमै केन्द्रित गरेर एउटा सिङ्गै शृङ्खला संयोजन गर्ने सोच बनाएँ । अर्को एक दिन स्टुडियोबाटै टेलिफोन सम्पर्क गरी अभयसँगको २१ मिनेटको कुराकानी रेकर्ड गरेँ । उहाँकै आवाजमा केही काव्यांश पनि लिएँ । रमेश शुभेच्छुको आवाजमा महाकाव्यका अरू पनि केही अंश स्वराङ्कन गरी उन्चास मिनेट पचपन्न सेकेण्डको कार्यक्रम तयार भयो । राष्ट्र्यि स्तरको मिडियाबाट सोमराज अभयको आवाज प्रशारण भएको सायद यो पहिलो अवसर थियो । २०६५ साल कार्तिक २८ गते प्रशारण भएको साहित्य सुधा कार्यक्रममा मैले यसरी उद्घोषण गरेको थिएँ–

“आजको शृङ्खलामा हामी राजधानीदेखि सुदूरपूर्व झापाका एकजना सिद्धहस्त महाकवि र उहाँको हालै प्रकाशित महाकाव्यलाई प्रमुख सन्दर्भका रूपमा लिएर आएका छौँ । कविता काव्य र निबन्ध सिर्जनामा छ दशकदेखि क्रियाशील सोमराज अभयको नाम राजधानीमा अपरिचित र एकदमै नयाँ जस्तो लाग्न सक्छ तर पूर्वाञ्चलमा उहाँ सुपरिचित हुनुहुन्छ । पञ्चायती कालको कालो छाया मडारिई रहेका बेला जनताको आन्दोलनसँग जोडिनुभएका स्रष्टा अभयले केही महिना झापा जेलमा बन्दी जीवन बिताउनुभएको थियो ।’

“....आफ्ना छोरा र नाति भन्न लायककाहरू राजधानीतिर वरिष्ठ कवि कहलाइरहेका बेला झण्डै डेढ दर्जन जति काव्यकृतिका स्रष्टा सोमराज अभय झापा मोरङतिरका कुना–कन्दरातिरै हराइरहनुभएको छ । २०२५ सालमै रचना गरी सकिएको सोमराज अभयको महाकाव्य ‘विद्रोही काले’ २०४० सालमा जन्मिएकी र वैदेशिक रोजगारमा संलग्न आफ्नै छोरी राधिका सिटौलाको आर्थिक सहयोगको सौजन्यताबाट २०६५ सालमा प्रकाशित भएको छ । राष्ट्रको नजरमा नपरेका मोफसलका साहित्यकारहरूले भोगिरहेको दुर्दान्त परिस्थितिलाई प्रकट गर्ने यो एउटा प्रतिनिधिमूलक घटना हो । तथापि राधिकाको सौजन्यलाई हामी साधुवाद भन्छौँ । राज्यको ढुकुटीबाट निकै ठूलो हिस्सा खर्चिरहेको प्रज्ञा प्रतिष्ठान, नेपाली स्रष्टाहरूका कृति प्रकाशन गर्ने एकलौटी ठेक्का लिएको साझा प्रकाशन र अन्य सरकारी गैरसकारी साहित्यिक सङ्घ–संस्थाहरूप्रति महाकवि अभयका तर्फबाट छोरी राधिका सिटौलाले दिएको चुनौती वा चड्कन पनि हो यो ।”

‘मदन पुरस्कारले पत्याएन भाइ’
२०६५ कै चैततिर आयोजना भएको प्रगतिशील लेखक सङ्घको राष्ट्रिय सम्मेलनमा मोरङबाट प्रतिनिधिका रूपमा सोमराज अभय राजधानी आउनुभयो । सम्मेलन स्थल इन्जिनियरिङ कलेज पुलचोकको सभाकक्षमा मसँग भेट भयो । मैले भन्नुभन्दा पहिले नै सम्मेलन सकिएपछि मेरो घरैमा आउने चाहना बताउनुभयो । मलाई खुसी लाग्यो । महाकाव्यका केही प्रतिहरू बोकेर आउनुभएको रहेछ । समालोचकहरूलाई दिनका निम्ति, प्रज्ञा र अन्य पुस्तकालयमा छोड्नु छ भन्दै हुनुहुन्थ्यो । दुई दिने सम्मेलन सकिएको दोस्रो दिन मकहाँ बेलुकी बस्ने गरी आइपुग्नुभयो । केही अप्रकाशित कृतिहरू मकहाँ छोड्ने मनसाय रहेछ– प्रकाशन अवसरको चाँजोपाँजो मिले पनि हुन्थ्यो । यो उहाँको आसय । ‘माधुरी मोहन’ (काव्य), ‘लाटेकामी’, (काव्य), ‘भारत युद्ध’ (नाटक), ‘ढाँटको पुस्तक’ (निबन्ध सङ्ग्रह) मलाई हस्तान्तरण गर्नुभएको छ । झ्याउरे छन्दमा रचित ‘माधुरी मोहन’ काव्यका दुई वटा सर्ग मैले अभयको आवाजमा स्वराङ्कन गरेँ । गफैगफमा उहाँको आरम्भकालीन साहित्यिक यात्राको प्रसङ्ग उठ्यो । मैले त्यो कुराकानीलाई पनि स्वराङ्कन गरेँ ।

विराटनगरतिर कसैले उहाँको महाकाव्य मदन पुरस्कारको हकदार हो भनिदिएका रहेछन् । उहाँले मसँग मदन पुरस्कारका लागि दर्ता गर्दा के हुन्छ भनेर मेरो राय माग्नुभयो । मैले दर्ता गरे हुन्छ तर आशा भने नगर्दै वेश होला भनी बताई दिएँ । साथै मदन पुरस्कार र अन्य अन्य ठूलठूला पुरस्कारका बारेमा मैले बुझेको सच्चाइमा आधारित विश्लेषण प्रस्तुत गदै मैले त्यसो भनेको थिएँ । बेलुकी अबेलासम्म बसेर विगत तीस वर्षको यात्रा, साहित्यिक गुटबन्दी, प्रकाशनका सम्भावना, राजधानी र मोफसल बीचको खाडल आदिआदि विषयमा कुराकानी भए ।

त्यस वर्षको मदन पुरस्कार घोषणा भएपछि विराटनगरबाट एक बेलुकी अभयले फोन गर्नुभयो । रमाइलो कुराकानी भयो । मैले ‘विद्रोही काले’ महाकाव्यका बारेमा कुरा उप्काएँ । उहाँले मदन पुरस्कारका निम्ति दर्ता गरेको बताउनुभयो । मैले आशा नगर्दा वेश हुन्छ भनेकै थिएँ नि भनेर अगाडिको कुरो कोट्याएँ । उहाँले फेरि हाँस्दै ठट्यौलो पारामा भन्नुभयो– “मदन पुरस्कारले पत्याएन है भाइ, पत्याएन । त्यो पुरस्कारले पनि एकै हातको किन नहोस् ताली पो खोज्दो रे’छ ।” स्मरणीय छँदैछ त्यस वर्षको मदन पुरस्कार युवराज नयाँघरेको निबन्ध कृति ‘एक हातको ताली’ ले प्राप्त गरेको थियो ।

०६६ सालको भदौतिर पनि फेरि एकपटक अभय पत्नीसहित काठमाडौँ आउनुभएको थियो । यस पटकको उहाँको यात्रा पत्नीको उपचारका सिलसिलामा थियो । पत्नीलाई समेत लिएर मेरो घर आउनुभयो । मेरी आमा पनि यतै हुनुहुन्थ्यो तर अलि अश्वस्थ । धेरैबेर पुराना कुरा गरेर बस्नुभयो दुवैजना ।

अत्यमा, सलामीका दुई शब्द
सोमराज अभयसँगको यति लामो सम्बन्धको साइनोले के बताइरहेको छ भन्ने मलाई लाग्छ भने– उहाँ नेपाली साहित्यका अत्यन्त प्रतिभा सम्पन्न स्रष्टा हुनुहुन्छ । प्रगतिवादी जीवनदृष्टि बोक्नुभएका अभय आफ्नो सिर्जना कर्मका साथै व्यक्तिगत जीवनमा सरल, सहृदयी, वैयक्तिक स्वार्थ र लोभ लालचबाट मुक्त, सधैँ सङ्घर्षशील, आफूभन्दा पछिल्लो साहित्यिक पुस्तालाई अत्यन्त लाडप्यारका साथ हुर्काउन खोज्ने असल मनसायका धनी व्यक्तित्व हुनुहुन्छ । जस्तोसुकै प्रतिकुल परिस्थितिमा पनि आत्मसम्मान र स्वाभिमान कायम राख्ने, लोलोपोतो र चाकडी चाप्लुरीबाट टाढा रहनुभएको निष्कलङ्क व्यक्तित्व नै समग्रमा सोमराज अभय हुनुहुन्छ । उमेर सत्तरी नाघिसकेर पनि साहित्यिक सिर्जना कर्ममा सक्रिय अभय जस्तो व्यक्तित्वलाई राजधानीका साहित्यिक मठाधीशहरूले नचिन्नु, प्रज्ञा प्रतिष्ठान एवम् साझा प्रकाशनहरूले थाहा नपाउनु यो देशकै विडम्वना हो । यस्तै विडम्वनाका बीच पूर्वका मोतिराम भनेर ख्याती प्राप्त स्रष्टा चूडामणि रेग्मीको अथक प्रयत्नमा झापाबाट प्रकाशित हुँदै आएको ‘जुही’ले झापाली महाकवि अभयलाई सम्मान गर्दै अभय विशेषाङ्क संयोजन गर्नु आफैँमा एउटा स्तुत्य कदम हो । यस अवसरमा म जुहीलाई, आदरणीय चुमरेलाई, यस्ता काममा पागलै भएर लाग्ने उपेन्द्र पागललाई हृदयदेखि नै सलाम भन्छु ।
२०६७ फागुन २५

धिमधिमे, झापा; हाल: महेन्द्ररत्न क्याम्पस ताहाचल, काठमाडौँ

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 19 चैत्र, 2067

लेखकका अन्य रचनाहरु