दुःख

- कृष्ण बजगाईं

पहिलोपटक छोरी माईत आउँदा सुँक्क सुँक्क गरेर रोयी । परिवारकाले सम्झाएर पठाए ।

दोस्रोपटक आउँदा डाको छाडेर रोई । बुझ्दा थाहा भयो घरमा लोग्ने लगायत अरु सबै ठिकै रहेछन । तर दुच्छर सासूले शारिरिक र मानसिक यातना दिँदी रहिछे ।

घरमा परिवारका मुख्य ब्यक्तिहरुको आकस्मिक बैठक बस्यो । उनीहरुले ठूलो सोचविचार गरेर निष्कर्ष निकाले । हरतरहले सासूलाई खुशी राख्नु पर्दछ । त्यसपटकदेखि छोरीको घरमा कोशेली पठाउँदा अन्यको भाग काटी थपथाप पारेर सासूलाई बढी हालेर पठाउन थाले । द्रब्य देख्दा महादेवको पनि त्रिनेत्र भनेझैं त्यो देखेर ऊ अत्यन्तै खुशी भई । विस्तारै सासू चाहींको ब्यवहार पनि परिवर्तन हुन थाल्यो । यस्तो चमत्कारी परिवर्तन देखेपछि माइतीकाले पनि ज्वाईंलाई दिने भाग समेत कटाएर सासूकै लागि भन्दै कोशेली थप्न थाले । फलदायी परिणाम निस्कन थाले पछि ऊ पनि लोग्नेलाई दिने समय कटाएर सासू नै रिझाउन थाली । तर लोग्ने चाहीं आफूलाई भन्दा बढी आफ्नी आमालाई समय दिएको र खातिरदारी गरेको देख्दा ईष्र्या गर्दै थियो ।

अचानक एक दिन लोग्ने बेपत्ता भयो एउटा चिट्ठि छाडेर । लेखिएको थियो – “सासू बुहारी अझ मिलेर बस्नू म चाहीं हिँडे नयाँ जीवन सुरु गर्न ।”




प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 18 चैत्र, 2067

लेखकका अन्य रचनाहरु