सालिक

- होमशंकर बास्तोला

छोरो दुई वर्षदेखि घरबाट हराएकोमा आमालाई ठूलो चिन्ता लागेको थियो । सन्तानको नाममा त्यही एउटा छोरो त्यो पनि बिद्रोहमा लाग्दा बाँचे÷मरेको ठेगान नहुनुले आमामा पीडा हुनु स्वाभाविक थियो ।

छोरो बेपत्ता भएको दुई वर्षपछि उसको मुत्युको खबर लिएर छोराका साथीहरु उसको घरमा आए । छोराको मृत्युको खबर सुनेर आमा मुर्छा परेर रोइन् । मुर्छाबाट ब्यूँझिएपछि छाती पिट्दै रोएर भनिन् –‘त्यही एउटा सहारा थियो त्यो पनि दैवले लगिदियो । प्रभु ! म एक्लै कसरी बाँचै ? मलाई कसले पाल्छ ?’

खबर लिएर आएको त्यस टोलीको एकजनाले भन्यो –‘नरुनोस् आमा ! मनलाई धैर्य गर्नुहोस् । मित्र विवेक महान हुनुहुन्थ्यो । उहाँ देशको लागि लड्दालड्दै वीरगति प्राप्त गर्नु भयो । उहाँ महान हुनुहुन्थ्यो ।’ उसले सलोट ठोक्यो ।

‘हेर बाबु हो ! म बूढीलाई उसले एक्लो पारेर गयो । दैव पनि कति निष्ठुरी । म कसको सहाराले बाँच्ने ?’ बूढीआमाले आँखाबाट झरिरहेका आँसु मजेत्रोले पुछ्दै भनिन् ।

‘आमा ! चिन्ता नगर्नोस् । तपाईंको बन्दोबस्त र पाल्ने समेत सम्पूर्ण व्यवस्था हाम्रो पाट्र्टीले गर्छ । हामीले युद्ध जितेर सरकार मात्र चलाउँन !’ शहीद आमालाई सम्झाउँदै टोली नेताले भन्यो ।

केही वर्षपछि उनीहरुले युद्ध जितेर सरकारको नेतृत्व गरे । विवेकको बारीको बाटो नजिकै उनीहरुले एककरोड खर्च गरेर सालिक बनाए । उक्त सालिकको अनावरण गर्न मन्त्रीज्यूलाई बोलाइएको थियो । विवेकको पूर्णकद भएको सालिकको अनावरण गर्दै मन्त्रीज्यूले भने –‘ विवेक महान क्रान्तिको महान योद्धा हुनुहुन्थ्यो । उहाँको योगदानको हाम्रो सरकार र पाट्टीले पूर्ण मूल्यांकन गर्छ । उहाँ हाम्रो देशको सहिद हो । उहाँलाई जन्मदिने आमा महान आमा हुन् । हामीले त्यस्तो महान छोरा जन्माउने आमालाई सम्मान, आदर र जीविकाको व्यवस्था गर्नुपर्छ ।’ तर त्यही उद्घाटन कार्यक्रमको मन्च पछाडि विवेककी आमा कुचिएको सिलवरको बटुको थापेर मागिरहेकी थिईन् ।

कार्यक्रम सकेर मन्त्रीज्यू फटाफट हिंडे । मन्त्रीको भाषण सुनेर र छोराको सालिक देखेर विवेककी आमाले मनमनै सोचिन् –‘मैले जन्माएको छोराको सम्मानको लागि एककरोडको सालिक ! छोराको एककरोडको सालिक बनाउनु भन्दा कमसेकम मेरो एकपेट भर्न एकसय रुपैया दिएको भए कति हुन्थ्यो ।’

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 16 चैत्र, 2067

लेखकका अन्य रचनाहरु