खोटो नोट

- डीग बहादुर तामाङ्ग

छोराहरु सबै विवाह गरेर काठमाडौंतिर बसाई सरेको थिए । गाउँका मानिसहरुले समाचार ल्याउथे, त्यहाँबाट पनि अरब भन्ने देशतिर लागे भनेर । बुहारीहरु त हुँदा हुन तर बुढीलाई कस्ले गर्ने वास्ता । गोटा तीस जति बाख्रा कुुखरा पालेर, बारीबाट आउने केहि मकै र कोदोले जीविका चलाउँथिन सुकुमाया बुढी ।

सुकुमायाँले घरमा पालेको कुखुराका भाले हेर्दै रहर लाग्दा थिए । एउटा बोकोलाइ यहि फागुन महिनाको दोस्रो हप्ता तिर मात्रै खसी पारेर राखेकी थिइन् । एक दिन विहानै कोइरालाबोटे माइलो, झुलुक्क आँगनको डिलमा आइपुगे र बुढिलाई सोधे “ होइन ए, आमै तपाईको भाले र खसि बेच्ने होइन ?” पैसाको खाँचो परेकोले यहि मौकामा बेचि हालौ किन ढिलो गर्ने ? भन्ने सोँची “हेर माइला, लाने भए भालेको दाम पांच सय, खसीको चाहीँ चार हजार पांच सय हो । दाम चित्त बुझ्यो भने लगे हुन्छ” भनीन । तर किन्नेले निकै मोलतोल गर्न खोजे । बल्लबल्ल, खसीको तीन हजार पाँच सयमा दाम छिन्यो भने भाले जतिको त्यतिमै लाने भयो । “भालेको त बगल छट्याउने लाग्दैन माइला, तर खसिको त लाग्छ,।” “ए आमोइ नि के को बगल छुट्याउने भनेको ?”, “बगल छु्ट्याउने भनेको साना भुराहरु गोठालो भएको खण्डमा उनीहरुलाई खुसी पार्न सुका मोहर दिने चलन नि त्यति पनि थाहा छैन तिमीलाई ?” बूढीले झपारिन् । “ ए त्यो त तपाई आफै भए पछि के को बगल छुट्याउंने माग्नु हुन्छ आमोइ ?” “होइन माइलो, बगल छुट्याउने भनेको हाम्रो पालाका चलन हो त्यसलाई तोड्न हुँदैन ।” बूढीले जिद्धी गर्न नछोडे पछि उसले भन्यो “उसो भए म दश पैसा थपि दिंउला ।” “दश पैसा होइन दश रुपैया थपि दिनु त ।” दशरुपैया बगल नछुट्याई बूढीको हातबाट खसी र भाले नपाउने जस्तो भए पछि माइलोले दश रुपैया दिने भए । बुढीलाई एक मनले रुन मन पनि लाग्यो, आफुले पालेको बस्तुलाई यसरी अरुको हातमा दिंदा, तर के गर्ने छिपाको फरिया पोहर सालदेखि फेर्न पाइएको होइन । यसो तिहुनमा हाल्ने भुटुन पनि छैन,मासुपनि एक महिना अघिदेखि खाना पाएको होइन । त्यसैले भाले र खसि बेचिन् । भालेको दाम पांच सय, खसिको दाम तीन हाजर पांच सय गरी जम्मा चार हजार र बगल छुटँयाउने दश रुपैया लिएर बूढी दंग परिन् । त्यो मध्ये पाँच सय छुट्याएर बांकी रुपैया काठको सन्दुकमा राखिन । पांच सयलाई खॉडीको पटुकाको छेउमा गाँठो परेर राखिन र हप्ताको एकपटक लाग्ने बुद्धबारे हाट भर्न अर्को दिन विहानै मेलुङ लौरो टेक्दै गइन । रनेले बजारको छेउमा लाँकुरीको फेदमुनी अजंगको रांगो काटेर चित्रामा भाग लगाएर राखेको थियो । सुकुमायांले मासुलाई देख्नेबित्तिकै एक भाग टिपेर थैलोमा हालिन र पोल्टबाट नोटका बिटा झिकेर दिइन् । रनेले राजाको तस्बिर भएको नोटका बिटा देख्ने बित्तिकै भने “ए आमई ती पैसो त अब चल्दैनन्, राजाको मुख भएको जति नोटहरु खोटो भै सके ” यो सुनेर बुढी झसंङ भईन् र भनिन् “होइन यो रने के भन्छ ?” रनेले फेरि थप्यो “अर्को पैसा भए मासु लैजाउ नत्र भने थैलो घोप्ट्याएर राख”

बुढीले अनौठो मान्दै भनिन् “होइन रने यी पैसो त मैले कुखुराको भाले र खसि बेचेर धनदेउको माइलोसंग लिएकी कसरी खोटो भयो ?” रनेले बुढीलाई सम्झाउने प्रयाश गर्न थाली “राजाको तस्बिर भएको नोट जति अब नचल्ने भयो, त्यसैकारण यी नोटहरु खोटो भएका हुन् । त्यो धनेले तिमीलाई फसायो उजुर गरे राम्रो ।” सुकुमायां बुढी, थैलोमा हाली सकेको मासु चित्रामा खन्याउदै आफै फतफत गरिन र बोल्न थालिन “होइन यो के भएको यो मुलुकमा राजाको तस्बिरले त कसैलाई पनि मार्न आउंदैनथ्यो.... हामी गरिबलाई किन दुःख दिएको होला । न राजाले खाना लाउन दिएको थियो न अहिलेका नेताहरुले नै खाना लाउन दिएका छन् ? आफुसंग भएको पैसा जति सबै खोटो भयो भन्छन् मासु पसले, हे भगवान बल्ल बल्ल महिन दिनमा यसो मुख मिठ्याउ भनेकी त नाथे रांगोको मासु एक भाग लिन खोजेकी पनि खन्याएर हिंड्नु प¥यो.... भगवानले रोकि दिए, सायद मेरो कर्मै यस्तो हुनु पर्दछ, कसलाई दोष दिनु खै ? महात्मा गान्धीलाई मारेको ६३ बर्ष भै सक्यो उनका फोटो भएको भारु चल्दै छन् ....राजाले छोडेको दश बर्ष पनि भएको छैन, हामी गरिबसंग भएको नोट नै नचल्ने भएपछि कहां जाने निसाफ माग्न ? म जस्तो अनपढहरुले कतिले दुःख पाए होलान् हे दैव । ........” सुकुमाया बूढी लामो समयसम्म टाउकोमा हात राखेर दिक्क मानी फत्फताई रहिन् ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 16 चैत्र, 2067

लेखकका अन्य रचनाहरु