साहित्य र सद्भाव बाड्दै मानेश्वाँरासम्म

- छविरमण सिलवाल

जीवन एउटा यात्रा हो, अनवरत चलिरहन्छ, आफ्नै नियम र परिधि भित्र रहेर । समयका आफ्नै सिमाहरू छन्, परिधिहरू छन् । समयको घट्टमा हामी पिँसिईँ रहेका हुन्छौँ, दुःख, सुखका विविध आयामहरूसंगै । समयको महत्व बुझ्नेहरूको जीवन केही सहज हुन्छ, नबुझ्नेहरूको कठिन । राज्य सञ्चालन गर्नेहरूको महत्वपूर्ण भूमिका हुन्छ देशलाई समुन्नति तर्फ लानको लागि । उनीहरू आफ्नो स्वार्थ भन्दा माथि उठेर देश र जनताहरूको भलाईमा कार्य गर्नसकें भने राज्य सम्वृद्ध हुनको लागि धेरै समय लाग्दैन । तर हाम्रो दुर्भाग्य यसको विपरित भैइरहेछ । सत्तालिप्सामा तल्लिन रहेका छन् । जनता र राज्य भन्दा कुर्सि प्यारो छ उनीहरूको लागि । जनताका समस्या सुन्ने सामर्थ गुमाई सकेका छन् उनीहरूले । जनता आफ्नै पीडा लुकाएर भएपनि हाँस्न बाध्य छन् । यस्तै पीडा लुकाएर पनि हाँस्न बाध्य भएका मानेश्वाँराका वासिन्दासंग एकरात बिताउँने अवसर प्राप्त भयो । साहित्य सद्भाव यात्राका रूपमा नेपाली र कोरियाली लेखकहरू गरेर २८ जना थियौ हामी । बाह्रबिसे बजारबाट करिब सात किलोमिटर उकालो चढेपछि हामी पुग्यौ मानेश्वाँरा । कठिन बस यात्रा हाम्रो लागि नौलो नभएपनि कोरियनहरूको लागि नौलो नै थियो । अघिल्लो दिन पानी परेकोले निकै कठिन भयो बस उक्लन । हामी त एक पटक पुगेका थियौ । भोली फर्कन्छौ । ति बस चालकहरुको यही दैनिकी थियो । बाल बच्चाका खातिर आफ्नै जीवन दाउमा लगाएर यात्रा गरिरहेका छन् ।

हाम्रो यात्राका अगुवा हुनुहुन्थो कृष्ण प्रसाई । कोरियालीका अगुवा ह्याङ सुङ योल । कोरियाली बाल तथा किशोर लेखक समाजको संयोजक पनि थिए उनी । उनीसंगै थिए १४ जना कोरियाली लेखक र तिन जना बाल सर्जकहरू पनि । केही टुटेफुटेका अग्रेजी बोल्न जान्ने । हामीलाई भाषाले केही कठिनाई भएन, रेशम फिरिरिमा नाचिरहेका कोरियालीहरू देख्दा पीडा लुकाएर भए पनि गाँऊका बूढापाका सबै नाँच्दै थिए । हामी पनि के कम नाँच्न नजाने पनि अलि अलि कम्मर मर्काएर उनीहरूलाई साथ दियौं । टर्चको उज्यालोमा करिव तिस मिनेट उकालो चढ्यौं । आजको हाम्रो वासस्थान त्यही रहेछ । हाम्रा खातिर जुटेका ती गाउलेहातहरू साँच्चिकै सम्झन योग्य थिए । आज हामी उनीहरूका पाहुना थियौं । सिङ्गो तामाङ् वस्ति भएको यो गाँऊ निकै सुन्दर र सफा रहेछ । त्यहाँका मान्छेका मन त्यो भन्दा अझ सफा । यही भएर नै होला जरा फाउन्डेसनका अध्यक्ष तथा हाम्रो यात्राका नाइके कृष्णदाई यहाँबाट प्रभावित बन्नु भएको होला ? यही गाँऊमा रहेको महाकाली निम्न माध्यमिक विद्यालय र अर्को वडामा रहेको सिताराम प्राविका लागि कोरियाली लेखकहरूले प्रदान गर्ने शैक्षिक सामग्रीहरू हस्तान्तरण गर्ने नै हाम्रो मुल उद्देश्य थियो । मधुसुदन पाठक, श्रीओम श्रेष्ठ‘रोदन’, मणि लोहनी, प्रदिप बमजन, होम भट्टराई, डा.खगेन्द्रप्रसाद लुइटेल, हिरामान तामाङ्, चंकी श्रेष्ठ, विजयराज आचार्यले हाम्रो यात्रालाई निकै उर्जावान बनाइरहेका थिए । नेपाली लेखकहरूले हिमाललाई साक्षी राखेर कोरियाली लेखकहरूको बालकथा सङ्ग्रहको नेपाली अनुवादको तिन कृति विमोचन गरिएको थियो । कोरियाली बालसर्जकहरूले बाचन गरेका लघुकथा पनि निकै घत लाग्दा थिए । स्थानिय रेशबहादुर र चिनबहादुर लामाहरुको सहयोग खड्किरहेको छ आज पनि ।

बिहानै देवि स्थानमा उकालो चढ्दै गर्दा निकै रोमाञ्चित बनेका थियौं हामी । जति उकालो चढ्दै गयो उति सुन्दर हिमालसंग नजिक हुन पुग्ने आहा कति सुन्दर छ, हाम्रो जीवनको सौन्दर्य पनि यस्तै हो । बर्षमा एक दिन भएपनि यस्ता पहाडहरूसंग नजिकिनु पर्छ, श्रीओम दाजु भन्दै हुनुहुन्थ्यो । यात्रा भनेपछि जे जस्तो कार्य भएपनि हौसिने उहाँको स्वभावले हाम्रो यात्रालाई उर्जा थपेकै थियो । चंकी त निकै माथि पो पुगिसकेछन् । हिड्नुमा नै त छ मज्जा सहज रूपमा लिन्छन् चंकी । भोली पल्ट पनि मानेश्वाँराबाट हिडेरै बाह्रबिसे झरे उनी । जर्मनीका किम निकै हसिल थिए । केही अग्रेजी केही नेपाली मिसाएर बोल्ने किम नेपाल र नेपालीहरु प्रति निकै स्नेह रहेको पाएँ । साहित्य र सद्भाव विस्तारका लागि यो यात्रा निकै फलदायी रह्यो । अघिल्लो दिन अनामनगरबाट शुरुभएको हाम्रो यात्रा भोलीपल्ट अनामनगर मै आएर सकिएको थियो । कोरियन भाषाका ज्ञाता राम गुरुङ् पनि हाम्रो यात्रामा सामेल थिए । उनले कोरियाली र हाम्रो बिच भाषाका पर्खालहरु तोड्दै यात्राभरि रमाइलो गर्दै थिए । ‘प्राकृतिक सुन्दरतामा नेपाल अगाडी रहेछ’ कोरियाली साहित्यकारहरु भन्दै थिए । पश्चिम नेपाल पनि घुम्न भ्याएका उनीहरु निकै प्रभावित देखिन्थे नेपालप्रति । यी सबैको सेतुको रुपमा भूमिका निभाउँदै थिए । साहित्यकार कृष्ण प्रसाई । समाज सेवा र दीन दुःखीहरुको सेवामा तल्लिन प्रसाईका हातहरु निकै उत्साहित देखिन्थे । अनामनगरको एउटा रेष्टुरेन्टमा हामी उनीहरूलाई विदाई गर्दै थियौ । काँचका गिलासहरू ठोक्किदै थिए । यात्रामा निकै भावुक देखिएका कोरियालीहरू निकै उत्साहित देखिन्थे । ‘अझै हामीले धेरै सहयोग गर्नूछ, यो शुरुवात मात्र हो फेरिपनि तपाईहरूसंग भेट्ने नै छौं’, कोरियालीका अगुवा ह्याङ सुङ योल भन्दै थिए । साहित्य सद्भाव यात्रामा कोरियाली लेखकहरूसंग हामी पनि उनीहरूलाई सहयोग गर्न तम्सिरहेका छौं । मानेश्वाँराका हिमाल जस्तै सफा मनहरू माँझ फेरि पनि पुग्ने वाचासंगै शहरको अध्यारोलाई चिर्दै हामी आफ्नो गुँडतर्फ लम्किरहेका थियौं ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 13 चैत्र, 2067

लेखकका अन्य रचनाहरु