अतृप्त रात

- रामविक्रम थापा

तिमी एकपटक मेरो घरमा पुगेर हेर-विचार गरिदेऊ ।
बिदेशबाट लाहुरे मित्रको चिठ्ठी आयो । आन्द्रो गाँसिएको बाल-सखाको परदेशी आग्रहलाई बेवास्ता गर्ने वुरै भएन । बेलुकीपख ऊ मित्रको घरमा पुग्यो र प्रचलित  चलनअनुसार मित्र-पत्नीलाई भाउजूको साइनोले अभिवादन गर् यो । मृदु मुस्कानले स्वागत  गर्दै  मित्र-पत्नीले उसको अभिवादन फर्काइन् ।<br>
अगेनाको डिलमा बसेर आगो ताप्दै घर-व्यवहार र छोरा-छोरीको पढाइ सम्बन्धी नाना थरी कुराकानी भए । अगेनाको अगुल्टो खेलाउँदै मित्र-पत्नीले सुस्तरी भनिन्- "आज त मलाई उहाँ आफ्नै खसम नै परदेशबाट आइपुग्नुभएको जस्तै लागेको छ ।" मलाई पनि त्यस्तै त्यस्तै लागिराछ । पति-मित्रले पनि नशालु नजर फ्याँक्दै जवाफ बोल्यो ।
अनि अत्यधिक स्वादिष्ट परिकारहरु बनाएर हार्दिकतापूर्वक मित्र-पत्नीले पति-मित्रलाई भोजन गराइन् ।
त्यसपछि पल्लो कोठामा पति-मित्रलाई सुताएर ओल्लो कोठामा लाहुरेनी सुतिन् । 
भोलिपल्ट बिहानै चिया दिँदा राता-राता काँचा आँखा जुधाउँदै लाहुरेनीले विस्तारै भनिन्- ुमनभित्र हुरी चलेर के के कुरा सम्झें के के रातभरि निद्रै लागेन ।
बिहानीको घामको रोशनीजस्तै मधुर मुस्कानमा पति-मित्र बोल्यो- हो भाउजू ! मलाई पनि रातभरि त्यस्तै त्यस्तै भएर छर्लंङै रात बित्यो ।

फाक्टाङ- २, खोटाङ

 

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 15 कार्तिक, 2064

लेखकका अन्य रचनाहरु