रणप्रताप

- चैतन्य अधिकारी 

यस्तै हो रणप्रताप,
नदी किनारमा उभिएपछि
पानीमा प्रतिबिम्ब देखिन्छ,
जमीनमा छायाँ |

हिंजो तिमीले
ओडारमुनि बसेर
या घना जंगलभित्र डेरा कसेर
जहरिलो आगो ओकल्दा
तिम्रो छायाँ त देखिन्नथ्यो
तैपनि, तिम्रो नाम बोकेर
तिमीजस्तै बनेर
हजारौं छायाँहरु यता उता सल्बलाउँदा
गाउँ बस्तीको निद हराउँथ्यो
बच्चाहरु थर्र काम्थे
र रुखका चरा समेत चुप बस्थे
तिनै छायाँको भाव भंगिमा हेरेर
हामी तिम्रो अद्भुत तस्बिर कल्पिन्थ्यौं

बाफ रे !
यत्तिका छायाँ सल्बलाउन सक्ने मान्छे
घाम जुनको रीत खल्बल्याउन सक्ने मान्छे
भनिनसक्नु तिम्रा किम्बदन्ती,
गनिनसक्नु तिम्रा रणनीति,
कसै कसैले तिमी छँदै छैनौ पनि भने !

आज तिमी ठम्म खडा छौ,
दिउँसोको घाममा
साँच्चिकैको तिमी देखिदैछौ
तस्बिरको तिमी मेटिदैछौ

यहि नदी हो,
तिम्रो अँगेनाबाट उडेको
भर्भराउँदो आगोले
जब राम्रा नराम्रा सबथोक पोल्न थाल्यो
असह्य पीडाको चित्कार गर्दै
निर्दोष रक्त भेलहरु यसलाई गुहार्न आएपछि
नदीको मन रहेन,
बडो ग्लानि भयो नदीलाई र
आफु साँघुरिएको पश्चातापमा
नदी ओडार सम्मै आयो पानी बोकेर
नदी जंगलभित्रै धायो खोज्दै खोज्दै
र बाहिर ल्याइपुर्यायो तिमीलाई
र आफ्नो ढाडमै अड्याएर
डुंगा चढाएर
उसले भन्यो - अब तिमी मलाई त्यतै हाँक
जता हिंडे यो चित्कार रोकिन्छ,
निर्दोष प्राणीको संहार रोकिन्छ
......................
नदी विस्मित छ फेरि यतिखेर
आफैं किनारमा ओर्लेका तिमी
डुंगा र ढुंगा दुवै ताक्दैछौ
दुश्मन र दर्शनको चक्करमा अल्झेर
जिम्मेवारीबाट पर भाग्दैछौ
सुल्टो हिंड रण प्रताप,
सोझो हिंड,
संगै जाउँ भन्नेसँग काँध नउचाल,
यदि तिमीले
आफ्नालाई पराई सम्झ्यौ भने यतिवेला
तिमीलाई कसैले आफ्नो भन्नेछैन
पाउमुनिको बालुवा खस्के जस्तै
पल पल घडकिँदो
यो समयलाई चिन्न सकेनौ भने
समयले पनि तिम्रो ख्याल गर्नेछैन

नदी त बग्छ नै, (छेक्न सकिन्न यसलाई)
बग्दा बग्दै गर्छ सबै काम यसले
हेर, अहिले छर्लंगै तिम्रो प्रतिबिम्ब देखिएको छ यसमा |

पोखरा

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 26 फागुन, 2067

लेखकका अन्य रचनाहरु