घान्द्रुकसँग घम्साघम्सी

- युवराज नयाँघरे

सिङ्गो जिल्ला त एउटा टोल पो !
नयाँ पुलको अर्को नाम रहेछ, सल्ल्यान । राप्ती अञ्चलको सल्ल्यान जिल्लामा थिएनौँ—गण्डकीको एउटा टोलमा यतिखेर थियौँ हामी । पोखराबाट सँगै आएको नागबेली बाटो लर्कियो बाग्लुङतिर । हो, त्यहीँबाट बाटो छुट्टिँदो रहेछ ।
पुग्नु थियो घान्द्रुक ।
एक हुल साथीहरुको तामझाम यस्तो थियो, मानौँ ती सगरमाथा उक्लँदैछन् ।
धेरैले भरियालाई सामान बोकाएर फुक्काफाल भए आफू । लट्ठी लिए हात–हातमा । चस्मा सजाए आँख–आँखामा । अनि जुत्ता फेरे, पहाडी बाटो सुहाउँदा ।
मैले त झोला नि बोकाइनँ, लट्ठी नि बोकिनँ । केको तामझाम चस्माको ? अनि केको सजिसजाउ नयाँ जुत्ताको ?
उखर्माउलो थियो फागुनको घाम ।
बिहानको चर्को घामले शरीरमा इशारा दिइहाल्यो दिनभरि डाम्ने । गर्मीदेखि तर्सेर मैले लुगा फुकालेँ । तर भाङ्ग्रा खापेका गुरुङहरुको लर्को छँदै थियो मेरा वरिपरि । तिनका लुगाले गर्मायो मैलाई ।
ओहृाली थियो बजार ।
‘स्वागत राम्रै भइरहेछ !’
‘हो, राजकीय सत्कार हुँदैछ !’
मापाको घाममा खच्चडको लिदीको हरक सम्झेर भनेँ, राजेन्द्र शलभलाई ।
अनि हाँस्यौँ हामी । पश्चिमपट्टि बगिरहेको मोदी हाँस्यो झन् हलहली । उत्तर पसारिएको ढुङ्गेनी बाटो छपक्कै ढाकेर ठूलो हुल गइरहेछ गफमा पुर्रिएर ।
त¥यौँ धोती खोला ।
पुलका मुखैमा पातलो सप्कोले छाती कसेर सिस्नो केलाइरहेकी थिई गुरुङ्नी । उसले बल्ड्याङ्ग्रे आँखा पल्टाएर मलाई हेरी र सोधी—‘घाँटीमा बिल्ला लाएर गएको यो हुलले भात काँ खान्छ ?’
‘वीरेठाँटीमा !’
‘खाजा चैँ हाम्रामा खाइदिए कति राम्रो हुन्थ्यो !’
‘मेरो अरनखटन चल्दैन । के गरुँ म !
यतिन्जेलमा हाइजुङको उकालोमा थिएँ म ।
अब सोते बजार भेटियो । कफीका बुट्यान लस्करै थिए—खोल्सातिर । राताहरिया फल थिए झ्याम्म पोथ्रामा ।
मोदीपारिको देउपुरको पाखोमा भर्खर खनेको बाटै उक्लदैछ मरीतरी । अँहँ, सुहाएन है; कुमारी पहाडलाई मनपरी खनीखोस्रेको !
आँखासामु लुकामारी गरिरहेथ्यो ठूलो हिमाल । गोरागोरीसँग गुडुडु कुदिरहेका भरिया शान्त थिए बरु । तर लामघारे कैलाकैली थिए असिनपसिन ।
चिसो पहाडमुनि एकोहोरो थियो मोदीको गर्जन । पाउलिन लागेको वन पहाडका टुप्पातिर देखिन्थ्यो । खेत थियो तल...तलसम्म । खोलाको कम्मर भएर गएथ्यो सुलुलु बाटो ।
‘एक कुवारा !’
दैलामा बाख्राका पाठा मुसारिरहेकी एउटी गुर्सिनीले ठाउँको नाउँ बताई ।
‘कति लाग्छ घान्द्रुक पुग्न ?’
निधार पुछेँ मैले ।
‘तीन घन्टा !’
उसले पाठाका आँखाको चिप्रा पुछी ।
पानीले घाँटी भिजाएर म हिँडे । विदाइमा एक पसर मुस्काई ऊ । उसको मुस्कानले मलाई छिटो–छिटो पाइला सार्न सघायो ।
दाउरा सुकाएका लस्कर । छानाभरि मूला, इस्कुस र काउली सुकाएका देखिए । घरैपिच्छे अँगेना जोरिएका र खानबस्न पाइने सूचना देखिन्थे ।
दुई पहाडको चेपमा चेप्टिएर बाटो गइरहेछ उत्तरतिर ।
‘गजबको माछापुच्छ्रे बा !’
जानेहरुका बोलीले मेरा कान ठडिन्थे ।
अटुट थियो मोदीको गर्जन । थाप्लामा मडारिइरहेथ्यो घामको ताप । लिदीमा झुम्मिएका ससाना कीरा घरी–घरी मेरा नाक र आँखालाई डस्न हुर्रिन्थे । घिन, सिकसिकोसँगै अत्यास मडारिन्थ्यो छातीमा ।
छिरबिरे छायाँमा मोदीको दौड कति हो कति !
वीरेठाँटी पुग्दा भेटिए अरु चिनारुहरु । अनि भातका हार लागे हाम्रा अगाडि । भोक मज्जाको थियो, त्योभन्दा मस्तको थियो भोजन । खाइयो थपी–थपी ।
‘कुनै समय वीरबहादुरले बनाएको ठाँटी थियो, यस ठाउँमा !’
भाङ्ग्रा लाएका एक गुरुङले ठाउँको बयान गरे ।
नजिकै गाईभैँसीका गोठ देखिन्थे, भोजनमा दूधदहीको तुर्कोसम्म भित्रिएन । भान्सा नजिकै छङ्छङाइरहेथ्यो पहाडी खोलो, थालमा कुनै माछाको पुच्छर भेटिएन । हो, पहाडे पानीको खाना मीठो थियो निकै । तर तरकारी र चामल तराईकै थिए । मुखमा बस्यो वर्णसङ्कर स्वाद ।
एउटा ठूलै हुद्दा लर्केपछि अर्को टोली आएर भोजनमा डट्यो ।
‘अघि द्रव्य शाह, अब भाते शाह !’
हिँडने बेलामा जयदेव भट्टराईको बोली सुनियो ।
‘किन ?’
शलभले सोधे ।
‘अब लम्कन सकिन्न । भातले थिचिहाल्यो नि !’
कुराको चुराको खुल्यो ।
अघिसम्मको देब्रे मोदी अब बग्दै थियो दाहिने भएर । हामी त्यसैका ढाड भएर लम्किरहेथ्यौँ अनवरत । अगाडिको माछापुच्छ्े झन् नौलो रुपमा देखापथ्र्यो, फेरि छेलिन्थ्यो । लुकेको हिमाल खोज्न तुलबुलिन्थे आँखा मेरा ।
निकै लम्केपछि एउटा आँगनमा विदेशीले नेपाली टोपी लाएर पानी खाइरहेको देखियो । ढाका टोपीधारी विदेशीको फोटो निकै खिचे नयनराज पाण्डेले ।
‘हाम्रो राष्ट्रियता भोलि तिनले जोगाइदिने छन् !’
क्यामेरा मिलाइरहेका पाण्डेको बोली सुनेँ मैले ।
वास्तवमा हामी सबैका टाउकामा घाम छेक्न सजिलो हुने युरोपेली चुच्चे टोप थियो ।
तेर्छो थियो बाटो । मास्तिरको पहाड थुम्किएको लागे पनि भीर पछारिएको थियो जताततै । भीरमा उँधमुन्टिएका रुखले विरक्तै पारे । जरा बाहिरिएका र टुप्पा धस्सिएका थिए भुँइमा ।
आँखा फर्किए पहिरोबाट !
मोदीको छालमा सिमल फुलेको मोहक तस्वीर खुब देखिरहेथेँ म । वनभरि गुराँस र सिमल फुलेथे जताततै । हाँडीबाट उच्छिटिएका मकै जस्तै दशदिशा थिए घरहरु । पातला बस्तीमा गोरेटाको जालो थियो बाक्लै । घँसेनीका रित्ता डोका वन पसिरहेथे । उराठ र उजाड थपिँदै थियो वनमा ।
तिर्खाले किलकिलेमा अड्डै जमाइरहेछ ।
हिँडिरहेको छु एकलै । सँगै आएका अघि पुगे । पछि आएकाहरुले छोडेर गइहाले । जसो गरे पनि एकलाको एकलै !
घुम्तीमा देखियो हिमालको हिस्सिपर्दो रुप । बादलले पुछेर गएको हिउँचुलीमा नीलो आकाशले सिँगारपटार गरिरहेथ्यो ध्यानपूर्वक । म त अँगालिएछु हिमाली हार्दिकताले ।
‘नदेखिएको पाटो देख्न पाइयो !’
चूडामणि बन्धुले माछापुच्छे्रको सुन्दरतालाई नयाँ खाले लागेको बताए ।
कुरा सिद्घिउन्जेलमा छेलिइसकेथ्यो हिमाल । तल खोलातिरका रसिला खेतमा बाली सप्रेको देखिन्थ्यो । मास्तिर खोँचमा चरिरहेका देखिन्थे बस्तुभाउका लस्कर ।
एक हुल आयो ।
‘बूढाहरु भारी बोक्ने ?’
युवक छविरमणको कुरा सुनियो ।
‘तन्नेरीहरु अरुलाई भारी बोकाउने र लट्ठी लिने ?’
बूढा कन्हैयाले भने ।
हो, म बचेको थिएँ यसमा । लट्ठी थिएन हातमा । गहृुँगो झोला ढाडैमा टाँस्सिएको थियो मेरो ।
गर्मीले गालेको थियो । तेर्पे बाटोमा एकोहोरो चकमन्न भत्काउँथ्यो घरी–घरी लुँइचे बासेर । पसिनाले परेला भिज्थे पटक–पटक । घामले कुन जुनीको इबी साँधेको, हँ ?
बाटामा देखियो छातेघर । सियाँलको लोभमा अडिएँ मै पनि । एउटी गुराँसगाले डेनमार्के तरुनीका गाला थपथपाइरहेको कैला र सेता कपाल भएको एउटा अधबैँसे थियो ।
‘घान्द्रुक जाँदै हो ?’
मैले उसलाई सोधेँ ।
‘होइन, फर्कंदै !’
कैलीले उत्तर फर्काई अङ्ग्रेजीमा ।
क्यानको बियर घुट्काइरहेथ्यो कैलेले । मैले पानीको लाम्चो बोतल किनेँ ।
‘महँगो छ नि !’
मैले भनेँ ।
‘निकै चर्को छ । त्यसैले म त यसरी तिर्खा मेट्तै छु !’
अधबैँसेले यतिन्जेलमा तरुनीका ओठमा तीनचार पटक गोता मारिसकेथ्यो ।
मलाई लाग्यो, यो कुइरे त्यसै त स्वतन्त्र जातको । त्यसमाथि मन पगाल्ने झोल खाइरहेछ मस्तले । आऽ, छोड्दिउँ यसलाई ज्यान—चरनका लागि ।
नुहाइरहेछु पसिनैपसिनाले ।
एउटा ठूलो चट्टानमुनि मोदी नै पौडिरहेको ठानेँ मैले ।
‘यस्तो गर्मी छ ! खोलै नुहाउँदै होला !!’
बोल्छु एकलै ।
रैँदु गाउँमा थुप्रै नयाँ टहरा बनिरहेथे । पहाडको सुन्दरता भत्केर आधुनिकता आइरहेथ्यो चाल मारी–मारी ।
थकाइ मारिरहेका खच्चड थिए बाटोमुनि । भारी विनाका खच्चड एकअर्का माथि उक्लेर लाभ लिँदै थिए फुर्सदको ।
गुराँसका थुँगा लिएर साना केटीहरु बाटामा उभिए । साथीहरु मोलतोल गर्दै थिए । पारिका वनमा फुलेका गुराँस आँखामा सजाउँदै हिँडे म । यतिखेर पैसा तिरी गुराँस किन्नु सौन्दर्यमाथि अन्याय हुन्थ्यो !
किँजे गाउँ पुग्दा गलेर छेपारी दुख्न थालेथे । डुलुवाले थाकेँ, गलेँ भन्ने कुरा भएन । लम्कने योजना बनाएँ बिसाई–बिसाई ।
खाएको पानीभन्दा निक्लेको पसिना बढ्ता भइरहेछ । ज्यानमा ‘जलविद्रोह’ भए के होला ? ढक्क हुन्छ छाती ।
किँजे नजिकै छहरा थियो । ठूलो र छङ्छङाउँदो छहरामा नुहाएर फर्कियो तिर्खाएको मन । बाटो कुदिरहेछ उत्तरतिर । मलाई दगुराइरहेछ त्यत्तिकै ।
मोदीका हरेक छालमा हजार चित्र कोरिन्छन्, मेटिन्छन् । हिमाल, खोला, पहाडका घुम्तीमा समयका पृष्ठ फर्र पल्टिन्छन् मनमा । असीमित अर्थ र चित्र छन् ती पृष्ठमा ।
तेर्पे बाटोका दायाँबायाँ मकै थिए तीनचार पाते । तल खोलातिरका गरामा बर्खे धानको रोपो सरेको हरियो सुन्दरता आँखामा आउँदा शीतल हुन्थ्यो । राताम्मे सिमल फूलले जवानी ओर्लन्थ्यो मनमा ।
पुगियो लामाखेत ।
गर्मी थियो एकाहोरो उकालो लागेको । बाटबाटमा ह¥याकह¥याक गरेका खच्चरका बथान भेटिन्थे सियाँलमा । धर्ती नै धाप्पिएर फैलेको हो कि भन्ने लाग्थ्यो । वरपरका थुम्कामास्तिरको बादल फाटेर सेतोबाट नीलो भइरहेको लाग्थ्यो—आँखा तिरमिराएर ।
छिमरुङ पुगेर सुस्ताउने भेटिए ।
ससाना पसल थिए खुत्रुके तर सुकिला । ढुङ्गाको चौतारी थियो । थपक्क बसेँ म । पसिनाले सबै नुहाइसकेथेँ । आहालको भैँसी भइरहेछ ज्यान !
‘अब कति बेरमा पुगिएला ?’
‘लेखेरै दिन्छु, तीन घन्टा !’
डोको बिसाइरहेका भरियाले किटेरै भने मलाई । तीन घन्टा हिँडिसकेथेँ म । मिलिरहेकै थिएन यो ठोकुवा ।
वेगवान थियो तलको खोलो । यसो मोड जस्तो ठाउँमा भेडा जुधाइरहेका तन्नेरीहरु थिए, हल्लीखल्ली गरिरहेका । तिनले बाजी ठोकेर भनेको सुनिन्थ्यो—‘हार्नेले जितुवालाई बाकेर किलिउडाँडा दस पटक ओहोरदोहोर गर्नुपर्छ !’
चाउरी परेको ज्यान घिसार्दै छु म ।
तीनचार घर देखापरे स्याउली बजारमा । बाटा दायाँबायाँका रुखमा डोका झुन्ड्याइएको थियो । सुग्घरी मनको बोली थियो सूचनामा—‘मानवताको परिचय दिऊँ !’
उत्तिसको घारी आयो । पात झरेर उजाड घारीमा छायाँ खोज्दा दिन बित्थ्यो । लुरुलुरु लम्किरहेको छु, छु ।
लिदीको भकरान छ बाटाभरि । आँखामा बेतोडले पस्न खोज्ने लिदीका किरा आजित पारिसके । खच्चडका बथानले जित्छन् घरी–घरी । हत्तेरिका, कस्तो पिचासे बाटो !
सियाँल के होला भीरमा ?
त्यसमै बसेका भेटिए थुप्रै सँगीहरु । गलेर सासै जाने भएपछि नअडिने कुरो भएन त ! सहरका सुविस्ताभोगीहरु ढलीमली गर्थे, अहिले ताइँ देखिरहेथे भीरको छायाँमा । हुलमा केही ‘जी–हजुरी’ हिरिक्किएर पाइलै सार्न नसक्ने हालतका पनि भेटेँ मैले !
खोला र कलकल टाँसिएर बगेको देख्छु तल—मोदी ।
पानीको ढापैनिर जलबह मन्दिर देखियो । नीलारङ्गे किरा आँखा र नाकका पोरामा ठोक्किन्छन् घरी–घरी । हैरानमाथि हैरान !
पैतालामा पाङग्रा भए कति जाती हुन्थ्यो ?
कैँडा लागेको पाँसुला हेरी सान्त्वना दिएँ । बाटो अब झन् उकालो छ भन्ने सुनेपछि खुट्टै लुगलुगाएका छन् ।
चक्ला परेका खेत हेर्छु । नीला पहाडको सुन्दरता परेलीवरपर नाचिरहेकै छ । निख्खर कसिला गुर्सिनीहरुको हार्दिकता छाप्राका पसलमा पानी किन्दा झुसी–झुसी पाइरहेकै छु ।
मानिसलाई प्यारो मानिसकै माया !
‘घान्द्रुकै बगेर यतै आइदिए हुन्थ्यो नि !’
तुलसा बोल्छिन् । तिनी सकसमा छिन्, बरा !
अब तेर्छियो उकालो । सिमलका राता फूलका हाँगाबाट चिहाएर तल हेर्छु—आह, मोदीको मस्त जवानी । जल संसारको अलैकिक सौन्दर्य र शालीनता थियो त्यहाँ ।
मध्यघाम छ टाउकोमा । आँखामा यदाकदा आउँछ माछापुच्छ्रेको सेताम्मे चीसो । के गर्नु, गर्मीको काँढोले शरीर पाछेकोपाछेकै छ । आँखाले देखेको चीसो आइपुगेन ज्यानसम्म । ह्लासामा सुन छ, कान मेरो बुच्चैको हबिगतमा छु म ।
मान्छे भनेको जण्डको प्राणी । क्यै नछोड्ने जात प¥यो मान्छेको । ठाउँठाउँमा ढुङ्गा फोरी खेत बनाएको देखिन्थ्यो ।
‘ठ्याम्मै तीन महिना भो !’
ढुङ्गा फोर्न आगो बालेर बसेका कप्तानसिंह गुरुङले भने ।
‘ज्यानमारा, वनमारा, बगलीमारा, भाइमारा सबथोक बन्न सजिलो । तर ढुङ्गामारा बन्न साहृै कठीन !’
कप्तानले घन चलाउँदै भने ।
बाटो नाप्न थालेँ । भाक, थकान र तिर्खाको चेपाचेपलाई ढिम्किनै दिइरहेको छैन म । रुद्रघण्टीमुनि नै दबिएका छन् ती मागहरु, ती नाराहरु, ती स्वरहरु ।
मोदी उर्ली–उर्ली बगिरहेछ तल । मास्तिर प्याकप्याकी छन् खेतका गराहरु । गराका आलीमा पटपटी फुटेको धर्ती हेरेर खिन्न बूढाहरु उभिएका छन् । योजना, विकास, निर्माण र समृद्घि नपुगेको विरक्ति देखिन्थ्यो बूढाका खुम्चेका निधारमा ।
एक ठाउँमा पहिरो पन्छाउनेहरु भुत्भुताउँदै थिए—‘ऊ खस्छ, हामी पन्छाउँछौँ !’
‘यो त पहाडको रीतै हो नि !’
मैले सान्त्वना दिएँ ।
‘तपार्इंहरु नआइदिए, हाम्रो खैरियत छैन नि !’
उत्तर सुनेँ ।
किलिउबजारमा थकाइ मारियो मज्जैले । एकजना रौसेले गीत गाएर सबैलाई रमाइलोमा भुलाए । पानीले आँत चिसियो । मैले जीउ फालेर गीतमा बग्न दिएँ शरीरको रगतलाई ।
अब सुरु भयो डरलाग्दो उकालो । ढुङ्गेनी उकालोका दायाँबायाँ थिए ढुङ्गे छानाका घरहरु । पिडुँला बाउँडिए मेरा । घुँडा पिल्लिए मेरा । स्वाँ–स्वाँ बढेर छाती पट्ट फुट्ला झैँ भयो । आफ्नै जीउ जलगैँडा झैँ भयो मलाई ।
उफ, मर्लान्त भइयो ।
‘बाफरे, जेमराजै रै छ नि उकालो त !’
पछाडि थुप्रै छन् दम फुलाउनेहरु । घोडामा आउने पनि गिजोलिएका छन् । डोकामा बोकिएर आउने पनि झाँगलझुँगलिएका छन् । पैदलै आउनेको हबिगत त झन् चौपट । मुुटु नै फुट्लाजस्तो भइसक्या छ । सासै रोकिएलाजस्तो छ भीर कपेको उकाली ।
‘नेपालकै लामो बजार यो, स्याउली बजार !’
‘किन ?’
‘दुई घन्टादेखि यै नाम सुनिरहेछु म !’
सिँढीपिच्छे बोलिरहेछन् जयदेव र अमर । तिनको अनुमान सोहृै आना सत्य लाग्दैछ मलाई ।
ठाडै उकालीमा खुट्टा कामिरहेथे, आँखा तिर्मिराइरहेथे, कान गुम्म भइरहेथे । कन्पारामा एक डोको मयलले कालै पल्टेका केटाकटीले हात पसारे हाम्रा अघिल्तिर । हेरिनसक्नुका तिनका नाक, सिँगानका पाप्राले सानातिना पहाडै बनेथे ।
बिसाई–बिसाई उक्लेको छु ठाडो डाँडो ! गर्मी र घामको गठबन्धन छ बेहिसाब । मारमा परेँ म ।
घुमाउने चौतारी भेटियो किलिउ डाँडामा । डरलाग्दो उकालो यहीँ आएर केही मत्थर भो । फटाफट गए मसँगैका साथीहरु । मैले ज्यान पसारेँ चौतारीमा । आँखा चिम्लेर जीउको रगत बग्न दिएँ नसाभरि । चौतारीको चीसो हावाले बाप्फिएको जीउलाई सुम्सुम्यायो सुस्तरी ।
‘लौ, घोडैघोडाको ताँती !’
आँखा खोल्दा पो देखियो घोडाको लस्कर । सारा घोडाले घेरिएछु म त । तलबाट उकालिएको भीरदेखि टुप्पैसम्म घोडाको ताँती । किलिउडाँडाभरि परी–परीका घोडा । अब तिनलाई नाघेर जाने आँट आएन । अँहँ, पटक्कै आएन ।
नजाऊँ साथी गइसके । जाऊँ छेकिएको छ बाटो । थुतुनाले टोक्लान् भन्ने डर, लात्ती बर्साउलान् भन्ने अत्यास । सकेदेखि घोडाको टाङमुनिबाट छिरेरै जानु हुन्थ्यो ।
कस्तो घानमा परेछु म त !
निकै बेरपछि मास्तिरबाट आएका घँसेनीले घोडा धपाएर बनाएको समात्दै मै पनि उक्लिएँ लुइँलुइँ ।
तीनचार घरबाहिर डरलाग्दा भोटे कुकुर थिए । साङ्लै चुडाउँला झैँ ती चँुइकेर भुकिरहेका थिए । लाग्थ्यो, थर्किरहेको छ भुँइ नै । त्यही भुँइ टेकेपछि के भो होला मेरो गति ?
घुमाउरो बाटोमा भेटिए केही चिनारुहरु । उकालीमा झन् गाहृो भइरहेछ । फेरि देखापरे नानीहरु ।
‘दाइ पैसा दिनु न !’
‘किन नि ?’
‘कपी किन्न !’
‘नदिँदा के हुन्छ ?’
‘हिस्स हुन्छ !’
मैले दुईको नोट दिएर विदा गरेँ । ती हाँसे, हिस्सिएनन् ।
एकदमै चुलिएको थुम्को लाग्यो किलिउडाँडा । वरपर सबै देखिने । छोडेर आएको बाटो तन्किएको लाग्दैछ । मोदीको मुहुनी झनै मीठो । दक्षिणपट्टिको डाँडो आपट्टे छ त्यसै–त्यसै ! लान्द्रुकतिर छरिएका गोरेटा बाक्लै छन् । झुरुप्प बस्ती बढ्ता देखिएका छन त्यतातिर ।
घान्द्रुक गाविस सुरु भएको जानकारी पाइयो ।
चौतारी जोडिएको घर टेकेँ । टार भनिदिए पनि हुने ठाउँ । पूर्वपट्टि चकलादार खेतैखेत थिए । गरामा चरिरहेथे भैँसीका बगाल । साना केटाहरु भकुण्डो खोसाखोसमा लडिरहेथे । तिनको असिनपसिनले थप गलेँ म ।
थकाइ मार्न पाउने समय खोजिरहेछु म । अरुहरु घोडा चढेर तस्वीर खिच्ने तँछाडमछाडमा लागेको देखेँ । ध्याउन्न आफ्नो–आफ्नो !
उकालीमा फेरि भेटिए भुराभुरी ।
‘कापी किन्न पैसा दिनु न !’
अग्ले केटोले भन्यो ।
‘कलम किन्न पैसा दिनु न !’
सानी केटीले स्वाँक्क सिँगान तान्दै भनी ।
मैले तिनका अनुहार पढेँ । खुट्टामा जुत्ता थिएन । आङका लुगा धरा भइसकेथे । जिङ्रिङ्ङ थिए कपाल । मुखमा चार बाक्सी मयल । नङ थिए तीनबित्ते फोहोरी ।
‘तिमीहरु कति–कतिमा पढ्छौ ?’
मैले सोधेँ ।
‘म त दसमा !’
सानी केटीले चम्केर भनी ।
‘म त तीनमा !’
केटोले नि गम्केर भन्यो ।
‘हैन, उमेर मिलेन त । उल्टो पो भयो कि ?’
मैले खारेँ ।
एक अक्षर नपढेका ती केटाकेटी झगडा गर्न थाले । कसैले घोकाएको कुरा बोलेका रहेछन् । हामीले परैबाट सुन्यौँ—
‘मैले भन्नुपर्ने किलास तैँले किन भनेको ?’
जर्खरिदैँ थिई केटी ।
‘मेरो किलास मैं भन्छु, अबदेखि तँ नभन्नु !’
रन्किदैँ थियो केटो पनि ।
म हाँसेँ तिनको चालामालामा ।
किम्चे पुग्दा निकै तल ओर्लेथ्यो घाम । तेर्छिएको उकालोमा पानी खाएपछि सोधेँ मैले—‘अब कति टाढा छ ?’
‘तीन घन्टा पक्का !’
बिहानकै उत्तर सुनियो अहिले पनि ।
दाहिने पट्टिको भित्तामा लेखेको देखियो—‘चार हजार दुई सय बाउन्न पाइलामा घान्द्रुक पुगिन्छ !’
तर आश थिएन हामीलाई ।
माछापुच्छे्र मात्र थियो । अरु कुनै हिमालसँग अँगालिन पाएनन् आँखाले । फुस्का डाँडा र पाउलिएका वनको रमाइलोले तान्थे घरी–घरी । बिहानको भोजनको कुनै थोपोसम्म थिएन भुँडीमा । बेलाबखतको पानी पाउथ्यो पेटले । त्यही थियो सबथोक ।
सबैका घाँटीमा एकै खाले बिल्ला थिए—‘नेपाल बाल साहित्य समाज, २०औँ वार्षिक सम्मेलन । २०६६ फागुन २४–२५ ।’
बाटबाटका मान्छे हाम्रा बिल्ला पढेर सोध्थे । त्यसो त पर्यटकीय ठाउँ भएकाले यस्ता समारोह भइरहने खबर सुनाएकै थिए तिनले । यो भेला चैँ अलिक बेग्लै खालका मान्छेको हुलले भरिएको आलो कुरा सुन्न पाइरहेथ्यौँ हामी ।
कालिकोटका कालीबहादुर शाही औधी रमाइला रहेछन् । युद्घले कक्रिएको कर्णालीका कहालीलाग्दा कथा बाटाभरि कहे तिनले ।
एक ठाउँमा एउटा बट्टा भेटियो ।
‘एइ, यो त ग्रिनेड हो !’
ती हातमा लिएर आत्तिए ।
धुलो पुछेर हेर्दा थाहा भो, नङ पालिसको बट्टा पो रै’ छ । धेरै जसो हाँसे तर युद्घको धङधङी भेटेँ मैले त्यस क्षण ।
किम्चेको पुछारबाट तल हेर्दा देखियो—निकै रमाइलो दृश्य ।
‘हेर्नुस् समस्या !’
‘गाउँ बग्ला भनेर डोरीले बाँधेको !’
बन्धुले देखाए ।
बिजुलीका लट्ठा झोलिँदा त्यस्तो अनौठो दृश्य देखिँदो रहेछ । वास्तवमा मास्तिर पहिरो र तल बाँध बाँधेको झैँ हाम्रा आँखाले बुझे ।
तर्पाया उकाली सकिने बित्तिकै राजबहादुर विश्वकर्माको छाप्रे पसलमा भेला भयौँ सबै । निकै सफासुग्घर आँगन, पसल र घरगृहस्थीको संसार थियो त्यहाँ ।
‘घना रुख, घान्द्रुक !’
घान्द्रुक शब्दको अर्थ केलाए उनले—‘पैला–पैला घना रुख थिए त्यहाँ । अब त धेरै पातलिए । ठाँउ नि साटियो, नाम नि बेग्लियो !’
चलमलायो हाम्रो हुल बाटो लाग्न ।
‘अझै तीन घन्टा लाग्छ !’
विश्वकर्माले पनि भने ।
यो तीन घन्टाले छोेडेन कसैगरी । यो डाँडादेखि धेरै तलसम्म आइरहेको हाम्रो दल सबै ‘तीन घन्टे’ प्रहारले नराम्ररी घाइते भइरहेको छ, छ । कसैले पाइरहेको छैन मुक्ति ।
हजुर, तीनघन्टे मुक्ति !
कस्सिएर हिँड्नेमै गनिएको छु म । थोरै देखिने हिमालको चुम्बकले तान्न छोडेको छैन । मोदीको सुसाइ र वनको हलचलले दगुराउन छोडेको छैन । के यो मेरा पैतालाहरुको परीक्षा हो ?
अनेक घुम्तीहरुले नसुल्झिने जिज्ञासा तेस्र्याउँछन् ।
निकै तेर्छो हिँडेपछि फेरि भेटियो समथर बाटो । अनि टुप्लुकियो डरलाग्दो पहिरो । चाने पहिरोले थुप्रै घरबस्ती बढारेको देखिन्थ्यो । हजारौँ टनका ढुङ्गा, एउटा कुलकुलाइरहेको कुलेसोका बाटोछेकुवा भएर ठडिइरहेका थिए । पहिरोले निलेका खेत वैरागलाग्दा देखिन्थे । अजङ–अजङका रुखहरु पहिरोमा पुरिएर जरा ठडिएका थिए जताततै । रसिला खेतबारी मरङ–मरङ चपाएथ्यो निठुरी पहिरोले । एउटा अद्भूत लीला थियो यहाँ ।
निकै बेर लाग्यो चाने पहिरो छिचोल्न ।
थाकिएथ्यो अनि पहिरो पहिरोमै बिसाएँ आफूलाई । भोक, तिर्खा र बिसौनीको इच्छा थियो । तर यतिखेर तिनको चाहना गर्नु अमानवीय ठहरिन्थ्यो । चुपचाप लाग्नु नै मानवीय कर्म हुन्थ्यो ।
तेर्छो निकै कटेपछि टुप्लुकियो खामरुङ बराह मन्दिर । तीनचार घर थिए वरपर । घरमा चालचुल थिएन मान्छेको । हावामा हल्लिरहेका भोटे ताल्चाले सब खालको शून्यता दिइरहेथे ।
अँहँ घान्द्रुक अझै आएन !
अनेक रुप र व्यवहारका दाँवलहरुसँग मिलन र बिछोड भइरहन्थ्यो । छिनमा भेट हुने र छुट्टिने क्रम भइरहृयो मनग्गे । अझ कोरियालीहरुको एउटा बिछट्टै झिल्के समूहसँग भइरहेँ म अघिपछि । गुराँस सिउरेर राम्रिएका ती खुबै खुलेका थिए ।
धेरै कोरियाली युवतीहरु हाम्रा समात्दै भन्थे—‘तिम्ले घरजम ग¥यौ त ?’
‘तिम्ले मन राखेकी भए हामी नि तन्नेरी नै छौँ !’
हाम्रा कुरा कम बुझे पनि भाव बुझिछाड्थे ती । अनि हाँसो छरिन्थ्यो डाँडा, खोँच, थुम्का, चुली र वनैभरि ।
पहिरो सकिएर तेर्छो लाग्दा भेटिए पिर्थे सार्की । उनीसँग थुप्रै कुरा रहेछन् । असी नाघिसकेका उनले भने—‘पहिला–पहिला गोरा हिँड्ने गाउँ थियो यो । अब त आफ्नै दाजुभाइ गोरा झैँ धनी भइसके माराज !’
‘हामीले साँझ हिमाल हेर्न पाउँछौँ त ?’
‘नाइँ माराज, बाहृबजेपछि बादलले ढाकिहाल्छ नि । अन्नपूर्ण, हिउँचुली र माछापुच्छे्र मध्ये माछापुच्छे्र चैँ अलेली बच्छ—अरुलाई निल्छ बादलले !’
‘हामी कहिले हेर्न पाउँछौँ नि ?’
‘तीनबजे बिहानदेखि खुल्छ नि माराज !’
सार्कीसँग विदा भएर लम्केँ म । अँध्यारो बढ्नाले चीसो पनि ओर्लियो । पातलो सुइटर खापे मैले । वरपरको मौसम आइरहेछ बेग्लै भएर । तलको मोदी झन् गर्जेर सुसाएको सुनिरहेछु म ।
ढुङगे सिँढी छ उकालीमा । खुरुखुरु हिँडेर पनि नपुगिरहेको गथासो छ छातीभरि । डरलाग्दा चेप्टा चट्टान तल खोलाका किनारबाट मास्तिर मुख बाएर ठडिएका देखिन्थे ।
‘पहाडको बान्ता कालो हुन्छ कि क्या हो ?’
चारैतिरबाट ओर्लिरहेको अँध्यारो हेर्दै म बोलेँ ।
कतैबाट प्रत्युत्तर आएन ।
जङ्गल, खोला, पहाड र हिमालमुनिको अन्धकार आइरहेको लाग्थ्यो घोर चिसो र क्रुर भएर । खोँचबाट उम्लिएको कुइरोले अरु घिउ थपिरहेथ्यो चिसोलाई ।
तीनघन्टा भनिए पनि हामीले हिँडिसकेथ्यौँ नौघन्टा । बाटोले निलिसकेथ्यो हामीलाई । अझै पुगिएको थिएन । बिसाउन सकिएको थिएन ज्यान । झोलाझ्याम्टा थन्काएर शरीर तन्काउन पाएकै थिएनौँ ।
अन्तिम घुम्ती भेटिरहेको छैन म ।
उँभो लहरे वन थियो, उँधो सुसाइरहेको खोला । माझको भीर ताछेर बनाएको गोरेटोलाई नाप्दै थिएँ म । मोदीपारि अनेक बस्ती, घर र जनजीवनका चलखेल देखापर्थे । कताकति मान्छे दगुरेका, चिच्च्याएका र केटाकेटी रोएका ‘मनुवाकर्म’ पनि झल्याकझुलुकिन्थे ।
अनि राम्रै उकाली छिचोलेपछि देखाप¥यो बाक्लो बस्ती । अघिदेखि पातलिएर देखापर्ने हिमाल पुरै बिलायो । ढुङ्गेनी छानाका घरहरुमा रमाउन थाले हाम्रा आँखा । तल बेँसीदेखि लेकसम्म छिचोलिएका गरामा टम्म थिए मानव गतिविधि ।
निकै तलसम्म हिउँका तह देखिन्थे । मास्तिरको घेरो छोपिएको छ कुइराले । अरु त हिउँले खाएका थुम्का । काला गन्जीमा डटेका तन्नेरी झैँ छन् थुम्काहरु !
यसो कोल्टेजस्तो ठाउँमा अन्नपूर्ण संरक्षण आयोजना लेखिएको सूचना पढ्दै एकजना भरिया बोले—‘अब चै पुगिएको हुनुपर्छ !’
नभन्दै सँगै असिनपसिन भएर आउने सँगातीहरु विभिन्न कटेरातिर लर्किए । सफासुग्घर घरका आँगनमा फूलबारी र पराले छाप्राहरु देखिन थाले । लहरे कुर्सी र फूलदानी वरिपरि रमाइरहेका साथीहरु देखापर्न थाले झ्वासझ्वासी ।
दिनभरि शरीर गलाउने घाम बिलाएथ्यो । अबको रात कसरी बित्ला ?
पुग्न बाँकी बाटो थियो । पुगी नै सकेको तर टेकी नसकेको बसोबासको घरले उकुसमुकुस पारिरहेकै थियो । ओच्छ्यान, भोजनको खैखबरी चर्को थियो अरुको समेत । सबैको हैरानीमा मेरो मत पनि त मिसियो सरक्क !
भोटेको मानेनिर बाँडियो बाटो । त्यसकै मुखमा स्वागत गर्न उभिए किसम गुरुङ र प्रमोद प्रधान ।
‘बुद्घ होटेलमा बस्नु होला । तपैँहरु पाँच जनाको लागि गाँस, बास र कपास त्यतै छ !’
हामीलाई बिदावारी गरे प्रधानले ।
झमक्क साँझमा टेकियो बुद्घको आँगन । सामान थन्काएर जीउ पखाल्यौँ । अनि तातो चिया खोज्दै सिँढीतल झरेँ म ।
तरकारी केलाइरहेकी एउटी क्रोधी आइमाई केटाहरुलाई अहृाउपहाउ गरिरहिथी । भर्खर ब्याएको भैँसीले हरियो घाँस खान नपाएको वेदना पोख्तै थिई झर्केर ऊ ।
‘खोइ त हिमाल ? काला डाँडा मात्र पसारिएका छन् जताततै ।’
मैले बूढीलाई आफ्नो उपस्थिति जनाएँ ।
‘जुग सिद्घिएजस्तो छ नानी । पैला–पैला यै पिँढीसम्म हिउँ आउँथ्यो । अहिले त चारपाँच बर्ख भो आउन छोडेको । हिमचुली नि रित्तिइसके हिउँले ।’
गुरुङ्नीका ओठ बर्बराए ।
पारिका बस्तीमा बत्ती पिलपिलाए । मैले तिनबारे जान्न खोजेँ ।
‘मास्तिरको डाँडागाउँ, तिम्रोन, सिक्रीडाँडा, घान्द्रुकका छिमेकी गाउँ हुन् । मर्दापर्दाका भनुँम् न !’
खरो मिजासकी होटेल्नीको उत्तर सुन्छु ।
मास्तिर साथीहरुले नयाँ उखान कथेको सुनियो—
‘गुन्द्रुक खानु घान्द्रुकको
बाटो सोध्नु लान्द्रुकको !’
मैले चिया सुर्काएँ । आँगन तलदेखि फैलेका गरामा लहलहाएको हरियो गहुँबारीको बास लिएँ ।
‘खुब महँगो छ रे यहाँ त । एउटा अन्डाको कति नि ?’
मैले भाउ बुझ्न खोजेँ ।
‘नब्बे रुपियाँ !’
गुर्सिनीको भनाइले सातो गयो मेरो ।
यतिन्जेलमा साथीहरु तल आइसकेथे । कालो ओकलिरहेको रातलाई घान्द्रुकमा कुन ढङ्गले बिताउने भनेर मन्थनमा जुट्यौँ हामी । मन मात्र विराट् थियो, विशाल थियो र विशिष्ट थियो हाम्रो । खल्तीको अवस्था थियो पुरै कमजोर । अनि पो झस्केको !
मैले पश्चिमपट्टि अँध्यारोमा झिलमिल हुँदै गएको गुरुङगाउँ हेरेँ । अलिअलि देखिएको माछापुच्छे्रको बिजोगमा मन मरेर आयो ।
एकातिर चर्को मूल्य, अर्कोतिर रुखा डाँडाहरु । हत्तेरिका के छ र यो घान्द्रुकमा ? मान्छे किन ओइरिएका यहाँ ? यस्ता काला पहाड हेर्नै मुन्टेका यता ? बिछट्टै अमिलिएँ म त !
त्यसो त पिर्थेले भनेथे—‘माराज, तीनबजे बिहानदेखि तीन चुलीको रुप देख्न पाइन्छ । सुनजस्ता हिमाल देखिन्छन् । चाँदीले धोएका तीन हिमालको उज्यालोले घान्द्रुकै झल्ल हुन्छ । माछापुच्छ्रे, हिउँचुली र अन्नपूर्णलाई आँखाले थेग्नै नसक्ने राम्री आइमाई हेरेजस्तो हेर्न पाइन्छ । छिनमै यी चुलीले सुनौला चोली फेर्छन् । सुकिला हिउँचुलीको मुहुनीले लट्ठै पर्छु म त, माराज !’
छैनन्, यतिखेर बयान गरिएका कुनै कुरा छैनन् । छैनन्, यतिखेर चर्चा गरिएका कुनै दृश्यका एक थोपा छैनन् । उदासीको भलबाढीमा बग्दैछु म । साथीहरुको पनि उही छ मुखमुद्रा !
अझ तीन दिन बस्नु छ हामीले यहाँ । हामी रित्तै भएर फर्कने भइयो त ? गुन्टा लिलाम हुने भए त हाम्रा ?
साथीहरुका कुरा सुनेँ । एकले अर्काका उदासी अनुहार एकनासले पढ्दै भनियो—
‘तलैबाट यसो जार, जर्किन ल्या भए नि हुने !’
नयन बोली ।
‘गल्ती भो गतिलैसँग !’
जयदेव वाणी ।
‘पछुतोका निम्ति नि केही खर्च गर्नै प¥यो नि !’
टङ्क विचार ।
‘समावेशी बनौँ !’
नयाँघरे वचन ।
अनि एउटै टेबल वरिपरि बसेर महँगो मेनु हेर्दै ततायौँ हामीले मधुरो साँझ । बाटो सम्झेर, नदी सम्झेर, उकालो सम्झेर, ओहृालो सम्झेर, भीर सम्झेर अनि आफ्नै धुलिएको सम्झेर तातो पानी सुर्कायौँ । बादलमा हराएको अन्नपूर्ण र माछापुच्छे्रलाई साक्षी राखेर मन ढुकढुकायौँ हामीले । हिउँचुलीलाई वरै तानेर पानी–पानी भयौँ हामी ।
अँध्यारो चर्र चिरेर छेवैको गुम्बामा मुरली बजिरहेथ्यो तिरिरी..........!

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 24 फागुन, 2067

लेखकका अन्य रचनाहरु