दिल्ली पुग्ने सात दोबाटो

- मनोज गजुरेल

यो देशलाई महान् मान्छेहरूसँग मेरो ठाडो असहमति छ । महानताको कुनै लक्षणविना नै यत्तिकै महानताको जलप लगाउँदा यो त गहनहरूमा लगाइने नक्कली जलपजस्तो पो भयो ! बरु मलाई सुन्नोस्– यो देश यौटा चोक हो, र हाम्रो बहुदल एउटा ‘राष्ट्रिय सात दोबाटो’ हो ।

चोकबाट भिन्नभिन्न स्थानमा जाने सातवटा बाटाहरू भेटिन्छन् । तर ती बाटा–गोरेटाहरू कहाँसम्म पुग्छन् भन्ने चाहिँ कसैले पनि पत्तो लगएको छैन । गएकाहरू भेटिएका छैनन् । फर्किएकाहरू चिन्नै नसक्ने भएर आएका छन् ।

‘बहुदल चोक’ को यात्रा संसारको कस्टप्रद यात्रामध्ये एक हुनसक्छ । एउटाबाट हिँड्यो, अर्को गल्लीमा निस्किइने । दोस्रो बाटो समात्यो– हिँडेको ठाउँमा पुग्दै नपुगिने अर्थात्, लुँडोको ‘सर्प–भ¥याङ्गको खेल’ र बहुदल चोकबाट सुरु गरिने यात्रा बीचमा तत्विक अन्तर छैन ।

होश गर्नोस्, साम्यवादतिर हिँड्नु भएको मान्छे पूँजीवादको राजधानी पुग्नु होला । उदारवादको टिकट काटेर सुधारवादको मोटरमा चढ्नु होला र बित्यास पर्ला ।
तपार्इंको सुविधाको लागि बहुदल चोकमा निम्न सूचनाहरू टाँस गरिएका छन् । चोकबाट बाटो समात्नु अगाडि एक पटक उक्त ट्राफिक सूचना पढ्न नभुल्नु होला । यसले तपाईंलाई गन्तव्य पहिल्याउन सहयोग गर्न सक्ला ।

प्रथम दोबाटो
बहुदल चोकबाट सोझ दक्षिण–पश्चिम हानिएको ठूलो पिचरोड ‘प्रजातान्त्रक समाजवाद’ को राजधानीसम्म जोड्ने बाटो हो । तर त्यसको केही अगाडि पुगेपछि दुईवटा स–साना गल्लीहरू भेट्नुहुनेछ । पूर्वतर्फ छिर्नुभो भने बृद्धहरू बस्ने ‘यौन स्वच्छन्दतापुर’ पुग्नुहुनेछ । पश्चिम तर्फको बाटो समातेर ठाडै दक्षिण लाग्नुभो भने चाहिँ दिल्ली दरबारको ढोकामा ठोकिनु हुनेछ ।
आफ्नो बाटो आफैँ तय गर्नुस् !

दोस्रो दोबाटो
चोकको अलिकति पश्चिम पुगेर देब्रेतिर हानिएको रातमाटे बाटोबाट ‘बहुदलीय जनवादी शहर’ पुग्न सकिन्छ । शहर पुग्नुभन्दा ६८ किलोमिटर वरै तपाईंका अगाडि ‘रणनीति’ र ‘कार्यनीति’ नामक दुईवटा फलैँचा देखा पर्नेछन् । दुईटै फलैँचामा बसेका अलग–अलग साधुहरूले तपाईंलाई बीचैमा रोक्नेछन् । तपार्इंलाई सम्बन्धित स्थानसम्म पु¥याउने जिम्मा आफूले लिने विषयमा उनीहरूबीच बेलाबेला मारपिट चल्ने गर्छ, जसले गर्दा उनीहरूले दुबैतिर जाने बाटाहरू बन्द गरिदिन्छन् । त्यसबेला तपाईंलाई फलैँचाको दक्षिणतिरको ‘भ¥याङ्ग’ ओर्लनुबोहक कुनै पनि विकल्प बाँकी हुने छैन ।
याद राखनोस्– त्यो भ¥याङबाट पुग्न सकिने ठाउँ पनि दिल्ली दरबार नै हो ।

तेस्रो दोबाटो
चोकको मूल बाटो समात्दै सिधै उत्तरतिर हानिँदा ‘खिचडी दलीय’ जनवाद नामको सुनौलो शहर पुगिन्छ । तर अलि पल्तिर पुगेपछि भेट्टाइने ‘राष्ट्रवाद चोक’ तपाईंको यात्राका लागि भालुको कन्पट सावित हुनसक्छ । उक्त नयाँ चोकबाट यौटा बाटो ‘बहुदलीय जनवाद’ तिरै फर्किन्छ । उत्तरतिरको लालमाटी बाटो ‘परम्परागत जनवाद’ मा पुग्दछ । दक्षिणतिर मोडिनुभो भने ‘शिववादी जनवादी मार्केट’ भेट्नुहुनेछका दायाँको रेडले परिमार्जित पाखातिर पु¥याउँछ भने ‘सामाजिक जनवादी नहर’ बाट जाँदा पनि तपाईं कहीँ पनि नपुग्न सक्नुहुन्छ ।
राष्ट्रवादतिर हिँडेको मान्छेका अगाडि यतिका बाटाहरू आएपछि तपाईं पक्कै अल्मलिनु हुनेछ । त्यसैबेला एउटा द्रूतगतिको टे«नले तपाईंलाई सहयोग गर्नसक्छ  । तर याद राख्नोस् यो टे«न पनि ‘दिल्ली मेल एक्सप्रेस’ नै हो ।

चौथो दोबाटो
पश्चिम–दक्षिण छुट्याउँदै अर्को एउटा बाटो छुट्टिन्छ ! त्यो उदारवाद जाने बाटो हो । त्यस बाटोमा १० कि.मि. बढेपछि सुधारवाद र ओडारवाद जाने मसिना गोरेटाहरू छन् । ओडारवादतिर लाग्नुभो भने पुनः बहुदलीय चोकमै पुग्नुहुन्छ । सुधारवादको बाटोबाट थोरै अगाडि बढेपछि हनुमानपुर र लेण्डुपथुङ्ग जाने घोरेटाहरू छन् । हनुमानपुरबाट पुनः ओडारवाद पुगिन्छ भने लेण्डुपथुङ्गको अन्तिम विन्दु पनि दिल्ली दरवार नै हो ।

पाँचौँ दोबाटो
चोकको पूर्वोत्तर हानिएको राहिता रङ्मार्गबाट समाजवाद पुग्न सकिन्छ । तर रङ्गमार्ग छिर्नासाथ एउटा सानो टहरो फेला पर्छ । त्यो टहरोको दुईवटा झ्यालमा अलगअलग भ¥याङ राखिएका हुन्छन् । पूर्वपट्टिको भ¥याङ उक्लनु भो भने बहुदल चोकको दृश्य देख्नुहुनेछ । पश्चिमपट्टिको भ¥याङ चढेर हेर्दा दिल्ली दरबार देखिन्छ ।
यस बाटोबाट दिल्ली नपुगे पनि दिल्लीको दृश्य मजाले हेर्न सकिन्छ ।

छैठौँ दोबाटो
बहुदल चोकबाट जातीय स्वशासनसम्म जानलाई दक्षिणतिरको कालोपत्रे बाटो समात्नुपर्छ । समातेको ७–८ घण्टामै स्वशासनयुक्त दिल्ली दरबार पुगिनेछ ।

सातौँ दोबाटो
बहुदल चोकबाट साम्यवादतिर जाने सोझो र छोटो बाटो नै डा. बाबुराम मार्ग हो । उक्त मार्गको मध्यबिन्दुबाट पनि दुईवटा बाटा छुट्ने छन् । दायाँतिरको घुमाउरो बाटो निकै लामो छ । सायद त्यो साम्यवादतिरै जान्छ होला । तर देब्रेतिरको बाटोबाट साम्यवादी शहर झलमल्ल देख्न मात्र सकिन्छ ।
बीचमा तर्नै नसक्ने डरलाग्दो जङ्घार छ । जङ्घार तर्न खोज्नुभयो भने खोलामा खस्नुहोला– बगेर दिल्ली नै पुग्नुहोला । दायाँतिर घुमाउरो बाटो लागे यसै भन्न सकिन्न ।

हाल: काठमाडौँ

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 11 फागुन, 2067

लेखकका अन्य रचनाहरु