तृप्ति

- कृष्ण बजगाईं

उसको दैनिकी– “सब्जीमण्डीमा लामो समय बिताएर खाली हात फर्कनु ।”

उसको यो क्रियाकलाप मण्डीका सबै व्यापारीलाई विस्तारै थाहा हुन थाल्यो । अब उसको निगरानी गर्न सुरु गरियो ।

सब्जीमण्डीका हरेक ताजा सागसब्जी, तरकारी तथा फलफूलमा निकेबेर आँखा लगाएर निस्कन्थ्यो ऊ । बाहिर निस्केपछि सानो दोकानमा तयारी खानेकुराका डिब्बा किनेर कोठा तिर लाग्दथ्यो ।

निगरानीकर्ताहरुले ठाने सब्जीमण्डीबाट अवश्य यसले केही न केही चोरेर लैजान्छ । एकदिन सधै जस्तै सब्जीमण्डीबाट बाहिरिने बित्तिकै च्याप्प समातेर उसको खानतलासी लिन सुरु गरियो । साथमा केही भेटिएन । अनि केरकार सुरु गरियो ।

ऊ भन्दै गयो– “म कुनै चोर हैन । गाउँमा हुर्केको खेतिपाती गरि जीविकोपार्जन गर्ने मानिस हुँ । यो सहरमा काम खोज्दै आएको हुँ । यो कंक्रिटको जंगलमा हरियाली नदेख्दा निस्सासिएको जस्तो लाग्छ । दैनिक यहाँ आएर सास फेर्छु र जान्छु । मेरा आँखा र मन यही सब्जीमण्डीमा आएपछि तृप्त हुन्छन् । यो महँगो सहरमा ताजा तरकारी र फलफूल खाने मेरो हैसियत छैन ।”
उसको बयान सुनेपछि सबै मूर्तिवत् भए ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 6 फागुन, 2067

लेखकका अन्य रचनाहरु