पानी

- हरिहर खनाल

सामान्य अर्थमा यसलाई थुम्को भन्न सकिन्छ, तर यथार्थमा यो एउटा उच्च भूभाग हो । एउटा सिङ्गो रङ्गशाला अटाउलाजस्तो देखिने जमिनको यो खण्डमा गत सालसम्म धानखेत थियो । त्यसको एक छेउमा एउटा टहरो थियो, गोपालको । काँचो इँटाले बनेको जस्तापाताको छानु भएको त्यो घर दुई किसिमका सरल प्राणीहरूको साझा बासस्थान थियो । घरको एक खण्डमा माली गाईका माउबाच्छा र अर्को भागमा गोपालको परिवार । गाईको मलजलले हराभरा तरकारी बारी, आफ्नै मस्कतले उब्जाएको खेतको धान । आँगन अगाडिको अलिकति उचा भागमा उसले सानु पूmलबारी पनि बनाएको थियो । करेसाबारीमा लदाबदी फलेका घिरौँला, चिचिण्डा, रामतोरिया, करेला । बारीको एक सुर्कोमा झुलेका गाबाका छत्रे पात, अदुवा, हलेदो । गोपाल धरतीमा पाखुरी बजाथ्र्यो, सरला उसको होस्टेमा हैँसे थप्तै उत्साह भर्थी । तिनीहरूको गुजारा राम्ररी चलेको थियो । एक हिसाबले हेर्दा तिनीहरूका लागि त्यो एउटा ससानु भूस्वर्ग नै थियो ।

तर यति बेला समय फेरिएको छ । फेरिएको समयले खुला हावामा सास फेरिरहेको गोपाललाईछिमेको एउटा छिँडीमा धकेल्यो । विगत बीस वर्षदेखि त्यो थलोमा बसिरहेको उसलाई उसका राजासाहेबले पश्चिम नेपालको कुनै एउटा गाउँबाट उठाएर ल्याएका थिए । तर त्यो त धेरै पहिलेको समय थियो । त्यति बेला भर्खर पन्ध्र वर्षको वयमा टेक्तै गरेको उसका अहिले भने अघिपछि लाग्ने दुई लालाबालासमेत भैसकेका छन् ।

सहर पसेको झण्डै दश वर्षसम्म त्यसले राजा साहेबको खुबै चाकरी ग¥यो । त्यो समयावधिमा त्यसले केके ग¥यो भन्दा पनि के मात्रै पो गरेन भन्न सजिलो ठान्छ ऊ । भाँडा माज्ने, चोटाकोठा बढार्ने, लुगा धुने उसका नियमित कार्य थिए । पहाडको साँगुरो र सामान्य जनजीवनमा लुटपुटिँदै बढेको उसका लागि सहरमा पाइला राखेको दिन कम्ति अनौठो लागेको थिएन । फराकिला चिल्ला सडकहरू र तिनमा गुड्ने मोटरकार, टुप्पोतिर हेर्दा टोपी खस्ने घरहरू, अर्कै दुनियाबाट आएका हुन् किजस्ता लाग्ने मान्छेहरू, एउटा भिन्दै परिवेश, एउटा अलग्गै परिदुश्य ।

समयको चक्रमा पेलिँदै जाँदा गोपालको जीवनका आयामहरू, भौतिक स्वरूप र निजी सोचाइमा पनि पविर्तनका स्पष्ट सङ्केतहरू देखिन थाले । सहर अब उसका लागि कुनै नौलो बस्तु लागेन । ऊ त्यसैमा समाहित भयो । सहर पस्ता भर्खर जुँगाको रेखी बस्न थालेको एक जना सुबोध किशोर बिस्तारै लक्का जवानमा फेरिँदै गयो र त्यसरी फेरिएको त्यसको स्वरूपदेखि भित्रभित्रै कताकता असजिलो महसुस गर्दै गएका राजा साहेबले त्यसको जोवन मिल्दो एउटी सुसारेसित त्यसको घरजमको व्यवस्था गरिदिए । त्यसको लगत्तै तिनीहरूको बसोबास रङ्गशाला अटाउलाजस्तो थुम्काको त्यै फराक टाकुरामा स¥यो ।

“ल अबदेखि यो तेरो जिम्मा । यो सारा तेरो आफ्नै हो भन्ने भन्ने ठान् तैँले ।” थुम्काको एक छेउको एकपाखे टिनको छाना भएको घरको आँगनमा उभिएर कम्पाउण्ड घेरिएको जमिनको ठूलो चक्लातिर आँखा घुमाउँदै उनले भनेका थिए । गोपालको मन कताकता गर्वले फुल्यो । सामान्य नै सही, अब उसका लागि मात्र एउटा सिङ्गो घर थियो, आँखाले भ्याइनभ्याइको एक जातको जमिन थियो र उसको
सुुखदुःखमा उसलाई साथ दिने, हेर्दैमा मुहुनी लगाउने, पाकेको आरुबखराजस्ती अँगालो भरिकी जहान थिई । ऊ निकै उद्धेलित भयो । एक हिसाबले भन्दा ऊ निकै प्रफुल्लित थियो । उसकी दुलही सरला पनि मख्ख पर्दै आपैmसित लजाएजस्तो गर्दै भित्रभित्रै मुस्कुराई । रबिन्सन क्रुसोलेझैँ गोपालले त्यसका विस्फारित आँखाहरू यताउता घुमाएर हे¥यो । कतै सिरुघाँस, कतै घाँटुका बुट्यानहरू र कतै
ससानु झाडी । आवादगुल्जारबिहीन जमिनको त्यो हिस्सा निक्कै लोभ लाग्दो थियो ।

त्यसपछिका दिनहरूमा गोपालले त्यसका बलिष्ठ पाखुरी त्यो बाँझो धरतीमा बजा¥यो । खनजोत ग¥यो र राम्रो आवादीयुक्त खेतबारी तुल्यायो । सरलाले उसलाई काँधमा काँध मिलाएर साथ दिई । कर्मशील पाखुरीको स्नेह पाएर धरती मुस्कुरायो । अन्नको छेलखेल भयो । बिस्तारै राजासाहेबका नजर त्यसमा परे । त्यसको पौरख देखेर फुरुङ्ग परेका उनले उसको ढाडमा ढाप लगाएर उसलाई हौसला दिँदै गए । त्यहाँ उब्जेको अन्न गोपालले आपूmलाई चाहिनेजति अड्कलेर राख्थ्यो र बाँकी राजासाहेबको गोदाममा खन्याउँथ्यो । ऊ त्यसैमा मख्ख थियो ।

त्यहाँ सरेको केही वर्षसम्म गोपाल साँझ–बिहान नियमित रूपमा आपूmले आवादकमोत गरेको भूभागका छेउकुना चाहाथ्र्यो । खेतीमा कतै झार देख्यो भने तत्कालै टिपेर फाल्थ्यो । खेतिपातिका लागि नियमित रूपमा धाउनु पर्छ भन्ने कुरा उसले गाउँमा हुँदैमा सुनेको र सिकेको थियो । खेतबारी घुम्ने समयमा ऊ यताउता हेथ्र्यो । वरपर बस्ती निकै पातलो थियो । टाढाटाढा खेततिर देखिने किसानका एकाध घरहरू र सहरको माथिल्लो भेगमा रहेको राजा साहेबको महल । बाँकी भाग पूरै खाली । बर्खाको समयमा त त्यो पूरै फाँट हरियो सागरजस्तै देखिन्थ्यो ।

तर त्यो त उहिलेको कुरा थियो । विगत बीस वर्षको अबधीमा समय कहाँबाट कहाँ पुगिसकेको थियो त्यसको लेखाजोखा थिएन । बेलिबिस्तार लगाउन पनि निकै मुस्किल थियो । जताततै घरैघर, मानिसैमानिस र सडकैसडक । सहर सिमेन्टको एउटा कुरूप जङ्गलमा फेरिँदै गएको थियो । नुनको भाउमा पाइने जग्गाको मोल सुनको दाममा फेरिएको थियो । त्यसको प्रत्यक्ष प्रभाव गोपालको जीवनमा पनि पर्न पुग्यो । विगत बीस वर्षदेखि त्यसका दश नङ्री खियाएर आवादगुल्जार गरेको त्यो जग्गा राजासाहेबले यसैपाली मात्रै बिक्री गरे र त्यसबाट प्राप्त भएको रकमले उनले एउटा वित्तिय संस्था खोले । त्यसपछि भने त्यो ठाउँबाट गोपालले बास नउठाई धरै पाएन ।

सबैतिर बस्ती थियो । मुख्य सहर पनि नजिकै थियो । यता फक्र्यो सहर उता फक्र्यो सहर । सिङ्गो उपत्यका सहरमा फेरिँदै गएको थियो । सहरको अल्लि पर हरियो फाँट, त्यो भन्दा अल्लि पर घुर्मैलो जङ्गल, त्यसभन्दा अझ पर आकाश ताकेर छुस्स बाहिर निस्केको हिमाल । यस्तो लाग्थ्यो, कविहरूले वर्णन गर्ने गरेको भूस्वर्ग यदि कतै भए त्यहीँ थियो । त्यहाँ सब थोक थियो । तर त्यहाँ एउटा कुराको भने असाध्यै हभाव थियो । यो त्यस ठाउँको मात्र नभएर टोलछिमेक र वरपरको पनि समस्या थियो ।
त्यो समस्या थियो पानीको । त्यहाँ सब थोक भएर पनि पानी भने थिएन । हरेक ठाउँमा पानीको हाहाकार थियो । तिर्खाले छट्पटाएर आकाशमा रुँदै उडेको काकाकुलसरि थियो त्यो सेरोफेरोका मानिसहरूको अवस्था ।
***

राजा साहेबले बिक्री गरेको पूरै रङ्गशाला अटाउने त्यो थुम्कीको मैदानका कुनाकाप्चा मिलाएर, होचो भाग पुरेर र अग्लो भाग खारेर सम्म पारेपछि कम्पनीले एउटा आवासक्षेत्रका लागि उपयुक्त हुने किसिमले घडेरीका ससाना टुक«ाहरूमा त्यो जमिन विभाजन ग¥यो । ठाउँठाउँबाट सडकहरू झिकिए, ती सडकका बीचोबीचमा ढलको पाइप बिछ््याइयो, सडककिनाराको उपयुक्त ठाउँमा बिजुलीको पोल गाडियो र चार इञ्चको होचो पर्खालले प्रत्येक घडेरीको साँधसीमाना छुट्ट्याइयो । त्यसपछि सडक पिच भयो । चिटिक्क परेका घडेरीका टुक«ाहरू देखेर तँछाडमछाड गर्दै कतै घडेरी फुत्किइहाल्छ कि भनेर छोप्न आतुर ग्राहकहरूले कम्पनीसित सोधे ः “पानी नि ? पानीको के बेबस्ता छ ?”

“त्यसको चिन्तै नलिनोस् । हामी तपाईहरूलाई घरघरमा पानी बितरण गर्छाँै । प्रत्येक घरमा पानीका धारा पु¥याउँछौँ ।” कम्पनीको यस्तो आस्वासन पाएपछि बिस्तारै मानिसहरूका मन त्यतातिर तानिन थाले । सुरक्षाका हिसाबले पनि मानिसहरू सहर केन्द्रीत हुँदै गैरहेका थिए । मासिहरूले हारालुछ गरेर घडेरीका टुक्राहरू किने, हिराको मूल्यमा । अनुमान गरिएको समयभन्दा पनि पहिले घडेरीका टुक्राहरू बिक्री भए । जजसले त्यहाँ घडेरी लिए ती सबै भित्रभित्रै खुबै मख्ख पर्दै आपूmलाई निकै भाग्यमानी ठान्न थाले ।

बिदाबादी भएर हिड्नुपूर्ब कम्पनीले नवनिर्मित कोलोनीको एक कुनामा एउटा अजङ्गको यन्त्र ठड््यायो । त्यसको भीमकाय स्वरूप देखेर छक्क परेका छिमेकीहरूको एक हुल त्यहाँ के हुँदैछ भनेर रमिता हेर्ने
सुरमा त्यहाँ पुगे ।
“के हुँदैछ यहाँ?” आगन्तुकमध्ये कसैले सोध्यो ।
“पानीको बेबस्ता गर्न थालेको । डिप बोरिङ ।” कम्पनीको कर्मचारीले उत्तर दियो । त्यो सुनेर कतिपय मानिसहरू दङ्ग परे ।
भोलिपल्ट बिहान पनि त्यो ठाउँमा मानिसहरू भेला भए ।
“डिप बोरिङले त यो सेरोफेरोको आँत सोसेर पानी सुकाउँछ भन्छन् नि । कसो हो कुरो ?” भीडमा कसैले खुसुक्क भन्यो ।
“ए हो र ? उसो भएत रोक्नुपर्छ यो काम ।” अर्काले थप्यो ।
“समाजलाई असर पुग्ने गरी कुनै काम गर्न पाइँदैन । नियमै छ ।” अर्को बोल्यो । एक कान दुई कान हुँदै त्यो कुरा मैदान भयो । सिङ्गो समाज त्यसको बिरोधमा उत्य्रो । महिलाहरू पनि निकै हौसिएर कराउन थाले । त्यो कुराको सामान्य असर समाजका सबै मानिसहरूलाई पर्ने भए पनि प्रत्यक्ष असर त महिलाहरूलाई नै पर्ने कुरा उनीहरूले ठहर गरे । त्यसपछि सबै महिलाहरू कँस्सिएर त्यो कामको बिरोेध गर्न थाले ।
“पोथी बासेको ठाउँ र’च यो ।” पक्षतिरको कसैले झिनो स्वरमा भन्यो । त्यसको कुरा सुनेपछि त्यहाँ उपस्थित महिलाहरूको टाउकोमा झनन गर्दो झङ्कार उत्पन्न भयो ।
“पोथी बासेको भनेर हामीलाई अपमान गर्ने कुन हो त्यो ?” एउटी महिला उफ्रिइन् ।
“त्यै पोथी नभएको भए तिमी कसरी जन्मिन्थ्यौ?” अर्की महिलाले आक्रोसपूर्ण स्वरमा सोधिन् । यसरी एक पछि अर्को गर्दै धेरै महिलास्वर हावामा तरङ्गित भए ।
“बोल्न पायौँ भन्दैमा जे मुखमा आयो त्यो बोल्न पाइन्छ? के हो यो ? मनपरि बोल्नेलाई समात्ने कानुन छैन?” एकपछि अर्को महिला स्वर सुनिन थाल्यो ।
“देशको मूल कानुन सम्बिधान त बन्न बाँकी छ, अरू कानुनको के कुरा ?” हुलमा कसैले परिहासपूर्ण
शैलीमा भन्यो । त्यो सुन्नेहरू बिस्तारै हाँसे ।

यसरी त्यहाँको वातावरण बिग्रियो । कम्पनीको मनले हरेस खायो । ठड््याइसकेको भीमकाय मसिन पनि खोलखाल गरेर राखे । तथापि सास छइन्जेल आस भनेझैँ कम्पनीको मनमा पनि सम्भावनाको झिनो त्यान्द्रो त छँदै थियो । भोलिपल्ट छिमेकीहरू र कम्पनीको संयुक्त बैठक बस्यो । बैठकको बहुमतले हिँजोकै कुरा पास ग¥यो । स्थानीय उपभोक्ता सममितिको हौसलामा एकाएक वृद्धि भयो । महिलाहरूले एक आपसमा स्वरमा स्वर मिलाए । त्यसपछि उपभोक्ता
समितिले त्यो काम रोक्नका लागि गाउँलेहरूको हस्ताक्षर अभियान सुरु ग¥यो । उपभोक्ता
समितिको संरचना पनि सबै पक्षको समानुपातिक प्रतिनिधित्व भएको एउटा राम्रो उदाहरणजस्तो लाग्दथ्यो । अबकास प्राप्त प्राध्यायक, कर्मचारी, समाजसेवी, महिला, राजनीतिज्ञ, बहलवाला कर्मचारी, ब्यापारी, आदि सबै किसिमका मानिसहरूको एउटा उपयुक्त नमुना थियो त्यो ।
“समाज सेवाको क्षेत्रमा एउटा राम्रो उदाहरण कायम हुने निर्णय गरियो आज ।” बैठकको अन्त्यमा हरेक सदस्यको हृदय यस्तै सोचाइले आल्हादित भैरहेको थियो ।
रात प¥यो र सबै आआफ्ना घरतिर लागे ।
***
रातको चकमन्नता क्रमशः अँध्याराको गहिराइतिर प्रवेश गर्दै थियो । ठीक्क समयमा सुत्ने मानिसहरूका अवयवहरू बिस्तारै सितिल हुँदै गैरहेका थिए । आँखा बिस्तारै लोजाउन थालेका थिए । त्यस्तै बेलामा त्यो निरव चकमन्नतालाई चिर्दै चर्को आवाजमा टेलिफोनको घन्टी बज्यो र उपभोक्ता समितिका अध्यक्ष श्री थापाज्यूका भर्खरै लोलाउन लागेका आँखा एकाएक खुले । उनले कान ठाडा पारेर सुने । घन्टी लगातार
बजिरह्यो ।
“यो कुसमयमा टेलिफोन गर्ने को होला ?” मनमनै आफैँसित सोध्दै र अनेक तरहका तर्क वितर्क गर्दै
श्री थापाज्यू मन लागि नलागि उठे र रिसिभर उठाए ।
“हेलो....!” रिसिभर कानतिर टाँस्तै सुस्त स्वरमा थापाज्यू बोले ।
“हिसाब किताब ठीक छ काजी? नेता बन्नै खोजेको हो भने घर–परिवारलाई राम्ररी बुझाइराख्नु ।”
टेलिफोनको पल्लो छेउबाट आएको आवाजले श्री थापाज्यूको पूरै शरीर लल्याकलुलुक भयो । उनको मुटु एक्कासी डरले थरर काँप्यो ।
“तपार्इँ को बोल्नु भएको ?” सम्हालिन खोज्दै श्री थापाज्यूका मुखबाट एउटा प्रश्न निस्कियो । तर उताबाट भने कुनै उत्तर आएन । एकछिनपछि उताको रिसिभर राखेको आवाज सुनियो । त्यति बेला मौनताजस्तो डरलाग्दो बस्तु अरू कुनै लागेन उनलाई । त्यसपछि श्री थापाज्यूको अनुहार त्यसै लोजायो । उनका नौ नाडी गलेर आए । जति गर्दा पनि सम्हालिन सक्ने स्थिति रहेन । उनी ओछ्यानमा पल्टिए । तर आँखा ट्वालट्वाल्ती परिरहे । निद्रा त्यतिकै हराएर गयो । बिहानीपख आँखा कति बेला झकाएछन् कुन्नि ? थाहा भएन । बिउझँदा टाउको बलक्बलक् गरेर चड्किइरहेको रहेछ ।

उपभोक्ता समितिको अध्यक्षका हैसियतमा काम गर्दाको हिँजोसम्मको समर्पण, प्रफुल्लता र खुसहाल श्री थापाज्यूका ललाटमा प्रज्वल्लित भैरहेको आभालाई हेरेर सहजै अन्दाज लगाउन सकिन्थ्यो । तर त्यो आज कसरी बिलुप्त भयो एकाएक ? उनको अनुहार हेरेर कसैले पनि खुट्याउन सकेन । सर्वदलीय स्वरूपको
समितिको संरचनाभित्र जो जो थिए ती मध्ये अधिकाङ्श सदस्य भोलिपल्ट बिहान उनले बोलाएको बैठकमा सबेरै सामेल हुन पुगिसकेका थिए । उपस्थित सबैका मुहारतिर नजर उठाएर श्री थापाज्यूले एक पटक आफ्ना सशङ्कित दृष्टि फ्याँके । किन हो कुन्नि ? ती सबैको अनुहार त्यस अधिको तुलनामा मिल्दै नमिल्ने, कुनै विषादको भुमरीमा परेजस्तो लाग्यो उनलाई । सके यो केवल मेरो दृष्टिदोष पो हो कि? उनले आफैसित सोधे । अनिर्णयको वन्दी बनिरहेका श्री थापाज्यूको आन्तरिक हालत जे जस्तो थियो त्यो वर्णन गरिसाध्य थिएन । आफ्ना कुरा कसैले एक–अर्कालाई नभने पनि, आफ्नो अन्तर्मनमा जे घटिरहेको थियो त्यो बाहिर व्यक्त नगरे पनि त्यहाँ उपस्थित सबैको हृदयको आवाज एउटै थियो । बेकारमा झमेलामा किन फस्नु ? नदुखेको कपाल डोरी लगाएर किन दुखाउनु ? सबैको मनले यसै भनिरहेको थियो । यथार्थ के थियो त्यो अब अनुमान गर्न सकिने विषय बनेको थियो । समितिका सबै पदाधिकारी र सदस्यहरूले श्री थापाज्यूले जसरी नै हिँजो बेलुकी, घनिभूत हँुदै गैरहेको त्यो चकमन्न रातको नीरव अँध्यारो र सुनसान वातावरणबीच एकाध मिनेटको समयान्तरमा एउटै किसिमको सन्देश पाएका थिए र त्यसका विषालु नङ्ग्राले तिनीहरूको मुटु भित्रभित्रै चिथोेरिरहेको थियो ।

एक्लाएक्लै बसेर पनि तिनीहरूले देशका विषयमा, देशको परिस्थितिका विषयमा, समाजका विषयमा, टोलछिमेकका विषयमा र त्यसको एक सदस्यका नाताले आफ्नै विषयमा समेत गंभीर भएर सोचे । देशमा चरम अराजकता व्याप्त थियो । नियम कानुन क्यै पनि छैन कि झैँ लाग्ने गरी अकल्पनीय घटना र दुर्घटनाहरू घटिरहेका थिए । हरेक मानिस आपूmलाई असुरक्षित महसुस गर्दै थियो । समाजको सुरक्षार्थ
कार्यरत सुन्तलीहरू आफ्नै सहकर्मीहरूद्वारा सामुहिक बलत्कारको सिकार भैरहेका थिए । सरकार मुक दर्शक मात्र थियो । कर्मचारीहरू सरकारी सिन्दुर पहिरेर अड्डा–अदालतमा काम गर्न स्वतन्त्र थिएनन् । नितान्न निजी स्वाथ्र्यमा रुमल्लिइरहेको सरकारका मन्त्रीहरू चाकरी नपुगेको निहुमा प्रसाशन कार्यालयका प्रमुखहरूलाई दिनदहाडै कार्यालय समयमा नै दलबलसहित कार्यालयभित्र पसेर कठालो समाउँथे, अनुहारमा जुत्ताका तमाचा लगाउँथे, तर सरकार त्यो सबै देखेको नदेख्यै गथ्र्यो । जमिम साह अनि अरुण सिंघानियाहरू दिनदहाडै सडकबीच गोलीका सिकार हँुदा सरकार रमिते बनेर बसिरहेको थियो ।
सरकारको सबैभन्दा प्रिय बस्तु सत्ता थियो । त्यस बाहेक अरूतिर फर्कने उसलाई कुनै चाख थिएन ।
सरकारका अधिकाङ्श सदस्यहरू अनिर्वाचित थिए । सत्ता तिनिीहरूका लागि आए आँप गए झटारो थियो । सरकार प्रमुख र उनका सहयोगीहरूको अधिकाङ्श समय विपक्षीहरूलाई सत्तोसराप गर्दैमा व्यतित भैरहेको थियो । बिपक्षीहरूले आयोजना गरेको बिरोध ¥यालीले राजधानीका सडक, गल्ली, चोक र कुनाकाप्चा भरिँदा उसले तिनीहरूलाई मैलाधैला र पाखे भनेर उपहास ग¥यो । ती प्रदर्शनकारी विरुद्ध उसले आफ्नै कार्यकर्ताहरूलाई प्रतिरोधमा उता¥यो र नेपाली दाजुभाई दिदी बहिनीहरूलाई एक आपसमा भिडाउने प्रयत्न ग¥यो ।

स्थुल रूपमा यस्तो देखिने देशको परिस्थिति सुक्ष्म रूपमा समेत असाध्यै खराब भएर गएको थियो । हुँदाहुँदा त कतिसम्म भयो भने निस्वार्थ रूपले बिरामी मानिसहरूको सेवा गरिरहेका चिकित्सकहरूसमेत अपहरणमा परिरहेका थिए र त्यस्ता कार्यहरू रोक्न सरकार विल्कुलै असमर्थ थियो । देशका विषयमा अलिकति संबेदनशील भएर सोच्ने हरेक मानिसको मुटु तातो झिरले घोचेजस्तो पीडा महसुस गथ्र्यो । बिहान सबेरै श्री थापाज्यूले बोलाएको बैठकमा उपस्थित सबैका मनमा विषादको कराई छड्किइरहेको थियो ।
“उपस्थित साथीहरू,” बैठककको सुरुमानै श्री थापाज्यूले सोझै कुरा राखे ः “हामीलाई आवस्यक प¥यो भने समितिले हाम्रालागि समेत पानी उपलब्ध गराउने वचनबद्धता व्यक्त गरेको छ । यो कुरा तपाईँहरूलाइ कस्तो लाग्छ?” श्री थापाज्यूको आधा झुकेको स्वरबाट निस्केको प्रस्ताव सुनेर सबैको मन रमायो । कुचोले गर्ने काम बतासले गरिदिएको थियो । उनीहरू सबै त्यही चाहन्थे । गत राति बजेको टेलिफोनको घन्टीले तिनीहरूका कान अझसम्म झन्झनाइरहेका थिए र उनीहरू सबै अरूको जे गत हाम्रो पनि सोही गत भन्ने निचोडमा पुगिसकेका थिए । अध्यक्षको प्रस्ताव एकमतले पास भयो र तिानीहरूको मन पनि हल्का भएको महसुस भयो सबैलाई । त्यसपछि बैठक सकियो ।

***

भोलिपल्ट फेरि ड्रिलिङ् मसिनको टावर ठडियो र त्यसपछि त्यसको नुजल धरतीको गर्भ छेडेर लगातार त्यसको गहिराइतिर घुस्रँदै गयो ।

काठमाडौं

(समकालीन साहित्य कात्तिक, मंसिर, पुस २०६७ बाट)

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 1 फागुन, 2067

लेखकका अन्य रचनाहरु