बेतौना जाने बाटो कता हो दाइ ?

- प्रोल्लास सिन्धुलीय

हामी चन्द्रनिगाहपुरबाट गौरतर्फ पसारिएको कालोपत्रे सडकमा दौडिरहेका थियौँ । हामीलाई बनबोरीतर्फ जानु थियो । साथमा हुनुहुन्थ्यो, साथी टंक खुलाल अर्थात् कवि मनु मञ्जिल । रात परिसकेकाले उहाँले घुमाउरो तर नअल्मलिने बाटो छान्नुभयो ।

त्यताका लागि नौलो भएकाले मलाई मेरो आफन्तको घरमा पुर्‍याएर ससुराली कोठियार जाने जिम्मेवारी थियो, टंकजीको भागमा । हामी सूर्योदय पुस्तकालयको साहित्यिक कार्यक्रम भ्याएर त्यता लहसिएका थियौँ, त्यसबखत । त्यतातिर मेरो काकाका तीनजना छोरीको घर थियो । म पछिल्लो पटक त्यो ठाउँमा आएको पनि करिब नौ वर्ष भइसकेको थियो । 'गाउँमा पुगेपछि जोकसैलाई सोधेर पनि पुगिहालिन्छ नि !' भन्ने विश्वास बोकेर म त्यहाँ जान तम्सेको थिएँ ।

हामी कुरा गर्दै, साइकिलमा दौडिने क्रममा थियौँ । जाँदै गर्दा मलाई कताकता दिदीको घरभन्दा टाढा गइरहेको आभाष भयो । 'यत्ति टाढा त थिएन' मेरो मनमा चिसो पस्यो । धेरै वर्षपछि आएको, गाउँ र मान्छेको नाउँबाहेक अरू केही थाहा नभएको कुरा टंकजीलाई सुनाएँ । तर, उहाँले सामान्य रूपमा लिनुभयो 'तपाईं आलीको बाटो जानुभएको थियो होला, योचाहिँ गाडी जाने बाटो हो, अलि घुमाउरो छ ।' पूर्ण विश्वास नहुँदानहुँदै पनि उहाँले भनेजस्तै होस् भन्ने कामना गरेँ मैले ।

आखिर हामी गन्तव्यमा पुग्यौँ । बनबोरी छेउको नागिन टोल रहेछ, त्यो । त्यहाँ पुगेपछि मैले टंकजीलाई बिदाइ गर्न चाहेँ । तर, उहाँले मान्दै मान्नुभएन । 'तपाईंलाई घरैमा पुर्‍याएर मात्रै जान्छु,' उहाँले अड्डी लिनुभयो । सायद सोच्नुभएको थियो होला, बाह्र हात नाघेर बित्तामा किन हार्ने ? तर, कठै ! बाह्र हात नाघ्यौँ भन्ठानेर भर्खर बित्ता नाघेका रहेछौँ हामीले । थाहा नपाउने गरी सिंगो बाह्र हात हाम्रो अघिल्तिर कालो मुख बाएर लम्पसार परिरहेको थियो ।

'एकराज पोख्रेलको घर कुन होला ?' टंकजीले एक स्थानीयलाई सोध्नुभयो । 'एकराज पोख्रेल ?' ती मान्छे जिल्ल परे 'बनबोरी भनेको हैन ?' त्यो मान्छे अल्मलिएको देखेर टंकजी मबाट स्पष्ट हुने खोज्नुभयो । मैले टाउको हल्लाएँ । स्थानीयले प्रस्ट शब्दमा भने- 'यो त नागिन टोल हो भाइ । तर, बनबोरीमा मात्र हैन यहाँ वरिपरिको कुनै गाउँमा पोख्रेल थर भएका मान्छे नै छैनन् ।

क्या फसाद ! मैले अझै केही पत्ता लागिहाल्छ कि भनेर थप विवरण दिएँ- 'सिन्धुलीबाट बसाइँ सरेर यता आउनुभएको हो ।' तर केही पत्ता लागेन

'भैलिनी आइन् आँगन

बढारी-कुडारी राखनँ

हे औँसी बारो..............'

तिहारको रमझम थियो । जताततै मैनबत्ती तथा टुकी बत्तीको झिलिमिलीबीच हुरीका हुरी भैलो खेल्नेहरूले गाउँको रौनक बढाइरहेका देखिन्थे । गाउँबाहिरको पूरै परिवेश अँध्यारोले घुम्लुंग छोपेको थियो । त्योभन्दा बाक्लो अँध्यारोले कब्जा गरेको थियो, हामी दुवैलाई ।

रात झन्झन् छिप्पिँदै गइरहेको थियो । ती मानिसबाट प्राप्त जानकारीलाई पूर्ण विश्वास नगरेर हामी झिना आशा बोकेर अगाडि बढ्यौँ । खेतको आलीआलीको बाटो, निष्पट्ट अँध्यारो, एउटा साइकल र दुईजना यात्रु ! हामीले साइकलयात्रा गर्न सकेनौँ । साइकललाई डोहोर्‍याउँदै हामी निकै पर बलिरहेको पिल्पिले बत्ती पछ्याउँदै हिँड्यौँ । अँध्यारोमै टंकजी पालैपालो दुवै हात सुम्सुम्याउँदै हुनुहुँदोरहेछ । उत्सुकतावश सोधिहाँलेँ, 'के भयो टंकजी ?'

केही समयअघिमात्र दुर्घटनामा परेर उहाँका दुवै हात भाँचिएका रहेछन् । एक महिना पनि भएको रहेनछ, उहाँ अस्पतालको बेडबाट उठेको । एक महिनाभन्दा बढी समय अस्पतालमा थलिएर भर्खर तंगि्रएको कमजोर मान्छे, केही दिनअघिमात्र प्लास्टर खोलिएको संवेदनशील हात, कालो अन्धकार, खाल्टाखुल्टी परेको अपरिचित बाटो, अनि आफूभन्दा डेढ गुणा भारी सहयात्री ! मेरो आङ जिरिंग भयो । डेढ घन्टादेखि लगातारको साइकलयात्राको जोखिम चुपचाप उठाउनुलाई साथीको कठोर दुस्साहस नै मान्नुपर्छ । फेरि परिचय पनि त भर्खरै भएको थियो हाम्रो, आजै मात्र, त्यही कार्यक्रममा । लेखक हुनुको झिनो नाताबाहेक केही सम्बन्ध थिएन हामीबीचमा । औपचारिक परिचयपूर्व मैले उहाँको नाम चिनेको थिएँ र उहाँले मेरो । बस् त्यत्ति हो ।

साइकल डोहोर्‍याउँदै माथिल्लो बनबोरीसम्म आइपुग्दा भैलो खेल्नेहरूको चहलपहल करिबकरिब रित्तिसकेको थियो । मान्छेहरू सुत्ने तरखर गरिरहेका देखिन्थे । झन्डैझन्डै सुत्नै आँटिसकेको घरका मान्छेसमक्ष हामीले आफ्नो समस्या राख्यौँ । तर, कसैले पनि एकराजलाई चिनेको छु भनेनन् । कसैले सम्भावनाको सानो आशा जगाइदिनुभयो 'तल्लो बनबोरीमा सिन्धुलीतिरबाटै आएका मान्छेहरू छन्, तिनलाई थाहा हुनसक्छ । तर तिनीहरू पोख्रेलचैँ होइनन् ।'

बिहान नौ बजे खाएको खानाको शक्ति सिद्धिसकेको थियो । कुहिरोको काग जसरी भौँतारिने क्रममा हाम्रा खुट्टा थकान महसुस गर्न थालिसकेका थिए । एउटा डरलाग्दो परिवेश थियो हाम्रा अघिल्तिर । तराईको ठाउँ, गोमन सर्पको असाध्यै डर थियो । बाटो पूरै अपरिचित र अन्धकारमय थियो । गन्तव्य पत्ता लाग्ने हो कि नलाग्ने हो, केही पत्तो थिएन । बाटोमा जसलाई हामी सोध्थ्यौँ, सबै एकै किसिमको आग्रह गर्नुहुन्थ्यो - आज यही बस्नुस्, भोलि बिहानै खोज्नुहोला । कोहीकोही त सर्प र डाकाको डर देखाएर जबरजस्ती हामीलाई रोक्नसमेत खोज्नुहुन्थ्यो । हामीले भने यात्रालाई सजिलै रोक्न चाहेनौँ । भेटिएन भने कोठियार नै जान्छौँ भन्दै उम्किँदै हिँडिरह्यौँ ।

अन्योलको हाताभित्र फन्फन्ती घुम्ने क्रममा हामीले पूर्वपश्चिम कता पर्छ भन्ने बिर्सिसकेका थियौँ । जसले जताजता देखाउँछन्, त्यतैत्यतै भाँैतारिँदै हामी एउटा झुप्रोघर अघिल्तिर पुग्यौँ । जहाँ एकजना तराईबासी अनुहारको मान्छे आँगनमा बसिरहेका थिए ।

'बनबोरीका रास्ता केने है ?' टंकजीले स्थानीय भाषामै सोध्नुभयो । उनले 'एने है' भनेर देखाइदिए । हामी तिनैले औँल्याएको दिशातर्फ हिँड्यौँ ।

उज्यालोको एकछिटा पनि हाम्रो यात्रामा बाँकी थिएन । औँसीको कालो रातलाई चिर्दै सानो लिखुरे बाटो बलजफती देखिने प्रयत्न गरिरहेको थियो । बाटो मान्छेहरू हिँड्दाहिँड्दै बनेको डोब थियो । बाटोका दुवैतर्फ हरिया चौर थिए, जो त्यसवेला काला देखिइरहेका थिए । हामी त्यही लिखुरे बाटो पछ्याउँदै गइरहेका थियौँ । अकस्मात् बाटोका डोब सिद्धिए र चारैतिर हरियो चौरको गाढा कालोपनमात्र देखियो । त्यतिवेलासम्म बाटाको डोबमात्रै नियालेर हिँडिरहेका हामी हिँड्दाहिँड्दै जंगलको निकै भित्र पसिसकेका रहेछौँ । 'कतै त्यो मानिसले जानीजानी जंगलतिर जाने बाटो देखाइदिएको पो हो कि ?' एउटा सम्भावित त्रासले भयभीत भयौँ, हामी । जताबाट आएका थियौँ, त्यतै फर्कियौँ, हतारहतार ।

जंगलबाट बाहिरिएपछि हामीले चारैतिर आँखा डुलायौँ, अहँ कतै पनि बत्ती बलेको समेत देखिएन । हामीलाई जतिसक्यो छिटो मान्छे भएको बस्तीमा पुग्नु थियो । तर, कताबाट गए गाउँतिर पुगिन्छ भन्ने पत्तो थिएन । अब त कोठियार फर्किने बाटो पनि थिएन हामीसँग । त्यस्तैमा निकै टाढा एउटा पिलपिले बत्ती देखियो । हामी त्यही बत्तीतर्फ अगाडि बढ्यौँ । बाटो अन्त कतै सुतिरहेको थियो होला, हामी खेतैखेत साइकल डोहोर्‍याउँदै थियौँ । बाटो खोज्न थाल्दा देखिएको एउटा आशाको बत्ती पनि ओझेलमा पर्ला भन्ने डर थियो ।

हामीले पछ्याएको बत्तीसँगै एउटा सिंगो गाउँ रहेछ । बाटोतिर सुनसान भइसके पनि एकदुई घरमा मान्छेको अलिअलि चहलपहल बाँकी थियो । हामीलाई देखेर एकजना मान्छे आँगनमा निस्कनुभयो ।

'यो कुन गाउँ हो दाजु !'

'तल्लो बनबोरी हो ।'

'तपाईं एकराज पोख्रेललाई चिन्नुहुन्छ ?'

'चिन्छु' भन्ने उत्तर आउला भन्ने आशा त्यहाँ पनि त्यत्तिकै खेर जाने लक्षण देखियो । तिनले ओठ लेप्र्याउँदै सिन्धुलीतिरकै एकजनाको घर देखाइदिए ।

हामी नजिकैको घरको ढोका ढक्ढक्याउन पुग्यौँ, जहाँ हाम्रो मार्गनिर्देशक हुने सम्भावना प्रबल थियो । यसबीचमा टंकजीको मलाई पुर्‍याएर कोठियार जाने योजना भताभुंग भइसकेको थियो । हामीले समयसँग सम्झौता गरिसकेका थियौँ । दिदीको घर पत्ता लाग्यो भने दुवै त्यहीँ बस्ने र पत्ता लागेन भने सँगै कोठियार जाने सहमतिमा पुगिसकेका थियौँ हामी । तर, आशाको सानो किरण भेटुन्जेल दिदीहरूको घर खोज्ने मनस्थिति जीवितै थियो ।

लक्ष्यमा पुग्न नसक्नुको पीडा, बाटोतिर अल्मलिनुको चोट अनि कालो रात, गलत नियतका मान्छेहरू अथवा विषालु सर्पको त्रासभन्दा कैयौँ गुणा बढी खुसी थिएँ म । टंकजीजस्तो हार्दिक मान्छेलाई साथी बनाउन पाउनुको आनन्दानुभूति म भरीभरी थियो । टंकजीको मुहारमा पनि मेरोजस्तै आत्मसन्तोष देखिन्थ्यो । उहाँ घरीघरी भन्दै हुनुहुन्थ्यो, 'एक छाक सँगै नखाई, एक रात सँगै नसुती पक्का साथी भइँदैन भन्छन्, हामी पक्का साथी हुने भयौँ प्रोल्लासजी ।'

हामीले ढक्ढक्याएको घरको ढोका खुल्यो । संयोगले घरबेटी दिदीको माइती सिन्धुली नै रहेछ ।

मलाई बल्ल आफ्नो भ्रम महसुस भयो । मैले पहिले नै जानुपर्ने ठाउँ 'बनबोरी' नभनेर 'बेतौना' भन्न सकेको भए यी सारा झन्झट उसैवेला नै छेउ लागिसक्ने थियो । बेतौना भन्ने मैले भुसुक्कै बिर्सेको थिएँ ।

यसवेलासम्म हामी एउटा अँध्यारो परिवेशबाट अलिकति मुक्त भइसकेका थियौँ । हातमा टर्चलाइट थियो र दिमागमा बेतौना जाने मार्गनिर्देशन ।

'लौ बाटो खोई त ?' टंकजी हच्किनुभयो । मैले हेरेँ, बाटो त थियो, तर अगाडि एउटा पनि बत्ती बलेको देखिँदैनथ्यो । लक्ष्मीपूजाको रात, अगाडि कुनै गाउँ भएको भए त एउटा न एउटा घरमा बत्ती बलेको देखिनुपर्ने हो । हामी फेरि बाटो हराउने स्थितिमा पुग्यौँ । नजिकै एउटा घर रहेछ । त्यहीँ गएर सोध्यौँ, 'बेतौना जाने बाटो कता हो दाइ ?' घरधनीले बताइदिएको बाटो हुँदै हामी दुसाद गाउँमा भित्रियौँ, जुन बेतौना जाने बाटोमै पर्दथ्यो । त्यहाँ एकजना तराईबासी वृद्ध आगो तापेर बसिरहनुभएको रहेछ ।

'एकराज पोख्रेलको घर कता हो दाइ ?'

'ऊ कथि कहलै ?' उहाँले हाम्रो भाषा नबुझेर छेवैको केटालाई सोध्नुभयो ।

'एकराज पोख्रेल के घर केने है ?' टंकजीले स्थानीय भाषामै सोध्नुभयो ।

'कौन एकराज ?' विश्वनाथका दादा ?' उहाँले फेरि केटालाई नै सोध्नुभयो ।

'हो सकैत है' केटाले पनि हो कि होइन भन्न सकेन । बूढो मान्छेले प्रस्टैसँग त्यो गाउँँमा एकराज पोख्रेल नाउँको कुनै मान्छे नै छैनन् भनेपछि त्यहाँ जानुको पनि कुनै औचित्य रहेन । 'अब के गर्ने ?' सुल्भिmसकेको समस्या फेरि गुजुल्टियो ।

कोठियार र्फकन पनि धेरै अबेला भइसकेको थियो । कोठियारको मुखैमा पर्ने सतिहारी खोला भएर रातबिरात जानुको अर्थ खराब नियतका मान्छेलाई लुटपाट गर्ने मौका दिनु पनि हुनसक्थ्यो । बाटो बताइदिनेकहाँ र्फकन पनि निकै टाढा थियो । हामीले तिनै वृद्धसँग विश्वम्भरको घरजाने बाटो सोध्यौँ ।

अन्तिम प्रयासस्वरूप हामी विश्वम्भरको गाउँतिर लाग्यौँ । लक्ष्मीपूजाका सारा बत्ती निभिसकेकाले बत्तीको सहारामा गाउँ पत्ता लगाउने तरिका काम नलाग्ने साबित भइसकेको थियो । हामी अन्धाधुन्ध हिँडिरहेका थियौँ । टर्चलाइटको पिल्पिले उज्यालोको पछिपछि हिँड्दै जाँदा बाटो छेउमा एक सानो घर देखियो । टर्चलाइट घुमाएर हेर्दा त्यहाँ एउटा सिंगै गाउँ रहेछ । अँध्यारोको ओढ्ने ओडेर पूरै गाउँ मुसुक्क निदाइरहेको जस्तो लाग्थ्यो । घरहरूको ढाँचा हेर्दा त्यो गाउँ आदिवासी बस्तीजस्तो लाग्थ्यो ।

'सबै सुतिसके' टंकजीको आवाजमा निराशाको छाप थियो ।

'तैपनि एकचोटि हेरौँ न ।' ममा केही आशा थियो ।

साइकल डोहोर्‍याउँदै हामी त्यस घरको छेउमा पुग्यौँ । टंकजी आँगनमा उक्लिनुभयो ।

म ट्वाल्ल परेर बाटोमै उभिरहेको थिएँ । सानो टुकी बत्तीले चिर्न नसकेको अँध्यारोमा एउटा मानवआकृति नियालेर हेर्ने प्रयत्न गर्दै म भएतिरै आइरहेको थियो ।

'प्रोल्लास मामा !' मेरो नजिकै आइसकेपछि, त्यो आकृति अकस्मात् चिच्यायो । म एकचोटि नराम्रोसँग तर्सिएँ । मानवआकृतिले मेरो काँधमा हात राख्न भ्याइसकेको थियो । मैले नियालेर हेरँे, रमण भान्जा रहेछन्, सुभद्रा दिदीको छोरा । टंकजी र अरूहरू जिल्ल परेर हामीतिर हेर्दै हुनुहुन्थ्यो । हामी त दिदीको आँगनमै पुगिसकेका रहेछौँ ।

यसरी भ्रमैभ्रमबीचको एउटा यात्रा टुंगियो । टंकजी बिहानै कोठियारतिर लाग्नुभयो । म केहीपछि सिन्धुलीतिर हिँडे । अघिल्लो दिन कार्यक्रम स्थलबाट करिब चार घन्टा लगाएर हामी त्यहाँ पुगेका थियौँ, भोलिपल्ट त्यही घरबाट साइकलमा फर्किंदा कार्यक्रमस्थलसम्म आइपुग्न साढे सात मिनेट मात्र लाग्यो ।
नयाँ पत्रिका

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 28 माघ, 2067

लेखकका अन्य रचनाहरु