गलत लाग्छ मलाई मेरो देशको बर्तमान

- चैतन्य अधिकारी 

जब
बर्षभरी कुटो कोदालो
र डोको नाम्लो गरेर पनि
पाल्न सकिंदैन जहान
हात पसार्दा
कुहिएको चामल मिल्छ
बिदेशीको स्नेहपूर्ण दान
त्यसैले पेटमा पहिरो चलेपछि फेरि
समयमा हुँदैन निदान
र बस्ती नै सोत्तर हुने गरेर
अकालमा जान्छ मान्छेको ज्यान
तब
गलत लाग्छ मलाई मेरो देशको बर्तमान

जब 
पटक पटक आन्दोलन हुन्छन
(असंख्य आन्दोलन हुन्छन)
तिनै निमुखा जनताको नाउँमा
र उही गरिबी हटाउने निहुँमा,
चटक गर्दै नेताहरु सिंहदरबार छिर्छन
र उतै हराउँछन्
हरबखत कुर्चीकै गरेर तानातान
तिनको त महल ठडिन्छ कान्तिपुरीमा
गरिबीको कुनै निस्कन्न समाधान
र हरेकपल्ट टीठलाग्दो बन्छ
शहिदहरुको बलिदान
गलत लाग्छ मलाई मेरो देशको बर्तमान

जब 
पढेर पनि बाटो देखिन्न
हिंड्न खोजेर पनि बाटो भेटिन्न
बेरोजगारी उम्लन्छ भकभकी तातो रगतमा
र भएको घर जग्गा धितो राखेर
काखीमा लाखौंको ऋण च्यापेर
बुढा बाबु आमा र नवदुलहीलाई घर सुम्पेर
यो देशका छोराहरु
कमाउनकै निम्ति निस्किन्छन
युद्धमैदान
इराक र अफगानिस्तान
गलत लाग्छ मलाई मेरो देशको बर्तमान

जब भेट्छु
तिनै दाजुभाइको सिको गर्दै
दलालको हातमा लाखौं तिरेर
एउटा सुटकेस र पासपोर्ट भिरेर
अरब कतार जान ठिक्क परेकी
यो देशकी छोरीलाई
त्रिभुवन बिमानस्थलमा एकाबिहान
र उनलाई भाबपूर्ण बिदाइ गर्छन
उनैका बाबुआमा र श्रीमान
अनायासै सुस्केरा निस्किन्छ मुखबाट
र पुकार्छु ‘हे भगवान !’
तब
गलत लाग्छ मलाई मेरो देशको बर्तमान

जब 
दिनदिनै निर्दोष मानिस मरेको सुन्छु
अपहरणमा परेको सुन्छु
र यो पनि सुन्छु कि
सुरक्षाको पहरेदार नै भेटियो
अपराधीको साझेदार
घरभित्रै डकैत घुसेपनि
कसरि गुहार्नु तिनैलाई जानाजान
बगरेले छिस्स छिन्ने कुखुरा भन्दा
सस्तो हो कि झैँ हुन्छ आफ्नो प्राण
तब
गलत लाग्छ मलाई मेरो देशको बर्तमान

जब 
पेल्दै पेल्दै ठेल्दै ठेल्दै
छिमेकीले लुट्छ हाम्रो आँगन
झट्ट बोल्न कोही तम्सिंदैन
तम्सिनेको पनि खासै हुन्न मन
घुर्कीको भाषा
र आशिर्बादको आशामा
कहिलेकाहीं (अक्सर बेमौकामा! )
बज्ने गर्छन ठुल्ठूला गर्जन
उही मिच्नेसंगको एकै भलाकुसारीमा
मैनबत्ती झैं खर्लक्क पग्लिएको देख्तछु
हाम्रो सम्पूर्ण राष्ट्रिय स्वाभिमान
र यसरी, युद्धमा पराजित सिपाहीका परिबार झैं
परदेशी बन्छन यै माटोका सन्तान
तब
गलत लाग्छ मलाई मेरो देशको बर्तमान

जब
अदना मानिस हिंड्ने बाटो रोकी हुने
नाराबाजीमा सुन्छु जनताको नाम
मंत्री प्रधानमन्त्री बनेपछि फेरि
स्वागतमा जनता नै लाग्नुपर्ने लाम !
सडक उनैलाई छोडेर खुलेआम
पेट मिचेर निर्लज्ज हाँस्ने बाहेक
मलाई सुझ्दैन अरु गतिलो काम
खैर यी त सामान्य कुरा भए,
त्यतातिर उस्तो नगरुँ ध्यान
कुनै दिन तिनैले भनेको सम्झिन्छु-
यो देशलाई बनाउँछौं स्वीजरल्याण्ड या जापान
बन्छ बन्छ भनेर कुर्लिंदा त बर्षौंदेखि
समयमा बन्दैन हाम्रो संबिधान
तब
गलत लाग्छ मलाई मेरो देशको बर्तमान
(यो कविता भूपी शेरचनको स्मृतिमा उहाँकै ढाँचामा लेखिएको हो- लेखक )

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 27 माघ, 2067

लेखकका अन्य रचनाहरु