सुकुम्बासी

- सुमन सौरभ

"यो पृथ्वी अबको केही हजार वर्षमा मान्छे बस्नलायक रहन्न, सबैलाई पालैपालो पृथ्वीभन्दा राम्रो अर्को ग्रहमा ओसार्ने काम सुरु भइसकेको छ । कुनै पनि क्षण तपाईंको पालो आउन सक्छ, आ-आफ्नो फाराम भरेर तयार रहनुस्..."

रेडियोमा समाचार सुनेर मनभरि दङ्ग पर्न नपाउँदै छाप्रो मुन्तिरको खोलाको दुर्गन्ध सासै रोकिने गरी सुकुम्बासी साँहिलाको फोक्सोमा हृवास्स् ठोक्कियो र उसलाई बान्ता आउलाजस्तै भयो ।

उसले छाप्रोबाहिर निस्किएर आकाशतिर हेर्‍यो, आकाशको अनुहारभरि पानी पर्लापर्लाजस्तो बादल थियो ।

"यो पानीले खोलो कति बढाउने हो कुन्नि, पोहोरको जस्तो तीन दिन, तीन रात छाप्रो बाहिरै बिताउनु पर्ने पो हो कि !"

उसले चिन्ता गर्दै सुखद उत्सुकतामा फेरि रेडियो सुन्यो-"फलानो ठाउँका यति जनालाई फलानो ग्रहमा उतारी सकिएको छ र क्रम जारी छ ।"

घडी घुम्दैै गयो ।

वषर्ात्को पानीले उसले नचाहेकै तहसम्म बढाउँदै थियो खोलोलाई । ऊ डिलमा उभिएर इच्छा गर्दै थियो -"हे भगवान्, खोलो छाप्रोभित्र छिर्नुअघि नै मेरो बसाइँ सर्ने पालो आए हुन्थ्यो ।"

खोलो अलिअलि घट्यो, भोलिपल्ट फेरि अलिअलि बढ्यो । खोलाको घटबढसँगै उसको मनको उतारचढाव पनि परिवर्तन भइरहन्थ्यो -"मलाइ चाहिँ लिन आउँदैनन् कि क्या हो ? आफैँ जान नसकिने, अरूले लिन आएका होइनन् ख्वै !"

धेरै दिनसम्म ऊ अरू मान्छे अर्को ग्रहमा ओसारिएको समाचार सुन्दै रहृयो तर उसको पालो आएन । वषर्ात् सकिएर हिउँद लाग्यो । रेडियो फुकेको फुक्यै थियो । हिउँद सकियो फेरि वषर्ात् आयो, रेडियोले फुक्न छाडेको थिएन ।

ऊ पोहोरभन्दा अलि बूढो भइसकेको थियो, आँखाको पावर अलि बढिसकेको थियो । आँगन मान्ने गरेको गन्हाउने खोलाको डिलमा बसेर ऊ चश्मा पुछ्दै टोलाइरहेको थियो, पछाडिबाट कोही आयो र ऊसलाई विनम्र स्वरमा अह्रायो-"दाइ, खै फाराम भरौँ त, बल्ल तपाईंको पालो आएको छ अर्को ग्रहमा उड्ने, छिटो गर्नुस् छिटो ।"

उसले ओठ लेप्य्रायो, नाक खुम्च्यायो, पुछ्दै गरेको चश्माको सिसा आकाशतर्फ फर्काएर हेर्‍यो तर केही बोलेन । खोलोबाट उक्लिएर उही चिरपरिचित दुर्गन्ध आयो र सुकुम्बासी साँहिलालाई सम्झायो-"अन्त्यमा तेरो पालो पनि आइछोड्यो साँहिला तर नजा कतै, फाइदा छैन । यतिखेरसम्म त जताततै भीड लागिसकेको होला । जता गए पनि आखिर तेरो दर्जा त उही सुकुम्बासीकै त हो ।"


प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 27 माघ, 2067

लेखकका अन्य रचनाहरु