यात्रा लुम्बिनी र तिलौराकोटको दृश्य भग्नावशेषको

- धीरकुमार श्रेष्ठ

काठमाण्डौंबाट हिँडेको छैठौँ दिन अर्थात् २०५७ साल पुस १९ गतेको बिहान हाम्रो शैक्षिक भ्रमणको टोली लुम्बिनी पुगेको थियो । लुम्बिनी, जहाँ यसअघि पनि अठार वर्ष पहिले म आइसकेको थिएँ । अठार वर्षअघि र अहिलेको म स्वयंको भूमिकामा परिवर्तन आएजस्तै त्यस वखतको र अहिलेको लुम्बिनीमा पनि प्रशस्त भिन्नताहरु आइसकेका रहेछन् । अठार वर्षअघि म आफै विद्यार्थीको भूमिकामा लुम्बिनीको पवित्र माटोलाई टेक्न पुगेको थिएँ भने यस बखत मेरो भूमिका शिक्षकमा रुपान्तरित थियो अर्थात् त्यस बखतको मेरो जिम्मेवारीविहीनता यस बखत जिम्मेवारीको भारीले थिचिएको थियो । अठार वर्षअघिका आशायुक्त सम्भावनाहरु लुम्बिनीमा हराएका भग्नावशेष भइसकेछन् । समयका केही उमेरहरुलाई पचाउँदै क्रमशः मृत्युयात्रा साँगुरिदै रहेछ । यसबाहेक जीवनका उपलब्धिका नाममा केही तीतामीठा अतीतहरु सङ्गालिइसकेका रहेछन् । भिन्नताका यिनै फराकिला हुँदै गएका क्षितिजहरुलाई नियाल्दै लुम्बिनीमा आएका परिवर्तनहरुमा आँखा टाँस्न थालेँ ।

मायादेवीमन्दिरको पुरानो संरचना भत्काएर त्यहाँको रूख काटिएको रहेछ । चीन र बर्माका बौद्ध गुम्बाहरु बनिसकेका रहेछन् भने श्रीलङ्का र कोरियाका निर्माणाधीन थिए । एउटा लुम्बिनी अन्तर्राष्ट्रि«य अनुसन्धानसंस्थासमेत थपिएको रहेछ जहाँ सङ्ग्रहालयसमेतको व्यवस्था छ । यसअतिरिक्त पोखरी, रूख, अशोकस्तम्भ सबै उही पहिले जस्ता थिए अहिले पनि त्यस्तै थिए तिनमा कुनै परिवर्तन थिएन । परिवर्तन र यथास्थितिका यिनै परिदृश्यका बीच म लुम्बिनीसँग गाँसिएका इतिहासलाई भेटेसम्म टिप्न थालेँ ।

आफ्ना आध्यात्मिक गुरु उपगुप्तबाट निर्देशित भएर इसापूर्व २४९ मा तीर्थयात्राका लागि लुम्बिनी आएका मौर्यसम्राट् अशोकले यस स्थानमा एक स्तम्भ राख्न लगाए जुन आज ‘अशोकस्तम्भ’ का नामले जगत्प्रसिद्ध छ । सोही अशोकस्तम्भमा कुँदिएको पाली भाषाको ब्राह्मी लिपिको नेपालीमा अनुवाद गरेर लुम्बिनी विकास कोषले राखेको छ जसमा लेखिएको छ, “देवताहरुका प्रियदर्शी (अशोक) राजा राज्याभिषेकको बीसौं वर्षमा आफै सवारी भइबक्स्यो । यहाँ बुद्ध शाक्यमुनिको जन्म भएकोले ढुंगाको एउटा प्राचीर बनाउन लगाइबक्स्यो र एउटा शिलास्तम्भ स्थापना गरिबक्सियो । यहाँ भगवानको जन्म भएकोले लुम्बिनी गाउँको बलि (कर) घटाई आठौं भाग गरिबक्सियो ।” इस्वीको पाँचौँ शताब्दीमा प्रसिद्ध चिनिया तीर्थयात्री फाइयानले पनि यस पवित्र स्थलको भ्रमण गरेका थिए । उनले स्मारकहरुका बीचमा रूख (सिद्धार्थ गौतमको जन्म हुँदा माता मायादेवीले हाङा समात्नुभएको), पोखरी (माता मायादेवीले स्नान गर्नुभएको) र इनार देखेको वर्णन पाइन्छ । यसपछि कपिलवस्तु र देवदहजस्ता ऐतिहासिक महत्त्वका स्थलहरुको समेत उनले भ्रमण गरेका थिए । इस्वीको सातौँ शताब्दीमा अर्का प्रसिद्ध चिनिया यात्री हुयन सांगले पनि लुम्बिनीको भ्रमण गरेका थिए । उनले पनि उक्त रूखको ठुटो, एउटा चैत्य, अशोकस्तम्भ, पोखरी, तेलार नदी र तातोचिसो पानीको मूल देखेको वर्णन पाइन्छ । यसै तथ्यलाई प्रकट गर्ने लुम्बिनीस्थित एउटा शीर्षकविहीन जानकारीबोर्डको पूर्ण पाठ यस्तो छ “सातौँ शताब्दीमा लुम्बिनी भ्रमण गर्ने प्रसिद्ध चिनिया यात्री हुयन सांगले लुम्बिनी तेलार नदीको किनारमा अवस्थित रहेको र त्यहाँ माझको भागमा चर्किएको अशोकस्तम्भ, पवित्र स्नान कुण्ड तथा केही स्तुपहरु देखेका थिए ।” हुयन सांगको यात्रावर्णनपछिको लुम्बिनीको लिखित इतिहासको अभाव लामो समय रह्यो । तरपनि लुम्बिनीले तीर्थस्थलका रुपमा अनवरत परम्पराको स्वरुप ग्रहण गरिसकेको तथ्य अवगत हुन्छ । पश्चिम नेपालका राजा रिपु मल्ल यस स्थानको भ्रमण गर्ने अन्तिम व्यक्ति थिए । उनले चौधौँ शताब्दीमा यहाँको भ्रमण गरी अशोकस्तम्भको सिरानमा “ॐ मणि पद्मे हुँ रीपुमल्ल चीरम् जयतु” लेख्न लगाएका थिए । यसपछि अशोकस्तम्भसम्बन्धी चर्चा भएको अभिलेखबद्ध इतिहास पाइँदैन । पाल्पाका बडाहाकिम खड्गसम्सेर राणा तथा जर्मन पुरातत्त्वविद् डा. फ्युहररबाट सन् १८९६ मा यो पुनः पत्ता लागेको हो । पाँच शताब्दीको अन्धकारपछि फेरि लुम्बिनीको चर्चा र यससम्बन्धी अन्वेषणले सन् १८९६ पछि निरन्तरता पाउँदै आएको छ । फलस्वरुप विभिन्न अन्वेषकको प्रयासमा आज उपलब्ध गौतम बुद्धसम्बन्धी सामग्री र स्थलहरु पत्ता लागेका हुन् ।

मायादेवीको प्रतिमा

यस्तो महत्त्वपूर्ण र पवित्र तीर्थस्थलका रुपमा रहेको लुम्बिनीमा भेटिएसम्मका दृश्यहरुलाई स्टिल क्यामेराको “क्लिक–क्लिक” सँगै कैद गर्न म तल्लिन थिएँ भने मेरा विद्यार्थी र सहकर्मीहरुको ठिमीले यात्रा समाप्त भइसकेको थियो । उनीहरु कोही आग्नेयास्त्र प्रहार गर्दै कुरिरहेका थिए भने कोही मलाई विदूषक ठान्दै व्यङ्ग्यात्मक हाँसो हाँसिरहेका थिए । म भने हतार–हतार यताउति कुद्दै फ्ल्यास “झिप्प–झिप्प” पारिरहेको थिएँ किनभने तराईको पुस महिनाले पहाडसँग कुहिरो सापट मागेर हामीलाई गम्लङ्ग छोपिराखेको थियो । अठार वर्षअघिको खुला र शान्त आकाशसँग यस बखत शीतलहरले लुकामारी खेलिरहेकोले सय फिट टाढाको वस्तु पनि धमिलो देखिन्थ्यो । हामी कुहिरोमुनिको संसारमा थियौँ र म सम्झिराखेको थिएँ कुहिरोमाथिको संसार कस्तो होला भनेर ।

मनकामनाको उकालो काटिसकेपछिको कुहिरोमाथिको खुला आकाशमा छ्याङ्ग देखिने हिमशृङ्खला र पहाडकन्दरा एवम् हरियाहरिया फरिया लगाएकी नवयौवनाहरुको हँसिलो मुहारलाई म निर्निमेष नियालिरहेको थिएँ । उत्तरतर्फ सेता दन्तपङ्क्ति झल्काइरहेका नवयौवनाहरुका छातीमा परेको बिहानीको कलिलो किरणको दृश्य प्रत्यावर्तित हुँदा बेहुली लाजले राती भएजस्ती अनुभूति भएको थियो । दक्षिणतर्फ त्रिशुलीको आकाशमा भने कपास थुपारेजस्तै नरम रुवाहरु मिलाएर राखिएका थिए । त्यहाँको अनुपम सौन्दर्यलाई गुम्न दिने पक्षमा म थिइनँ । यसैले एउटै “क्लिक” मा झ्याप्पै समातेको थिएँ र आनन्दले विभोर भएको थिएँ ।

“जाने होइन सर” मेरा सहयात्रीको प्रश्नसँगै मनकामनाको सुन्दर संसारबाट निमेषभरमै लुम्बिनीमा झर्न पुगेको थिएँ म । बाँकी रहेका दुई–चार फोटा हतार–हतार खिच्दै म कुदेँ बस भएतिर । अब हाम्रो यात्राको गन्तव्यस्थल थियो कपिलवस्तुमा पर्ने तिलौराकोट जहाँ जाने मेरो धोको अठार वर्षअघिको हो । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गरिसकेपछि उहाँको बाल्यकाल बितेको ठाउँ तिलौराकोट पनि पुग्ने मेरो इच्छा त्यस बखत पूरा हुन सकेको थिएन र अहिले साकार हुन लागिरहेको थियो जसको छुट्टै किसिमको अनुभूति म गरिरहेको थिएँ । यस बखत भने गौतम बुद्धसम्बन्धी रामग्राम, देवदहजस्ता ऐतिहासिक एवं पुरातात्त्विक महत्त्वका स्थलहरुको भ्रमण गर्ने इच्छा सङ्गालेको थिएँ जुन पूरा हुन सकेन । भन्न सकिन्न अहिले पूरा हुन नसकेका यी इच्छा पुनः अर्को अठार वर्षपछिका लागि साँचिएका हुन कि ? अथवा इच्छाको अवसान यही हुने हो । यदि मेरो इच्छाले साकार रुप पायो भने त्यस बेला कुन परिवर्तित भूमिकामा देखा पर्नुपर्ने हो त्यो भविष्यले बताउला । अहिले भने हामी चढेको बस आफ्नो गन्तव्य भेट्न एकोहोरो कुदिरहेको थियो ।

तिलौराकोटतर्फ बसमा गुड्दै गर्दा भवानीप्रसाद गुप्ता अर्थात् भवानी भिक्षु बाटामै अर्धकदमा ठिङ्ग उभिरहेका भेटिए । उनी यहाँ एक्लै हिउँदवर्षा खेप्तै अविचल उभिरहेका रहेछन् । प्रत्यक्ष व्यक्तिगत चिनाजानी नभए पनि साहित्यिक चिनाजानीका आधारमा मात्र मैले उनलाई चिन्न सकेको हुँ नभए उनी धूलोमाटो र पर्चाले छोपिएर चिन्नै नसक्ने भएका थिए । सालिकस्थापना गरी वर्षको एक पटक सफासुग्घर गर्ने र माला पहि¥याउने अनि बौद्धिक विलाशिताका भाषण छाँटेर गोहीको आँसु झारी आफ्नो कर्तव्य पूरा भएको ठान्ने सालिकसंस्कृति देखेर मलाई दिगमिग लाग्यो । तर कसैलाई केही भन्न भएन । आँखाले देखे पनि हत्केलाले छोपेर “मैले केही देखेको छैन” भन्नुपर्ने बेलामा मैलेमात्र “देखेँ” भनेर के लछारपाटो लाग्ने हो र ! हामी चढेको बस भिक्षुलाई परिक्रमा गरी लाग्यो नजिकैको तिलौराकोटतर्फ गुड्न । मैले भने स्यालुट ठोकेर साहित्यको विद्यार्थी हुनुको आफ्नो कर्तव्यलाई निर्वाह गरेँ ।

भवानी भिक्षुको सालिक

तिलौराकोट जहाँ गौतम बुद्धका पिता तथा प्राचीन कपिलवस्तु राज्यका शाक्यवंशी राजा शुद्धोधनको प्राचीन दरबारको भग्नावशेष छ; अहिले कपिलवस्तु जिल्लाअन्तर्गत पर्दछ । तत्कालीन कपिलवस्तु राज्यको ऐतिहासिक सहर तथा शाक्यवंशी राज्यको राजधानी रहेको विश्वास गरिने यस स्थानको दूरी लुम्बिनीबाट २७ किलोमिटर पश्चिममा पर्ने रहेछ । यसै प्राचीन कपिलवस्तु दरबारबाट आफ्नो माइतीगाउँका रुपमा रहेको कोलीय राज्यको राजधानी देवदह (रुपन्देही) जाने क्रममा बाटामा पर्ने लुम्बिनीमा पुगेपछि त्यहाँस्थित शाक्य पुस्करिनी (अहिले त्यसलाई ‘पवित्र कुण्ड’ नाम दिइएको छ) मा मायादेवीले नुहाउनुभयो र उत्तरतिर लाग्नुभयो । तर चाँडै उहाँलाई प्रस्रववेदनाले छोयो । यसपछि त्यहीँ स्थानमा दाहिने हातले सालको रुखको एउटा हाङा समातेर उभिँदा उहाँको गर्भबाट शाक्यवंशी युवराजका रुपमा सिद्धार्थ गौतम (बुद्ध) को जन्म भयो । त्यो दिन थियो इस्वीपूर्व ६२३ को बैशाखपूर्णिमाको । भनिन्छ जन्मिनेबित्तिकै उहाँ सात पाइला हिँड्नुभएको थियो (यही तथ्यको जानकारी दिने बुद्धप्रतिमासहितको स्थल लुम्बिनीमा देख्न पाइन्छ) । कस्तो अनुपम थियो होला ? गौतम बुद्धले यस धर्तीमा पहिलो पाइला टेकेर हिँडेको वैशाखपूर्णिमाको त्यो दिन ! कल्पना गर्न सकिन्छ तर यथार्थ सुदूर छ । आजसम्म यस धर्तीमा कति बुद्धहरु जन्मेर बुद्धत्व ग्रहण गर्नै नपाई बम र बारुदका सिकार भए त्यसको कुनै लेखाजोखा छैन । म तिनै असङ्ख्यअसङ्ख्य बुद्ध जन्मिएर बुद्ध हुन नपाएका बुद्धहरुलाई सम्झिँदै भेटिएसम्मका तथ्यहरु टिप्न थालेँ ।

भविष्यका गौतम बुद्धको जन्म भएपछि ब्रह्मा, इन्द्रलगायतका देउताहरुले उहाँको स्वागत गर्नुभएको र नवजात शिशुको पहिलो स्नानका लागि त्यहाँ तातो–चिसो पानी आफैँ उत्पन्न भएको थियो । यसका साथै त्यहाँ माता मायादेवीको शरीर शुद्धीकरण स्नानका लागि तेलयुक्त पानीको पनि उत्पत्ति भएको थियो । गौतम बुद्ध जन्मनुभएको सात दिनमा माता मायादेवी परलोक हुनुभएकीले उहाँकी दोस्री माता तथा रानी प्रजापति गौतमीसँग उहाँको बालापनको केही समय देवदहमा बितेको हुनसक्ने अनुमान गरिएको रहेछ ।

कपिलवस्तु दरबार

गौतम बुद्धका पिता शुद्धोधनको राज्य रहेको प्राचीन कपिलवस्तु नै तिलौराकोट हो भनी पुरातत्त्वविद्हरुले पहिचान गर्नुभएको रहेछ । यो क्षेत्र छायाँदार रूखहरु र रङ्गीविरङ्गी फूलहरुका लागि प्रसिद्ध थियो भन्ने भनाइ छ । यहाँ प्राचीन स्तुपका केही अवशेषहरु र इँटबाट बनाइएका विहारका भग्नावशेषहरु अद्यावधि विद्यमान छन् । प्राप्त यी भग्नावशेषहरु प्राचीन शाक्य राजप्रासाद कपिलवस्तुका हुन् भनी प्रमाणित भएको छ । यस प्रासादक्षेत्रलाई २२ फिट फराकिलो परिखा र १० फिट चौडा पर्खालले घेरिएको छ भन्ने कुराको उल्लेख त्यहाँ राखिएको ‘कपिलवस्तु’ शीर्षकको जानकारीबोर्डबाट अवगत हुन्छ । यसका साथै दरबारक्षेत्रलाई पानीयुक्त खाडलहरुले घेरिएको र सहरलाई इँटको पर्खालबाट सुरक्षित पारिएको भन्ने जानकारी पनि पाइन्छ । यस प्रासादक्षेत्रमा पूर्व र पश्चिममा गरी दुई ओटा द्वारहरु रहेका छन् । पश्चिम द्वारको दुवैतर्फ बूर्जाहरुका साथै इँट छापिएको १९ फिट चोैडा बाटोको दुवेैतर्फ डबलीहरु भएको तथा त्यहाँबाट केही ताम्रमुद्रा, फलामको कोदालो, छिनो र अन्य धातुका वस्तुहरु प्राप्त भएको उल्लेख त्यहाँस्थित जानकारीबोर्डबाट पाइन्छ । यी सम्पूर्ण भग्नावशेषहरु उत्खनन्बाट प्राप्त भएका हुन् । यसका साथै आठोैँ–सातौँ इस्वीपूर्वदेखिका माटाका भाँडाहरु, मानव तथा जनावरका प्रतिमाहरु, मालागुटिका, चूरा, पञ्चमार्क तथा ढलौटे मुद्राहरु, मोहरछापका साथै धातुका विभिन्न सामग्रीहरु पनि त्यहाँ प्राप्त भएको जानकारी पाइयो ।

प्राचीन कपिलवस्तु दरबारको पूर्वदक्षिण छेउमा राजा शुद्धोधनले नुहाउने गरेको तलाउ अहिले पनि जीर्ण अवस्थामा छ । यहाँबाट करिब १० मिनेटको दूरीमा पूर्वतर्फ दुईओटा वृत्ताकारीय जुम्ल्याहा स्तुपहरु सँगसँगै छन् । यी स्तुपहरु मायादेवी र शुद्धोधनको स्मृतिमा उहाँहरुको मृत्युपछि बनाइएको विश्वास गरिन्छ । उत्खननबाट पत्ता लागेका यी स्तुपहरुमध्ये अग्लोचाहिँ मायादेवीको र होचोचाहिँ शुद्धोधनको हो भनिन्छ । इस्वीपूर्व चौथो शताब्दीमा निर्मित र इस्वीपूर्व दोस्रो–पहिलो शताब्दीसम्ममा तीन पटक पुनर्निर्माण गरिएको ठूलो स्तुपको व्यास ५२ फिट, उचाइ ७.५ फिट र इस्वीपूर्व दोस्रो–पहिलो शताब्दीअगावै निर्माण भएको सानो स्तुपको व्यास २६ फिट छ । स्थलगतरुपमा भेट हुनुभएका ललितपुरस्थित गुम्बाका एक जना बौद्ध विद्वान् (माफ गर्नुस् हतारमा नाम सोध्न बिर्सेछु किनभने मेरो भ्रमणटोली मभन्दा निकै अगाडि पुगिसकेको थियो) का अनुसार ती स्तुपहरुमा मायादेवी र शुद्धोधनका अस्तुहरु राखिएको कुराकोे उल्लेख बौद्ध धर्मग्रन्थमा पाइन्छ ।

मायादेवीको अस्तु राखिएको स्तुप

प्राचीन कपिलवस्तु दरबारको परिसरभित्र एउटा मन्दिर छ ‘समयमाई’े । उत्खननका क्रममा यस मन्दिरको जग भेटिएपछि त्यसै जगमा इँटको गारो लगाई मन्दिरको निर्माण गरिएको भन्ने स्थानीयवासीको भनाइ छ । मन्दिरको निर्माण—समय अज्ञात रहे पनि यस मन्दिरमा मायादेवी र शुद्धोधनले समेत पूजा गर्ने गरेको विश्वास गरिन्छ । यस मन्दिरभित्र देवीका तीनओटा प्रस्तरमूर्तिहरु छन् । यसदेखि बाहेक हात्तीका स–साना मूर्तस्वरुपहरु मन्दिरभित्र थुप्रै छन् । यी हात्तीका मूर्तिहरु भने बुद्धकालीन अथवा त्यसअघिका नभई आफूले चाहेको मनोकाङ्क्षा पूरा भएपछि भाकलअनुसार आधुनिक भक्तजनहरुले चढाउनुभएको हो । यसै मन्दिरको अगाडि हात्तीको भीमकाय मूर्ति छ । यो हात्तीको मूर्ति पनि प्राचीन समयको नभई आधुनिक समयकै हो । यसलाई त्यहाँ स्थापना गर्ने व्यक्ति हुनुहुन्छ दीपकुमार उपाध्याय । कपिलवस्तु क्षेत्र नं. २ बाट सांसद पदको निर्वाचनमा विजयी भएमा यस मन्दिरमा हात्ती चढाउने कबोलअनुसार उहाँले नै यो भीमकाय हात्ती स्थापना गर्नुभएको हो भन्ने भनाइ स्थानीयवासीको थियो ।

समयमाई मन्दिर

थुप्रैको मनोकाङ्क्षा पूर्ण गर्ने यस समयमाई मन्दिरको अवस्था भने भग्न र असुरक्षित छ । मन्दिरलगायत कपिलवस्तु दरबारक्षेत्रको सुरक्षाको अभिभारा लुम्बिनी विकास कोषले लिएको छ । भग्नावशेष भत्किन्छ भनेर नै प्रत्येक वर्ष चैते दसैँका दिन यहाँ लाग्ने गरेको मेला केही वर्ष यता लाग्न छाडेको छ । यो प्रशंसनीय कार्य हो तर प्राचीन र ऐतिहासिक महत्त्व बोकेको यस मन्दिरमा हात्तीहरु चढाउँदै जाने कार्यले निरन्तरता प्राप्त गरेमा यस क्षेत्रको वास्तविक परिचय र गरिमा ओझेलमा पर्दै जानेमा शङ्का रहन्न । विश्वकै सम्पदाका रुपमा रहेका यस्ता प्राचीन–ऐतिहासिक स्थलको उचित संरक्षण हुन नसक्नु दुःखको कुरा हो । यसका साथै गौतम बुद्धले आफ्नो युवावयको २९ वर्षको उमेरसम्म व्यतीत गर्नुभएको यस कपिलवस्तु दरबारले जति चर्चा र महत्त्व पाउनुपर्ने हो त्यति पाउन नसकेको अनुभूति हुन्छ । यसर्थ पर्यटकीय आकर्षणका केन्द्रहरुमध्येको एक यस क्षेत्रले औपचारिकता–निर्वाहको सिकार बन्नुपरेको देखेपछि अमिलो मन लिँदै हतार–हतार मलाई पर्खिरहेको भीडमा म पनि मिसिन पुगेँ । मलाई पर्खिरहेको हाम्रो बस यात्राको अर्को गन्तव्य भेट्न घ्यार्र गर्दै अगाडि बढ्यो ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 25 माघ, 2067

लेखकका अन्य रचनाहरु