स्वर्ण पुरुष

- कृष्ण बजगाईं

प्रजातन्त्र प्राप्तिको लडाईमा उनले जेलनेल भोगे । उनको कठोर निर्णय र अडिग विचारको चर्चा हुँदै थियो । एक्कासी उनी जेलबाट छुटे । वर्षौं फलामे चार दिवारी र फलामे साङ्लीमा बाँधिएर पनि आफ्नो आस्थामा अडिग भएर बसेकाले उनलाई लौह पुरुष भनिन थाल्यो ।

जीवनको महत्वपूर्ण समय जेलमा त्यहाँ पनि लौह(फलाम) सँग बिताएकोले त्यो लौह शब्द उनलाई मन परिरहेको थिएन । उनी सुनौलो दिन ल्याउन जेलनेल बसेको भन्थे आफूलाई । वास्तवमा उनी लौह पुरुष हैन स्वर्ण पुरुष बन्न चाहान्थे ।

पहिलो पटक संसदको चुनाव जिते । विस्तारै उनको सम्पत्तिमा सुनको वजन बृद्धि हुँदै थाल्यो । उनका हात,घाँटी हुँदै दाँतसम्म सुनको सम्बन्ध नङ र मासुको जस्तै भएर जोडियो । मन्त्री के भएका थिए, सम्पत्ति विवरणमा तोलाका तोला सुन बढेको देखियो ।

अर्कोपटक मन्त्री हुँदा उनको सम्पत्ती विवरणमा फेरी किलोको किलो सुनको वजन थपियो । घरका लौहाका सरसामानलाई सुनका सरसामानले विस्थापित गर्दै लग्यो ।

आजकल उनी सुनौलो हाँस्छन् । लालच सुनौलो चिजसँग छ । भाषणमा सुनको दिन ल्याउन यत्रो दुःख गरिरहेको छु भन्छन् ।

'सुनसँगको यस्तो लगावले लौह पुरुषबाट उनी स्वर्ण पुरुषमा परिवर्तन भएका छन्'- उनलाई जान्नेहरु यसै भन्दछन् ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 14 माघ, 2067

लेखकका अन्य रचनाहरु