आफ्नै सिर्जना : आफ्नै धारणा

- मोहनराज शर्मा

अहिले पछाडि फर्केर हेर्दा साहित्यसिर्जनाका लागि मैले कलम समातेको र कलम समालेको पचासभन्दा बढी वर्ष बितिसकेछ । यी वर्षहरूमा म निरन्तर लेखी नै रहेको छु र अझै पनि मभित्र लेखिरहने उत्साह र जाँगर छ । यतिका वर्षको लेखनपछि मैले के अनुभव गरेको छु भने एउटा सर्जकको मन लेखेर कहिल्यै भरिँदो वा अघाउँदो रहेनछ । एकपछि अर्को लेख्ने तिर्सना जागिराख्दो रहेछ । यसै तिर्सनाका कारण म अतृप्त जीवनझैँ तृप्तिको खोजीमा लेखिरहन्छु । मलाई प्रत्येक नयाँ लेखन सुरु गर्दा अब संतृप्ति पाइएला कि जस्तो लाग्छ, तर लेखिसकेपछि अतृप्तिबोध र असन्तुष्टि कायम नै रहन्छ । मेरा बिचारमा आफ्ना लेखनबाट सन्तुष्ट हुन खोज्नु भनेको मरीचिकामा भौतारिँदो छु ।

पचास वर्षभन्दा बढीको समय भनेको एउटा व्यक्तिलेखकका जीवनको निकै ठूलो अवधि हो । लेखनक्षेत्रमा मेरो जति बढी समय व्यतीत भएको छ, त्यसका अनुपातमा मैले कताकता थोरै लेखेको छु । यसो हुने कारण के हो भने म धेरै सोच्छु र थोरै लेख्छु । मैले आफ्ना कतिपय रचना वर्षौवर्ष सोचेर वा मनमनै पकाएर पनि लेखेको छु । यो कुरा मेरा सबै रचनाहरूमा लागू हुँदैन तापनि मलाई आफ्ना सिर्जनाहरू आन्तरिक रचनाप्रक्रियाबाट वाह्य रचनाप्रक्रियामा ल्याउन अपेक्षाकृत बढी नै समय लाग्छ । यो तथ्य जनाएर मैले आत्मप्रशंसा गर्न खोजको होइन, बरु आफ्नो लेख्ने बानी अवगत गराउन खोजेको हुँ । बढी सोच्न र कम लेख्ने बानीका कारण मैले लामो समय गुजारेर पनि नेपाली साहित्यलाई थोरै अर्पित गर्न सकेको छु भन्ने मलाई हेक्का छ ।

मैले साहित्यका सबैजसो विद्यामा कलम चलाउने जमर्को गरेको छु । मैले सबैभन्दा पहिले कविता लेख्न थालेको हुँ । बनारसमा अध्ययन गर्दा विद्यार्थी अवस्थामै हिन्दीमा लेखेका मेरा कविताहरूको सहसङ्कलन ‘...... ’ प्रकाशित भइसकेको हो । नेपालीमा भने मैले कविता लेखेको छैन, गद्यका विद्याहरूमा नै छरिँदै गएँ । गद्यतर्फ मेरो झुकाउको एउटा कारण के हो भने मैले लेखन प्रारम्भ गर्ने बेलातिर नेपालीमा कविता बढी लेखिएको र गद्य पछि परेको गुनासो बढी सुनिन्थ्यो । यसै स्थितिको बोध गरेर म गद्यलेखनमै एकोहोरिएँ र कथा, एकाङ्की, नाटक, निबन्ध, नियात्रा, आत्मसंस्मरण, समालोचना, व्याकरण, भाषिक लेखको सिर्जनामा अल्झिरहेँ । भर्खरै मात्र मैले उपन्याससमेत लेख्न भ्याएको कुरा भन्न पाउँदा मलाई खुशी लागेको छ ।

म एकदुई विद्यामा मात्र सीमित नभई किन सबै विद्याहरूमा छरिएँ भनेर अहिले गम्दा त्यो मेरो मनको अस्थिरता हो भन्ने मलाई लागेको छ । एउटा विद्यामा लेखिसकेपछि त्यसबाट असन्तुष्ट भएर अर्को विद्यामा पो राम्रो लेख्न सक्थेँ कि भन्ने मानसिक अस्थिरताका कारण म कुनै विद्यामा स्थिर हुन नसकेको हुँ । म सबै विद्यामा योगदान दिन्छु भनेर मैले विभिन्न विधा अँगालेको होइन, बरु अस्थिर प्रवृत्तिका कारण यो विद्या र त्यो विद्या चहार्न पुगेको हुँ । त्यसैले म अझै पनि आफूलाई सबै विधाको अस्थिर लेखक नै ठान्छु । मेरो यही अस्थिरताले मबाट भर्खरै एउटा उपन्यास लेखाएको हो । मैले विभिन्न विद्यामा लेखेको देखेर मलाई केही सहृदय समालोचकले बहुमुखी प्रतिभाको धनी पनि भनेका छन, तर यो मेरो बहुमुखी प्रतिभाको उदाहरण नभएर मेरो अस्थिरताको दसी हो भन्ने विनम्र अनुरोध गर्छु ।

एउटा लेखकका रुपमा मेरो दिशा व्यङ्ग्यात्मक निबन्धकार, यथार्थवादी कथाका, वास्तविकतावादी नाटककार, समसामयिक उपन्यासकार र वस्तुवादी एवम् भाषापरक समालोचकको हो, तर ठीक दिशामा कति हिँड्न सकेँ र कति हिँड्न सकिन भन्ने लेखाजोखा गर्न मैले भ्याएको छैन । यो लेखाजोखा गर्न मैले आवश्यक पनि ठानेको छैन, किनभने मैले साहित्यमा योगदान दिन नलेखेर भोगेका सत्यको पुनरुत्पादन गर्ने सकसकले लेखेको हुँ । मैले साक्षत्कार गरेको सत्य म आफ्ना पाठकलाई अवगत गराउन चाहन्छु, यसभन्दा बढी मेरो लेखनको अरु कुनै उद्देश्य छैन ।

म स्वतन्त्र लेखक हुँ, आफ्नै ढङ्गमा आफ्ना पाठकका लागि लेख्छु । मेरा पाठक स्कुले नानी पनि छन्, वयस्क युवा पनि छन् र उमेर पुगेका प्रौढ पनि छन् । मलाई तिनका टाउकामा कुनै दृष्टिकोण थोपर्न मन लाग्दैन, केवल समसामयिक यथार्थलाई तिनका सामु तटस्थ भएर राखिदिन मन लाग्छ । यहाँ के स्पष्ट पार्न आवश्यक छ भने म आफूचाहिँ आधुनिकताबाट बाँधिएको छु । मैले आजसम्म जानेर वा नजानेर आधुनिकताका सीमाको कहिल्यै उल्लङ्घन गरेको छैन । आधुनिकतावादीका दृष्टिकोणबाट हेर्दा मेरो लेखन वैज्ञानिकता, तार्किकता, भौतिकलौकिकता, परम्पराप्रति विद्रोह र नवप्रयोगको सीमारेखाभित्र रहेको पाइनेछ । आधुनिकताको यही सेरोफेरोमा रही म मानिसका विषयमा मानिसका लागि लेख्छु । एउटा लेखकको ज्ञान र अनुभवको सीमा मानवसन्दर्भित विषयवस्तु र क्रियाकलाप भएकाले त्यसलाई नाघेर उसले लेख्नै सक्तैन । मैले वा जसले पनि चन्द्रमा वा पशुपन्छी वा अन्य जे कुरा लेख्दासमेत मानवकै सन्दर्भबाट लेखिरहेको हुन्छ ।

आधुनिकताको निरन्तरताका रुपमा मेरा लेखनमा उत्तरआधुनिकताले प्रवेश पाएको छ । मेरो आधुनिकता र उत्तरआधुनिकता स्थानिक प्रकारको हो, पूर्णतः पश्चिमेली होइन । देशको परिस्थितिमा अनुकूलित हुने र पच्ने उत्तरआधुनिक प्रवृत्तिहरू मेरा लेखनमा सहजै देख्न सकिन्छ । विशेषतः सत्यको अशा आश्वस्तता, बहुलता, केन्द्रभञ्जन, औद्योगिक संस्कृति, अनिश्चितता, मानवीय विरानोपन आदि मेरा लेखनमा देखिने उत्तरआधुनिक प्रवृत्ति हुन्, तर यी प्रवृत्ति राष्ट्रिय यथार्थमा आधारित भएरमात्र व्यक्त भएका छन् ।

म आफ्ना रचनामा वस्तु र शैलीलाई उत्तिकै महत्व दिन्छु । जोडदार विषयवस्तु नभए जोडदार शैली जन्मिन्न र जोडदार शैली नभए विषयवस्तु प्रभावशाली भएर अभिव्यञ्जित हुँदैन भन्ने मेरो धारणा छ । म कवचद्वारा निर्धारित नवीननवीन शैलीमा लेख्छु, म परम्परित भूमिलाई तोड्न नवीननवीन प्रयोग गर्छु र एकदमै भिन्न ढङ्गमा सिर्जना गर्न रुचाउँछु ।

साहित्य यसरी नै लेख्नुपर्छ भन्ने कुनै मापदण्ड छैन । लेखक जसरी मन लाग्छ त्यसरी लेख्न स्वतन्त्र छ । समयसमयमा कतिपय सिद्धान्त वा वाद देखा परेर यसरी लेख भन्दै लेखकतिर औँला ठड्याउँदै आउँछन्, तर जुनसुकै वाद र सिद्धान्त पनि लगातार चिप्लिरहेको हुन्छ । चिन्तन वा कुनै पनि कथ्यलाई बाँध्ने माध्यम भाषा नै चिप्लो र अस्थिर भएकाले सिद्धान्त र वादहरू पनि अस्थिर भएर चिप्लिरहन्छन् । तसर्थ आफ्नो कृति जेजस्तो भए पनि लेखकले त्यो सार्थक, प्रयोजनपूर्ण र उद्देश्यमूलक हुनैपर्छ भन्ने हेक्का राख्नुपर्दछ । त्यसो नभएमा प्रयोजनरहित कृति ग्रहण गर्ने कोही पनि फेला पर्दैन । यस कुरालाई सकेसम्म हृदयङ्गम गरी म लेख्ने प्रयास गर्छु ।

आफ्ना लेखन र लेखनप्रक्रियासम्बन्धी यस गन्थनको टुङ्ग्याउनीमा म हास्यव्यङ्ग्यबारे केही भन्न चाहन्छु । म आफ्ना लेखनको आरम्भमा व्यङ्ग्य लेख्न जति मन पराउँथे, आज पनि त्यति नै मन पराउँछु । मेरा बिचारमा व्यङ्ग्य कुनै स्वतन्त्र विद्या नभएर एउटा साहित्यिक प्रभाव हो र यसमा प्रचुर राजनैतिक शक्ति हुन्छ । राजनैतिक शक्ति भनेको साम, दाम, दण्ड, भेद हो र व्यङ्ग्यले पनि साम, दाम, दण्ड, भेदलाई सन्दर्भअनुसार तिखो पारेर प्रस्तुत गर्दछ ।

व्यङ्ग्यजस्तै अर्को साहित्यिक प्रभाव हास्य हो । व्यङ्ग्यझैं हास्य पनि स्वतन्त्र विधा नभएर कृतिका संरचनामा देखा पर्ने एउटा प्रभाव हो, तर यो प्रभाव कृतिमा कामद शक्तिका रुपमा देखापर्दछ । मेरा रचनामा कहिले व्यङ्ग्य एक्लै, कहिले हास्य एक्लै सक्रिय कहिले हास्यव्यङ्ग्य दुवै सक्रिय हुन्छन् । मेरो प्रथम प्रेय व्यङ्ग्य हो, तर पनि बेलाबेलामा बढी व्यङ्ग्यात्मक चापका कारण मेरा लेखनमा हास्य उत्पन्न भइदिने गर्दछ ।

अन्त्यमा, मेरो यो एकोहोरो संवाद मेरो लेखन र लेखनप्रक्रिया बुझ्न अलिकति भए पनि सहयोगी नै होला भन्ने मैले ठानेको छु ।

रुद्रतारा, निवास ट्याङ्ला, कीर्तिपुर

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 12 माघ, 2067

लेखकका अन्य रचनाहरु