मार्गरेट र मेरी आमा

- सन्जु बजगाईं

भेनिसको विश्व प्रसिद्ध कार्नीभाल हेर्न जाँदा संयोगले भेट भएको थियो मार्गरेट र स्यान्ड्राको । मार्गरेट राम्री थिई ! चटक्क परेको सानो नाक, तिखा निला आँखा, गुलाबी हात–खुट्टाहरू ! मार्गरेटको सुन्दरताले भुतुक्कै पारेको थियो उसलाई ।

‘संयोगले मान्छेको जीवनलाई बदल्ने क्षमता बोक्ने गर्छ ।’– जीवन डो¥याउन बल दिने एउटा सूत्र मान्थी स्यान्ड्रा यसलाई । तसर्थ मार्गरेटसँग भेट हुनुलाई एउटा संयोग ठानी उसले । हप्ताको बसाइमा कति नै कोशिस गरे पनि मार्गरेटको सुन्दरता र चन्चलताबाट टाढिन नसकेपछि आफूसँग भएको क्रेडिट कार्डलाई रित्याएरै मार्गरेटलाई आफ्नै साथ ल्याइछाडी उसले ।

मार्गरेटलाई भेटेपछि स्यान्ड्राको जीवनमा बसन्त भित्रियो । उसको बिहानको नास्तादेखि बेलुकीको खाना मार्गरेटसँगै हुन थाल्यो । मार्गरेटका निर्दोष आँखाहरूले प्रभातमै दैनिकी पूरा गर्ने उत्साह भरपुर दिन थाले । त्यसपछि दिन बितेको पत्तै हुन छाड्यो उसलाई । छुट्टीका दिनहरू पनि कहिले नजिकैको पार्क, कहिले टाढाको बलौटे समुद्री किनार, अनि कहिले थुम्के पहाड मुनिका क्याम्पिङ्गहरूमा बिताउँने गर्न थाली ऊ । मार्गरेटको उपस्थितिमा स्यान्ड्रालाई जीवन भन्नु नै आफूले बाँचेका क्षणहरूमा बटुलेका मिठा पलहरूको सङ्ग्रह रहेछ भन्ने थाहा लाग्न धेरै समय लागेन ।

केही समय यतादेखि भने मार्गरेटमा पहिलेको झैँ जोश थिएन । अलि ढिली जस्ती भएकी थिई । खाना राम्ररी खान्नथी । एकोहोरिन्थी । घुमिरहन्थी । भिटामिनको तलमाथि भएर मार्गरेटको चञ्चलतामा शिथिलता छाएको हो कि ! थाहा पाउन डक्टरकहाँ जानु पर्ला भन्दै थिई स्यान्ड्रा । जीवनका मिठा पलहरू अरूलाई चखाउन सक्ने निर्दोष मार्गरेट सधैंभरी डाइनामिक भएको हेर्न म पनि हृदयबाट नै चाहन्थेँ ।

“चारवटा स्पेसल टेस्ट गर्न भनेको छ मार्गरेटको डाक्टरले ।”

धेरै दिनदेखि डाक्टरकहाँ धाउन थालेकी स्यान्ड्राले एकदिन मलाई सुनाई । मार्गरेटलाई ठ्याक्कै के भएको हो भन्ने कुरा सामान्य जाँचहरू गर्दा थाहा हुन नसकेपछि स्यान्ड्रा चिन्तित हुन थालेकी थिई । ‘यो’ र ‘त्यो’ भनिने मेडिकल जाँचहरू खर्चिला थिए । व्यस्त दैनिकी सकेर घर फर्किदा मार्गरेटको निन्याउरो अनुहार, टिल्ल बल्ने उसका आँखा, सुस्त चालको नमिठो परिवेशले उसलाई निराश बनाउन थालेको थियो ।

स्यान्ड्राको अफिसको काममा गडबडी सुरु भैसकेको थियो । समयमा उपस्थित हुन्नथी । टेबलमा फाइलहरू असरल्लै छोडेर अफिसबाट सिधै मार्गरेटलाई हेर्ने डाक्टरकहाँ पुग्थी ऊ । उसले छोडेका छरपस्ट फाइलहरू, बैंक स्टेटमेन्ट थन्क्याउन मैले धेरै पटक सहयोग गरिसकेकी थिएँ । स्यान्ड्राको कामप्रति असन्तुष्ट भई मिस्टर आर्टभेल्ड बर्बराउन थालिसकेको थियो । आर्टभेल्डलाई मार्गरेटको स्वास्थ्यको कुनै अर्थ थिएन तर स्यान्ड्राले असरल्ल छोडेका बैंक स्टेटमेन्टको ठूलो अर्थ थियो । उसले स्पष्टीकरण माग्ने सुर कसेको थियो । मलाई भने मार्गरेटको स्याहार सकेर अफिस छिर्न नपाउँदै उसले स्पष्टीकरण दिन जानुप¥यो भने दोहोरो तनाब कसरी बेहोर्ली भन्ने सुर्ता थियो ।

“मार्गरेटका चारैवटा टेस्टको रिजल्ट लिन बोलाएको छ डाक्टरले ।” हप्तादिन पछिको हाम्रो भेटमा उसले हतास हुँदै सुनाई ।

“त्यस्तो केही भेटिएको छैन होला । गम्भीर कुरो भए त ईमर्जेन्सी कल आइहाल्ने थियो नि ।” मैले ढाडस दिँदै भनेँ ।

“मैले यी टेस्टहरू नगराउनु पथ्र्यो । यदि केही भयानक रोग लागेको रहेछ भने ? न म स्याहारेर साथ राख्न सक्नेछु न त पीडामा छट्पटाउन छोडिदिन सक्नेछु !” स्यान्ड्रा कहाली लाग्दो भोलिको कल्पना गर्न थालेकी थिई ।

नभन्दै सम्पूर्ण टेस्टको रिपोर्ट मार्गरेटको डाक्टरले स्यान्ड्राका हातमा थमाइदियो । म पनि कौतुहल थिएँ मार्गरेटको रोगका बारेमा थाहा पाउन ।

“के भन्यो रिपोर्टमा ?” डक्टरले दिएको मेडिकल रिपोर्ट बोेकेर अफिस आइपुगेकी स्यान्ड्रालाई मैले सोधेँ ।

“ब्रेन क्यान्सर !” कुर्सीमा टाउको अड्याउँदै सुनाई ।

“ब्रेन क्यान्सर ? त्यो पनि मार्गरेटलाई !” मलाई पत्यार भैरहेको थिएन ।

“फनफनी घुम्नुको कारण यही रहेछ ।” स्यान्ड्राले भनी ।

आफ्नो खुशी यसरी प्रविधिले किटान गरिदिएको यथार्थमा अन्त्य भैजाला भनी मान्न स्यान्ड्रालाई कठिन भैरहेको थियो ।

यस विन्दुमा आइपुग्दा स्यान्ड्रा र मेरो भोगाइको एक अंश करिब–करिब एउटै भयो । स्यान्ड्राको कुराले मेरो मनमा कम्पन सुरु भो । ब्रेन क्यान्सर र ब्लड क्यान्सर ! रगतका थोपा–थोपाहरूमा फैलिएको क्यान्सरले थलिएर मृत्यु पर्खिरहेकी मेरी आमा मेरो मुटुमा घाऊ बनेर गाडिएकी थिइन् । त्यही घाऊ बोकेर यी कैला कपालहरूका बीचमा म मेरा दिनहरू कटाइरहेकी थिएँ । तर मैले यो मेरो अन्तस्करणलाई गोप्य जस्तै राखेकी थिएँ । स्यान्ड्रालाई थाहा दिनु सबै सहकर्मीहरूलाई थाहा दिनु बराबर हुन जान्थ्यो । यिनका नजरमा म मनग्गे दुःखी देखिइसकेकी थिएँ । मेरो पृष्ठभूमी र मेरो वर्तमान धरातलमाथि यिनका सान्त्वनाहरूका पर्खाल नै लागिसकेका थिए जसलाई म बर्लिनको पर्खाल झैँ ढाल्ने प्रयत्नमा लागिरहेकी थिएँ ।

स्यान्ड्राले हरेक दिन मार्गरेटको उपचारको ब्याख्या गर्न थाली । कहिले अङ्गुरको जुसको साटो अनारको जुस दिन थालेको कुरो भन्थी, कहिले उसका लागि विशुद्ध पतलुनको डसना भएको ओछ्यान किनेर ल्याएको सुनाउँथी । खानामा ध्यान पु¥याउँदै मार्गरेटलाई ‘सील प्याक’ भएका तैयारी डब्बाको साटो ‘बायोलोजिकल’ खाना ख्वाउन थालेको पनि निक्कै समय भैसकेको थियो । उसले मार्गरेटको सकेसम्मको स्याहार गरेकी थिई ।

मार्गरेटको यस्तो दैनिकी जति देख्यो उति आमाको माया लागेर आउँन थाल्थ्यो । म मेरी आमालाई पनि स्यान्ड्राले मार्गरेटलाई दिएको जस्तो सुविधा दिनका लागि लालायित हुन्थेँ । बाँकी रहेका तिनका जीवनका थोरै दिनहरूलाई रङ्गिन बनाउन चाहन्थेँ । तर लामो दूरीको भूगोलले मलाई बाँधेको थियो । मसँग केवल भित्री मनले कल्पना गर्ने अधिकार मात्र थियो । धरातलमा सिमाङ्कन गरिएका रेखाहरू मेरा ययार्थ भावनाहरूभन्दा कयौँ गुणा बलिया थिए जसलाई तोड्न सक्ने सामथ्र्य ममा थिएन ।

त्यसैले मार्गरेटले विश्व प्रसिद्ध ल्याबहरूमा बनेका औषधिहरू खाँदा मेरी आमाले चिरैतो घोटेर पिएको सत्य स्वीकार्न बाध्य थिएँ । ब्यथा कम गर्न कसैले औषधि भनी औँल्याइदिएका झारपातहरू बटुलेर चपाएको पनि सहजै मान्न बाध्य थिएँ । खानामा एक छाक भात, अर्को छाक गहुँको रोटी ! गुन्द्रीमाथि ओछ्याएको पातलो डसनामा रात कटाउनु परेको थियो उनले । पतलुनका केवल केही सारीहरू थिए । डक्टरको स्पर्श पाउन तिनले बेहोश अवस्थामा पाउनुपथ्र्यो आफूलाई । एकमुी समय अघिदेखि मैले थमाइदिएका केही हजारहरू पनि उनको ज्यानभन्दा महत्वपूर्ण अरू नै कुरामा खर्च हुन ठिक्क थियो । ऋणपान, घरको पानी चुहिन थालेको छत, भाइबहिनीको पढाइ, अरू कत्ति–कत्ति । यस्ता महत्वपूर्ण कुराको फेरिहस्त म आफै लगाउन सक्दिन । आर्थिक हैसियतले अनुमति नदिएपछि हजारौंँ रुपैयाँ पर्ने औषधिका बट्टाहरूलाई तिनका आँखाहरूले टाढैबाट दागबत्ती दिन बाध्य थिइन् मेरी आमा । मान्छे हुनुको नाताले भोग्न पाउने सामान्य सुबिधाहरूबाट लखेटिएकी मेरी आमालाई मार्गरेटले पाएको बिलासिताका अगाडि कल्पदा मेरो मुटुमा आगो सल्किन थाल्यो ।

दिन प्रतिदिन मार्गरेट मेरी प्रतिद्वन्द्वी भइसकेकी थिई । मैले उसको बर्थ डे केकको स्वाद बिर्सिन थालेँ । ऊसँगको लुकामारीमा रमाएको पनि बिर्सिएँ । ऊसँग गाला जोडेर खिचेको तस्वीरसँग पनि वितृष्णा जाग्न थाल्यो । हुँदाहुँदा स्यान्ड्राप्रतिको मेरो लगाव पनि घट्न थालेको थियो । हामीले जिउँने जीवनको दुई भिन्न धार देखेर म टाढिन थालेकी थिएँ उसको आत्मियतासँग ।

“तिमीलाई कुनै समस्या आइलागेको छ ?” मेरो मानसिक असन्तुष्टि बाहिरै देखिएर होला एकदिन स्यान्ड्राले मलाई सोधी ।

“होइन–होइन ! त्यस्तो केही होइन ।” मैले सहज भए झैँ जवाफ दिएँ ।

“तिम्रो परिवारलाई त राम्रै छ नि ?” उसले आत्मियताको आधारमा उभिएर अर्को प्रश्न गरी ।

“एकदम राम्रो छ ।”

संभवत राम्रो भन्न मिल्ने त्यस्तो सबल पक्ष के थियो र मसँग ? म तेस्रो विश्वले पाउने सान्त्वनाको पर्खाइमा थिइनँ । मैले आफ्नो यथार्थता खोले बापत पाउने समानान्तर बोनस केही थिएन । तसर्थ मैले उसलाई बिशुद्ध गरी ढाँटेँ ।

“यसपालिको छुट्टीमा तिमीले आफ्नो परिवार भेट्न जाने सोचेकी हैन ?” उसले पारिवारिक प्रसङ्गलाई तन्काउँदै लगी ।

“सोच त छ तर... ।” मैले भनेँ ।

मेरो घर–परिवार हातले स्पर्श गर्न नपाए पनि साथै बोकेर हिँडिरहेकी छु । भित्री मनले हरपल भेटिनै रहन्छ । मनमा उतैका कुराहरू खेलिरहन्छन् । आँखाले उतैको भूगोल देख्छ । यो सबै स्यान्ड्रा देख्न सक्दिन । बाध्यता नहुँदो हो त आज मर्न लागेकी आफ्नी आमालाई टाढा छोडेर आत्मियताको अर्थ खोज्दै एक्लोपनको शून्यतालाई घट्घट् पिउँन नपर्दो हो मलाई । भाग्यमा विश्वास गर्नुपर्ने मेरो जिन्दगीले सबै उतार–चढावलाई सहजै मानिरहेको भए पनि मार्गरेटको वर्तमान अस्तित्व मेरा लागि ज्वालामुखीले ओकलेको आगोको लप्का जस्तो तातो हुनथाल्यो ।

“मेरो पनि यसपालीको छुट्टी सबै मार्गरेटका लागि छुट्याउने बिचार छ.... ।” उसले सुनाउँदै गई ।

स्वीट्जरल्याण्डका आल्पस पर्वतहरूमा पु¥याएर मार्गरेटसँगका अन्तिम मीठा क्षणहरूलाई सधैंका लागि कैद गर्ने बिचार राखेकी रहिछ उसले । ठाउँ परिवर्तनले स्वास्थ्यमा सुधार हुन्छ भनेर डाक्टरले पनि घुमाउन लैजाने सल्लाह दिएको रहेछ । मलाई पनि आफ्नी आमालाई चारधाम गराउने मन थियो धेरै पहिलेदेखि । मन हुनेसँग धन नहुने ! मेरा हातहरूमा द्रव्य थिएन त्यतिबेला । ईच्छा पछिका लागि भन थाँति राखेकी थिएँ । आज हातमा द्रव्य छ तर मेरी आमाले म फर्किन्जेल पर्खिन्छिन् भन्ने कुनै ठेगान छैन । हरेक रात पीडाको बिछ्यौना लगाएर सुत्ने मेरी आमाको भोलि निश्चित नभए पनि स्यान्ड्राले मार्गरेटलाई आल्पस पर्वत घुमाउन भ्याउँदा मेरी आमा पनि मुक्तिनाथसम्म पुग्न भ्याउँछिन् होला भन्ने आशाले तान्यो मलाई । मनले बाटो देखाउनासाथ फोन घुमाएँ ।

“हेल्लो... ।” आमाको आवाज थियो ।

“आमा, कस्तो छ आजभोलि ?” मैले सोधेँ ।

“उस्तै त हो नि ! टाउको भारी भैरन्छ ।” उनको आवाजमा जीवनको अर्थ बिलाएको भान हुन्थ्यो ।

“मुक्तिनाथको दर्शन गर्न मन छ ?” मेरो गलाले हिम्मत जुटाएर सोध्यो ।

“उतिबिध्न टाढा कसरी पुगेर फर्किनु ?” उनले तिनका थोरै दिनहरू गन्न थालिसकिछन् भन्ने लाग्यो मलाई ।

“किन र ?” म यसै बोलेँ ।

“यता गाडी चलेका छैनन् । सबैथोक बन्द छ ।” तिनले भनिन् ।

“के को बन्द ?” मैले सोधेँ ।

“मान्छेले बन्द गराएका । कहिले खुल्छ थाहा छैन बा ।” तिनले अनिश्चितता बोलिन् ।

अभागीलाई सधैं चोटैचोट । मैले कोसँग के गुनासो गर्नु ? मेरी आमा केवल एउटी पात्र न हुन् । यस्तो बन्दसँगै कति अरूका जीवन बन्द भैरहेका होलान् ।

“बन्द खुल्ने बित्तिकै केदार दाइले पु¥याउनु हुन्छ दर्शन गराउन । मैले पैसा पठाइदिएकी छु ।” मेरो ईच्छाको पूर्ण रूप बताएँ । अलि हलुङ्गो अनुभूत भो साँझ ।

भोलिपल्टका दिनहरू आमालाई देउताको दर्शन गराउने एउटै उद्देश्यका लागि ढले जस्तो लाग्न थाल्यो ।

यता स्यान्ड्रा मेरै आँखा अगाडि उसको मर्सिडिज कारमा मार्गरेटलाई हालेर निस्किई आल्पस पर्वत छुनलाई । उसलाई रोक्ने केही थिएन । मान्छेहरूले हिँड्न भनी बनिएका स्वतन्त्र बाटाहरू बन्द भएको भोग्न परेको थिएन उसलाई । त्यसैले उसकी मार्गरेट जीवनका अन्तिम पलहरू बिताउन जहाँकहीँ जान स्वतन्त्र थिई । मार्गरेट, मान्छेको जस्तो सुन्दर नामको बिरालोको दैनिकीसँग आफ्नी आमाले भोगेको दैनिकी दाँजेर हेरेँ । आफैलाई ग्लानी भएर आयो । त्यो बिरालोको अगाडि आफ्नो अस्तित्व क्षिण पाएँ । जनावरसँग हार खानुअघि आमालाई देउताको दर्शन गराउन पाउने आशा अझै अलिकति बाँकी थियो मभित्र ।

यता मार्गरेट र स्यान्ड्राको फर्किने दिन भैसकेको थियो ।

हप्तादिन बितिसक्दा पनि बन्द खुलेको थिएन उता । दशौं दिनमा त कसो नखुल्ला ? मलाई स्यान्ड्रा फर्किनु अगावै आमालाई मुक्तिनाथ दर्शन गर्न पठाउनु थियो ।

तर दुर्भाग्य ! मैले सोचे जस्तो भएन । मेरो देशको बन्द खुल्दा मेरी आमाको प्राण वायु बन्द भैसकेको थियो ।

ब्रसेल्स, बेल्जियम

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 10 माघ, 2067

लेखकका अन्य रचनाहरु