देखावटी माया

- एकराज प्रधान

रङ्गीन संसारदेखि अलग, सुनसान सन्नाटा, इसाराको भाषा, गुमनाम जिन्दगी । म उसलाई देखेर यही सोच्थेँ । तर, सबैले उसलाई हियाउँथे । भन्थे, ‘लाटो आयो !’ म उनीहरुलाई रोक्न असफल थिएँ । बेलाबेला आफ्नै मुखबाट पनि फुत्किन्थ्यो त्यो शब्द ।

ऊ मेरो सानैदेखिको साथी । सानोमा सँगै पढेको, सँगै खेलेको । अचानक ऊ अवाक बन्यो । जन्मै नबोल्ने होइन, घाँस काट्न रुख चढ्दा खस्यो । मेरै आँखा सामुन्ने । जीवन बाँच्यो, जिउने आधार गुमे । उसकी आमाले उसलाई बोल्ने बनाउन धेरै प्रयास गरिन् । हस्पिटल धाए, कयौँ वैद्यकहाँ । तर, गुमेको उसको आवाज फर्किएन, भाँचिएको खुट्टा सीधा भएर जोडिएन ।

त्यसबेला यस्ता अपाङ्गको लागि पढाउने स्कुल थिएन । हलो जोतेर, कुटो कोदालो गरेर उसले आफ्नो बालापन बितायो । कहिलेकाहीँ म आफ्ना किताबहरु लिएर ऊ सामु जान्थेँ । र, किताबमा भएका कथाहरु उसैले बुझ्ने भाषामा बताइदिन्थेँ । बस् यत्ति । आमा छउन्जेल ममताले भरिदिइन् उसको जिन्दगी । एक दिन उनले पनि छाडेर गइन्, टुहुरो बनाएर । त्यसपछि झन् आँखाको ज्योति नै गुमेजत्तिकै बन्यो उसका लागि । सहारा खोज्दै हिँड्दा गाउँकै भीमे साहुले हली राखे उसलाई । बेसहारापनको फाइदा राम्ररी नै उठाए । झत्तोमत्तो लुगा दिँदा पनि ऊ खुसीले दङ्ग हुन्थ्यो । कामको पेलाइ बढी भएपछि ऊ त्यहाँ बस्न सकेन । एक दिन नराम्रो गरी पिटिएछ, खै कसले के भने ऊ रुँदै मकहाँ आएको थियो ।

त्यसपछि ऊ गाउँमा बनीबुतो गरेर खान थाल्यो । पैसाको नोट चिन्दैनथ्यो ऊ । जसले जति दिन्छ, त्यति नै थाप्थ्यो । पैसा लिएर आउँथ्यो र एकमुठा एक(दुई रुपैयाँका नोट देखाउँदै खुसी भएर इसारा गर्दै भन्थ्यो, ‘म ठूलो घर बनाउँछु, बिहे गर्छु... त्यो साहुलाई पनि देखाउँछु ।’ आश्वासन सिवाय मसँग केही थिएन, उसलाई हौस्याएँ मात्र । ऊ पैसाको नोट नाप्न थाल्यो । पाँच रुपैयाँको नोट रहेछ, अलि लामो लागेछ क्यार ! दङ्ग हुँदै गोजीमा राख्यो र मबाट बिदा भयो । कस्ता गाउँले, अपाङ्गलाई काम लगाएर ठग्ने, रिसले मनमा आगो बल्यो मेरो । सहयोग त कता हो कता अझ शोषण गर्ने ! सबै शोसक ! सामन्ती, ठग ! मनमा अनेक कुरा खेले । एकपल्ट त गएर सबैलाई गाली गर्न मन लाग्यो ।

भोलिपल्ट ऊ फेरि आयो । जाडो महिना, पुरानो ज्याकेट भिरेर आएछ । ठूलो भुँडी भएको, जुँगा मुठारेझैँ गर्दै ‘जुँगेले दिएको’ भन्थ्यो । मैले सोचेँ, कोही त रहेछन् माया गर्ने ! भरे थाहा पाएँ, दिनभर दाउरा चिरेपछि पाएको पारिश्रमिक रहेछ त्यो । ऊ खुसी थियो, मैले केही भन्न सकिनँ । मलाई उसको घर जान आग्रह गर्यो । पुगियो । घरको छानो आकाश देखिने । बाराबेरा, प्वालैप्वाल । घरभित्र थोत्रा लुगाहरु टन्नै । भकारीमा थोरै धान । खाना पकाउने चुल्हो भत्किएको । नूनभुटुन केही थिएन । लाग्यो, ऊ खाना उमाल्छ, सब्जी उसिन्छ र त्यसै खान्छ । तेलको बोतल हल्लाउँदै इसारामा बोल्यो, ‘अस्ति सकिएको, किन्न गएको पसलेले दिएन ।’ त्यो थाहा पाएपछि म उसलाई लिएर पसल पुगेँ । पसलेले भन्यो, ‘यसले एक(दुईको नोट लिएर आउँछ, एक दुई रुपैयाँमा नूनतेल आउँछ र दिनु ?’ उसले पसलेको मुख चलाइलाई बुझेन । मतिर हेर्यो र ‘के भो ?’ भन्यो । मैले उसलाई नूनतेल किनिदिएँ । ऊ कड्के नजर लगाउँदै पसलेसँग रिसायो र आफू बोल्न नसक्ने भएकाले ‘यसले मलाई हेपेको’ भन्यो । आँखाभरि आँसु पार्दै । मैले त्यसबेला उसलाई बुझाउन सकिनँ, चाहिनँ ।

एक दिन ऊ फेरि त्यो पसलमा पुगेछ र तेल मागेछ । पसलेले नदिएपछि झगडा गरेछ । तेल चोर्न खोजेको आरोप लगाएर पसलेले उसलाई नराम्ररी कुटाएछ । उसको पक्ष लिने कोही भएनन्, ऊ रुँदै मकहाँ आएको थियो । मैले बुझेँ, तर कसैले बुझेनन् । ‘लाटालाटीको ब्यहोरै हुँदैन, चोर !’, मलाई पनि यसैगरी भन्थे गाउँलेहरु । म उसको विवशता बुझाउन खोज्थेँ तर सुन्ने फुर्सद् कसलाई ? सबै स्वार्थी मात्र । त्यो घटनापछि गाउँमा उसलाई कसैले मनपराउँदैनथे । घरनजिक आएपछि खेदाउँथे, ‘चोर्छ’ भनेर । ऊ चारैतिर भौतारिन्थ्यो ।

धेरैदिनपछि ऊ मकहाँ आयो, झोलामा चामल बोकेर । मैले सोधेँ, ‘यो कहाँबाट ल्याएको ?’ उसले हात हल्लाउँदै भन्यो, ‘पल्लो गाउँबाट मागेर !’ म निसास्सिएँ, त्यो कुरा बुझेर । ऊ अब माग्न थालेछ । मन रोयो मेरो । ऊ भन्दै थियो, यो गाउँका मान्छे सबै खत्तम ! पल्लो गाउँका मान्छे साह्रै राम्रा छन् । मलाई कत्ति माया गर्छन् । म सधैँ त्यहीँ जान्छु अब ।’

उसलाई के थाहा, धेरै माग्न गएपछि त्यहाँकाले पनि उसलाई मनपराउँदैनन् भनेर । मैले सम्झाउने कोसिस गरेँ । ऊ फेरि अर्को गाउँ जाने कुरा गर्न थाल्यो । साँच्चै ऊ अर्को गाउँ गएछ । फर्कंदै गर्दा मोटरसाइकलले ठोक्काएछ । मैले खबर पाएँ । हत्तपत्त त्यहाँ पुगेँ । उसलाई हस्पिटल लगिएछ । उसको रगत र उसले मागेर ल्याएको चामल बाटोभरि छरिएको थियो । म आत्तिएँ । हस्पिटल पुगेँ । उसलाई डाक्टरले खै के(के सोध्दै थिए । ऊ डाक्टरको कुरा नबुझेर होला, हेरिरहन्थ्यो मात्र । मैले मोटरसाइकल चालकसँग कुरा गरेँ । उसको बारेमा सबैकुरा भनेँ । उसले राम्रैसँग उपचार गरायो । र, ऊ अर्थात् मेरो साथी याम घर फर्कियो ।

उसले धेरैलाई सहयोग गरेको थियो । धेरै केटाकेटीहरुलाई स्याहारेर हुर्काएको थियो । तर, यसबेला उसलाई स्याहार्ने कोही थिएनन् । ऊ ओछ्यानमा लडेको थियो, गाउँलेहरु कोही आएनन् । न औषधि टाइममा खायो । मोटरसाइकलले ठोक्किएको खुट्टा बिस्तारै सुक्दै गयो । मोटरसाइकल चालक फर्किएर आएन । उसले गाउँभर खुट्टा देखाउँदै हिँड्यो तर कसैले वास्ता गरेनन् । मलाई पनि पटक(पटक देखाउँथ्यो र उपचार गर्न ‘फेरि हस्पिटल जौँ’ भन्थ्यो । तर, मैले ‘हुन्छ जौँ’ भन्न सकिनँ । ऊ त्यसै(त्यसै हिँड्थ्यो । ‘मर्छु होला’ भन्थ्यो । आँखाभरि आँसु पाथ्र्यो । म टुलुटुलु निरीह बनेर हेरिरहन्थेँ । म उसका लागि केही गर्न सक्दिनथेँ ।

मैले आफूलाई गाउँलेसँग तुलना गरेँ । फरक केही पाइनँ । मैले उसका लागि के गरेँ ? म पनि स्वार्थी । सधैँ आफ्नै लागि मात्रै सोचेँ । उसको अधिकार, उसको सुरक्षा, उसको हितका लागि मैले केही गरिनँ । सहानुभूति, आश्वासन बाँड्नु बाहेक ! गरेँ त केवल अरुले जस्तै ‘च्व च्व बिचरा !’ भन्दै देखावटी माया ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 8 माघ, 2067

लेखकका अन्य रचनाहरु