'प्रवासका सुस्केराहरु भित्रका मेरा सुस्केरा

- भारती गौतम

प्रस्तुत पुस्तकको शीर्षकको अनुवाद नै डायस्पोरिक हुन पुगेकोले डायस्पोरा  र डायस्पोरिक सन्दर्भको  सानो चर्चा शायद यहां अप्रासंगिक नहोला।

“ कहिले हामीलाई दुई संस्कृतिमा बिभाजित भए जस्तो लाग्छ अनि कुनैवेला दुवै संस्कृतिको विचमा पछारिए जस्तो लाग्छ”
-सलमान रस्डी(इम्याजीनरी होमल्यान्ड्स)

हुन पनि हो, आफूले आफ्नो ठानेको र राम्रोसंग वुझेको परिवेशलाई भौगोलिकरुपमा धेरै टाढा छोडेर तर आफ्नो मनभित्र सवैभन्दा नजीक वोकेर वाहिरिन पुगेका लाखौं जीवनको यथार्थ हो डायस्पोरिक परिस्थिति। जति वर्ष वसे पनि आफूले छोडेर आएको समाज र आफूले अंगिकार गर्न पुगेको समाज विचको पर्दा पातलिन सक्तैन। जतिजति अन्तराल फराकिदैजान्छ त्यति त्यति मानसिकता पिरोलिदैजान्छ अनि असन्तुष्ट र दुखेको मनले खोजेको निकासले अभिव्यक्तिको रुप लिन्छ। वाहिरिएकाहरुको छुट्टै समुदाय बन्छ अनि उनीहरुको अभिव्यक्तिहरुले अर्कै साहित्य सिर्जना गर्छ, त्यस्तो साहित्यलाई आधुनिक परिप्रेक्ष्यमा डायस्पोरिक साहित्य भन्ने गरिएको छ।

“घर बिहिनताको भावले छोप्छ र आफ्नोपना हराएपछि सांस्कृतिक ,भौगोलिक,र ऐतिहासिक विच्छिन्नताले गर्दा मनमा सधैं एउटा पूर्वस्मृतिले छोपिरहन्छ-एउटा नोस्टयाल्जि मा विच्छिन्नताको भय,संस्कृतिप्रतिको भूगोल र कानुन प्रतिको।ती नहुदा उत्पन्न हुने क्षयवोध र फेरि विरानोपन अत्यन्तै गहिरो हुन्छ।“
-डा गोविन्दराज भट्टराई

विभिन्न कारणवस आफ्नो मुलुक छोडेर वाहिरिनेको संख्यामा भएको वृद्दिका अंकहरु जुन अनुपातमा थपिन थाले त्यो संख्याको अभिव्यक्तिको आयतन पनि त्यतिनै वढ्न थाल्यो।  प्राविधिक उन्नति र प्रचुरता अनि सरल उपलब्धिको कारणले त्यस्ता अभिव्यक्तिले संचार  समेत पाउन लागेको अहिलेको  परिप्रेक्षमा डायस्पोरिक साहित्यमा विस्तार हुनु अनौठो हैन।

नेपालवाहिर  सिर्जिएको साहित्यको ईतिहास  झन्डै झन्डै नेपाली सहित्यको  समग्र ईतिहास जत्तिकै  प्राचिन र महत्वपूर्ण  भएको तथ्य कसैवाट छिपेको  नभएतापनि उसवेला भनिने  नेपाल वाहिर र वर्तमान  परिवेशको नेपाल वाहिरमा  आएको परिवर्तनले अहिले  नेपाल वाहिर लेखिने साहित्य  डायस्पोरिक हुन पुग्यो। पहिले नेपालवाहिर भनी भारत र यसका उपमहाद्वीपवाट जन्मिने साहित्य भन्दा अहिले डायस्पोरिक परिभाषा भित्र अट्टाउनेगरी रचिएको साहित्यमा पाईने भिन्नता उल्लेखनीय हुन पुगेको पाईन्छ। भारत र भारतीय उपमहाद्वीपवाट सिर्जिएका साहित्यमा घर संझिएर पिरोलिएको अनि आफू रहिरहेको समाजमा समाहित हुन नसकेका अभिव्यक्ति कम र विशुद्द साहित्यिक सिर्जना वढि भएको देखिएको छ भने वर्तमान अर्थमा डायस्पोरिक भनिने साहित्यमा धेरैजसो अभिव्यक्तिहरु छोडेर आएको घर संझेर पिरोलिएको अनि कार्यथलालाई अंगिकार गर्न नसकेका भावनाहरु वढि भेटिने गरेकाछन्। यहि तथ्यलाई कवियत्री मंजु निरौलाको प्रस्तुत कविता संग्रह “प्रवासका सुस्केरा” ले पुष्टी गर्न खोजेको जस्तो लाग्छ।

“प्रवासमा वस्दाको मर्म र वेदना,आफ्नो परिचय गुमाउनु पर्दाको पीडा परदेशमा वसेपछि मात्र अनुभूति हुंदोरहेछ। जीवन संघर्षका यस्तै तीतामीठा अनुभव,आरोह-अवरोहलाई मैले प्रवासका सुस्केराहरुमा समेटेकी छु”-लेखिकाको उक्त अभिव्यक्ति वास्तवमा “प्रवासका सुस्केराहरु”को सहि र पूर्ण परिभाषा हो।

कतै न कतै प्रकाशित र कतैपनि प्रकाशित नभईसकेकागरी तीनदर्जन भन्दा वढि कविताहरुको प्रस्तुत संग्रहमा संग्रहित सवैजसो नै कविताहरुको जन्म प्रवासमा आईसकेपछि भएको देखिन्छ।  यस्तो लाग्छ कवियत्रि मंजु निरौला भित्रको कवित्वको प्रष्फुटन नै प्रवासको माटामा वढी मौलाउने अवसर पाएको हो। हुनपनि हो जव मान्छेको ह्रदयको सवैभन्दा तल्लो तह दुख्‌न थाल्छ अनि भावनाको भेलले निकास खोज्न थाल्छ। मंजु निरौलाको मनको दुखाई गहिरिन थालेपछि छचल्किएको भावनाको निकास शायद यो पुस्तकको सिर्जना होला। मंजु निरौलाको मन दुई पाटो भएर दुखेको छ, दुवैपाटा उत्तिकै गहिरो दुखेको छ, न घरको नघाटको भने झैं मन दोधारमा छ, नत छोडेर हिडेको मुलुक वारे ढुक्क छ न त पछि आफ्नो ठानेको मुलुकले नै सपना साकार वनाएको छ। यसरी विभाजित मन कहिले वर्तमान संग विझाउछ अनि कहिले अतित प्रति।

“मृगतिष्णा झैं पलाएको डलरको मोह
यहां वसुन्जेल कहिले पनि नघट्ने भो
जीवन पर्यन्त  डलरको चाहनाले नै
आयु पनि घट्तै  घट्तै जाने भो”
(हरियो डलरको मोह)

एकातिर आफूले  अपनाएको परिवेशको तथ्य यति  निराशाजनक छ भने अर्को  तिर आफूले छोडेर आएको मुलुकको यथार्थ पनि यो भन्दा आशादायक देखिदैन।

“आर्थिकमार, बेरोजगारीले देश हाहाकार छ,
कसम खाएर भन्छु- देशको हाल वेहाल छ”।
(के मात्र छैन  नेपालां)

यसरी भीरको  चिण्डो भएर लेखिकाको मन न  त पुरै जन्म घरको भएको छ  न त पुरै कर्मघरको भएको छ।

“प्रवासको सुस्केराहरु”मा संकलित कविताहरुलाई कर्मथलोमा पूर्णरुपमा समाहित हुन खोज्दाका अपठ्याराहरुको अभिव्यक्ति, र छोडेर आएको तर विर्सन नसकेको जन्मभुमीले वर्तमान परिस्थितिमा भोग्नु परेका निराशाजनक विरक्तिका पहाडहरुप्रतिको मनदुखाई गरी दुई खण्डमा  प्रमुखरुपमा बिभाजन गर्न सकिन्छ। यसको अतिरिक्त हाम्रो मुलुकका पारंपरिक ,सामाजिक अनि राजनीतिक मान्यता र अवस्था प्रतिका व्यंग्यात्मक केहि कविताहरु केहि छन् भने व्यक्तिगत विरक्तीका अभिव्यक्ति पनि कतिपय कविताहरुमा भेट्न सकिन्छ।

सांघुरिएको  यो कोठा, प्रवासका सुस्केराहरु,साचेर  राखेको पीडा,अमेरिकी संस्कार,ग्रिन  कार्ड अमेरिकामा,अमेरिका  हिजोआज,अमेरिका यस्तै छ,विदेशमा  वित्यो चेलिको तिहार,अभिनन्दन गरौं अमेरिकामा,अमेरिका  दीवा स्वप्न, भ्यालेन्टाईन्स डे,नया वर्ष नया दिन र  हरियो डलरको मोह आदि  कविताहरु मार्फत अमेरिकाको  वास्तविकता र अमेरिका वाहिरकाले देखेको अमेरिका वारेको व्यंग्यात्मक अनि मार्मीक चित्रण गरिएको छ।

“ग्रिनकार्ड आईपुग्छ कि भनी सपनी कति सजांए
घर किने, गाडि किने, क्रेडिट कार्डमा  चुर्लुम्मे डुवें”
(ग्रिन कार्ड  अमेरिकामा)
 
“कतै आफ्नो कोही छैन,न्यानोपन कतै छैन,
ओछ्यान कतै  परे तातो पानी पनि उपलव्ध छैन”
(सांचेर राखेको  पिडा)

आफ्नो मुलुकको  परिस्थिति संझिदा पनि लेखिका को मन दुख्छ।
अवोध वालक,तिहार  एक मृगतृष्णा,नयावर्ष नया  नेपालमा, के मात्र छैन नेपालां, नया वर्ष नया नेपालमा, प्रवासीहुनुको  पिडा,म देश छाडी जादैछु, काठमान्डौ वेहाल छ,बिद्रोहको  लप्का,आमा तिमीलाई संझिदा आदी कविताहरुले आफ्नु घरप्रतिको  माया अनि आफ्नो मुलुकको  वर्तमान परिस्थिति प्रतिको पिडा व्यक्त गरेको छ।

“जता हेर्यो उतै नेपाली रुग्ण शोषित भएको पांए
नौलो केहि लागेन  देशमा देश नै बिरामी भएको पाए”
(मैले जे देखें  नेपालमा)

देशको वर्तमान  परिस्थिति सम्वन्धि असन्तुष्टी र त्यसप्रतिको आफ्नो विरक्ति उपरोक्त हरफले व्यक्त्याएको छ।

कहां दुख्छ  घाउ, वांधिएं बन्धनमा आदि  कवितामा कवियत्रीले आफ्नो  जिन्दगीसंगको आफ्नो  दिक्दारि पनि व्यक्त गरेकि छन्।

“समुद्री तुफान संगै मितेरी लाउन खोज्छु,
स्वच्छ हावाले स्पर्श गर्दा दुख पखालिएको अनुभव गर्छु”
(समुद्रको  लहरमा)

 आफ्नो  मुलुक छोडेर दिन दुगुना  रात चौगुनाको दरले विभिन्न  गन्तव्यको लागि सिमाना  नाघ्ने एउटा ठूलो जमातको  अन्तर्मनको व्यथा र कटु  अनुभवलाई “प्रवासका सुस्केराहरु” मार्फत कवियत्री मंजु निरौलाले ईमान्दारीपूर्वक प्रस्तुत गरेकी छन्। मंजु निरौलाको प्रवासी जीवनका आरोह र अवरोहले त्यहि परिस्थितिमा भएका अरु अनगिन्ति जीवनको आरोह अवरोहको कथा सुनाएका छन्। सपना र कल्पनाको स्वर्णीम विदेश कटु यथार्थमा ठक्करलाग्न पुग्दाका टुटुल्काहरु, डामहरु,चोटहरु अनि खतहरुको दुखाईले एउटा ठूलो समूहको सुस्केरा सुसाएको छ प्रस्तुत कृतिले। प्रवासी परिस्थितिमा लागेका संघर्षका सवै प्रकारका ठेसहरु र निराशाका चोटहरु यो संग्रह पढ्ने सवैको लागि उत्तिकै निजि र आलो लाग्न सक्छ। कवियत्रीको दुखाईले प्रवासमा रहने सवैलाई दुखाएको छ, यो दुखाई वास्तवमा सवैको साझा दुखाई हुन पुगेको छ।

“प्रवासका सुस्केराहरु” सरल, सहज, स्वाभाविक ढंगले रचिएका कविताहरुको संगालो हो। यो संग्रहका कविताहरुमा काव्यात्मकता कम यथार्थता वढि भेट्न सकिन्छ। यो संग्रहका कविता बुझ्न कवि हुनु पर्दैन, आफ्नो मुलुक वाट टाढिएको अनि परदेशमा भट्किएको मन भए पुग्छ। यो पढ्ने धेरैजसोले एकातिर नेपालको सुन्दरता, नेपालको उत्कृष्टताको र नेपालको अलौकिकताको रसस्वादन गर्न पाउछ भने अर्कोतिर नेपालको वर्तमान नियति र दशा प्रति निराश अनि चिन्तित समेत हुन पुग्छ। त्यसैगरी यसको पाठकले यता खासगरी अमेरिकी कठीन जीवनका उकाला ओरालाको पनि सामना गर्दै यहांको संघर्षमय कटु यथार्थ संग साक्षात्कार हुन  पुग्छ ।

 प्रत्येक  कवितामा पाठकले  आफ्नै  अनुभव भेट्टाउन  सक्नु  भनेको कविताले सफलता  पाउनु हो।“प्रवासका सुस्केराहरु”पढ्दा यस्तै लाग्छ। प्रथम प्रयासमा नै कवियत्रीले धेरैको मन मा एउटा अमिट छाप छोड्न सफल हुनु भनेको भविष्यमा यस्ता अरु कृतिहरु जन्मिने संभावना बढ्नु हो। कवियत्रीलाई बधाई तथा शुभकामना।  

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 7 माघ, 2067

लेखकका अन्य रचनाहरु