उनी आइनन्

- कमल खतिवडा

गाउँमा वसी सक्नु थिएन । युवाहरु घर छोडेर कोही शहर पसे कोही विदेश हिडें । हामी सर्वहारा वर्गको उन्मुक्तिका लागि लड्दैछौ अव तपाईहरुले पनि सहयोग गर्नु पर्छ भन्थे । उनीहरु धन वा जन चाहन्थे । नदिनेलाइ जवरजस्ति पनि गर्थे । एक दिनको कुरा हो महिला कमाण्डरको टोली घर भित्र प्रवेश गर्यो । नत हामीसँग धन थियो नत जन । हामीले उनीहरुको मागलाई पुरा गर्न सकेनौ । त्यसपछि पाखुरै दुख्ने गरि कमाण्डरले मलाई च्याप्प समाइन “खुरुक्क हिड नत्र तलाई ” .. म बिचरो के वोल्ने । उनीवाट उम्कीन खुब कोशिस गरें । परिवारको रोइ कराइले ठूलै कोलाहाल मच्चियो त्यसवेला । सहयोगका लागि छिमेकी आउन सक्ने अवस्था पनि थिएन । अध्यारो रात, घर वाहिर चकमन्न थियो । किन हो कुन्नी कमाण्डरले एक्कासी मलाइ छाडिन । म घरको भित्तामा बजारिन पुगें । उनीहरु बाहिर निस्कन खोजे । हतारमा कमाण्डरको शल मेरो ॐ लेखेको तामाको औठिमा अड्कियो । उनैले औठिबाट शल छुटाइन । उनी हाम्रै उमेरकी जस्ती अनि राम्री पनि । सोचें सुन्दर अनुहार तर कति क्रुर ।

त्यसवेला सरकार र तत्कालिन विद्रोही वीचको द्वन्द्वले सामाजिक र शैक्षिक क्षेत्रमा ठूलै प्रभाव पारेको थियो । मैले पढाइलाई निरन्तरता दिनु थियो । त्यसैवेला देखि गाउँ छाडेर म काठमाण्डौमा बस्थें । यतिवेला चैइ देशमा शान्ति छ । अव एम ए पढ्न म ललितपुरको पाटन क्याम्पसमा भर्ना भए ।

क्याम्पस परिसर, युवाहरुको जमात ,देशका विभिन्न भागवाट आएका नयाँ साथीहरुकोसँगको चिनजान । परिचय गर्दा रमाइलै भयो । सवै साथीहरु मध्ये एकजना केटीसाथीसँग मेरो अलि मन मिल्थ्यो । मिजासिली थिइन उनी । मिल्ने साथीलाई एक दिन सम्झना स्वरुप मेरो ॐ लेखेको तामाको औंठी दिए । उनले खुसी भएर लिइन । त्यसपछि केही वोलिनन् । मलाइ रिसाएर हेरिन । खोइ के भाको फनक्क फर्कीन अनि सरक्क हिंडिन । उनलाई भोलिपल्ट क्याम्पस परिसरमा खोजे , पर्सि पल्ट पनि । उनी आइनन् त..., कहिलै पनि ।


प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 6 माघ, 2067

लेखकका अन्य रचनाहरु