सहर

- कृष्ण बजगाईं

गाउँमा पुण्य कार्य गरेर नाम कमाएका समाजसेवीहरु पहिलोपटक सहर घुम्न गए ।

– यात्रीहरुलाई पानी बाँडेर पुण्य कमाउने उनीहरु । यता सहरका मानिसहरुले पानी बेचेर पैसा कमाएको देखेर पछुताउन थाले ।

– धर्मशाला बनाएर सित्तैमा वास दिने उनीहरु । सहरका मानिसहरुले लज चलाएर टन्न पैसा कमाएको देखेर उनीहरुलाई ईष्र्या लाग्यो ।

केही दिनको घुमघाममा खानपिन र बसाईमा मनग्गे पैसा खर्च भयो । त्यसमा त चित्त बुझाए । तर शौचालय छिरेको पैसा समेत तिर्नु परेपछि धेरै कुरा बुझियो भन्दै मुरमुरिँदै आफ्नो गाउँ फर्के ।

गाउँ फर्के पछि उनीहरुले समाज सेवा र पुण्य कमाउने कार्य बन्द गरे । अर्थात पहिले दिँदै आएको सेवा जारी राखे तर शुल्क लिएर । उनीहरुले त्यसो गरेपछि अरुले पनि विभिन्न खाले सेवामा शुल्क लिन थाले । त्यहाँ चहलपहल बढ्यो । नयाँ नयाँ ब्यापार व्यवसाय सुरु भयो । ती सबै मज्जाले चल्न थाले ।

यस्ता दृष्य देखेर गाउँलेहरु कुरा गर्न थाले– “हाम्रो गाउँ पनि अब सहर भयो ।”

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 4 माघ, 2067

लेखकका अन्य रचनाहरु