महानपरिवर्तन : नामपरिवर्तन

- हरिप्रसाद सिलवाल

मेरा एकजना काकाले एउटा कोठेगोष्ठी सम्मेलनमा इष्र्याको दम फाल्न खोक्दै थिए – यो नयाँ सरकारले पनि केही गरेन रे । त्यस्ता पूर्वाग्रहले खोकेर हुन्छ त काका भनेको तँ हिजोको फुच्चा डाँकालाई के थाहा छ ? भनेर सासले टिपेर एक गाँसमै होसहवास खोसिहाले । परजातन्तरको पनि उपल्लो चरण पुगिसकेको र आकासको टुप्पोमा पुगेर पनि प्रचण्ड घामले सुकिकेको गनतन्तर कालमा ती काकाले खोके भन्दैमा आजकालका कोही ठिटाठिटीहरू ह्याकुलामा दही पोतेर लुत्रुक्क नुन खाएको कुखुरीजस्तो बस्लान् त ? तिनको मेख मार्न मेरो कलमको टुप्पामा पनि त दही टाँसिएको छैन नि बरु यै पत्रिकाबाटै ती काकालाई चुनौती दिदैँ मुखभरिको जबाफ दिएर गनतन्तरको सदुपयोग गर्न मन लाग्यो ।

यो सरकार जुन सरकारले राजालाई समेत घचेट्दै–घचेट्दै नागार्जुनको जङ्गलमा सिकार खेल्न पठाउन सक्यो, यसले केही परिवर्तन गरेन, क्रान्तिकारी कामै गरेन, जनतालाई बिस्र्योजस्ता नानाभाँतीका कुरा काट्नु भनेको त कि त्यो मान्छे खाँटीको कुरौटे हो नत्र उसको गिदीबाट केही महत्वपूर्ण लिदी उर्फ पित्त चोरिएको हुनसक्छ । जसले जति राम्रो काम गरे पनि गाली मात्रै गरेर डुक्रेर हिँड्न पल्केका साँढेलाई केही कुराले सम्झाउनुभन्दा सिस्नुको लिस्नोमा चढेर धरहरा छोएर त हेर् अनि ककसको बिहे देख्छस् भन्नु बेस होला । नत्र काम गर्ने कार्रेकारी सत्तामा पुगेका परधाममन्त्रीदेखि प्रचण्डप्रमसमेतले सिस्नुको लिस्नु चढ्दाका यथार्थता र कामै गर्न नसक्ने यामानको यन्त्र पो रैछ सत्ता भनिसकेपछि पनि त्यसैलाई खोइरो खनेर खोकिरहने तमाम काकाहरूलाई “निर्लज्जताको नाङ्गा ध्वाँसे”बाहेक के भन्नै सकिन्छ र ? बरु म ठोकुवा गरिदिन्छु – यो सरकारले काम गरेन भने गर्न सक्दैन भने गर्न चाहेन भने यो सगरमाथाको छायाँमा बाँचेको देसाँ अरु कुनै मालेआलेभाले रागेपाटेबाटे चोसेघोसेमोसे नाथेगाथेआतेले पनि केही गर्न सक्दैन र गर्नै चाहँदैन पनि । यो सरकारले काम गरेन भन्नु त पीपल रोप्दा बर फल्यो भन्नुसरह हो भने त्यस्तैजस्तै गणतन्त्र रोप्दा गनतन्त्र फल्यो भन्नुसरह हो । यो सरकारले पनि काम गरेको छैन भन्नेले उनीहरू कसैको टाउकोमा जुम्रा हेर्ने कामसमेत नपाएका बेरोजगार हुन् भन्ने लाग्छ । बरु यस्ता बेकामेलाई सरकारले एउटा कुरा गर्ने छुट्टै स्थान कुरापार्क अथवा फुटपाथेहरूले सहर बिगारेजस्तै यिनले पनि जताभावी कुरा गर्दै हिँडेकाले तोकेरै कुरा गर्ने ठाउँको बन्दोबस्त गरिदिए ज्यादा फलिफाप हुनेथियो । धेरै गारो पर्दै गएमा भोलि कुरामन्त्रालयसन्त्रालय खोले नि भइहाल्छ । त्यसो भएमा एक गुलेली दुई सिकार भनैझँै कुराको वैज्ञानीकरण पनि हुने र एकजना महाजनले मन्त्रीको नाममा ‘नेपालगिनिज’मा नाम दर्ता गरी रोजगारसमेत पाउने । मन्त्री हुनुनै एउटा क्रान्ति हो नि । उसको जीवनमा त्यो एउटा महान्परिवर्तन हो नि । मन्त्री भइसकेपछि राष्ट्रका लागि कति त्याग गर्नुपर्छ– आफ्नो झुप्रो घरमा बस्न पाइन्न । दिनको ५/७ ओटा रिबन काट्नुपर्छ । कुटनीतिक मामिला भन्दै मान्छेहरूलाई चलाखीपूर्वक ढाँट्नुपर्छ । औपचारिक भएर मात्र भाषणभूषण छाँट्नुपर्छ । विदेशी आकाशमा कावा खान धेरै पटक त स्वदेशी नेटो काट्नुपर्छ । अनि त्यतिकै मेरा काका विरोधीको भाका मिलाएर काम न काजको चौतारामा आकाछन् र सरकारले सिन्को भाँचेन भनेर अलाप गाका छन् गाका छन् । विकास देख्ने दृष्टिमा फुलो परेपछि यस्ताले विरोधबाहेक अरु के देख्नु त ? त्यस्ता अर्घेलाहरूसित बोलेर सकिन्न । बरु कागजमा कोरेरै सरकारी विकासका राम्रा, चाम्रा, रोटीका माम्राजस्ता प्रगतिशील फड्कोलाई व्याख्या गर्दै जाने बुद्धि आयो । महान्परिवर्तनका लक्षणहरूलाई कस्सेर व्याख्या गर्नुनै एक उच्च रणनीति हो भन्ने कुरा बल्ल बुझ्न थालेको छु । मलाई ज्ञात हुँदै आएको छ– शासन र भाषणको जोहो मिलाउन नसक्नेहरू त डाइनोसरपथमा लागे हुन्छ । महङ्गो मूल्यका रासन हुम्ला, जुम्ला, अछाम, डोटी आदि अन्कन्टारमा पु¥याउँदै समय खर्च गर्नुभन्दा चिटिक्क परेको भाषणको तयारी कोठे गोष्ठीमा गर्नु कति मितव्ययी, कति सरल र पारदर्शी काम हो ।

ग्राम होस् या सहर चलिरहेछ धुमधामसित नयाँ क्रान्तिकारी मतिमा तीव्र गति लिँदै र पुरानासुरानालाई मिलाउँदै–भत्काउँदै नामपरिवर्तनको लहर ! सरकारका सामु रहेका चुनौतीलाई कम देख्नु नै हाम्रो अदूरदर्शिता हो । खालि होचीअर्घेली गर्न बानी परेकाहरूलाई त राम्रा काम पनि नराम्रा नै लाग्ने रहेछ । कति निहँुबहादुरहरू त यो क्रान्तिकारी सरकार पनि बुजुवा पथमा लाग्छ कि क्या हो भनेर शंका गर्छन् । ती बिचरालाई थाहै छैन उसै त आफ्नो आफ्नो बाटोमा हिँड्दा त ३० मिनेटको यात्रामा ३ घण्टा जाम भएर जात्रा हुन्छ अब प्रगतिपथिकहरू पनि बुर्जुवापथमा लागे भने त्यो बाटो इतिहासको महान् गर्तमा महान् ट्राफिक जाममा पर्दैन र भन्या । त्यस्तै अर्को तुहिया आरोप पनि सुनिन्छ कि भारतको नक्कलबजोजिमको सक्कली लोकतन्त्रको अभ्यास हाम्रो सरकारले गर्दैछ रै । यो पनि कुनै तकै हो ? झूटको पनि एउटा सीमा नियम र संविधाननै हुन्छ होला । कतिसम्म झूट बोल्ने भन्ने हेक्का पनि नभएका यी विरोधीपार्कवालालाई के भन्ने ? अलिअलि इतिहास त पढ्नू नि विरोध गर्नुअघि ।

पहिला भारतमा बेलायती उपनिवेश थियो । त्यसबेला कति ठूला सडकका नाम अङ्ग्रेजकै नाममा छन् । कति अस्पताल बने, ती पनि धेरैधेरै भारतका नाममा छैनन् । कति चोक, पार्क, भवन आदिको नाम सारा अङ्ग्रेजमै छन् । बेलायती उपनिवेशबाट भारत पारपाचुके भएको यतिका वर्ष भइसक्दा पनि अङ्ग्रेजकै नामका सडकमा भारतीय सरकारी टोली घुमिरहेका छन् । हाम्रा सरकारका गति हेरुँ त । सरकार बनाएको ३ महिनामै सारा सडक, गाउँ, नगरपालिका, अस्पताल, चोक र पार्कको नामपरिवर्तन भइरहेका छन् । यो क्रान्तिको महान् परिवर्तनशील यात्रामा सरकार ढुङ्गोजस्ते दृढ छाती लिएर अघि बढेको छ, छ । यसले इतिहासको कालो दागलाई मेटाउन रातो पाइला लम्काएको छ, छ । पुरानै नामको सडकमा क्रान्तिकारीहरू चिल्ला गाडीमा हुँईकिने भए यत्रो सङ्घर्ष किन गर्नुपथ्र्यो ? पुरानै नामको गाउँसभामा बसेर नयाँ योजना कसरी लागू हुन्छ ? भारतले फेरेन त के भो ? भारत र नेपालको एउटै दार्शनिक बाटो हुन्छ भन्ने पनि त छैन नि । यसरी धमाधम नामपरिवर्तनको महान् क्रान्तिमार्गमा कङ्गारुजस्तो उफ्रिरहेको सरकारलाई केही गरेन भन्नु कहाँसम्मको अबोध, बालापन र गैरराजनीतिक बुझाइ हो ? जुनसुकै काम गर्दा पनि सुरुमै नाम अघि सर्छ । नाम दर्ता नगरी न पढ्न पाइन्छ, न जागिर खान पाइन्छ, न संसदमा उम्मेदवार बन्न पाइन्छ, न त कुनै विकास र अन्य कारोबार नै गर्न सकिन्छ । त्यसकारण नामपरिवर्तन नगरी नयाँ सरकारको नयाँपन चाहिँ कहाँबाट आउँछ ? नयाँ काम गर्न के पुराना मानसिकता भएकाले दिन्छन् र ? नाम फेर्नुजस्तो सजिलो, सरल र आवश्यक प्रगतिशील काम अरु के नै छ र ? सरकार दृढ भएर नामपरिवर्तनको योजनामा लागिरहेको बेला पुराना मानसिकता भएका, परिवर्तन नचाहने, इतिहासलाई काखी च्यापेर भजन गाउन मात्र चाहनेहरूले विरोध गर्नुको एकपैसे अर्थ छैन । बरु यो कामलाई भित्रैदेखि सहयोग गर्न सारा लेखक, बुद्धिजीवी, समीक्षक–समालोचक, नेता, कार्यकर्ता, तालीपिटुवादेखि समाजका हरेक तह र तप्काका महान् व्यक्तिहरू मिलेर सरकारको नामपरिवर्तनको योजनालाई अझ वैज्ञानिक, समाजमुखी, गतिशील र युद्धस्तरमै लैजानु पर्छ ।

देशमा व्यवस्थाको परिवर्तन आइसक्यो–संवैधानिक राजतन्त्रको नाम फेरिएर खाली मैदानिक भइसक्यो, व्यवस्थाको नाम फेरिएर संघीय लोकतान्त्रिक गणतन्त्र भइसक्यो (यद्यपि व्यवहामा गनतन्त्र भए पनि त्यसको पर्वाह केही समय नगरौँ), जनगणतन्त्रको नाम फेरिएर जनताको लोकतान्त्रिक गणतन्त्र भइसक्यो । यसरी जताततै फ्युजन भएको देख्दादेख्दै पनि पुरानै नाममा बाँच्न खोच्नु सभ्यतामाथिकै प्रहार हुन्छ । अब बरु छिटोछिटो राणाकालका नाम, पञ्चायतकालका नाम, प्रजातन्त्र कालका नाम र अन्तरिम कालका नामहरू परिवर्तन गरेर नयाँ नमकरण गर्न ढिलो भइसक्यो । जनतालाई प्रत्यक्ष रुपमा लाभ दिने भनेकै नयाँ नामको स्थापना हो । भोलि अर्को व्यवस्था आउँदा उसले अर्कै नाम राखिहाल्छ । आज आफ्नो शक्ति, आफ्नै भक्ति भएका बेला नाम नफेरे पछि निकै पछुताउनुपर्छ । नाम फेर्न जत्ति सजिलो र छिटो गर्न सक्ने क्रान्तिकारी कदम अरु के छ र ? नाममा पनि जन जोडिदिए भइहाल्छ । काममा जन हुनुनहुनु त दोस्रो कुरा हो । अब छिट्टै त्रिविको नाम फेरिनेछ, गणतन्त्र आइसकेपछि पनि त्रिभुवन भन्ने नाममा विश्वविद्यालय चल्छ ? एउटा नगरपालिका त्यो पनि पृथ्वीनारायणको नामबाट राखिएको त नचलेर फेरियो भने त्रिवि, मसंविजस्ता विश्वविद्यालय कसरी चल्छन् ? ए साँची गणतन्त्र आएपछि खुब बसदुर्घटना भएको छ किनभनेको कहाँको गणतन्त्रमा पृथ्वीको नामबाट राजमार्गको नाम राखेपछि धन्न कसरी गुड्ने गाडीहरू ? उता महेन्द्र राजमार्ग पनि त्यस्तै छ । गाडी लुटिने समस्याले पीडित राजमार्गको नामै महेन्द्र भएपछि कतै स्वर्गीय महाराज महेन्द्रले अवतार फेरेर आएकाले त यस्तो भइरहेको छैन ? काठमाडौँमा रानीपोखरी माछा मर्नुको कारण पनि नामै पुरानो र राजपरिवारको भएर हुनसक्छ । त्यसलाई पनि परिवर्तन गरी जनपोखरी राख्ने कि ? त्रिभुवन विमानस्थलमा व्यापक भ्रष्टाचार भएको पनि नामैले हो कि भन्ने गम्भीर शंका छ ।
यसउसत्यस कारणले सरकारको ध्यान जो नामपरिवर्तनमा लागेको छ, त्यसलाई आम नागरिकले सहयोग गर्नुपर्छ । नामै आफूअनुकूल छ भने विकासनिर्माणका काम त स्वतः भइहाल्छ नि ।

नलाङ, धादिङ

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 4 माघ, 2067

लेखकका अन्य रचनाहरु