बल्ड्याङ खानुको मजा

- नरनाथ लुइँटेल

‘एक ठक्कर खाँदा सात बुद्धि पलाउँछ’ भनेको सुनिन्थ्यो तर यो कुराले पनि हावा खाइसकेछ । उहिलेका कुरा खुइलिए, अहिलेका कुरा फैलिए । ठक्कर र ठेसको कुरै नगरौं, अहिले त मान्छे भन्ने जन्तुको तन्तु सात बल्ड्याङ्ग खाँदा पनि एक बुद्धि नपलाउने भइसक्यो । मानिसको जात कहलाएको यो दुईखुट्टे जनावरलाई अहिले संसारको सबैभन्दा बढी बुद्धि भएको सर्वश्रेष्ठ प्राणी भनिन्छ तर यसैको हालत यस्तो छ । झन् प्रवृत्ति कस्तो छ भने बल्ड्याङ्ग खाएर तीन कान्ला तल खँदारिएको छ, कसैले “होइन तँ त लडिस् कि क्या हो” भन्यो भने अररो–अररो हुँदै जुरूक्क उठ्छ र धूलो टक्टक्याउँदै उल्टै भन्छ– धत्तेरिका म कहाँ लडेको हुँ र ? म जस्तो जवाँमर्द मान्छे पनि कहीँ लड्छ ? बरु तपाईंको आँखा र चस्माको पावर घटबढ भएको हो कि ? परेन फसाद, सोध्ने मनुवाले पो लाजले रातो मुख लगाउनु पर्दछ ।

बल्ड्याङ्ग खाँदाको स्वाद काँचो टिम्मुर खाँदाको भन्दा ओठ–मुख बढी पर्पराउने खालको हुन्छ । मनस्थितिको कुरै नगरौं, अनुहारले नै सबै कुरा बताइरहेको देखिन्छ । बल्ड्याङ्ग अरूअरू प्राणीले पनि खान्छन् तर मान्छेले खाने बल्ड्याङ्गको भने भिन्नै महत्व रहेको छ । फेरि मान्छेहरू पनि हेर्नाका न छन् । कोही लाटा हुन्छन्, कोही हुन्छन् बित्पातका बाठा । जिब्रो छुराजस्तै लाग्ने भए पनि बुद्धिले अधिक गोज्याङ्ग्रो मानिस विलकुल लाटो हो । तर बोलीमा बक नफुटे पनि कोही हुन्छन् मन, ज्ञान र बुद्धिले अत्यन्त चलाख । यस्तालाई लाटो भन्नु मुर्खताको परिचय दिनु हो । उनीहरू हामीले भनिआएका ‘बाठा’हरू भन्दा धेरै गुना बढी बाठा हुन्छन् ।

यी लाटा र बाठाहरूकै प्रसङ्गमा यसो पनि भनिन्छ– ‘लाटो लड्छ एक बल्ड्याङ्ग, बाठो लड्छ तीन बल्ड्याङ्ग’ । लाटा मान्छे र बाठा मान्छेका बीच पनि यत्रो विधि अन्तर कसरी परेको हो कुन्नि ? लाटाले समेत एकपल्ट लडेपछि कुरो बुभ्mदछ– यसो गर्दा, यस ठाउँमा, यसरी लडिने रहेछ । यो सोझो कुरो बुझेपछि लाटो मान्छेको दिमागले सोझै अर्थ लगाउँछ र फेरिफेरि लड्नबाट आफूलाई जोगाउँछ । तर जो बित्पातको बाठो छ, अरु लाटा–गाँडालाई बाटो देखाउँने अगुवामा दरिएको छ, सबका सबलाई नलडी हिँड्न सिकाउँछ, त्यही मान्छे डङ्ग्रङ्ग लड्छ त्यो पनि एक बल्ड्याङ्ग होइन तीन–तीन बल्ड्याङ्ग । यस किसिमको बल्ड्याङ्ग लरतरो र चानचुने हुनै सक्दैन । आखिर बाठाहरू नै बढी बल्ड्याङ्ग खान्छन् कसरी ? खोतलेर जवाफ खोज्नुपर्ने प्रश्न नै यही हो ।

एकजना मनुवा हुनुहुन्छ यही देशका । प्रजातान्त्रिक आन्दोलनमा तीस वर्ष खर्लप्प खर्चिंदा खर्चिंदै उहाँका केश सेताम्य फुल्न थालेका छन् । छयालीसपछि प्रजातान्त्रिक परिपाटीको केन्द्रमै घुमिरहनु भएका उहाँ जस्ता सक्कली प्रजातन्त्रवादी नेताको त्याग तपस्या अरू जौडेजौडेहरूका निम्ति अनुकरणीय मानिदै आएको छ । उहाँ बाठाहरू मध्येका पनि अधिक बाठा हुनुहुन्छ । त्यसैले त होला उहाँ संसदीय प्रजातन्त्रका पछिल्ला आमुखमा समेत आरूढ हुनुभएको छ । वर्तमानमा प्रजातन्त्र समाप्त भइसक्यो भन्नेहरू पनि छन् । कोही भने कको प्रजातन्त्र मात्रै श्र लोकतन्त्र आइसक्यो भन्नेहरू पनि छन् । यो विवादपूर्ण विषयमा प्रवेश गरिरहनु परोइन ।

उहाँ जस्तो अधिक बाठो मान्छे पनि यसपाली बेस्वादसँग डङ्ग्रङ्गै लड्नु भयो । लडेर बल्ड्याङ्ग खाँदै तीन कान्ला तल पछारिएको मान्छे देखेर कोही मरी मरी हाँस्न थाले, कोही औधी माया पलाएर रून थाले । सहानुभूति व्यक्त गर्दै छेउमा पुगेका आफन्तजनलाई बकाइदा उहाँले हपार्नु भयो । लडेर लबेदा सुरूवालमा लागेको धूलो र अनुहारमा पोतिएको हिलो टकटक्याउनु भयो र खरो स्वर एवम् दह्रो शैलीमा घोषणा गर्नुभयो— कसैले मलाई तीन बल्ड्याङ्ग खाएर तीन कान्ला तल झरेको देख्यो होला, तर यो त भ्रम हो, विशुद्ध भ्रम । म लडेकै होइन बरू बडेको हुँ । तीन कान्ला तल झरेकै होइन बरू तीन कान्ला माथि चढेको हुँ । बल्ड्याङ्ग खाएपछि प्रायः मान्छेको मनोविज्ञान बदलिन्छ । यही मनोवैज्ञानिक परिवर्तनका कारण उसले आफूलाई लडे पनि बढेको देख्न थाल्छ । झरे पनि उक्लेको महसुस गर्छ । शर्मनाक हारलाई पनि जीतैजीतको स्वर्ग देख्छ र गालीका कोर्रालाई पनि तालीका पर्रा सम्झन थाल्छ । देख्नेका आँखा फुटे सुन्नेका सही । पाहा पछारिए झैं पछारिएर अररो भएको शरीर देख्नेहरूका आँखाले केवल भ्रम मात्र देखेका हुन् । उहाँ तीन कान्ला तल झरेको, पछारिएको बल्ड्याङ्ग खाएको यो सब केही होइन त्यस्तो देख्नु नै भ्रम हो ।

त्यसो त बल्ड्याङ्ग खानेहरू उहाँ मात्रै कहाँ हो र भन्या । उदाहरणमा उहाँ नै अगाडि पर्नुभयो । हाम्रो जस्तो देशमा बल्ड्याङ्ग खानेहरूको हूल नै छ । बल्ड्याङ्ग खाएर आफ्नो हुर्मत खुस्किए पनि अर्कालाई त्यस्तै बल्ड्याङ्ग ख्वाउन मौका ढुकेर बस्नेहरूको बथान नै छ । मौका पर्नासाथ उसले उसलाई पछारेको छ, दाउ हेरीहेरी उसले उसलाई लतारेको छ । मसलाका मरिचहरू र ऋतुका शरदहरू एक समयका गतिला बल्ड्याङ्गवीरहरू मानिन्थे । समयले कति चाँडो प्वाँख फेरेको हो कुन्नि । अहिले उनीहरूको फूर्तिफार्ती राम्रैसँग प्रकट भइरहेको छ । पर्दाभित्रका पुरुषार्थी बल्ड्याङ्गवाजहरू पर्दाभित्रैबाट कतिलाई बल्ड्याङ्ग ख्वाएर तीन कान्ला तल पछारिरहेका छन् भन्ने कुरा पनि कुनै न कुनै रूपमा प्रकट भइरहेकै छ ।

साँच्चै भन्ने हो भने हाम्रो इतिहास नै बल्ड्याङ्गै बल्ड्याङ्गको विवरण हो । एउटाले अर्कोलाई चीत नख्वाई सत्ताको भ¥याङ्ग उक्लिनै सकिन्न । मल्लकालीन इतिहास हेरौं वा राणाकालीन इतिहास पढौं । पृथ्वीनारायण शाहको एकीकरण अभियानको कुरा गरौं वा श्री ५ त्रिभुवनको दिल्ली गमन प्रसङ्ग सम्झौं । सबै बल्ड्याङ्ग खाने र बल्ड्याङ्ग ख्वाउने क्रियाकलापका वृतान्त बाहेक केही होइनन् । हाम्रा पूर्खाहरू बल्ड्याङ्ग खाएरै वीर कहलाएका हुन् । अर्काको देशमा गएर, अर्कैको निम्ति आफूले बल्ड्याङ्ग खाएर बहादुरीको पगरी लगाएका हुन् । जुन देशको इतिहास बल्ड्याङ्गको आडमा अडिएको छ, त्यो देशको वर्तमान बल्ड्याङ्गविहीन हुनै सक्दैन ।

अहिले हाम्रो राजनीति बल्ड्याङ्गग्रस्त बनेको छ । हाम्रो अर्थ–राजनीतिले बल्ड्याङ्ग खाएको छ । हाम्रो विकासले बल्ड्याङ्ग खाँदैछ । हाम्रो शिक्षा नीति र शैक्षिक गतिविधिले स्वादसँग बल्ड्याङ्ग खाइरहेको छ । भर्खरै एस्.एल्.सी.को परिणाम प्रकाशित भयो, ठूलो प्रतिशत परीक्षार्थीले बल्ड्याङ्ग खाए । यो मुलुकका हजारौं होनहार नागरिकहरूले बल्ड्याङ्ग खाएपछि मात्रै बुद्धिको बिर्को अलिकति खुल्यो र वार्ता शुरू भएथ्यो, त्यही वार्ताले पनि बल्ड्याङ्ग खाँदैछ । हाम्रो माटो नै यस्तै छ त हामी के गरूँ, धेरैले बल्ड्याङ्ग खाएर प्राप्त भएको हाम्रो लोकतन्त्रले बल्ड्याङ्ग खाँदैछ । बल्ड्याङ्ग खानु हाम्रो शौभाग्य हो । बल्ड्याङ्ग ख्वाउनु हाम्रो सभ्यता हो । स्वादमा जीरे खुसार्नी जतिकै पीरो होस् वा काँचो टिम्मुर जतिकै पर्पराउँदो होस् हामीले बल्ड्याङ्ग खानै पर्दछ । बल्ड्याङ्ग खानु हाम्रो धर्म हो, हाम्रो आफ्नै मौलिक संस्कृति हो । बल्ड्याङ्ग खानु र बल्ड्याङ्ग ख्वाउनु नै हाम्रो परम पौरख हो । त्यसैले आउनुस् हामी बल्ड्याङ्ग खादै बाँचौं र बल्ड्याङ्ग ख्वाउँदै हासौं ।

[email protected]
कलङ्की, काठमाडौँ

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 3 माघ, 2067

लेखकका अन्य रचनाहरु