नयाँ सालको जुत्ता

- चैतन्य अधिकारी 

नयाँ सालको संघारमा
एउटा खिन्न मान्छे जस्तै
ठिङ्ग उभिएको छ कोही
असमंजस, दोधारमा
लज्जा आधा अनुहारमा 
आशा आधा अनुहारमा

आफ्नो गोडामा लगाएको
फित्ते चप्पललाई देखाउंदै
ऊ भन्छ -
यो साल नयाँ बुटजुत्ता लाउँछु कि ?
दह्रो खुट्टा हिंड्न पाउँछु कि ?
पुरानो जुत्ता एम्बुशमा खस्यो
हिंडिरहेको बाटो हठात् धुवाँमा फँस्यो
नपत्याए हेर,
यी पैतालाभरि आगोले पोलेका डामहरू!

यसपालिको बुट जुत्ता
मागेर नपाउने खालको हो भनेका छन्
आफैंले सिलाउने खालको हो भनेका छन्
सिउनेहरु भने
पिउनेको आनन्दमा झैं मस्त देखिन्छन
सियोसंग खेलिरहेका भेटिन्छन
कतै घोचाघोच गरेर
रक्ताम्य पार्ने त होइनन जताततै ? 

यिनीहरुले नै हो,
यसपालिको बुट जुत्ता
टलकदार चमकदार हुन्छ भनेका, 
टाला टाला मिलाएर
छाला छाला मिलाएर
रंगीबिरंगी बन्छ भनेका,
तलुवा एउटै छालाको चाहिन्छ भन्ने पनि छन्
त्यस्तो कहाँ पाइन्छ भन्ने पनि छन्
उफ! लाउनेका भन्दा बनाउनेका सुर्ता !

नयाँ सालको संघारमा
घाउमा लगाउने टेप जस्तै
पटक पटक उप्काउँदै टाँस्दै गरेको
एउटै मात्र तिथि-मिति भएको
अरु कुनै चाडबाड नलेखिएको 
एउटा अनौठो क्यालेन्डर च्यापेर
कोही भनिरहेछ -
यो साल पनि
जुत्ता बनेन भने
असह्य हुनेछ मेरो पीडा...
बलजफ्ती घिसार्दै
कत्ति पो तन्काउन मिल्ला
यो काइते चप्पलको फित्ता ?

मलाई सोध्छौ भने ऊ को हो,
शायद त्यो मेरो देश हो ।

पोखरा

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 30 पौष, 2067

लेखकका अन्य रचनाहरु