शब्दहरुको रमाइलो मेलामा रमाउँदै

- किरणकुमार राई

अपत्यारिलो सन्देश
विषण्णता र खिन्नताको बादलबीच रुमल्लिरहेको बखत आश्चर्य र हर्षको सन्देश वहन गर्दै दिनाङ्क २१ अगस्त, २००८-को दिन मेरो हात पर्छ- साहित्य अकादेमी, मुम्बईका क्षेत्रीय सचिव के0 एस0 रावद्वारा हस्ताक्षरित ११ अगस्त, २००८ दिनाङ्कित `नर्थ ईस्टर्न एण्ड साउथर्न पोएट्री फेस्टिवल'-मा सहभागिताको निम्ति स्पीड पोस्टद्वारा पठाइएको निमन्त्रणा पत्र। पढ़ेर हेर्छु- विश्वास गर्नै गाह्रो पर्छ। अविश्वासको उत्ताउलोपनबाट फुत्किएर यथार्थताको धरातलमा ओर्ह्लन्छु- १३ र १४ सेप्तेम्बरको दिन साहित्य अकादेमीद्वारा बङ्लोरमा आयोजित भइरहेको कविता-उत्सवमा कविता पठनको निम्ति साँच्चै निम्त्याइएको रहेछु। एकाएक अवसादका बादलहरू फाट्दै गएर हर्षका वर्षाहरूले खड़ेरी परेको मेरो मनको खेत भिज्नपुग्यो। पतझड़ले स्याँट्ठै पारेका हाँगाहरूमा फेरि पालुवाहरू पह्लाएर आए। मन सिमलका भुवाझैं खुशी र आनन्दका आकाशमा रम्नथाल्यो। वरिष्ट नेपाली कवि राजेन्द्र भण्डारी पनि कविता उत्सवमा आमन्त्रित भएको कुरो जान्न पाएर खुशी झन दोब्बर भएको थियो मेरो।

सामलहरूको जोरजाम
भुट्भुटी उत्तिकै, छट्पटी त्यत्तिकै। निमन्त्रणालाई स्वीकार्नु जति सजिलो, आफूलाई मानसिक रूपले तयार पार्नु झन गाह्रो। पत्रमा आउजाउको खर्च,
बासको चाँजो सबै नै आयोजनकर्ताले बेहोर्ने कुरो लेखिएको थियो। हवाईजहाजबाट आउन-जान सकिने अनि सो व्यय अकादेमीले भुक्तान गर्ने कुरो
पत्रमा लेखिएको भए पनि आफूसँग चाहिएको मात्रामा रुपियाँ नभएको कारणले जानको निम्ति गुवाहाटीदेखि बङ्लोरसम्मको लागी एसबीसी एक्सप्रेस रेलको टिकट काटेँ अनि बङ्लोरदेखि गुवाहाटीसम्म फिर्ती यात्राको निम्ति हवाई जहाजको टिकट व्यवस्था गरिदिने अनुरोधसहित साहित्य अकादेमीका क्षेत्रीय सचिवलाई ई-मेल गरिदिएँ। साहित्य अकादेमीद्वारा मेरो अनुरोध स्वीकृत भएको ई-मेल प्राप्त भएपछि मैले ढुक्कको सास फेरेँ।

अब समस्या थियो कविता प्रस्तुतिको। दस मिनटको अवधिभित्र आफ्ना कविताहरू अङ्ग्रेजी अथवा हिन्दी भाषामा वाचन गर्नुपर्ने कुरो पत्रमा उल्लेख गरिएको थियो। आफूसित अङ्ग्रेजी अनि हिन्दी भाषामा अनुवाद गरिएका कविताहरू थिएनन। यो एउटा जटिल समस्या थियो मेरो निम्ति। आफूलाई मनपर्ने केही कविताहरू साथमा लिएर अनुवाद गर्नको निम्ति द्विविधासहित कम्मर कसेर बसेँ। दिउँसोको दुइ बजीदेखि बेलुकीको साढ़े छ: बजीसम्म चार घण्टा समय बितेको मैले पत्तै पाइनँ। चारवटा कविताका अङ्ग्रेजी अनुवादको खेस्रा तैयार पार्न सक्षम भैसकेको थिएँ। मेरा अनुवाद्का खेस्राहरू अङ्ग्रेजी भाषामा दखल भएका कोही एकजना रसज्ञलाई सुधार्नको निम्ति पुरयाइदिने अनुरोध गरी बेलुकीपख भाई मिलन बान्तवालाई फोन गरेँ। अनुवाद गरिएका कविताका केही पङ्क्तिहरू उनलाई सुनाएँ। अनुवाद सुनेर उनले मलाई खेस्रा सुधारको निम्ति पठाउने कुनै आवश्यकता नभएको कुरो जनाए। कवितालाई चिटिक्क पार्ने प्रयास गर्नथालेँ, शब्दहरुको समुद्रमा धेरैचोटि डुबुल्की मारेपछि मेरा कविताहरूले अन्तिम रूप प्राप्त गरे। अब मसित अङ्ग्रेजीमा अनुवाद भएका पाँचवटा कविताहरू रमाइरहेका थिए, कविताको नृत्यसितै म पनि झुम्नपुगेँ, रम्नपुगेँ।

अघि बढ़्छन पाइलाहरू
दिन बित्न कति समय लाग्दो रहेछ र! प्रतीक्षाको घड़ीले अन्तिम घण्टी बजाएपछि आखिर त्यो दिन आइपुगेरै छोड़्यो। ८ सितम्बर २००८ दिउँसोको बाह्र बज्नभन्दा केही बेरअघि तेजपुरबाट गुवाहाटीतर्फ हानिएँ। बेलुकी चार बजीतिर सेन्ट्रल ब्याङ्क जोनल कार्यालयमा कार्यरत कालेबुङका आत्मीय साहित्यकार दाजू मिङ लिवाङको गुवाहाटीको भाङ्गागढ़ स्थित निवासमा पुगें। दाजू मिङ लिवाङकी श्रीमती अर्थात भाउज्यू अनि दुइ छोराहरुको सामीप्य र न्यानो स्नेह्को ओढ़नीमा रात बिताएँ। बिहानपख पानी पर्दा केही सुर्तामा परेको थिएँ। रेलवे स्टेशन कतिबेला पुगिएला भन्ने आतुरी मनभरि थियो। ९ सेप्तेम्बरको बिहान पाँच बजी घरबाट सबैजना निस्केपछि एउटा अटोरिक्सामाचढ़ी गुवाहाटी रेल स्टेशन पुग्यौं। भाउज्यू र दुइ छोराहरुलाई अर्को रेलमा
चढ़ेर डिमापुर, नागाल्याण्ड पुग्नु थियो, दाजुलाई घर फर्की कार्यालय धाउनु थियो। प्रस्थानको निर्धारित समय साड़े छ: बजी बङलोर एक्सप्रेसले लामो
सिटी फुकेपछि रेलको दैलोमा उक्लेर उनीहरुलाई हात हल्लाउँदै रेलभित्र पसेँ। एउटा सुखद यात्राको आरम्भ भइसकेको थियो। वरिपरिका अपरिचित मुहारहरू नियाल्दै आफ्नो आसनमा थचक्कै बसेँ।

बङ्लोरदेखि केही टाड़ोमा अवस्थित दावानगिरिमा दन्त चिकित्सा शास्त्र अध्ययन गरिरहेका भाइ राहुल महेश्वरी, बङ्लोरमा कम्प्यूटर विज्ञान
अध्ययनरत डिमापुर, नागाल्याण्डका चारजना तरुणी ठिटीहरू सहयात्रीको रूपमा सटिएको बर्थमा छन। जसमध्ये एउटीको नाम मात्र मैले सोध्न र मनमा राख्न सकेँ, उसको नाम थियो तैबा। उनीहरूले मेरो यात्रालाई नीरस हुन दिएनन। अलीपुरद्वार स्टेशनमा भुटानदेखि भेल्लोर गइहेका भुटानी वृद्ध दम्पति
थपिए, उनीहरूसित नेपाली भाषामा बातचीत गर्दै, गफमा भुलिँदै यात्राले रमाइलोपनको अध्याय जोड़िदियो। यसरी ९ सेप्टेम्बरको दिन गुवाहाटीदेखि
बिहानको ६ बजी आरम्भ भएको रेलयात्रा ११ सेप्तेम्बरको दिन बङ्लोर सिटीमा पुगेर दिउँसोको २ बजी टुङ्गियो। रेलबाट ओर्ह्ली बङ्लोर रेलवे स्टेशनको
समीपमै रहेको बस अड्डा (म्याजेस्टिक)-देखि बस संख्या ३१४ बी-मा चढ़ेर झण्डै पैंतालिस मिनट गाड़ी गुड़ेपछि डीआरडीओ टाउनशिप पुगेर विभागीय
अराजपत्रित मेस-क्लबमा आरक्षित भएको कक्षमा थकित शरीरलाई बिसाउन पुगेँ। यसरी एक रात र भोलिपल्ट बिहानभरि त्यहीँ व्यतीत गरेर दिउँसो बाह्र बजेर पन्ध्र मिनट जाँदा बस अड्डातर्फ प्रस्थान गरेँ। बस अड्डाबाट एउटा अटोरिक्सा लिई रेस कोर्स रोडतिर हानिएँ।

१२ सेप्टेम्बर, २००८-को दिउँसो डेढ़ बजीतिर रेसकोर्स रोड स्थित होटल मौर्यमा आरक्षण गरिएको कक्षभित्र आफूलाई प्रवेश गराएँ। केही घण्टा होटलमा समय कटाएपछि चार बजीतिर समय कटनीको निम्ति छेवैको बजारमा चक्कर लगाउँदै जाँदा बृहत् पुस्तक पसल `स्वप्न बुक स्टल' पुगेँ। सुनियोजित ढङ्गमा राखिएका पुस्तकहरु अनि कम्प्यूटरीकृत व्यवस्था भएको पुस्तक पसलबाट मेरा सहकर्मीको निम्ति विज्ञानका तीन थान पुस्तक किनेँ। साहित्यका लोभलाग्दा पुस्तकहरु पनि मुस्काइरहेका थिए तर एउटै पनि पुस्तक किन्न सकिनँ त्यस दिन। होटलमा फर्केर आएपछि टीभी हेर्दै भोली प्रस्तुत गर्नुपर्ने
कविताहरुलाई एकपल्ट राम्ररी नियालेर हेरेँ। रातिको खाना मगाएर खाएपछि रातको साड़े नौ बजीतिर ईश्वरको स्मरण गर्दै आफूलाई सुकिलो बिछ्यौनामा
रातभरिको निम्ति लम्पसार पारिदिएँ।

तिर्सनै-तिर्सनाको आकाश
मैले हृदयमा स्थान दिएर राखेको एक प्रिय कविताकारको दर्शन पाउने तिर्सनाले छट्पटाइरहेको थिएँ लामो समयदेखि। बित्यो समय `समय बित्दैन'
कविताका सर्जक दाइ राजेन्द्र भण्डारीसित भेट गरी उनलाई नियाल्ने। १२ तारीख राती उनी कतिखेर आइपुगे मलाई थाहा भएन। उनी बङ्लोर आइपुग्दा म निद्रादेवीको काखमा पल्टेर सपनामा रमिरहेको थिएँ। भोलिपल्ट अर्थात १३ सेप्टेम्बर, २००८-को बिहानै उनीसित भेट भयो ब्रेकफास्ट टेबलमा।
पत्र-पत्रिकातिर, पुस्तकतिर उनको तस्वीर देखेको कारणले गर्दा उनलाई चिन्न गाह्रो भएन मलाई। उनको आवाजसित म परिचित थिएँ, किनकि उनीसित केहिचोटी मेरो फोनमा वार्तालाप भइसकेको थियो। उनलाई देख्नसाथ मन प्रफुल्ल भएर आयो। उनको सामीप्य पाउँदा म गजक्क बनेको थिएँ, नजिकबाट नियाल्न पाउँदा म फुरुक्कै भएको थिएं। धेरै दिनदेखि पालेर राखेको तिर्सना मेट्न पाएको थिएँ। उत्सवको समयभरि कविताकार दाइ राजेन्द्र भण्डारीको साथमा आफूलाई हिँड़ाउन, डुलाउन पाउँदा धन्य अनुभव गरेको थिएँ। समयको सीमितताले गर्दा उनको अन्तरलाई मनग्गे कोट्याएर हेर्ने अवसर पाइएन। तिर्सना अझै मेटिएको छैन, तिर्सनाको नीलो आकाश टाँगिरहेकै छ हृदयको एक कुनामा।

ब्रेकफास्ट गरेर केहीबेरपछि प्रतिनिधि कविहरू एवं अन्य अतिथिहरुलाई अकादेमीका कार्यकर्ताहरूले गाड़ीमा चढ़ाएर यवनिका प्रेक्षागृह पुरयाए। अति
सुन्दर एवं कलात्मक ढङ्गमा सुसज्जित प्रेक्षागृहमा विभिन्न भाषालाई प्रतिनिधित्व गर्दै आएका शब्दशिल्पीहरू भेला हुनथाले। केहीक्षणमा नै
प्रेक्षागृह वाङ्मयिक वातावरणमा परिवर्तित बन्नपुग्यो। साहित्यलाई जीवनका अभिन्न अङ्ग ठान्ने व्यक्तिहरुको उपस्थितिले प्रेक्षागृह प्रकाशमान
भइउठ्यो।

झलमल्ल बलिरहे शब्दका दीयोहरू
दिनाङ्क १३ सेप्तेम्बरको दिन निर्धारित समय अर्थात बिहानको दस बजे बङ्लोरको न्रुपटुङ्गा रोडस्थित यवनिका प्रेक्षागृहमा साहित्य अकादेमी,
मुम्बईका क्षेत्रीय सचिव के एस रावको उदघोषणासितै साहित्य अकादेमीका सचिव ए कृष्णमूर्तिको स्वागत भाषणद्वारा कविता-उत्सवको आयोजनको उद्देश्य व्याखा भयो। आफ्नो भाषणमा उनले उत्सवको माध्यमद्वारा ब्रह्मपुत्र, कावेरी, कृष्ण, गोदावरी नदीहरूको सङ्गम हुनगएको अनि पूर्वोत्तर भारतमा
साहित्यको निम्ति ठूलो भण्डार भएको कुरो बताए। भारत स्वतन्त्र भएपछि नै आधुनिक भारतीय साहित्यको उद्भव भएको यथार्थता दरशाउँदै उनले तेलुगु
साहित्यमा नारी कविता अनि कन्नड साहित्यमा सूत्रपात भएको दलित साहित्तबारे पनि जानकारी गराए। साहित्य अकादेमी, कन्नड भाषा परामर्श
मण्डलीका संयोजक सिध्दलिङ्ग पट्टनसेट्ठीले परिचय सम्भाषणमा सांस्कृतिक सम्बन्ध स्थापित गर्नुमा लेखकहरू, विशेषगरी कविहरुको महत्वपूर्ण
जिम्मेवारी रहेको मन्तव्य व्यक्त गरे। साहित्य अकादेमी, नयाँ दिल्लीका उपाध्यक्ष एस एस नूरले आफ्नो अध्यक्षीय भाषणमा साहित्यका विभिन्न
पक्षमाथि प्रकाश हाल्ने प्रयास गरेका थिए। अन्त्यमा `Let the poem grow inside you' अन्त्यमा भन्दै उनले पञ्जाबी कविता आवृत्ति गरेका थिए। कन्नड
भाषाका विद्वान् कवि एच एस वेङ्कटमूर्तिको विद्वतापूर्ण उदघाटन भाषणद्वारा आमन्त्रित वार्ताकार, कवि एवं श्रोताहरूको अभिषेक गरिएपछि
द्वि-दिवसीय कविता उत्सवको विधिवत उदघाटन भएको थियो। यसरी कविता-उत्सवको रूपमा सल्काइएको दीयोमा विभिन्न भाषाका सलेदो फेरिँदै गए, भावनाका तेल थपिँदै गए। दुइ दिनसम्म झलमल्ल उज्यालो भइरह्यो यवनिका प्रेक्षागृह। शब्दशिल्पीहरूले कविता भट्याइरहे आ-आफ्ना शैलीमा, देउसी खेलिरहे आ-आफ्ना भाकामा। कविता-उत्सव रमाइलो भइरह्यो। पाँच सत्रमा विभाजित कविता-उत्सवमा शब्दशिल्पीहरूले आ-आफ्ना छाती उघारो पार्दै घाउहरू, वेदनाहरु, दुःखहरू, हर्षहरू, आनन्दहरू शब्दरूपी नदीको माध्यमद्वारा प्रेक्षागृह जलमग्न बनाइरहे।

उदघाटन सत्रमा असमीया, अङ्ग्रेजी, कन्नड, तमिल र तेलुगु भाषामा क्रमैले देवप्रसाद तालुकदार, सिल्वानस लामारे, प्रतिभा नन्दकुमार, थिलगा बामा र
कोण्डपुडी निर्मलाले आ-आफ्ना भाषा लगायत अङ्ग्रेजी भाषामा कविता वाचन गरेका थिए।

असमीया कवि देवप्रसाद तालुकदारका शब्दहरु नाच्छन यसरी-
"How upon eyes ignorant of alphabets
The brilliant moonlight throngs
As if the bee would pass on something
To the flower
The sky is inviting the sea
The river-current is messaging
To its, both banks"
(अक्षर चिन्नै नसकिने तिम्रा दुइ आँखामा
जूनको चहकिलो उज्यालोले
कस्तो भीड़ पारेको
मानों भमराले साउती गर्नेछा
फूललाई
केही भन्नेछ
आकाशले सागरलाई
नदीको प्रवाहले
दुइ किनारलाई।)

तमिल कवयित्री थिलगा बामा शब्दहरूलाई यसरी सजाउँछिन-
"Writing is liberating
You said, and
Made me your friend
Your arm around my shoulder
You said
You are man, not woman."
(लेखनले मुक्ति दिलाइरहेछ
तिमीले भन्यौ, अनि
मलाई तिम्रो साथी बनायौ
मेरो काँधमा धाप मारेर
तिमीले भन्यौ
तिमी नारी होइनौ, पुरुष हौ।)

तेलुगु कवयित्री कोण्डपुडी निर्मला शब्दहरूलाई कविताको नदीमा यसरी बगाउँछिन-
"I thought I would get crushed
Having borne the heavy boulders of pain
I thought it would get alright
If I could bring up my children
Till they could at least beg by themselves."
(मैले सोचेकी थिएँ म पिसिनेछु
वेदनाका गह्रौं भारीहरू उमारेर
मैले सोचेकी थिएँ त्यही निको हुनेछ
तबसम्म मेरा नानीहरू हुर्काउन सक्नेछु
जबसम्म उनीहरू कमसेकम भिक्षा माग्ने लायक हुने छैनन।)

सोही दिन दिउँसोको बाह्र बजे प्रारम्भ भएको प्रथम सत्रको अध्यक्षता तमिल कवि सिरपी सुब्रह्मण्यमले गरेका थिए। तमिल कविताको वर्तमान स्थितिमाथि वार्ता प्रस्तुत गर्दै साहित्यकार के चेलप्पनले तमिल कवि सुब्रह्मण्यम भारतीद्वारा नै आधुनिक तमिल कविताको प्रारम्भ भएको जानकारी दिँदै आधुनिक तमिल कविता पाश्चात्य साहित्यबाट प्रभावित रहेको कुरो बताए। सो सत्रमा असमीया कवि हीरेन्द्रनाथ दत्त, कन्नड कवि चन्द्रशेखर ताल्या, विद्रोही मलयालम कवि रूपेश पाल, तमिल कवयित्री प्रतिभा जयचन्द, तेलुगु कवयित्री चिल्लरा भवानी देवीले आ-आफ्ना मातृभाषा सहित अङ्ग्रेजी भाषामा कविता आवृति गरेर श्रोताहरुलाई विमुग्ध बनाएका थिए।

असमीया कवि हीरेन्द्रनाथ दत्तका शब्दहरु यसरी प्रवेगिन्छन-
"My song is seed plant in the uterus of the inter-steller spaces
Gems filling the river-bed at night?
The waves undulate the earthern lamps
The wind makes the flames dance,
My songs are also versified
By thoughts of the public and my own individual speed
Although throughout the world
Arms practice for hitting the right target is going on."
(मेरो गीत अन्तरिक्षको गर्भमा रोपित एउटा बीज
जुनेली रातमा नदीको गर्भमा लुकिरहेको मणि-माणिक्य?
दीयोहरूलाई छालहरूले उफार्छन, पछार्छन
शिखाहरुलाई हावाले नचाउँछ
चारैतिर सठिक लक्ष्यभेदनको निम्ति अस्त्रको अभ्यास चलिरहेको भए तापनि
मेरो गीत मान्छेको रमिता र मेरो आफ्नै गतिमा छन्दोबद्ध छ।)

तेलुगु कवयित्री चिल्लरा भवानीदेवी ननिलु (चार हरफे तमिल कविता) अन्तर्गत
भावना व्यक्त गर्छिन-
"While in love
Her place was in his heart
After marriage,
Near his feet."
(जब उ प्रेममा थिई
उसको हृदयमै आसीन थिई
बिहेपश्चात,
उसको पैतालामै पुगी।)
"When I was a child
Mother was always mine
When I grew up
She belonged to my brother."
(जब म सानी थिएँ
आमा सधैं मेरी हुन्थिन
जब म ठूली भएँ
उनी मेरी भाइकी बन्नपुगिन।)

दोस्रो सत्र १३ सेप्टेम्बरको बेलुकी तीन बजे कन्नड विद्वान् चन्द्रशेखर कम्बरको अध्यक्षतामा आरम्भ भएको थियो। उक्त सत्रमा कन्नड कविताको वर्तमान स्थिति विषयमाथि कन्नड भाषाकी विदुषी श्रीमती एल जी मीराले तथ्यपूर्ण वार्ता प्रस्तुत गरेकी थिइन। सो सत्रमा स रघुनाथ र ललिता सिद्धबसवैया
(कन्नड), कुञ्जजरानी लोङ्जाम चानु (मणिपुरी), वीरन कुट्टी (मलयालम), फ्रान्सिस किरूबा (तमिल), एन लक्ष्मी पार्वती (तेलुगु) भाषी कवि-कवयित्रीहरूले आ-आफ्ना कविता आवृत्ति गरेका थिए। सोही सत्रमा मलाई पनि कविता वाचन गर्ने सुनौलो अवसर प्राप्त भएको थियो। आफ्नो पालो आएपछि मञ्चमा निर्भय उभिएको थिएँ म। कन्नड उच्चारणसहित श्रोताहरुमा नमस्कार जनाएपछि `पलायन मृत्युसितको' नेपाली कविताबाट वाचन आरम्भ गरेँ। मेरा कविता `पलायन मृत्युसितको', `छेकबार', `शङ्काका अनाम परिच्छेद्हरू',`बज्यूको दन्तेकथा' र `अस्पृश्यताको मुकुट'-को अङ्ग्रेजी अनुवाद Escape From Death, Fence, Chapters of Unnamed Doubts, Grandma's Fairytale, Crown of Untouchability एकपछि अर्को गर्दै आवृत्ति गर्नथालेँ। प्रेक्षागृहमा सन्नाटा छाएको थियो। श्रोताहरू प्रभावित भएझैं लाग्यो। मन पुलकित भइउठेको थियो। असमीया साहित्यका सुविख्यात कवि हीरेन्द्रनाथ दत्तले अति प्रभावित भई स्नेहपूर्वक आशीर्वाद छर्केर मेरो हौसला दोब्बर पारिदिएका थिए। उनको आशीर्वाद पाएर म साँच्चै गदगद भएको थिएँ।

मणिपुरी कवयित्री कुञ्जरानी लोङ्जाम चानुका भावनाहरू यसरी व्यक्तिएका छन-
"Their history is to be written down
In a tiny cell of wheels in multitudes
Of their time past, present and future
Shall be read by generations through ages;
Some will weep in the wail of woe
Other will ridicule by clapping hands
Their lips merely get pointed with human right
Yet women are not more than women!"
(उनीहरूको इतिहास लेखिनु छ
सयौंपल्ट घुम्ने चर्खाको सानो घेरोभित्र
उनीहरूको विगत, वर्तमान र भविष्य
भावी पिँढ़ीले युगौंसम्म पढ़्नेछन
कोही गहिरो दुःखमा रुनेछन
कोही उल्लाससहित थप्पड़ी मार्नेछन
उनीहरूका ओंठले फगत मानव अधिकार पुकार्नेछन
तरैपनि नारी फगत नारी नै रहनेछन।)

मलयालम कवि वीरन कुट्टी शब्दहरुमा यसरी अभिव्यक्तिएका छन-
"You entered me
as sun enters water
You left me
as dew from a leaf
Still I am grateful
for a while at least
You made this stillness
shine like a crystal."
(तिमीले मभित्र प्रवेश गरयौ
जसरी पानीभित्र घाम पस्नेगर्छ
तिमीले मलाई छोड़िदियौ
जसरी पातबाट शीत अल्पिदिन्छ
तरैपनि म कृतज्ञ छु
केहीबेरको निम्ति भएपनि
ऐना टल्केसरह
तिमीले यो ठोसपन ल्याइदियौ।)

तेलुगु कवयित्री एन लक्ष्मी पार्वती जन्म, मृत्यु र जीवनबारेका रहस्य यसरी खोल्छिन-
"That's why
Birth is an agony
Death, much more agony
Life in between, the biggest agony!"
(त्यसैले, जन्म पीड़ा हो
मृत्यु झन ठूलो पीड़ा
दुवैबीच झुलिरहेको जीवन, सबैभन्दा ठूलो पीड़ा!)

पहिलो दिनको कार्यक्रम समाप्तिपछि होटेलमा फर्केर केहिबेर विश्राम ग़री दाइ राजेन्द्र भण्डारी र म साहित्य अकादेमीका उपाध्यक्ष एस एस नूरको कक्षमा पुग्यौं। कन्नड भाषाका विद्वान् साहित्यिक एवं साहित्य अकादेमीका कन्नड भाषा परामर्श मण्डलीका संयोजक सिद्धलिङ्ग पट्टनसेट्टी र उनकी
श्रीमती बातचीतमा मग्न थिए। हामी पनि सो बातचीतमा सामेल भयौं। लेशमात्र पनि आडम्बर नभएका विद्वान नूरका मुखारबिन्दबाट टप्केका शब्दहरु ग्रहण गर्न हामी चुकिरहेका थिएनौं। केहीबेर उनका ज्ञान-गम्भीर कुराहरूले आफ्नो मस्तिष्कलाई स्वच्छ तुल्याएर हामी नजीकैको बजारतर्फ हानियौं। अघिल्लो दिन नै मैले चहारेर आएको विशाल पुस्तक पसल `स्वप्ना बुक स्टल'-मा पुग्यौं। अभाग्यवश, हामी पुगेका के थियौं बुक स्टलको मूलद्वारको गर्भे तालामा चाबी लाग्यो। सो बुक स्टलबाट छानी छानी पुस्तक किन्न नसके तापनि फुटपाथमा थापेका पसलबाट ओरहान पामुक, किरण देसाई र सलमान रूशदीका
अङ्ग्रेजी उपन्यासहरू किन्नसकें। भण्डारी दाइले पनि दुइ-चारवटा अङ्ग्रेजी साहित्यका पुस्तकहरू किनेपछि हामी होटेलमा फर्किआयौं। रात्रि भोजमा सामेल भएर भोजन ग्रहण गरेपछि आ-आफ्ना कक्षतिर लाग्यौं। कक्षमा पसेर टी भी खोलें। टी भीका प्रायःजसो च्यानलमा दिल्लीमा भएको धारावाहिक बम विस्फोटको समाचार प्रसारित भइरहेको थियो। मानवको भेषमा लुकेका दानवहरूको पाशविक एवं
क्रूर क्रियाकलापले हाहाकार तुल्याएको दृश्य प्रदर्शित भइरहेको थियो टी भीको पर्दामा। ती दृश्यहरु धेरैबेर हेर्न सकिनँ मैले अनि उदास मन लिएर बिछ्यौनामा ढल्किएँ।

दोसो दिन अर्थात आइतबार, १४ सेप्टेम्बर,२००८ निर्धारित समय अथवा बिहानदस बजे कविता-उत्सवको तेस्रो सत्र विदुषी असमीया लेखिका करबी डेका हाजरिकाको अध्यक्षतामा प्रारम्भ भयो। विदग्ध असमीया साहित्यकार कबीन फुकनले उक्त सत्रमा आफ्नो वार्तापत्र `पूर्वोत्तर भारतमा कविताको
वर्त्तमान स्थिति' प्रस्तुत गरे। विषय पूर्वोत्तर भारतको कविता रहेको भएतापनि वार्ता असमीया कवितामाथि नै केन्द्रित थियो। सो सत्रमा कविता वाचन गर्ने कविहरू थिए- उथरीसरी के बसुमतारी (बोडो), सुमधिन्द्र नादिग (कन्नड), ए सी श्रीहरि (मलयालम), थेनाशरण (तमिल) र ए विद्यासागर(तेलुगु)।

बोडो कवि उथरीसरी के बसुमतारी आफ्नो कविताद्वारा व्यथा पोख्छन-
"Even today I'm a Beduin
A man with no identity
No one to repose my hope on
I'm a man with no identity
No one to recline my hope on.
In this city I've no kin
Yet I consider myself a part of it
I desire the well-being of this city!"
(अझैसम्म पनि म बेदुइन भएर छु यहाँ
परिचयहीन मान्छे भएर
मेरो आशालाई आश्रय दिने कोही छैनन
म मान्छे हुँ परिचयहीन
यो शहरमा मेरा कोही आफन्त छैनन
तरै पनि म आफूलाई यसको अङ्ग ठान्छु
यो शहरको सञ्चो-सुबिस्ता चाहन्छु।)

दिउँसोको बाह्र बजे शुरु भएको चौथो सत्रको अध्यक्षता साहित्य-लेखिका अम्बिका अनन्थले गरेकी थिइन। तेलुगु कविताको वर्त्तमान स्थितिबारे तथ्यपूर्ण गहन वार्ता प्रस्तुत गर्दै सी मृणालिनीले वैश्वीकरणले गर्दा
समाज र संस्कृतिमाथि अतिक्रमण भइरहेको यथार्थता दर्शाए। उक्त सत्रमा एस जी सिद्धरमैया, अनिथा थम्पी, राजेन्द्र भण्डारी र टी पलमलाई कन्नड, मलयालम, नेपाली र तमिल कविहरूले आ-आफ्ना मातृभाषा लगायत हिन्दी र अङ्ग्रेजी भाषामा कविता आवृत्ति गरेका थिए।

मलयालम साहित्यका सशक्त उत्तराधुनिक कवयित्री अनिथा थम्पी शब्दहरूको
बुट्टा कवितामा यसरी भर्छिन-
"A tree stands in my couryard
reduced to its bare body,
By the command of summer,
snow, rain and spring,
it has changed garments countless times."
(एउटा रुख मेरो आँगनमा उभिन्छ
आफूलाई पूरै नङ्ग्याएर
ग्रीष्म, शीत, वर्षा र वसन्तको आदेश सुन्दै
यसले असङ्ख्यचोटि चोला फेरेको छ।)

वरिष्ठ नेपाली कवि राजेन्द्र भण्डारीका शब्दहरूको चमत्कारिता यसरी देखापर्छ-
"As Dyer's gleaming car
cleaves through humanity
like Moses split the sea,
a bitter cocktail
of uneasy calm and fear permeates all around
Dyer responds to the trembling salutation
from his car window
at every suburb and every town."
(मोजेसले सागरलाई झैं जब उ भीड़लाई चिर्दै जान्छ
वातावरण भय र गम्भीरताको अनौठो ककटेल बन्छ
चम्किलो गाड़ीको खिर्कीबाट डायर नमस्ते थाप्दै हिड़्छ
गाउँ-गाउँ, शहर-शहर
डायर दिउँसो पद र गोपनीयताको शपथ खान्छ
राति त्यही पद्लाई ढाल बनाएर गोपनीयतालाई नङ्ग्याउँछ।)

पाँचौं अनि अन्तिम सत्र प्रारम्भ भएको थियो दिउँसोको अढ़ाई बजे मलयालम विद्वान् देश्मङ्गलम रामाकृष्णनको अध्यक्षतामा। मलयालम कविताको वर्त्तमान स्थितिमाथि तथ्यसमृद्ध वार्ता प्रस्तुत गरेका थिए विदग्ध साहित्यकार ई पी राजागोपालनले। सो सत्रमा आनन्द झुन्झुरवाड़ र सुकन्या मारूथी (कन्नड), पाताल कन्या जामतिया (कोकबोरोक), जुगेश्वर वाईकवा (मणिपुरी), पी एन
गोपीकृष्णन (मलयालम), कविग्नर परिणमम (तमिल) र के एस रमण (तेलुगु) कविहरूले कविता आवृत्ति गरी श्रोताहरुलाई विमुग्ध पारेका थिए।

कोकबोरोक भाषा पाताल कन्या जामतिया आफ्नो व्यथा शब्दको माध्यमद्वारा यसरी पोख्छिन-
"Blood of martyr turns into flower in forest
wanted to be most beautiful
But the tainted hand, distorted mind
Emitting venom to sabotage them.
All the promise, all dream, all the words
Lost their destination in midday."
(शहीदका रगत जङ्गलबीच फूलमा परिवर्तित भइदिन्छ
सुन्दरताको लोभ वरण गरेर
तर वज्रकठोर हात र दूषित मनले
विष ओकल्दै बाटो छेकिरहेका छन
अनि प्रतिज्ञा, सपना, शब्दहरूले
आधाबाटो पुग्दै गन्तव्य भुलेका छन।)

मणिपुरी कवि जुगेश्वर वाईकवा शब्दहरुमा वेदना यसरी पोखाउँछन-
"Junk and rust envelop souls
While ant eating bones
The threat of life breaking loose
When enemy of ency and jealousy steps in."
(आत्मामा कस लागेको छ
सेता कमिलाहरू हड्डी चुसिरहेका छन
जीवनै सिध्याउने चेताउनी देखा पर्छ
जब ईर्ष्या र इबीका शत्रुहरू भित्रिन्छन।)

तेलुगु कवि के एस रमण शाब्दिक रङलाई कलामा यसरी पोत्छन-
"Like the chicks
trooping out in the morn
from the dark canopy
of the cost basket
They step out at dawn
in search of grains
of sustenance."
(खोंगीको अँध्यारो सुरुङबाट एकाबिहानै
कुखुराका चल्ला लाम लागे झैं
उनीहरु एकाबिहानै निस्कन्छन
अमरताको अन्न खोज्न।)

अन्त्यमा, साहित्य अकादेमी, कोलकाताका क्षेत्रीय सचिव रामकुमार मुखोपाध्ययको विद्वतापूर्ण धन्यबाद भाषणपछि दुइ दिनसम्म चलिरहेको रमाइलो कवि-उत्सवको विधिवत समापन भएको थियो।

आकाशीयानमा पहिलो उड़ान
१५ सितम्बर, २००८। फिर्ती यात्राको निम्ति अनुरोध बमोजिम मेरो हवाई यात्राको टिकट व्यवस्था गरिदिएका थिए साहित्य अकादेमीबाट, जो मलाई अघिल्लो दिन अकादेमीकी अधिकारी मीना महाशयाबाट प्राप्त भइसकेको थियो। साहित्य अकादेमीको प्रबन्धनमा बिहान तीन बजे नै गाडी तैयार थियो। हामीलाई
चाँड़ै एयरपोर्ट पुग्नु थियो। कविता-उत्सवको निम्ति अत्याधिक खटाइले थकित तुल्याएको शरीर लिएर पनि साहित्य-अकादेमी, मुम्बई कार्यालयका क्षेत्रीयसचिव के एस राव निद्राको पर्वाह नगरी हामीलाई विदा गर्न भनी तीन बजे नै होटल मौर्यको मूलद्वारमा उपस्थित थिए। उनीसित विदा लिई हामी अर्थात
शिलाङ, मेघालयका सिल्वानस लामारे, मणिपुरका जुगेश्वर वाईकवा र कुञ्जरानी लोङ्जाम चानु, थिरूवनन्थपुरमकी अनिथा थम्पी अनि म दुइ महीना अघिमात्र उदघाटन भएको अन्तर्राष्ट्रिय हवाईअड्डातर्फ प्रस्थान गरयौं। गाडीले हामीलाई बिहान चार बजे नै हवाईअड्डा पुरयाइदियो। साँच्चै, बङ्लोरको हवाईअड्डा पुग्दा बेग्लै संसारमा प्रवेश गरेको छु भन्ने अनुभव भयो। किङफिसर एयरलाइन्सको काउण्टरमा सामान जिम्मा लगाईं बोर्डिङ पास लिएपछि स्वचालित सिँढ़ीबाट माथिल्लो तलामा उक्लेर लाउञ्जमा शरीरलाई आरामसित ढल्काउँदै रमिता हेर्नथालें। विभिन्न गन्तव्यतिर प्रस्थान गर्नलाई प्रतीक्षारत यात्रीहरू, हातमा ब्याग बोकेर ओहोर-दोहोर गरिरहेका एयर होस्टेसहरू, एयरलाइन्सका अन्य कर्मचारीहरू, सुरक्षाकर्मीहरू आ-आफ्नै धुनमा छन। साथमा लामारे, वाईकवा र चानु पनि छन मसित। अनिथा थम्पी केहीबेर कहाँ थिइन कुन्नि, अहिले क्यान्टिनमा चिया पिइरहेकी देखिँदैछिन। चियाको पर्व सकिएपछि उनी हाम्रो समीप नै सामानहरू लिएर लाउञ्जमा थचक्कै बसिन। कोलकोता प्रस्थान गर्ने हवाईजहाज उड़ानको घोषणा भएपछि वाईकवा र चानु हामीसित विदा लिई सुरक्षाद्वारतिर अघि बढ़ेर गए। हाम्रो हवाई-यात्राको समय अझै डेढ़ घण्टा बाँकी नै थियो।

केही टाड़ोमा लाउञ्जमा बसेर पुस्तकमा आँखा डुलाउँदै बसिरहेकी अन्तरमुखी स्वभावकी मलयालम साहित्यकी कवयित्री अनिथा थम्पीसित बसेर उनको अन्तर्मन कोट्याउने मनसाय प्रकट भयो। उनको आसन नजिक पुगें म। कविता-उत्सवमा उनले आवृत्ति गरेकी कविताको प्रसङ्ग उठाएँ। रूखकटहरलाई प्रतीक बनाएर लेखिएको कविता `Fruit, as it is' पनि आवृत्ति गरेकी थिइन। उनले सो कविता सिर्जना हुनुको रहस्योदघाटन गरिन। सो कवितामा नारीको व्यथा चित्रित भएको छ भन्ने कुरो उनले मलाई विस्तारपूर्वक बताइन। मैले नाम जानेको मलयालम साहित्यका प्रख्यात साहित्यकार एम् टी वासुदेवन नायरको कुरो झिकें। मलयालम एवं अङ्ग्रेजी साहित्यमा समानरूपले कलम चलाउने लेखिका कमला दासको मैले नाममात्र उच्चारण गरेको थिएँ, उनको मुहार उज्यालो भएर आयो, आँखाहरूमा
ज्योति चम्कियो। धेरै दिनदेखि पढ़्नलाई उत्सुकता पालेर बसेको कमला दासको निर्भीक कलमद्वारा सृजित कृति `My Story' खोजेर पाउन नसकेको कुरो उनलाई प्रकट गरें। सो कृति केरल राज्यमा यत्रतत्र उपलब्ध भएको अनि चाँड़ै पठाइदिने आश्वासन उनले दिइन।

असमको प्रसङ्ग निस्कनसाथ उनले आश्चर्यचकित तुल्याई मेरा एक प्रिय असमीया कवि जीवन नरह्को उल्लेख गरिन, जोसित उनको बन्धुत्वमय मधुर सम्बन्ध रहेको कुरो पनि जाहेर गरिन। जीवन नरह असमीया साहित्यका एकजना यस्ता सम्वेदनशील कवि हुन, जसका प्रत्येक शब्दहरुमा जीवन र जगतका कुराहरु अँटाएका हुनेगर्छन, कवितामा आबद्ध रहेका उनका शब्दहरूले हृदयको अन्तरतम तहसम्म पुगेर हल्लाइदिने गर्छ। साँच्चै, शब्दको माहात्म्य, शब्दको गरिमा अपार छ।
बिरानो मुलुकमा बास गर्ने, अपरिचित भाषामा बोल्दै जिउने बेग्लाबेग्लै व्यक्तित्वमाझ भावनात्मक साइनो गाँसिदिनसक्ने क्षमता छ शब्दमा।

बातचीतको धुनमा समय बितेको पत्तो भएन बिहानको छः बजिसकेको सूचना भित्तामा टाँगिएको घड़ीले दिइरहेको छ। अनिथालाई त्रिवेन्द्रम पुग्नु छ। उनको हवाईजहाजको उड़ान र हाम्रो हवाईजहाजको उड़ानमा अन्तर दस मिनटको छ। हाम्रो हवाईजहाजको बोर्डिङ हुने घोषणा भएपछि अनिथासित हात मिलाई विदा लिएर सुरक्षाद्वारमा तैनाथ रहेका एयरलाइन्सका कर्मचारीले यावतीय कागज-पत्र जाँचेपछि अघि बढें। परिचारिकाहरूको मुस्कानमिश्रित अभिवादन स्वीकार्दै जीवनमा प्रथमचोटि हवाई-यानभित्र आफूलाई सुटुक्कै प्रवेश गराएँ। मेरा सहयात्री भाषाविद सिल्वानस लामारे अघि नै आएर आफ्नो आसनमा विराजमान
भइसकेका थिए। उनैको छेउमा आरक्षित आफ्नो आसनमा आफूलाई ढल्काएँ। केहीबेरपछि सोही एयरलाइन्सका कर्मचारी मनिपुरवासी वीरमोहन सिंहले पनि छेवैको आसन दखल गरे।

निर्धारित समय अर्थात बिहानको छः बजेर तीस मिनट जाँदा हवाईजहाज बङ्लोरको
जमीनदेखि आफूलाई पृथक पार्दै आकाशी मार्गमा गतिमान भयो। भुतललाई छोडेर
आकाशमा उड़्न पाएको मेरो निम्ति पहिलो अवसर थियो। रातो यूनिफर्ममा
सुसज्जित परिचारिकाको आपातकालीन सुरक्षा सम्बन्धी जानकारी सहित हवाईयानले
आकाशमार्गमा गति पक्र्यो। आसनअघि भएको प्रदर्शन पटलमा हवाईयानको गति,
ऊँचाई, गन्तव्य समयको जानकारी एकपछि अर्को गर्दै प्रदर्शित भइरहेको थियो।
परिचारिकाहरूको चहलपहल आरम्भ भइसकेको थियो हवाईयानभित्र। यात्रीहरूमाझ
हेडफोन र कलम भएको प्याकेट उपहारस्वरूप वितरण गर्ने परिचारिकाहरू व्यस्त
देखिनथाले। ब्रेकफास्टको मेन्यु हात-हातमा थमाएपछि केहीबेरमा ट्रलीमा
शाकाहारी अनि मांसाहारी भोजनहरू ठेल्दै यात्रीहरूको आसन नजिक आएर विनम्र
आवाजमा सोध्दै परिचारिकाहरूले ट्रेमा वितरण गर्नथाले।

हवाईयान बादलको प्रदेशलाई अतिक्रमण गर्दै माथि-माथि उड़्नथाल्यो।
समुद्रतलदेखि सात हजार र एघार हजार मिटरको ऊँचाईबीच हवाईयान उड़िरह्यो।
यानको खिर्कीबाट तलतिर हेर्दा बादलहरूलाई सेता भेड़ाहरू चरिरहेका झैं
देखिन्थे। एक घण्टापछि अर्थात बिहानको ठीक सात बजेर तीस मिनट जाँदा
हवाईयानको हैदराबाद हवाईअड्डामा अवतरण भयो। गन्तव्य हैदराबादसम्म भएका
यात्रीहरू ओर्ह्लेपछि हैदराबाददेखि कोलकोता एवं गुवाहाटीतर्फ प्रस्थान
गर्ने यात्रीहरूको प्रवेश एवं यानभित्र सुरक्षा जाँच भइसकेपछि आठ बजेर
पाँच मिनट जाँदा विमान हैदराबादको जमीनलाई विदा गर्दै फेरि आकाशतर्फ गमन
भयो। बिहान छिटो उठ्नुपरेको कारणले गर्दा केहीबेर भुसुक्कै निदाउन
पुगेछु। निद्राबाट ब्यूँझेपछि फेरि घरी यानभित्रका चहलपहल, घरी खिर्कीबाट
बाहिरको दृश्यमा आफूलाई मग्न तुल्याउन थालें। हुगली नदी कसैको
हस्तक्षेपबिना आफ्नै गतिमा बगिरहेको दृश्य देखेपछि कोलकोता पुग्नलागेको
सङ्केत पाएँ। यसरी दुइ घण्टा दश मिनटसम्म आकाशमा विचरण गरेपछि
समुद्रतलदेखि १०० मीटर ऊँचाईमा अवस्थित कोलकोताको सुभाषचन्द्र बोस
अन्तर्राष्ट्रिय हवाईअड्डामा बिहानको दश बजेर पन्ध्र मिनट जाँदा
ओर्ह्लियो। कोलकातासम्म गन्तव्य लिएका यात्रीहरू ओर्ह्लिएपछि सुरक्षा
जाँच अनि कोलकोतादेखि गुवाहाटीसम्मका यात्रीहरूले प्रवेश गर्दा चालीस
मिनट व्यतीत भएपछि दश बजेर पचपन्न मिनटमा हवाईयानले कोलकोतालाई बिदा
गर्दै गुवाहाटीतर्फ प्रस्थान गरयो। उही दृश्य, बादलहरूको नृत्य अवलोकन
गर्दै कोलकोतादेखि एक घण्टा पाँच मिनटको यात्रा अर्थात बङ्लोरदेखि साँड़े
पाँच घण्टाको हाम्रो यात्रा दिउँसोको ठीक बाह्र बजे गुवाहाटी हवाईअड्डामा
आएर टुङ्गियो।

हवाईयानबाट ओर्ह्लेपछि एयरलाइन्सको बसले निकास द्वारसम्म ल्याएर
छोड़िदियो। आफ्नो सामान जिम्मा लिएपछि हवाईअड्डादेखि फुत्त बाहिर निस्केको
के थिएँ, दिउँसोको घामको गर्मीले शरीरलाई झ्वाम्मै छोप्यो। गुवाहाटी
eएयरपोर्टदेखि ट्याक्सीद्वारा बस अड्डामा पुगेर तेजपुरको लागी बसमा आफ्नो
सीट आरक्षण गराएँ। दिउँसोको दुइ बजे बसले गुवाहाटीबाट प्रस्थान गरयो।
साँझ सात बजे बसले मिशन चाराली, तेजपुरमा उतारिदिएपछि अटोरिक्शा लिई
सरकारी क्वार्टरमा आइपुग्नसाथ मेरो यात्राले विराम लियो। थकित, तर मिठो
अनुभव लिएर निद्रादेवीको काखमा आफूलाई लम्पसार पारिदिएँ।

बङ्लोरमा सम्पन्न द्विदिवसीय कविता-उत्सवको रमझमले मेरो अन्तरमा सुखद अविस्मरणीय छाप कोरिदियो। साहित्य अकादेमीले प्रदान गरेको सौहार्द्धमय निमन्त्रण, न्यानो आतिथ्य अनि सम्मानको कदर र यस्तो महत्वपूर्ण अवसरको निम्ति मेरो नाम अनुमोदन गरेबापत साहित्य अकादेमीका नेपाली परामर्श मण्डलीलाई अन्तरबाट कृतज्ञता ज्ञापन गर्दै रोजीरोटी एवं जीविकाको खातिर आफूलाई पुन दैनिक एवं नैमित्तिक कार्यमा सामेल गराएँ।

अन्त्यमा कविता-उत्सवको सम्झनासहित सो उत्सवमा पठित मेरो एउटा कविता अङ्ग्रेजी अनुवादसहित उद्धृत गर्दै यो लेखको बिट मार्दछु।

पलायन मृत्युसितको

प्रत्येक साँझ लखतरान देहलाई
उराठिला क्षणका लट्ठी टेकाउँदै
आफ्नै लाश काँधमा बोकाएर
श्मसानघाट प्रवेश गर्छु
अलिकति जीवन बाँकी नै छ कि?
छामिहेर्छु,
घुटुक्क थुक निल्छु,
मन्द गतिमा चलेको ढुकढुकी सुन्छु
अहँ,
यमराजको द्वार राम्रोसित ढप्काएको देख्दिनँ
सुटुक्कै भागेर जिन्दगीतिर फर्किआउँछु।

Escape From Death

Every evening, a tired body
With walking sticks of dejected moments
Carrying Corps of my own in shoulder
I enter the crematorium
Few hope of life is there?
I try to sense it
I see rays of little hope
I feel mild heartbeat
No,
The door of yamaraj has not shut down properly
I run out slowly towards life.
साभार- स्रष्टा(अङ्क-६२)

दार्जीलिङ, हाल: तेजपुर, असम (भारत)

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 29 पौष, 2067

लेखकका अन्य रचनाहरु