आत्मालापमाथि आत्मालाप

- इन्दिरा प्रसाईं

आदरणीय भिनाजु,
नमस्कार
पृष्ठभूमि:-
सर्र्वप्रथम हामीबिच गाँसिएको यो साइनोकै म व्याख्या गर्छु है भिनाजु, आपूm पनि लेखनकै क्षेत्रसँग सम्बद्ध भएका कारण मैले तपाईंसँग साहित्यिक नाता नै लगाउनुपर्ने हो । त्यसो त रगतको नाता भन्दा मायाको नातालाई प्राथमिकता दिने मैले तपाईंसँग किन नाता लगाएँ मलाई नै थाहा छैन । सायद तपाईंको व्यक्तित्वको रापले प्रभावित मेरो मानस तपाईंसँग यसरी नाता पर्गेल्नमा नै रमायो कि !

भिनाजु ! हुनत जुन नाताको फेर समातेर तपाईंलाई ‘भिनाजु’ भनेर सम्बोधन गरेकी छु ती दिदीसँग मेरो दोहोरो वार्ता भएको पनि मलाई सम्झना छैन । उहिल्यै मेरी आमाकी सानिमाकी छोरीका दुईतिनओटी छोरीहरूका बिहेमा मलाई नै साथमा लैजानुहुन्थ्यो । त्यसबेला विराटनगरको पोखरियास्थित आचार्य निवास मेरो बाल्यावस्थाको निकै रमाइलो घर थियो । स्त्रीजन्य भावनाले रमरम मेरो बाल्यावस्थाको त्यस बिहेघरको भोज र रमझमका केही झिल्का अहिले पनि मेरा स्मृतिमा छन् । त्यस घरको कुनैकुनै बिहेमा त म रातरातभर पनि बसेकी छु । अहिले सम्झँदा हाँस उठ्छ, मिथ्यामा बिताएको त्यो समयका लागि आफैलाई गिल्ला गर्न पनि मन लाग्छ । तर अबोध बाल्यावस्थाको रमाइलो क्षण थियो त्यो । अब त्यसरी कहाँ रमाउन सकिन्छ र ! धन्न त्यसरी रमाउन पाएँ पनि लाग्छ एकमन । जे होस्, यसरी आचार्यहरूको त्यस परिवारसँग बाल्यकालमै आफन्तको टाँचा मेरो मनमा पर्न गएको थियो ।

अझ अर्को महत्वपूर्ण कुरो पनि छ ः मेरा दिवङ्गत बुबाद्वारा (गणेशप्रसाद शर्मा, जसलाई त्यसताका पूर्वाञ्चलको विद्यार्थीवृत्तमा नै हिस्ट्री सर वा दारीवाला सर भनेर चिनिन्थ्यो) ज्यादै प्रशंसा गरिएकी दुर्गा आचार्यलाई मैले सधैँ त्यसैरूपमा मात्रै स्मरण गरिरहेँ । म केटाकेटी हुँदा ‘आज दुर्गालाई पुलिसले लछार्दै र पछार्दै लग्यो, बढो साहसी केटी हो त्योÒ आज दुर्गाले भाषण गरेकी थिई, त्यो केटी मेधावी पनि छ,' केटी मान्छे भएपछि त्यस्तो हुनुपर्छ।’ दुर्गा दिदीका सन्दर्भमा प्रजातन्त्रका हिमायती मेरा बुबाले भन्नु भएका यी कुराहरू त्यसबखतको मेरो बालमनोजगत्का लागि निकै लोमहर्षक पनि थिए । जसले गर्दा दुर्गा दिदी मेरा मानसमा आजीवन सोही जुधारू व्यक्तित्वका रूपमा स्थापित हुनुभयो । अझ साँच्चै भनौँ भने उहाँसँग कहिल्यै साहचर्य गर्न नपाए पनि उहाँको व्यक्तित्व मेरा लागि केटाकेटीमा खाएको मिठो खानेकुरा जस्तै मृदु स्मृतिमय हुन गयो । उहाँका परिवारमध्ये गङ्गा दिदीसँग उहाँकै विद्यार्थीकालमा केही पटक भेटघाट भएको हो । दाजु महेश आचार्य र म महेन्द्र मोरङ क्याम्पसमा नेपाल विद्यार्थी सङ्घका तर्फबाट एकै पटक सभापति र कोषाध्यक्ष पदका प्रत्यासी भएर पराजित पनि भएका हौँ । ज्योति आचार्य चाहिँ मेरा सहपाठी पनि हुन् ।

महेश दाइ मन्त्री हुँदा पनि उहाँसँगको प्रत्येक भेटघाटमा मैले उहाँबाट पाएको आत्मीय व्यवहार मेरा मानसमा कुँदिएको नै छ । सायद यिनै पृष्ठभूमिका कारण म तपाईंसँग चाँहदा नचाहँदा पनि नाताको सेरोफेरोमा बाँधिन रुचाएँ होला । तपाईं र दुर्गा दिदीको बिहे भएपछि तपाईंहरू विराटनगरमा आउनुहुँदा ज्योति छुरा प्रहारले घाइते भएर कोसी अञ्चल अस्पतालमा भर्ना भएका थिए । मैले तपाईंलाई पहिलो पटक त्यहीँ अस्पतालमा देखेकी थिएँ ।

थाहा छ भिनाजु ! तपाईंको यो आत्मालाप नपढुन्जेलसम्म त मलाई तपाईंसँग नाता लगाएर गल्ती गरेँ कि जस्तो पनि लागेको थियो । हुन पनि मसँग नातागोताको कमी पनि छैन । परिवार नियोजनको आविष्कार नभएका युगका मेरा आमापट्टिका र बाबुपट्टिका बगे्रल्ती नातागोताहरू चिनेर चिनिसक्नु पनि छैनन् । जो चिनिँदैनन् तिनको कुरा आफ्नै ठाउँमा छ र आपूmलाई निकै मै हुँ भन्ने नातागोतासँग नाता लगाउन मलाई मन पनि पर्दैन । तर यो किताब पढ्दापढ्दै मलाई तपाईंप्रति श्रद्धा पलाएर आयो । अनि त्यसपछि चाहिँ मलाई तपाईंसँग नाता गाँसेकामा गर्व पनि लाग्यो । त्यसो त हो कि होइन जस्तो यस्तो नाता तपाईंसँग गाँसे पनि नगाँसे पनि तपाईंको लेखकप्रति म पाठकले गर्व गर्ने वास्तविक धरातललाई कसैले छेक्न सक्दैनथ्यो । लेखक र पाठकको जस्तो घनिष्ठ र महत्वपूर्ण नाता अरू रगतकै नाता पनि हुन्छन् जस्तो मलाई चाहिँ लाग्दैन । तरैपनि मेरा बुबाले चिनाएकी र सम्मान गरेकी जुधारू व्यक्तित्व दुर्गा आचार्यका पति हुनुभएका तपाईंसँग मैले आफैले रहर गरेर गाँसेको सो नाताप्रति सम्मान गर्दा पनि मलाई आत्मगौरव भएको छ । भैगो, तपाईंलाई यी नातापाताका कुराले झर्को पनि लाग्यो होला, यसलाई यतै बिसाऊँ है । कुनै दिन फुर्सतमा मनलागे फेरि पनि खोतल्ने उपक्रम गरौँला नि है भिनाजु !

भिनाजु ! अहिले भरखरै तपाईंको अन्तर्मनको यात्रा पढिसिध्याएँ । त्यसैले चिठीको भाखामा म पनि यो आत्मालाप लेख्दै छु । आज अचम्मको दिन पनि परेछ, गणतन्त्र नेपाल घोषणा हुने दिन । तर तपाईंले लेख्नु भएको राजनीतिक विश्लेषणजस्तै नेपालका नेताहरूको मति नफिरेसम्म यहाँ कुनै तन्त्र पनि काम लाग्दैन जस्तो मलाई पनि लाग्छ । त्यसैले तपाईंको सूक्तिजस्तै टिप्पणी मलाई यहाँ उद्धृत गर्न मन लागेको छ ।

‘मान्छे उनै छन्, पहिचानका लागि केवल टोपी फेरेका छन् । खानका लागि धोती फेरेका छन् ।’

भैगो तपाईंजस्ता महामनासँग नेपाली राजनीतिको दूषित कुरा पनि किन गरौँ । भिनाजु ! म आपूm साहित्यसँग सम्बद्ध हुँदाहुँदै पनि मैले निकै थोरै मात्र नेपाली किताबहरू पढेकी छु, अर्थात् विदेशी किताब त पढेकै छैन भने पनि झुठो ठहर्दैन । यसरी पढेका किताबहरूमा तपाईंको किताबले मलाई निकै आन्दोलित पा¥यो । अरू सबै कुराभन्दा पनि यस किताबले मलाई तपाईंको स्वच्छ व्यक्तित्व र उच्च मनोविचारको परिचय दियो । बुँदागत रूपमा मेरा मनमा तुल्बुलाएका केही भावहरू अभिव्यक्त गर्छु है भिनाजु !

एक ः राष्ट्रवादी भावधारा छताछुल्ल ! आफ्ना घरमा एक लोटा पानी सारेर खान पनि इज्जत जाने नेपाली युवाहरू पैसाका लागि चाहिँ विदेशीको भाँडा माझ्न समेत विदेश गइरहेको सत्यका विपरीत तपाईंले राष्ट्रको मोहमा निकै ठुलो आम्दानी हुने विदेशको जागिर पनि तिलाञ्जली दिएको प्रसङ्ग मलाई निकै प्रेरक लाग्यो । राष्ट्रवादी मानिसहरूको खडेरी भोगिरहेको यस मुलुकलाई तपाईंको राष्ट्रवादिताले मलाई निकै प्रभावित पा¥यो । तपाईंमा व्याप्त राष्ट्रवादी भावनाको म हार्दिक अभिनन्दन गर्छु । यसअघि कर्ण शाक्यको सोच पढेपछि पनि मलाई नेपाल आमाका सच्चा सपूतहरू रहेछन् भन्ने अनुभूति भएको थियो । प्रतिभा पलायनको महारोग भोगिरहेका वर्तमान नेपाली युवाहरूले तपाईंको यो पुस्तक पढेभने निश्चय नै तिनको मथिङ्गलमा राष्ट्रप्रेमको भावना जागृत हुने थियो जस्तो मलाई लाग्यो ।

दुई ः कर्मशील एवम् प्रेरक व्यक्तित्व ! भिनाजु, तपाईंले रामेछापको मन्थलीमा तामाकोसी सेवा समितिका माध्यमले जे जति कार्य सम्पन्न गरेको कुरा यस पुस्तकमा उल्लेख गर्नु भएको छ त्यो ज्यादै प्रेरक छ । नेपालमा केही गर्न सकिँदैन भन्ने जमातका लागि यो ज्वलन्त उदाहरण हो । कर्मशील व्यक्तिले इमान्दारितापूर्वक निष्ठा रोपे यहाँको मलिलो माटामा जेसुकै पनि मौलाउँछ भन्ने प्रमाण हुन् तामाकोसी सेवा समितिद्वारा सञ्चालित कार्यक्रमहरू ।

‘गैर सरकारी संस्था भनेको बम्बैबाट फिर्ता ल्याएका चेलीहरूलाई नेपालमै गलत धन्धा गर्न लगाएर उनीहरूको प्रतिस्थापनका नाउँबाट विदेशी डलर कमाउने संस्था हो । गैरसरकारी संस्था भनेको कुपोषण भएका गरिब निमुखा बालबालिकाको तस्बिर खिचेर विदेशीलाई बेच्दै उनीहरूका नाउँमा डलर कमाएर आआफ्ना महल ठड्याउने संस्था हो ।’

यस्तो समाजमा विद्यमान गैरसरकारी संस्थाप्रतिका यस्ता जनधारणा ममा पनि प्रबल थिए । यो पुस्तक नपढुन्जेल मलाई पनि तपाईं यस समाजमा भएका त्यस्तै गरिबमारा, निमुखामारा र जनमारामध्येकै एक ठग हुनुपर्छ भन्ने धारणा थियो । अहिले विचार गर्दा ती सबै तपाईंप्रतिका धारणाहरू तपाईंले कमाउनु भएको इज्जत र धनसँग ईष्र्या गर्नेको तपाईंप्रतिको नकारात्मक विचारको प्रदूषण प्रवाहित भएको ठहर गर्दैछु । अपरिपक्वतावश तपाईंप्रतिको मेरो धारणा पनि त्यसै हुन गएको मैले महसुस गरेकी छु । तपाईंले गर्नु भएका कामहरूबारे अध्ययन गर्दागर्दै मलाई लाग्यो ‘हे नेपाल आमा ! तिमीले रामेछापमा जगदीश घिमिरेलाई जन्माएजस्तै नेपालका बाँकी चौहत्तरै जिल्लामा एकएकोटा छोरा मात्रै जन्माएकी भए पनि कस्तो हुन्थ्यो !’ तर मसँग नेपाल आमाले खिन्नता व्यक्त गरिन्, असमर्थता जाहेर गरिन् । त्यसैले एकातिर रामेछापमा जन्मेका जगदीश घिमिरेप्रति गर्व गर्ने मेरो मानसले बाँकी चौहत्तर जिल्लामा जन्मन नसकेका जगदीश घिमिरेप्रति दु्खी पनि हुनुपरेको छ ।

तीन ः प्रखर भाषाशैलीका धनी ! भिनाजु, तपाईंका दुवै उपन्यास निकै पहिले पढेकाले तिनमा प्रस्तुत भाषाशैली मेरा स्मृतिमा त्यति ताजा छैन । तपाईंका केही फुटकर रचनाहरू निश्चय पनि पढेकी हुँ । नेपाल साप्ताहिकमा आउने स्तम्भको पनि म पटके पाठक नभएकी होइन । तर यस पुस्तकको भाषाशैली र प्रस्तुतीकरणले मलाई निकै प्रभावित पारेको छ । अझ त्यसविधि बिरामी अवस्थामा पनि तपाईंले सृजना गर्नु भएको यो कृति निकै प्रेरक छ । विज्ञानको काखे कम्प्युटरको आविष्कारलाई नै यस कृतिसृजनाको श्रेय दिनु पनि तपाईंको इमान्दारिता हो । साहित्यकार जगदीश घिमिरे केही कृति सृजनापछि रोजीरोटीमा र पछि समाजसेवामा निर्लिप्त भए । यस्ता प्रखर साहित्यकार जगदीश घिमिरे साहित्यकार मात्रै भइदिएका भए नेपाली साहित्यले अभैmँ र निकै उत्कृष्ट कृतिहरू पाउँथ्यो होला भन्ने पनि मलाई लाग्यो । तर अर्को मनले चाहिँ भन्यो, ‘साहित्यकार मात्रै भएका भए जगदीश घिमिरेमा जसरी अहिलेसम्म साहित्यप्रतिको जुन आस्था बाँचेको छ त्यो निकै अघि नै मरिसक्ने थियो । साहित्यकारहरूबिचको गुटबन्दी र नीच प्रवृत्तिसँग साक्षात्कार हुँदा साहित्यको क्षेत्रसँगै वितृष्णा हुनसक्ने थियो । अनि साहित्यकार मात्रै भएका भए जगदीश घिमिरे भन्ने लेखकले आफ्नो उपचार गर्न यसबेला रत्नपार्कमा दयाको भिक्षा पनि माग्नुपथ्र्यो नि ! तर त्यस्तो गर्नुपरेको भए स्वाभिमानी जगदीश घिमिरेले उपचार होइन पक्कै पनि आत्महत्या गर्थे होलान् !’

त्यसैले विधिलाई त्यसो मन्जुर भएन र यसो भयो । मेरो मनले मलाई यसरी सम्झायो । भिनाजु ! तर मलाई विश्वास छ तपाईंको आँउदो उपन्यास नै तपाईंको नेपाली साहित्यको कोसेढुङ्गा साबित हुने छ । भिनाजु, मलाई लाग्छ अबको नेपाली साहित्यको भण्डारमा छ्यास्छ्यास्ती कृति भन्दा उत्कृष्ट कृतिको आवश्यकता छ । जतिसक्दो धेरै लेखेर साहित्यको भण्डार भर्नुपर्ने अवस्था नेपाली साहित्यले पार गरिसकेको छ । त्यसैले तपाईंले अब सृजना गर्नुहुने तपाईंको कृति नै नेपाली साहित्यका लागि महत्वपूर्ण हुनेछ । तपाईंले जीवनभर सङ्कलन गर्नु भएको गहन अनुभवसँग गाँसिएको अनुभूति, जीवन्त विषयवस्तुका साथै सरल सरस अभिव्यक्तिको प्रस्तुतिद्वारा तपाईंको नवीनतम कृति भरिपूर्ण हुने भएकाले निश्चित रूपमा सो कृति उल्लेख्य हुने छ भन्ने मलाई लागेको छ ।

चार ः निर्भीक, निःस्वार्थी, कृतज्ञ र इमान्दार व्यक्तित्व ! भिनाजु ! तपाईंमा रहेको जुधारूपनले पनि मलाई तपाईंप्रति आस्थावान् गरायो । अर्कातिर ठुल्ठुला प्रलोभनले पनि नगलेको तपाईंको व्यक्तित्वप्रति पनि म आभार प्रकट गर्दछु । आपूmलाई सानो गुन लगाउने मानिसको गुन तिर्न लालयित प्रसङ्गले पनि मलाई तपाईंप्रति अभिभूत बनायो । तपाईंमा अन्तर्निहित कृतज्ञ स्वभाव पनि अबको नेपाली धरामा नमुनाका रूपमा प्रस्तुत गर्न सकिने विषय लाग्यो । रामेछापको ब्राह्मण परिवारको एउटा साधारण व्यक्ति तपाईंले आफ्नो बलबुताले धन र कृति आर्जन गर्नु निश्चय नै महत्वपूर्ण कुरा हो । अझ आफ्नो स्वाभिमानमा चोट नलगाईकन, इमान नडग्मगाईकन र नैतिकताको बिक्रीवितरण नगरीकन आफ्नो व्यक्तित्व निर्माण गर्ने तपाईं स्वनामधन्य व्यक्ति हुनुहुन्छ । २०५६ सालको चुनाउका प्रसङ्गमा तपाईंले किसुनजी समक्ष आफ्ना लागि टिकट नमागेर जुन स्वाभिमान प्रकट गर्नु भयो त्यो अति स्तुत्य छ । मै खाऊँ मै लाऊँका भीडमा तपाईंको व्यक्तित्व स्वाभिमानको आगामा खारिएको सक्कली सुन भएको छ । सो पाठ पढ्दै जाँदा मेरो मुटुको धडकन निकै बढेको थियो । तपाईं रामहरि ढुङ्गेललाई लिएर कृष्णप्रसाद भट्टराईका घरमा पुग्नु भएको क्षण, ‘अब जगदीश भिनाजुले आफ्ना लागि टिकट माग्नु हुन्छ होला ! अनि मेरो काव्यनायकको मृत्यु हुने छ ।’ मलाई यस्तै तर्कनाले सताइरहेको थियो । तर जब तपाईंले आफ्ना लागि नमागेर रामहरि ढुङ्गेलका लागि टिकट माग्नु भयो, मलाई त्यसैक्षण तपाईंलाई फोन गरेर ‘क्यावात्’ भन्न मन लागेको थियो । तर हाल तपाईं स्वास्थ्य लाभ गरिरहनु भएको हुनाले बेला–कुबेला तपाईंलाई झिनामसिना कुरामा फोन गरेर बाधा पु¥याउनु हुँदैन भनेर मेरो विवेकले मलाई फोन गर्न छेकबार लगाएको थियो ।

पाँच ः मृत्युञ्जयी व्यक्तित्व ! भिनाजु ! तपाईंले जीवनको प्रारम्भिक अवस्थादेखि नै योग, प्राणायम युक्त प्राकृतिक जीवनशैलीलाई जसरी अपनाउनु भयो, त्यो नै तपाईंले नितान्त आफ्ना लागि गर्नुभएको आर्जन हो भन्ने मलाई लागेको छ । त्यसो त आपूmले त्यसरी स्वास्थ्यको जगेर्ना गर्दागर्दै पनि खासै सुस्वास्थ्य प्राप्त गर्न नसकेको भन्ने चित्त दुखाइको आभास पनि तपाईंले यसै पुस्तकमा कतैकतै गर्नु भएको मैले पाएँ । सर्वप्रथम त साठीवर्षको उमेर पार गर्दासम्म संसारभरि नै महामारीका रूपमा छाएको मधुमेय र उच्चरक्तचाप जस्ता आम बिमारीबाट अछुत रहनु भएका तपाईंको स्वास्थ्य लोभलाग्दै मान्नुपर्छ । मस्वयं चाहिँ पितृ बिरासतमा नै प्राप्त भएका निकै खुद्रा बिमारीहरूसँग सङ्घर्ष गरिरहने भएकाले निरोगी कायाको मलाई ईष्र्या लाग्छ । रोग हरणका लागि झन्नै तिस वर्षदेखि योग, प्राणायाम र यथासम्भव प्राकृतिक जीवनशैली अपनाउँदै आएकी म अहिलेको आफ्नो स्वास्थ्यसँग सन्तुष्ट समेत छु । तपाईंका सन्दर्भमा चाहिँ अहिले आएर तपाईंले जुन भयावय व्याधिको सामना गर्नु प¥यो र त्यसका लागि अपनाउनु पर्ने कठोर उपचार पद्धतिसँगको भीडन्तमा तपाईं विजयी पनि हुनुभएको पढ्न पाउँदा मलाई निकै हर्ष लागेको छ । तपाईंको त्यस्तो अभूतपूर्व साहसको उद्गम नै तपाईंको योगबल÷मनोबल हो भन्ने मैले ठहर गरेकी छु । तपाईंको उपचारका क्रमको त्यस्तो कठोर यातना वास्तवमा जो कोहीले सामना गर्न सक्छ जस्तो मलाई चाहिँ लाग्दैन । आफ्ना कृतिद्वारा नेपाली धरामा अमरत्व प्राप्त गरिसकेको व्यक्ति तपाईंको भौतिक चोलाको खासै ठुलो अर्थ पनि छैन । हुन त तपाईंकै प्रस्तुतिलाई हृदयङ्गम गर्दा पनि मानिसको चोलाको मोह सबैलाई नै हुने गर्छ । त्यसो त कृति सृजना गर्दै र व्याधिलाई समेत जितेर तपाईं मृत्युञ्जयी भइसक्नु भएको छ । यस्ता मृत्युञ्जयी व्यक्तित्वप्रति म बधाई अर्पण गर्दछु ।

अब निष्कर्षका कुरा गरौँ
आदरणीय भिनाजु ! तपाईंको अन्तर्मनको यात्राले सम्प्रेषण गरेका अनुभूतिहरूलाई प्रत्येक बुँदाबुँदामा अभिव्यक्त गर्न सकिन्छ । तपाईंले प्रस्तुत गर्नुभएका कतिपय विचारहरू सूक्ष्मरूपले उल्लेख भए पनि ती तिखा सुइरा जस्तै पाठकका मनमस्तिष्कमा प्रवेश गर्ने खालका छन् । त्यसरी सूक्ष्मरूपमा प्रवेश गरेका ती विचारहरू चेतनशील पाठकका मनमस्तिष्कमा भुइँचालो नै ल्याइदिने खालका पनि छन् । मलाई लाग्छ तपाईंको लेखनको सफलताको पहिचान यही हो । वास्तवमा तपाईंको पुस्तकमा खामिएका भूमिकाहरूमध्ये डा. ज्ञानू पाण्डेको भूमिकाले कृतिरूपी कलात्मक चित्रलाई निकै सुन्दर फ्रेममा सजाइएझैँ लाग्यो । सकरात्मक चेतकी धनी डा. पाण्डेको कृतिप्रतिको जीवन्त लेखनले मलाई कृति पढ्न जति उत्साहित पा¥यो त्यति नै कृति पढिसकेपछि कृतिप्रतिको उहाँको इमान्दार मूल्याङ्कनप्रति ल्याप्चे हानेर सही गर्न समेत मन लाग्यो ।

चरम राष्ट्रवादिता, ठाउँठाउँमा व्यङ्ग्यात्मक प्रस्तुति, सूक्ष्मतामा विराटताको अभिव्यक्ति, शब्दशब्दमा इमान्दारिताको छनक, उक्ति र सूक्तिहरूको अत्यन्तै सान्दर्भिकताका साथ प्रयोग, सकारात्मक सोचको बाहुल्य, प्रेरक र उदाहरणीय प्रस्तुति र कलात्मक भाषाशैलीको जलप नै अन्तर्मनको यात्राले पस्केको खुराक हो भन्ने मेरो मान्यता छ । भिनाजु ! जीवनको अत्यन्तै कष्टकर अवस्थामा पनि प्रकृतिलाई नै चुनौती दिने तपाईंको सृजनाप्रति म बारम्बार अर्चना र वन्दना गर्छु ।

भिनाजु ! तपाईंमा भएको स्पष्टवादी व्यक्तित्वको कदर गर्दै यस कृतिका सन्दर्भमा मलाई एउटा आलोचनात्मक विचार पनि प्रस्तुत गर्न मन लागेको छ । अन्तर्मनको यात्रालाई नेपाली साहित्यमा अझसम्म पनि बिरलै अपनाइएको गतिलो सम्पादकद्वारा सम्पादन गरिन पाएको भए यो अझ निख्खर हुने थियो कि ? वस्तुपरक निबन्ध र आत्मपरक निबन्धलाई एकै शृङ्खलामा नराखिएको भए विधागत मान्यताका कसीमा यसले थप उपल्लो श्रेणी प्राप्त गर्ने थियो कि भन्ने तर्कना पनि मेरा मनमा आयो, जसलाई लुकाउन पनि मैले सकिनँ र यहीँ भनिदिएँ । त्यसो त उत्तम–शान्ति पुरस्कारले सम्मानित यस कृतिप्रतिको मेरो यस्तो दृष्टिका कारण म छिद्रान्वेषीमा पनि दरिन सकौँला । त्यसैले मेरो पछिल्लो तर्कनाबाट तपाईंलाई कहीँ कतै चोट पु¥याएँ भने पनि क्षमाप्रार्थी छु है भिनाजु ! अनि भरखरै तपाईंले प्राप्त गर्नु भएको उत्तम–शान्ति पुरस्कारले तपाईंको सृजनधर्मीतालाई थप ऊर्जाशील बनाओस् भन्ने कामना गर्दै अहिलेलाई तपाईंको आत्मालापप्रतिको मेरो आत्मालाप यहीँ समाप्त गर्नुका साथै तपाईंको सुस्वास्थ्य, दीर्घायु तथा सुखद र सिर्जनशील जीवनको कामना गर्दै बिदा हुन्छु ।
तपाईंलाई माया गर्ने साली

अभिव्यक्तिबाट

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 24 पौष, 2067

लेखकका अन्य रचनाहरु