जाँचफिस

- डा. रवीन्द्र समीर

सधैँझैँ डाक्टरसाहेब क्लिनिकमा बिरामी जाँच्न बसे । क्लिनिकमा दुई सय पचास शुल्क लिएर बिरामी जाँच्ने गर्दथे ।

‘डाक्टरसाहेब ! मेरो छोरोलाई ज्वरो आएको सात दिन भयो, पैसा नभएर ऋण खोज्दाखोज्दा ढिला भयो ।’

अर्का बृद्ध भन्दै थिए – ‘छोराहरूले एक पैसा दिँदैनन् । तीन महिनाको बृद्धभत्ता जम्मा गरेर दमको रोगको उपचार गर्न आएको छु ।’

एउटी महिला भारी बोकेर जम्मा गरेको एक सय रुपैयाँको खुद्रा पटुकाको टुप्पोमा बाँधेरर पाठेघरको रोग जँचाउन आइन् । त्यस्तै एउटा अपाङ्ग दिनभरि घाममा गिटी कुटेर जम्मा गरेको पचास रुपैयाँ लिएर जँचाउन आयो ।
‘सुन्नुस् न ! भरे दुई किलो खसीको मासु ल्याउनूस् है !’ बिरामी जाँचिरहेको बेला श्रीमतीको आदेश आयो ।

‘मलाई लिच्चीको ठूलो जुस !’ छोरीको बोली टुङ्गिन नपाउँदै छोराले भन्यो – ‘ड्याडी मलाई काजु !’

००

‘....यस्तो बोसो, हड्डी र छालामात्र ल्याउने ? ....ड्याडी त कत्ति छुच्चो ! यति थोरै.....।’ .....मासुभात खाँदा उसको कानमा ती असहाय बिरामीहरूको चित्कार गुञ्जिरह्यो । फलतः उसलाई अरुचि भयो र खाना छाडेर बेडरुमतिर लाग्यो ।

००

‘ल भाइ ! आजदेखि गरिब, दुःखी तथा असहायहरूको जाँचशुल्क नलिनू है ! उनीहरूलाई निःशुल्क उपचार....! औषधी विक्रेताले केही बुझ्न सकेन । जस्तो आदेश, त्यस्तै पालना ।

००

‘आज निक्कै खुसी देखिएका छौ, धेरै कमायौ जस्तो छ नि ¤’

‘हो, ठीक भन्यौ, तर खल्तीमा होइन मनभरि ती दुःखी, गरिब र असहाय बिरामीहरूको आशीर्वादको बिटो बोकेर आएको छु ।’

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 23 पौष, 2067

लेखकका अन्य रचनाहरु