आँप बगैंचामा मोहीको स्वाद

- राजेश खनाल

पैदल यात्रा मेरा लागि जहिले पनि कष्टकर हुन्छ । पैदल यात्राको रमाइलोमा पनि मानसिक कष्टले पींडा दिइरहेको भान हुन्छ मलाई । त्यसैले पनि पैदल यात्रामा खोज्नुपर्ने तत्व म बाट सधै परपर रहेको हुन्छ ।

पैदल यात्रामा रोमान्चकता हुन्छ । त्यस किसिमको रोमान्चकता, त्यसले दिने आनन्दलाई महसुस गर्न सक्नु पर्दछ । विषेश गरि पहाडि बाटोघाटो, उकाली ओरालीहरु उक्लनु र ओर्लनुको मजा बेग्लै हुन्छ ।

पैदल यात्रामा रमाउनेहरुले यस्ता प्रसंगहरु लाई वर्णन गरेको हामीले धेरै ठाउंमा पाउन सक्छौं । गोविन्द वर्तमान, शार्दूल भट्टराइ, श्रीओम श्रेष्ठ रोदन लगायत धेरै नियात्रा लेखकहरुसंगको भेटमा यस्ले पैदल यात्राका धेरै प्रसंगहरु सुनेको छ ।

आफ्नो लागि भने पैदल यात्राको सम्झनाले मात्रै पनि काम ज्वरो छुटाउने गर्दछ । मलाई लाग्छ म अरुले गरेको पैदल यात्रा सम्वन्धी रोमान्चक अनुभवलाई पढन सक्छुं, सुन्न सक्छुं, सुनाउन सक्छु, तर आफै हिडनु पर्यो भने भरसक हिडन नपरे हुन्थ्यो भन्ने लाग्छ ।

तर यात्रामा निस्किसके पछि म पैदल हिंड्दिन, मेरा लागि घोडा अथवा भरियाको व्यवस्था गर्नु पर्यो भन्ने कुरो पनि आउंदैन । यात्रा थालिसके पछि रोकिनु ठीक पनि त भएन ।

एउटा यस्तै यात्रा मेरा लागि अचानक आइपर्याे । जानु पर्ने थियो गोरखा जिल्लाको बोर्लाङ्ग । जस्को वारेमा वृत्तचित्र निर्माण गर्नु थियो । बोर्लाङ्ग बसबाट पनि पुग्न सकिन्थ्यो । तर दृष्य राम्रो लिने लोभमा हामीले पैदल यात्रा गर्ने भयौं ।

काठमाण्डौबाट धादिंग बेसी हुंदै ज्यामीरेसम्म हामी गाडिमा गुडेका थियौं । ज्यामिरेमा ओर्लिए पछि भुवनजीले जुत्ता फेर्ने काम गरे । “अब यहांबाट अलिकति हिडनु पर्छ खनालजी ।” भुवनजीको यो भनाइले मात्रै पनि मेरो मनमा चिसो पस्यो ।

यहाँ देखि भुवनजी अगाडि लागे । प्रितम, मनोहरजी संगै म पनि लम्किए । हामीले जति भारी बोकेका थियौं, त्यो भन्दा धेरै गह्रौं ब्यागहरु थिए भुवनजीसंग । भुवनजी आफ्नो घर जांदै हुनुहन्थ्यो, त्यसैले पनि उहांको झोला भारी थियो । “के गर्ने, राजधानी देखि कोसेली त लानै पर्यो नी ”। भुवनजी भन्दै थिए ।

हाम्रो हिँडाइ जारी थियो । सालबारी, ज्वालादेवी, सुनखानी हुंदै धादिंग जिल्लाको उत्तरी भेग सालबास चैनपुर तर्फ । करिब चार घण्टाको पैदल हिंडाइ पछि हामी सालबास पुग्यौं जहांबाट बोर्लाङ्गको माथी सेता चम्किला मनास्लु , माछापुछ्रे, गणेश हिमालहरु देखापरिरहेका थिए । यहि रमणीय दृश्यका कारण हामी यो बाटो आउनु परेको बताउंदै थिए , भुवनजी । मनोहरजीले क्यामेरा निकालेर दृश्य कैद गर्न लागे ।

कार्तिक महिना, सालबासमा नै हल्का अंध्यारो हुन थाली सकेको थियो । बास बस्नका लागि उपयूक्त तल्लो रामपुर हुने जानकारी स्थानीयबासी बाट पाए पछि हामी तल्लो रामपुर तर्फ लाग्यौं । तर झमक्क अंध्यारो भएको कारण माथ्लो रामपुर नै हाम्रो बासस्थल हुन पुग्यो ।

जंगलबीचमा रहेको माथ्लो रामपुर । केही घरहरु मात्रै । शिक्षण पेशामा संलग्न लोहनी सरले खानपीनको व्यवस्थाका साथ रातको लागि ठाउं दिनु भयो । उहां पनि बडो रसीक व्यक्ति, खुबै ठट्टा गर्नु पर्ने । सुत्ने बेलामा उहां भन्दै हुनुहुन्थ्यो राती एक्लै नझर्नु होला है तल, जंगली जनावरहरु हुन सक्छन रातविरात । केही परे साथीलाइ उठाउनु होला । यति सुने पछि अर्को चिन्ता पनि थपियो भोलीको पैदल हिंडाइको चिन्ता संगैं । हिंडाइको तोडले कति बेला निदाइयो थाहा भएन ।

विहानीपख नित्यकर्मका लागि सौचालयको खोजी गरें । तर पाइन । अब के गर्ने ? कहां जाने ? फसाद पर्यो । सोधखोज गर्दा की जंगलमा जानु पर्ने की तल खोलामा जानु पर्ने बताइयो । तल खोला सम्म ओर्लनलाई मात्रै पनि आधा घण्टा पैतालिस मिनेट लाग्ने । माथी उक्लन त्यो भन्दा दोब्बर समय खर्चनु पर्ने । त्यो सम्झनाले दांत माझेर मुख धुनुमात्रै नित्यकर्ममा सिमित रह्यो ।

माथ्लो रामपुरका हाम्रा आतिथेय लोहनी शरकहां बाट हाम्रो अर्को दिनको पैदल यात्रा सुरु भयो । रामपुरको उत्तरी भेकबाट मनोरम हिमाली
दृष्यहरुलाई बोर्लाङ्गसंग खिच्दै हामी अगाडि बढ्यौं ।

अघिल्लो दिन तल्लो रामपुरमा बस्ने भनिए तापनि त्याहा पुग्न सकिएको थिएन । माथ्लो रामपुरबाट हिडेको केही समय पछि हामी तल्लो रामपुर पुग्यौं । चौतारीमा झोला विसाएर मिठो गाउंले चियाको स्वाद लियौं ।
रामपुर पछि हामी ओरालो झर्दै गयौं, धादिंग र गोरखाको सिमाना बनेको बुढीगण्डकी तर्फ ।

एउटा सानो खोला, जस्मा पुल थिएन तर वारीपारी गर्न लाई काठको मुढो तेस्र्याइएको थियो । भुवन, मनोहर र प्रितम पारी पुगी सकेका थिए । तर म भने मुढोमा खुट्टो राख्न डराइ रहेको थिंए । पारी त कसैगरी पुग्नु नै थियो । त्यसका लागि बिरालो पाराको हिंडाई मैले प्रयोग गरें, चार हात खुट्टा टेक्दै । मेरो त्यो बिरालो अवस्था देखेर साथीहरु हांस्दै थिए । म भने हांंसे हांसीरहुन भन्ने सोची अमिलो मन बनाएर अगाडि बढें ।
गोरखाको बुङ्गकोटघाट पुगीयो, झोलुङ्गेपुल तरेर । यतिखेर सम्म मेरा खुट्टाले जवाफ दिन थालि सकेका थिए ।

बुङ्गकोटघाट, जहां भिमसेन थापाले निर्माण गरेको भिमविरेश्वर मन्दिरको जिर्ण स्वरुप छ । त्यसकै आडमा रहेको एउटा पसलमा हामी थकाइ मार्न बस्यौं । त्यसै बेला एक स्थानीयबासीले माथी डाडांबाट मन्दिर झनै राम्रो देखिने बताए । मन नलागे पनि हामी राम्रो दृश्य खिच्ने लालसामा माथि उक्लियौं । तर त्यो चढाइले हाम्रो खुट्टोलाई झनै दुःख दिने काम मात्र गर्यो । एकै छिन मात्र बसेका थियौं हामी त्यहां । तर लाग्यो, यो ऐतिहासिक महत्वको मन्दिर जिर्णोद्वारको प्रतिक्षामा बसिरहेको छ ।
भुवन र प्रितमको आफ्नो गाउं, आफ्नो ठाउं । यी दुबै अगाडि अगाडि थिए । म अनि मनोहरजी गफिंदै र देखिएका सुन्दर दृश्यहरुलाई खिच्दै पछि पछि हिंडिरहेका थियौं । बुढीगण्डकी नदीसंगै जोडिएको अर्को खोलामा पनि पुल थिएन । तर त्यहां ढुङ्गा ओच्छ्याइएको थियो । म ढुक्क भए यहां मुढा राखिएको छैन भनेर । तर लेखेको कसरी टथ्र्यो, खोलामा राखिएको ढुङ्गामा टेक्दा मेरो खुुट्टो चिप्लियो र दुबै खुट्टो पानीमा परे । जुत्ता र मोजा भिजेर स्वाहा नै भए ।

अब त भिजेको गह्रौं जुत्ता लगाएर हिंडन पनि नसकिने, जुत्ता खोलेर बालुवा र गिट्टी रहेको गोरेटोमा नांगो खुट्टा हिंडन पनि नसकिने ।
भिजेकै जुत्ताको भारी लगाएर क्यामुनटारको विशाल आंप बगैंचामा पुगीयो । यो आंप बगैंचा पनि भिमसेन थापाले नै लगाएका हुन भन्दै थिए भुवनजी । उनले त्यहांको मिठो आंपका वर्णन पनि गरे । तर हामी कार्तिक महिनामा पुगेको हुंदा त्यस आंप बगैंचामा फल्ने आंपको स्वाद लिने मौका पाइएन । त्यहां आंपको कुरो गरिए पनि स्वाद भने मिठो मोहीको लिइयो ।

चप्पल किनेर लगाए पछि भिजेको जुत्ताको भारी पनि थपियो । सांझ पर्न लागेकोे थियो । पुग्नु पर्ने पिपलटार सम्म थियो । बोर्लाङ्ग गाउं विकास समितिकै क्यामुनटारबाट हामी सिमलटार हुंदै नाखडाडां पुग्यौं । ती उर्वर टारहरुमा लहलहाउंदा धानका पहेला बालाहरु झुलेका थिए । बडो मनमोहक दृश्य थियो त्यहांको । हिमाल, पहाड र तराइको त्रिवेणी त्यहां देखापरेको थियो ।

करीब सात बजे सांझ । नाखडाडांबाट मुलबाटो समाउन सानो गोरेटो ओरालो ओर्लदां छेउछाउका बुट्यान समाउनु परेको थियो । अरुका लागि रोमान्चक भए पनि मेरालागि कष्टकर थियो त्यो क्षण ।

पिपलटार, भुवनजीको घरगाउं । रात भुवनजीको घरमा नै बिताउनु थियो । भुवनजी खानपानको व्यवस्था मिलाउन घरतर्फ लागे । मनोहरजी, प्रितम र म भने करीब नौ घण्टाको पैदल यात्राको थकान मेटनका लागि पसल तर्फ लाग्यौं ।

यति लामो पैदल यात्रा मेरो जीवनकै पहिलो पैदल यात्रा थियो । उकाली ओराली बाटो सम्झना साथ अत्यास लाग्ने मैले यो यात्रा कसरी पुरा गरें ? म आफै आफैंलाई प्रश्न गर्दे थिए । त्यै बेला प्रितम भन्दै थिए, “दाई, भोली बिहान माथ्लो गाउं बोर्लाङ्ग पुग्न केही न भए पनि दुइ घण्टा लाग्छ” । यो भनेर सायद प्रितम मलाई जिस्काउंदै थिए ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 20 पौष, 2067

लेखकका अन्य रचनाहरु