संवेदनाको कङ्क्रिटमा उभिएर

- रमण घिमिरे

जब म झ्यालबाट बाहिर चिहाउन खोज्छु, सिमेन्टका बाक्ला जङ्गलहरूमा ठोक्किएर दृष्टि आफैँतिर फर्किन्छन् । कुनै बेला यही राजधानीलाई भानुभक्तले 'अमरावती कान्तिपुरी नगरी' भनेर स्वर्गको पनि शिरमा राखेका थिए । आज यो अमरावती धूँवा, धूलो र अनेकन प्रदूषणभित्र निसास्सिएर क्षयरोगी भएको छ । मान्छे त छन्, त्यसैले यसलाई बस्ती नभन्नु सार्थक नहोला तर मानिसभित्रको संवेदना अब राजधानीले समाहित गर्न नसक्ने भएको छ । राजधानी अब मानिसको चेतना र भावनाबाट बिस्तारै पाषण स्वभावमा रूपान्तरित हुँदैछ ।

एक समय काठमाडौँ राजनीतिका लागि मात्र होइन, मोफसलका कवि-लेखकहरूका आँखाको पनि तारो थियो । यहाँ बस्नेहरूले मात्र सुविधा र प्रचारको स्वाद चाखिरहेछन् भन्ने मानसिकताले तिनीहरूलाई चिमोट्थ्यो र उनीहरू राजधानीका विरुद्धमा कुर्लिन्थे-

'अब काठमाडौँ एक्लैले नेपाल थेग्न सक्तैन'
(कृष्णभूषण बल) ।

थेग्न त अहिले पनि यसैले सारा नेपाललाई थेगिरहेको छ । यहाँ नआई जाबो पियनले पनि पदोन्नति पाउन सक्तैन । यहाँ नआई कुनै सर्जकले आफ्नो असीम प्रतिभा देखाउन सक्तैन तर सारा नेपालको भारी एक्लैले बोक्छु भन्ने दम्भले गमक्क फुलेको कुनै जमानाको काठमाडौँ आज सेखी झरेको पञ्चायतीकालका नेताको नियति भोगिरहेको छ । ऊ बेलामा सारा नेपालीको कल्याण गर्ने पशुपतिनाथ स्वयम् आज असुक्षित भएका छन् भने राजधानीले पुरानो फूर्ति झार्नु हिँग बाँधेको टालो देखाएर सम्पन्नताको आडम्बर देखाउनुभन्दा परत्र केही होइन ।

सडकमा हिँड्ने मानिसले गाडीमा चढ्नेहरूलाई सरापिरहेछन् र गाडी चढ्नेहरू ती बाटामा हिँड्नेलाई किचौँलाझैँ गरेर जड, विवेकहीन सवारीझैँ क्रुद्ध भएर ब्रेक थिचिरहेका छन् । उनीहरू सडकमा हिँड्नेलाई सायद पशुतुल्य सम्भ"mदा हुन् र झ्याप्प ब्रेक लगाउँछन् । सडक आखिर कसको हो र ? मान्छेकै त हो नि Û मान्छेकै आवागमनका लागि बनिएका हुन् यी सडक-बाटाहरू तर यसले आजको मान्छेलाई विभाजित गरिरहेछ । बाटो हिँड्ने र सवारीमा गुड्नेबीच विचार र सोचाइमा ध्रुवीकरण भइरहेछ । मानसिकता हो, मानिस जहाँ उभिएको हुन्छ, त्यहाँबाट हेर्ने उसको सोच नितान्त विपरीत हुन्छ । मान्छे त्यही हो, ऊ सडकमा हिँडिरहेको छ भने सडक काट्न नपाउँदा सवारीवालासँग रिसाउँछ । मान्छे त्यही हो, ऊ सवारीमा छ भने उसलाई सडक काट्नेहरूको ठेलमठेलबाट सवारी निकाल्नु पर्दा झोँक चल्छ । बसमा चढेकाले फुटपाथमा हिँड्ेनेप्रति र फुटपाथमा हिँड्नेले बसमा सवार मानिसप्रति आक्रोश पोखिरहेको हुन्छ । यो मानवीय स्वभाव हो । ऊ जहाँ छ, त्यहीँबाट मात्र हेर्छ, जहाँ उसका दृष्टि पर्छन् त्यहाँबाट आफूतिर फर्केर हेर्दै हेर्दैन । मानिसको दृष्टि जहाँ गएर थुरिन्छ, त्यहाँ उभिएर स्वमूल्याङ्कन गर्नसक्ने भए मानिस सायद भगवान हुन्थ्यो । तर ऊ बिस्तारै पशु भइरहेछ । जमिनका र सवारीका मानिसबीच एकअर्काप्रतिको ध्रुवीकरणीय अबधारणा र अस्वाभाविक स्वभावले राजधानी मानिस बस्ने सहरभन्दा पनि कुनै चिडियाखानामा परिवर्तित भइरहेछ । विचरा ! कुनै समय नयाँसडक र पुतलीसडक भन्ने यी दुई सडकले सर्जकको विचार विनिमयको काम गर्थे । यी सडकले लेखक, कवि, चित्रकार, सङ्गीतकार सबै क्षेत्रका कलमजीवी, स्वरजीवी, कुचीजीवी आदि सम्पूर्ण स्रष्टाहरूलाई भेला गराउँथे । भिन्नभिन्न क्षेत्रका सर्जकबीच एकअर्काका सिर्जनाका बारेमा भलाकुसारी गराउँथे, सिर्जनाका लागि उक्स्याउँथे ।

स्वरसम्राट नारायणगोपाल चर्चित चित्रकार शशि शाहसँग बसेर चेस खेल्थे । चेस खेल्नु ठूलो कुरा होइन तर को-कोबीच यो खेल भयो भन्ने कुरा मुख्य हो । भूपि र नारायणगोपालको साहित्य र सङ्गीतबीचको पुल थियो भलाकुसारी । गोपाल योञ्जन भूपिको 'अल्झेछ क्यारे पछ्यौरी' लाई आफ्ना विलक्षण धुनकुशलताका कारण सारा नेपालीका मनभित्र बास बस्न सफल भए । यी स्रष्टा त्यसै महान् भएका होइनन् । यिनीहरू एकअर्काको साधना र विधागत ज्ञान राख्थे । एकले अर्काको विशिष्टताबाट आफ्ना सिर्जनाका लागि पाठ सिक्थे तर आज खै कहाँ गएर साटून् शशि शाहले आफूभित्रको भावना Û खै कहाँ पोखून् रवीन्द्र समीर र अमर न्यौपानेहरू आफ्नो मनमा छताछुल्ल उर्लेका संवेगलाई । अब फेरि एकै थलोमा जगदीश घिमिरे, राप्रउ पोखरेल र मनु व्राजाकीलाई भेटाइदिने वातावरण मिलाउन सक्छ समयले ? के एउटै आयाममा बाँधिएर मौलिक परिचय र जीवन्त सिर्जना उमार्ने नयाँ गोपाल, नयाँ नारायण र नयाँ नगेन्द्रलाई जन्मिने अबसर जुटाइदेला नियतिले ? एउटै बाटोमा हिँडेर पनि आ-आफ्नो पृथक मौलिकतालाई सुनिदिने, पढिदिने र बुझिदिने मन खै त ? कमलमणि दीक्षित, रमेश खकुरेल र कोषराज न्यौपानेबीच कुनै समय एकाकार भएको 'करको' समूहका यी तीन हस्तीहरूको कुनै समारोहमा बाहेक एकै थलोमा भेटघाट नभएको सायद वर्षौं भयो तर समय र वातावरणको अभावमा यस्ता कयौँ हस्तीहरूको मिलनगाँठो चुँडिएको छ ।

यी द्रष्टा थिए, स्रष्टा मात्र होइन । यसैले नारायणगोपालले जगदम्बाश्री पुरस्कार पाउँदा भने, "नेपाली सङ्गीतलाई अगाडि बढाउनुपर्छ तर साहित्यसँग सन्निकट रहेर ।" यो उनले विनाकारण बोलेका थिएनन् । यो त भूपिजस्ता कयौँ साहित्यकारहरूसँगको सङ्गतबाट निस्केको निचोड थियो । अम्बर गुरुङलाई शङ्कर लामिछानेले फेरि नजन्मने प्रतिभाको रूपमा उल्लेख गरेका छन् । यी सम्पूर्ण कुराहरू भनेका एकअर्कालाई नजिकबाट नियाल्नु हो । आफ्नो मात्र होइन, अर्को क्षेत्रको जानकारीसमेत हासिल गर्नु हो । त्यसैले उनीहरू आफ्ना सिर्जनाका बुद्ध थिए । त्यस बेला नयाँसडकको पीपलबोटले यस्ता बुद्ध सर्जक जन्माउने अबसर दिन्थ्यो । पुतलीसडकले प्रतिभाहरूको अन्तस्थलभित्रै चिहाउने मौका दिन्थ्यो ।

स्थानले वैचारिक विविधतालाई अभिव्यक्ति पोख्ने अबसर दिन्छ । हुन त आज पनि सञ्चारका झिँजाझँाक्राहरू व्यापक रूपमा विस्तार भएका छन् तर तिनले आफैँलाई फैल्याउने काम बढी गरिरहेछन् । समेट्नलाई वातावरण नै चाहिन्छ । वातावरण बनाउने जमघटले हो । खै त यो भएको । धेरै इँटाहरू चाङ लाग्दै एउटा भव्य भवन बनिन्छ । यसका लागि प्रत्यक्षतः एउटा इँटाको जति महत्त्व र अहम् देखिन्छ, त्यत्तिकै महत्त्वपूर्ण भूमिका एउटा इँटालाई अर्को इँटासँग जोड्ने सिमेन्टले खेलिरहेको हुन्छ । इँटाबिना सिमेन्टको अस्तित्व छैन र सिमेन्टबिना इँटाको पनि अस्तित्व छैन । आज पनि इँटाहरू त छन् तर तिनलाई जोडने सिमेन्ट हामीसँग छैन । सिमेन्ट पनि छ तर त्यसलाई इँटासँग जोडाइदिने समय, अबसर र अबस्था छैन ।

त्यसैले भनिएको हो, भूगोलपार्क या नयाँसडक र पुतलीसडकले धैरे प्रतिभाहरूलाई जन्मायो तर आज यी सडकहरू खालि व्यापारका लागि भए, सर्जकका लागि हुन सकेनन् । अनि त घरको झ्यालबाट असीम चासो बोकेर जब म बाहिर चिहाउन खोज्छु, दृष्टिहरू पर्खालहरूमा ठोक्किएर निरन्तर फर्किन्छन् । क्षितिजसम्म पुग्नै सक्तैनन् । म कसरी तिनमा आयाम भरुँ ? दृश्यमा कुनै रङ तरङ्गित हँुँदैनन्, अनि म कसरी चित्र कोरुँ ? त्यहाँ न त मोहन कोइराला भेटिन्छन् ? न त दौलतविक्रम विष्ट ? भेटिन्छन् त खालि मेसिनका मान्छे र विचारका फलामहरू । अनि अग्लाअग्ला महलहरूभित्र कसरी फुलून् सुगन्धित र सुन्दर फूल ? नाम मात्रको पगरी गुथेर जीउन कति कठिन हुन्छ, रजौटोबाट फुटपाथे भएको मान्छेको पीडा भोगिरहेछ काठमाडौँले र सारा रामकहानी बागबजारलाई थाहा छ । नाम मात्रको अस्थित्व भोग्नुको ग्लानिभाव बागबजारलाई थाहा छ । अब कहिल्यै फूल फुल्न नसक्ने वागबजारलाई थाहा छ, सम्मन्नताको चुलीबाट भिखारी जीवन बाँच्नुको वेदना ।

अग्लाअग्ला भवन र अट्टालिकाहरूको सङ्ख्या थपिँदै छ । म मेरो कार्यालयको झ्यालबाट बाहिर हेर्छु । केही ज्यामीहरू बीसौँ तलामाथिको बाहिरी पर्खालमा बाँसको खटमाथि उभिएर आफ्नो जीवन खतराको बन्धकीमा राखी भव्य भवन निर्माण गरिरहेछन् तर तिनलाई थाहा छैन्, यो कसका लागि गरिरहेछन् ? उनीहरूको काम हो घर बनाउने । को कसको भन्ने बुझ्नु अर्थहीन छ । अर्थ त खालि दुई छाकको गर्जो टर्ने ज्यालामा अडिएको छ । यस्ता अर्थ खोज्ने सामथ्र्य र विवेक तिनमा भएको भए, सायद तिनीहरूको पनि घर बनिने थियो । सम्पन्न सुकुमवासीले हालावादी गरी छाप्राभित्रभित्रै महल ठड्याए तर विचरा सच्चा सुकुमवासी Û तिनीहरूको घर भने कहिल्यै बनिन सकेन । तिनीहरू दिनभरि सिंहदरबार र राजदरबारहरू बनाएर राति फुटपाथमा सुत्छन् । ती भवनहरूमा सुन्दर रङ लगाउँछन्, बलिया झ्याल, ढोका हालिदिन्छन् तर निर्माणको पूर्ण अबस्थामा पुगेपछि आफैँले बनाएका भवनहरूमा ती प्रवेश निषिद्ध हुन पुग्छन् । कम्युनिस्टहरू भन्छन्, समाजमा शोषक र शोषित वर्ग हुन्छ । शोषकले शोषण गर्नु र शोषितले सेवा गर्नु नियति हो । ढुङ्गाको भर माटो, माटोको भर ढुङ्गा । त्यही हो, मेरो कार्यालयको झ्यालबाहिरको आलिसान भवनमा ती काम गर्ने र घर बनाउनेबीचको आपसी भर ।

मैथिली रङ्गमञ्चका महान् रङ्गकर्मी महेन्द्र मलङ्गियाले भन्थे, इनार खन्ने मानिस इनार खनिउञ्जेलसम्म दलित हुँदैन तर इनारको पानी सङ्लिएपछि उ दलित भइसक्छ । उसको अस्थित्व र अवस्था धमिलिइसकेको हुन्छ । यो यथार्थ हो, उसले आफैँले खनेको इनारको पानी छुन पाउँदैन । कुनै तर्कले यथार्थलाई काट्न सक्तैन । बल्दो अगेनोमा हात हालेर मलाई आनन्द लाग्छ, यसले पोल्दैन भन्नु आडम्बर हो । सबैका पाइलामुनि जमिन छ र सबै जमिनमुनि पानी हुन्छ । त्योचाहिँ अछुत हुँदैन किनभने मानिसका नियन्त्रणबाहिरका कुराहरू सर्वस्वीकार्य हुन्छ । नियन्त्रणमा आइसकेपछि त्यहाँ सीमारेखा तेस्र्याइन्छ । बग्दो खोलाका मुहानमा गएर दलितले पानी पियो भने पनि त्यो अपवित्र हुँदैन किनभने मान्छेले खोलाको पानीलाई विभाजित गर्न सक्तैन । आफ्नो नियन्त्रणमा राख्न सक्तैन । प्रकृतिले समान अधिकार र अवयवहरू दिएको छ, सारा मान्छेलाई । यसमा मानिसले विभाजनको तगारो तेस्र्याउने अधिकार कोबाट प्राप्त गर्‍यो ?

सिर्जनामा यस्तो हुँदैन । नत्र नारायणगोपाल, गोपाल योञ्जन, नगेन्द्र थापा सर्जक नै हुने थिएनन् । यिनीहरूमध्ये कोही मेरो कार्यालयअघिको बढेमाको भवनका मालिक हुन्थे होला । कोही त्यो भवन बनाउने मजदुर । अम्बर गुरुङ निवृत्त सैनिक हुन्थे होलान् र रत्नशमशेर थापा कुनै सरकारी अधिकारी भएर पेन्सन पकाइरहेका हुन्थे ।

त्यसैले आज मान्छे नितान्त एक्लो भएको छ, जमातमा पनि र विचारमा पनि । विचार, भावना र समग्र सिर्जनाको विनिमय थलोको अभावमा । त्यसैले सर्जकको संवेदना आजका नक्कली धातुमा सुनको पालिस लगाएर केही दिन टल्किने वस्तुमा रूपान्तरित भइसकेको छ । यो अभाव पीपलबोटअघि या पुतलीसडक वरिपरि उभिएका आलिसान भवनहरूले पूर्ति गर्न सक्तैनन् । शाश्वत के हो भनेर मान्छे आज आफैँसँग पृथक र संवेदनाहीन कङ्क्रिटमा परिणत भइरहेछ ।
मधुपर्क

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 13 पौष, 2067

लेखकका अन्य रचनाहरु