माधवकोल कारखाना

- शिखण्डी

मलाई कहिले कांही गजबै डाहा लाग्ने गर्छ । हुनत भन्दछन, कसैको पनि डाहा गर्नु हुंदैन । पानबाजे किसुनजी प्रधानमंत्री भएको बेला मैले एकजना साथीलाई भनेको थिएं, हरियो कांक्रो चपाउन पनि गाह्रो हुने उमेरमा पनि बुढालाई के रहर जागेको होला भनेर । ती साथीले मलाई चारनाल चित्त पारे– “पुर्पुरोमा लिएर आउनु पर्छ जुन सुकै कुरो पनि । पुर्पुरो खाली लिएर आउने अनि अरुको भरी पुर्पुरोको डाहा गर्ने ?“

सही थियो त्यो साथीको तर्क पनि । मैले कुनै जवाफ फर्काउनै सकिन । जवाफ फर्काउन खोजेको भए साथीले सायद अर्को तर्क अगाडि सारेर मलाई नाजवाफ पार्ने थियो होला ।

तर अहिले फेरि मलाई बेलाबेलामा डाहा र छटपटि हुन थालेको छ । यो डाहा किसुनजीलाई सम्झेर होइन की, प्रधानमंत्रीको कुर्सीमा टांसिएर बस्दिन भन्दा भन्दै पनि बसिरहनु परेको माधवबाबुको पुर्पुरोलाई देखेर भइरहेको छ । कस्तो बलियो पुर्पुरो ए हाम्रा बन्धुको । अबता मलाई पुग्यो, तिमिहरुका लागि मैले सिट खाली गरिदिएको छुं, खाओ भन्दा पनि माधवबाबुकै भागमा कुर्सी परिरहेको छ ।

मेरा तीनै साथी अहिले राजधानी छिरेका छन मिथिला क्षेत्रबाट । जब उनी राजधानी घुस्छन, मेरो र उनको भेट नहुने कुरै रहंदैन । कहिले उनी मेरो कुटीमा आइ पुग्छन भने कहिले उनको सुनधाराको अड्डोमा म पुगेको हुन्छु । यस पटक भने म नै उनको बासस्थलमा पुगें र आफुलाई औधि डाहा भइरहेको कुरा बताएं । उनले मेरो अनुहारमा हेरेको हेर्यै भने “तिमीलाई पनि कति डाहा हुन्छ, जब आफ्नो पुर्पुरोमा लेखिएको छैन भने अर्काको डाहा गर्न छाड । भोली तिमीलाई प्रचण्ड र रामचन्द्रबाजेले चारचार पटक हारेर हारको नयां रेकर्ड कायम गरेकोमा डाहा लाग्ला । यसरी अरुको डाहा नै गर्दै जाने हो भने तिमीले केही पनि गर्न सक्दैनौ । त्यसैले डाहा गर्न छोड र मैले भनेको नयां कार्ययोजनामा लाग्ने पहल गर ।” उनको कुरोले मलाई खुलदुली भयो । मिथिलाक्षेत्रबाट आएका यी मेरा लगौंटियाले अब के भन्ने हुन ।

“के हो महाशय, यस पटक तिमीलाई नै डाहा लाग्यो की कसो माधवबाबुको शक्तिशाली पुपुरो र उनको कुण्डलीका सबै ग्रह दशाहरु उच्च भागमा रहेको देखेर ? तिम्रो कुरा गराईमा मैले डाहाको गन्ध नै भेंटें ।”
मेरा साथी भन्न थाले, “हेर डाहा मलाई कहिले पनि हुंदैन । म त परें व्यापारी मान्छे । जसरी व्यापारमा फाइदा हुन्छ त्यसरी नै व्यापार गर्दै जाने । मलाई यदी नेताहरु पटक पटक हारे जस्तै हार्नु थियो वा सबैलाई मिलाएर जित्नु थियो भने मैले उहिले नै टिकट पाउंथें । तिमीलाई मजाक लाग्ला, मलाई तमलोपा, सदभावना, फोरम दुबैले टिकट लेउ नभए समानुपातिकमा बस भनेका थिए । तर मलाई थाहा थियो, यीनले दुइवटा जेठ चौध मात्रै होइन अरु पनि कैयौं जेठ चौध थप्दै जान्छन । जेठ चौध आइरहन्छ गइरहन्छ, तर जे बनाउनु पर्ने हो त्यो बन्दैन । त्यसैले संविधान बनेपनि नबनेपनि मैले एउटा कोल कारखाना बनाउने निधो गरिसकें । म त व्यापारी न ठहरीएं । मैले बनाउने कोल कारखानाबाट पहिलो उत्पादन बन्नोछ माधव कोल नाम गरेको कोल । अलिकति सामान किन्न आएको थिएं । तिमी पनि मेरो कारखानाको शेयर होल्डरमा बस्ने भए भनी हाल । मैले तिमीलाई भनिरहनु पर्देन माधवकोल कति चल्नेछ ।”

म भने माधवकोलको जोड कति मजबुत होला भन्ने सोच्नथाले ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 11 पौष, 2067

लेखकका अन्य रचनाहरु