क्रसरोड

- सन्जु बजगाईं

“मिस्टर मोरिस.....मिस्टर मोरिस........!” म ओछ्यानबाटै चिच्याएँ ।
“के भयो ? टेबल ल्याम्प ननिभाई सुत्नु पर्थ्यो नि !

” ऊ मेरो कोठासँगै जोडिएको कोठाबाट बोल्दै निस्कियो र मेरो कोठाको बत्ती बालिदियो ।मेरो निधार पसिनाले भिजेको थियो । हातहरु चिसा थिए । सास फेर्न असजिलो भैरहेको थियो । यस्तो पहिलो पटक भएको होईन । मोरिसले मलाई यस्तै अवस्थामा धेरै पटक पाईसकेको छ ।

“आज औषधि समयमा लिन बिर्सियौ कि ?” उसले मेरो निधारको पसिना पुछिदिँदै सोध्यो ।

“औषधि त मैले समयमा नै खाएकी थिएँ ।” मैले जनाउ दिएँ ।

“उसो भए पक्कै पनि तिमीले कुनै समाचार पढेको हुनुपर्छ ।” मोरिस अलि रिसाएर बोल्यो ।

मैले केवल उसलाई सुनिरहें । उसको शंकामा सत्यता थियो जुनकुरा मलाई राम्रोसँग थाहा थियो । हरेक बिहान ईन्टरनेटमा चाहारेका मेरै माटोको समाचारका पीडाहरु मनमा टाँसेर दैनिकी पुरा गर्ने आदत नै भैसकेको छ मलाई । त्यसैको धङ्गधङ्गीले दिनभर सताउँछ अनि रातमा ऐठन गराउँछ ।

“यसलाई हेर्ने गर । यसैलाई सुन्ने गर ।”

झोक्किदै भित्तामा अड्याएको प्लाज्मा टि.भि.मा म्युजिक च्यानल अन गर्दै बोल्यो ऊ । मलाई डक्टरले नै म्युजिक सुनिरहने सल्लाह दिएको छ । त्यसै बमोजिम मिस्टर मोरिसले एम.पी.थ्री किनेर ल्याईदिएको । घण्टौ लगाएर मैले मन पराएका कैयौ गीतहरु उसैको ल्यापटपबाट डाउनलोड गरिदिएको छ । तैपनि ऐठन हुनबाट टाढिएकी छैन म ।

“ मोरिस यो शायद अन्तिम पटक हो ।”

म आफूलाई दोषी महशुस गर्दै अर्को पटक यस्तो हुने छैन भन्ने विश्वासका साथ बोल्छु । ऊ मेरो बेड छेउको कुर्सीमा म सामुन्ने भएर बस्यो । माफी माग्दै मेरा हातका तन्तुहरुले उसका हातहरुलाई छोईदिएँ । उसको अलिकति बढेको रीस मेरो स्पर्शले स्वाट्ट हराएर गयो । त्यो उसको अनुहारमा पढेँ ।

मोरिसले सयांै माईल टाढाबाट मलाई यहाँसम्म ल्याई पु¥याएको छ । ‘जमुना कुमारी’ बाट ‘जेनी’ बनाईदिएको छ । स्याहार–सुसार गरेर नयाँ जीवन दिएको छ । काम पनि दिलाई दिएको छ । साथीभाइहरु खोजिदिएको छ । ट्रेन स्टेशनको टिकट काउन्टरमा काम गर्ने मिस्टर मार्क अनि बिहानको सेक्यूरिटीमा खटिएको पुलिस अफिसर मिस्टर एलेक्स, सबै मिस्टर मोरिसले चिनाजाना गराईदिएकाहरु त हुन् ! यिनको आत्मियताको बयान गरि साध्य छैन । उनीहरु जान्दछन्– म उनीहरुकै वर्णकी जुलियाना होईन । म क्यारोलिन पनि हुन सक्दिन । मेरा आँखाका रङ्ग, मेरो छालाको रङ्गले केही अर्थ राख्दैन यीनका माझ । तैपनि यीनीहरु असाध्यै शिष्ट र दयालु छन् । मेरो मनलाई अशान्त पार्ने केही छैन यहाँ । जता फर्कियो उतै शान्ति छ । दिल दुखाईदिने या दिल दुख्ने केही त्यस्तो बस्तु भेट्दिन यद्यपी अशान्त छु म । त्यसैले एक हप्तादेखि एउटै प्रश्न उसलाई सोधिरहेकी छु ।

“ मोरिस तिमीले मलाई नै किन रुचायौ ?”

मेरो जवाफका लागि पृष्ठभूमी तैयार गर्दै मैले सोध्दा मेरो छेवैमा बसेर टि.भि.मा ब्रिट्नी स्पेयरको गीत दङ्ग परेर हेरिरहेको थियो ऊ ।

“तिम्रो लामो र तिखो नाक देखेर ।”

गीतमा झुमिरहेको उसले मलाई हेर्दै थेत्तरो पाराको जवाफ दियो । बास्तवमा मेरो सिङ्गो देश नै घाईते भएर थलिएको बेला मोरिस मलाई मात्र जाँच्न पक्कै गएको थिएन । मेरै जस्तै ब्यथा भोगिरहेकाहरुका बिचबाट किन उसले मलाई नै आफ्नो साथ लिएर आयो ? म शंकैशंकामा बेरिएकी छु । उसले मलाई असाध्यै माया गर्छ । बोल्दा उस्तै प्रेमले बोल्छ । तर म प्रति यसरी दयालु हुनुको कारण कहिल्यै खोल्न चाहँदैन । जत्तिका पटक प्रश्न गरेपनि बेतुकका जवाफ दिन्छ र पन्छिन्छ । म चाहन्छु मलाई देखाएको स्नेह र समपर्णको कारण पनि केही हदसम्म खोलिदियोस् ।

“ मोरिस तिमी दुःखी मान्छेहरु सबैलाई यसरी नै प्रेम गर्छौ हो ?” केही सत्य बोलिहाल्छ कि भनि अर्को प्रश्न अघि सार्छु म ।

“दुःखी भन्दा बढी पीडा भोगेकाहरुलाई प्रेम गर्छु म ।”

सेतै फुलेका आँखीभौं उचाल्दै छोटो जवाफमै पुर्णबिराम लाउँछ उसले ।

“मिस्टर मोरिस ! प्लीज केही त अरु बोल । मेरो बिगत र बर्तमानको अस्तित्वका बारेमा ।” म हात जोडेर आग्रह गर्छु ।

“तिमी पीडामा छट्पटाईरहेकी थियौ मैले भेट्दा । असाध्यै पीडामा ! मानसिक पीडा झेलिरहेकी तिमीलाई असाहय देख्दा म द्रविभूत भएँ । मेरो पेशा अनुसार तिमीलाई जाँचे, औषधी लेखिदिए तैपनि तिमी ठीक भईनौ । छोड्न मनले दिएन । यहाँ उपचारको संभावना थियो त्यसैले लिएर आएँ ।” ऊ बेलिबिस्तार लगाउँछ । तर अझ पनि म आफूले खोजेको जवाफ पाउँदिन ।

मध्य रात भैसकेको छ भित्ताको घडीमा । एक पटकको निन्द्रा बिथोलिएपछि कैयौं घण्टासम्म अनिदो बस्ने बानी छ मोरिसको । उसले यही अनिदो समयमा मनभित्रको सत्य ओकलिदिए शान्त हुने थिएँ म । एक हातका औलाका संख्या बराबर वर्षहरु बितिसके बेबारिसे झै भएर । म मेरी आमा बिर्सन सक्दिन । मेरो घर बिर्सन सकिरहेकी छैन । मलाई मेरो माटोको गन्ध सुँघ्न मन लागेको छ । आफै कस्तुरी भएर बास्नाका लागि भौतारिरहेकी छु ।

“मेरो पीडा देख्न नसकेर मलाई लिएर आयौ । अब त्यो बिषेक भैसक्यो मलाई फिर्ता पठाईदेऊ न त ! ” मेरो धैर्यताको बाँधमा भावनाका भंगालाहरु पस्न थालिसकेकाले मैले कुराको शुरुवात र अन्त्य एकै पटकमा बोलिदिए ।

“फिर्ता......फिर्ता कसरी !?”

उसलाई मेरा शब्दहरुको अर्थ अँध्यारो, भयावह कालो, अन्त्यहीन सुरुङ्ग समान भो । उसले आफ्नो बुढो गर्घनलाई दायाँबायाँ घुमाई मात्र रह्यो । अगाडि अरु केही बोलेन । हामी दुई बिचको शुन्यतालाई चिर्ने भित्तामा टाँसिएको टेलिभिजनमा बजिरहेको संगीत मात्र थियो तर हाम्रो संवादलाई जोडिदिने अर्को कुनै साधन थिएन त्यहाँ ।

“मिस्टर मोरिस अब मलाई फिर्ता पठाउनु पर्छ तिमीले ।” सर्सर्ती हेर्दा म स्वार्थ बोलिरहेकी थिएँ । बिगतको समयले आफ्नो, आफ्ना र आफन्तहरुसँगबाट किनारा लगाएर तातो पोल्ने बलौटे धारमा छोडिदियो । लाचार भई सहन बाध्य थिएँ । लुटिएको अस्मिताको आलो घाउ छातीमा टाँसेर घर फर्कनुभन्दा अनाथ भै बाँच्नु ठीक ठाने । भोग्न गाह्रो थियो । बिस्तारै मानसिक रोगी भएँ । मेरो त्यस्तो अवस्थाबाट उठाएर आजको यो स्थितिमा ल्याईपु¥याएको मोरिसले नै हो । यो सब बिर्सिएर फर्काईदेऊ भन्नु स्वार्थ बाहेक के होला र ? तर अर्कोतिर मोरिसले बोल्ने ठोस कुरा थाहा नपाइ उसकै आडमा जीन्दगीलाई परसम्म तन्काउने आधार के त ? मलाई थाहा थिएन ।

“मिस्टर मोरिस केही त बोल ! म को हुन सक्छु तिम्रा लागि ? अनि मेरो उपस्थितिले के महत्व राख्छ तिम्रो जीवनमा ?” मेरो सामुन्ने भएर बसेको उसलाई उदेश्य खोल्न दबाब दिईरहन्छु । उसका निला आँखाका नानीहरु मेरो चौडा निधारमा नाचिरहन्छन् नतमस्तक भएर । ऊ भाग्न खोजिरहेको थियो मेरा प्रश्नहरुबाट । हात बढाएर मेरो तकियामाथिको किताब समाउन पुग्यो ।

“यो नपढ तिमी । आराम गर अब ।” मैले पढ्दै गरेको ‘ओथिली बेले’ को ‘लँफँ दँ ल प्लाकार्ड’ भन्ने किताबलाई सिरानीमाथिबाट हटाईदियो उसले । मेरो बदलिदों सोचाईको कारक मानेको हुनुपर्छ उसले त्यस किताबलाई ।

हुनपनि एकतर्फी बिश्लेषणमा म आफूलाई त्यही किताबको जीवन्त पात्र ‘जँ’ जस्तै पाउँथे । त्यो सानो बच्चो ‘जँ’ ओछ्यानमा पिसाब गरेको सानो गल्तीका कारण घण्टा, दिन हुँदै महिनौसम्म कालो, सुनसान र डरलाग्दो दराजभित्र थुनिएर बाँच्न बाध्य थियो । म सुन्दर युवती ! देशभरी परिवर्तनको ढोंङ्ग पिटेर छद्यमभेषी भई सलबलाएका अमानवहरुको पन्जामा परेर आफ्नो अस्मिता गुमाउनुको कारण आज अर्काको बिरानो मुलुकमा बिवश बाँचिरहेकी छु । मेरो राष्ट्रिय पहिचान के त ?

“मिस्टर मोरिस आखिर के फरक छ र त्यो ‘जँ’ र मैले भोगेको शिलशिलामा ?” म किताब फर्काइको लागि बिन्ती गर्छु ।

“फरक छ । घर परिवार सबैले तिरस्कार गरेर फ्याँकिएकी तिमीलाई मैले तिम्रो अस्तित्व स्वतन्त्र अनुभव गर्न दिएको छु ।”

ऊ आफ्नो देशको माटोमा जन्मिएर आफ्नै देशको हावामा श्वास लिएर बुढो भएको मान्छे प¥यो । मातृभूमि र आफन्त गुमाउनुको पीडा के थाहा उसलाई ? उसले मेरो भित्री दुखाई देख्न सकिरहेको थिएन ।

“तिम्रो देश मेरो निम्ति ‘जँ’ थुनिएको अँध्यारो दराज जस्तै छ । बाहिरको उज्यालोले केही खुशी दिएको छैन मलाई । मेरो माटोमा खुल्ने उज्यालो चाहियो मलाई । या त तिमीले तिम्रै देशमा राख्न चाहनुको कारण देऊ मलाई ।” मैले अति जिद्धी गरिसकेकी थिएँ । मैले फर्किने चाहना स्पष्ट राखेपछि मोरिसले बोल्नु बाध्य ठानेको हुनुपर्छ । हातमा बोकेको किताबलाई फ्यात्त फ्याँकिदियो मेरो काखमा र मेरै छेउमा आई बस्यो । बिस्तारै केही भन्नलाई आँखाहरु भित्ताहरुमा नचाउन थाल्यो ।

“यो भित्तामा झुण्डिएको त्यो तस्वीरको रङ्गले मेरा आँखाका नानीहरु पोतिएका थिए त्यसबेला । त्यो रङ्गले आँशु भएर पोखिनु थियो । तिमीलाई देख्दा मनको ताल फुट्यो र रङ्ग छताछुल्ल भो । त्यसैले टपक्क टिपेर तिमीलाई लिएर आएँ । शायद यो मेरो स्वार्थ थियो । मैले लुकाएको यथार्थता यत्ति हो ।” उसले भित्ताको तस्वीरलाई सुम्सुम्याउँदै अमूर्त भाषा बोल्यो ।

“मिस्टर मोरिस यो तस्वीरको रङ्गसँग मेरो के सम्बन्ध ? म चाहन्छु प्लीज अब मलाई मेरै देशको हावामा स्वास फेर्न पठाईदेउ ।” उसको अमूर्त उत्तरमा रुमलिदै मेरै माटोमा फर्काउदेउ भनि जिद्धी गरिरहेँ ।

“मेरी छोरीको यो फोटोमा तिम्रो प्रतिबम्ब देख्छु म ।” उसले मलिन स्वर निकालेर कार दुर्घटनामा मृत्यु भएकी आफ्नी छोरीको स्थानमा मलाई राखिदियो र भन्यो– मलाई मेरो बुढ्यौलिको एक्लोपनसँग डर लाग्न थालेको छ । त्यसैले तिमीसँगको बिना नाताको सम्बन्धमा लोभिईरहेको छु ।” यत्ति बोल्दै बसिरहेको ठाउँबाट धर्मराउँदै उठ्यो र लाग्यो सुत्ने कोठातिर ।

मोरिसको अन्तिम वाक्यांश मेरो मस्तिष्कमा घुमिरह्यो । मलाई घेरैबेरसम्म निन्द्रा परेन । एकातिर मेरी जन्म दिने आमा, मेरो माटोको गन्ध, हावा र पानीको मिठो स्पर्श, कोदो र फापरका फूल, मेरो श्वेत सगरमाथाको उचाई, अर्कोतिर मोरिसले ममाथि लगाएको गुन र उसले खोलेको अन्तिम यथार्थ सबैलाई अस्वीकार गर्ने हिम्मत भेटिरहेकी थिईन मैले । मोरिसको जवाफले आफूलाई एकैपटक क्रसरोडमा पाएँ । अर्को डोज औषधी खाने समय भैसकेको थियो । टेवलमाथिको ह्यान्ड ब्याग खोलेर डिप्रेशनको गोली खाएँ । कुन बाटो जाने हो ? अनिर्णित म पुनः बिस्तरामा फर्किएँ ।

ब्रसेल्स, बेल्जियम

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 5 पौष, 2067

लेखकका अन्य रचनाहरु