‘अन्तर्मनको यात्रा’ पढेपछि

- भारती गौतम

“विषाद गीत सबभन्दा मिठो हुन्छ रे । म मेरो जीवनको त्यही विषाद गीत गाउँदै छु ।”

अन्तर्मनको यात्राभित्र लेखकका एक से एक उद्धरणयोग्य वाक्यमा मैले उक्त वाक्य बढी मन पराएँ, यो वाक्यलाई किताबको समष्टि मानेकी छु मैले ।

अगस्टको अन्तिम साताको शनिवार मैले एक जना नजिकका साथीको घरको दराजमा राखेका भर्खर नेपालबाट ल्याएका चर्चित किताबहरूको माझमा पाना नै पल्टाउन बाँकी नयाँ खैरो भूमिमा सेता र पहेला अक्षरको गाता भएको अन्तर्मनको यात्रा देखेपछि यो किताब एक हप्ताभित्र फर्काउने सर्तमा मलाई पढ्न दिनु हुन्छ ? भनेर सोधेँ । उहाँले हुन्छ भन्ने बित्तिकै भोलिपल्ट बिर्सिन्छ भनेर त्यसै रात मेरो नयाँ कोच ब्यागमा त्यो किताब कोचिसकेकी थिएँ । कहिले उज्यालो हुन्छ र ती साथीहरूसँग बिदा भएर गाडीमा दुई घन्टा लामो ड्राइभमा त्यो किताब पढ्नु भनेर हतारिन थालेकी थिएँ । यसो किताब सुम्सुम्याएर यसै फरर अगाडिदेखि पछाडिको पेजसम्म बेलुकै पल्टाएँ, अक्षर एउटा पनि पढिनँ । लामो बाटाको गाडी हाँक्ने काम सधैँ श्रीमान्ले गर्ने हँुदा प्यासेन्जर सिटमा बस्ता मलाई प्रशस्त समय हुन्थ्यो, तर किताब पढ्दा कहिलेकाही रिँगटा पनि लाग्ने हुन्थ्यो । रिँगटा लागेपछि बरु छोडौँला भनेर किताबको केही अंश बाटैमा पढ्ने मेरो आँट थियो ।

साथीद्वय कमल उपाध्यायजी र उहाँकी पत्नी आशासँग बिदा भएर गाडी सडकमा सोझिनुअघि नै मेरो काखमा अन्तर्मनको यात्राका पाना पल्टिन थालिसकेका थिए । कनेक्टिकटबाट बोस्टनको बाटो गर्मी महिनामा वरिपरिका मेपल र ओकका रूखको हरियालीले झपक्कै हुन्छ पात झर्ने बेलामा तिनै हरिया पातहरू राता र पहेँला रङ्गले रँगिने गर्छन्, अनि हिँउ परेको बेला ती पातहरू नभए पनि हिँउले सेतै नुहेका हाँगा देख्ता त्यो बाटो यताकै दुलही जस्तै आकर्षक हुने गर्छ । त्यो बाटाको ड्राइभिङ कुनै पनि मौसममा दिक्क लाग्दो हँुदैन । आज मेरो काखमा रहेको अन्तर्मनको यात्राले गर्दा कनेक्टिकटदेखि बोस्टनसम्मको यो बाह्य दृश्यावलोकनको मैले परवाह गरिनँ ।

किताबको पहिलो पानामा नै पुस्तक आठौँ संस्करणमा पुगेको उल्लेख गरिएको रहेछ, यसले किताब पढ्ने हतार बढाएको त थियो नै, तर आफ्नो हातले पहिलो पटक छोएको र आँखाले पनि पहिलो पटक देखिएको यो किताबको आठौँ जन्म भैसकेको तथ्यले आत्मग्लानि र सरम लागेको थियो । शताब्दीको चौथाइ प्रवासमा बिताउँदा आफ्नो घर आँगन, आफ्नो छरछिमेक र आफन्तका मनभित्रबाट समेत टाढिनु परेका थुप्रै उपहारहरूमध्ये मुलुकमा सिर्जित यस्ता यस्ता अमूल्य निधिको ताजा स्वादबाट वञ्चित हुनु पनि हो । भूगोलको नापका अङ्कहरू जति लम्बिए पनि, समयका चोइटाहरू जति चुलिए पनि प्रवासको वासको लम्बाइले मनको निकटतालाई अरू छोट्याउँदै जाने हँुदा ताजापन गुमाउन थालिसकेका यस्ता अमूल्य निधिको स्वाद लिँदा पहाड खोकुको सुन्तला मधेस विराटनगरमा खाए जस्तो अनुभव हुँदो रहेछ । इन्टरनेटको माध्यमबाट पढिने समाचारका हेडलाइनहरू (धेरैजसो त यति मात्र नै हेर्ने गरिन्छ), आउने जाने मान्छेबाट यदाकदा सुनेका चर्चाहरू, आफन्तसँग गरिने फोनबाट जम्मा पारिएका टुव्रmा जोडेर निर्मित स्वदेश यात्रा इन्टरनेटको पर्दामा देखिएको फोटोमा लगाइएको दसैँको टिका जस्तो मात्र हुँदो रहेछ ।

अन्तर्मनको यात्रा देख्ने बित्तिकै पढ्न मन लाग्नका कारणहरूमध्ये यसले पाएको चर्चा परिचर्चा, यो किताब लेख्ने मान्छेको पृष्ठभूमि, परदेशमा बसिराखेका बेला घरबाट आएको कोसेली भनेर, अनि अमेरिकी राजनीतिक इतिहासको महत्वपूर्ण अध्यायको आखिरी परिच्छेदको रूपमा रहेका सिनेटर एडवर्ड (टेड) केनेडीको “बे्रन ट्युमर” बाट अघिल्लो हप्ता मात्र भएको देहावसान आदिको अतिरिक्त व्यक्तिगत कारण हैन भनेर म चोखिन चाहन्नँ ।

अन्तर्मनको यात्राका स्रष्टा जगदीश घिमिरेलाई मैले व्यक्तिगतरूपमा चिनेको छैन, कुनै समारोहमा देखेको भए पनि त्यो आज भन्दा २५ वर्ष अगाडि हुनुपर्छ, त्यस्तो टाठो सम्झना छैन । इन्टरनेटको माध्यमबाट नेपाल पत्रिका पढ्न थालेपछि उहाको स्तम्भ “चेतना भया” पढ्न थालेको हो । उहाँको साबिती उपन्यास सुनेको हो, मेरा श्रीमान् (शिव गौतम) ले पढेको र मनपराएको बेला बेला उल्लेख गर्नु भएको हो, तर मैले अहिलेसम्म पढेको छैन ।

तर दुर्गादिदीलाई मैले देखेकी छु, उहाँको बारेमा धेरै सुनेकी छु, उहिले म स्कुल पढ्दा धनकुटामा देखेको हो । राजनीतिक मान्छेले गर्ने जस्ता देश बनाउने कुरा जोसिलो र साहसिलो स्वरले गरेको सुन्दा आफूले सुनेकी र आदर गरेकी त्यस्तै राजनीतिक महिला इन्दिरा गान्धीको झझल्को आएको थियो । उहाँले बोलेको पनि नेताले भाषण गरेको जस्तै लागेको थियो । त्यसबेला टाढैबाट भए पनि दुर्गादिदीलाई म आदर्श मान्ने गर्थें । हुनत यो किताबको चर्चा गर्दा जगदीश घिमिरेको बढी चर्चा हुनुपर्ने जस्तो देखिए पनि यो किताब जगदीशको भन्दा पनि बढी मलाई दुर्गाको हो जस्तो लागेको छ ।

“जगदीशले यो कृति मेरा आँसुका मसीले लेखेका हुन्” दुर्गा घिमिरेले व्यक्त गरेको यो वाक्यले भिजेका कुनै पनि पाठकका आँखाले यो किताबभरि दुर्गा देख्न सक्छ । यो किताबको जगदीश घिमिरे भनेको अलिकति दुर्गा घिमिरे, अलिकति हिमाल र जून, अलिकति राजनीति, अलिकति प्रवासको वास, अलिकति समाजसेवा, अलिकति चोभारको रमणीय घर, अलिकति साहित्य, अलिकति मन्थली आउँछ । यी सबै अलिकतिको थुप्रो हो यो किताब । किताब सकिँदा नसकिँदै मैले आफूलाई जगदीश घिमिरे र दुर्गा घिमिरेको साख्खैको सदस्य मान्न थालेकी थिएँ ।

पहिले त म जगदीश घिमिरेसँगै पूर्व दुई नम्बर पुगेँ । सुदुर पूर्वमा हुर्किन पुगेकी र धनकुटाभन्दा पश्चिमतिर खुट्टा नटेकी म रामेछाप र मन्थलीसँग मेरो आफ्नो धनकुटा कचिँडेसँग जत्तिकै नजिकिएँ । मन्थलीको तिलकेथानको टुप्पाममा म पनि पुगेँ । त्यहाँको बेसीमा पनि म पुगेँ । रमिते, लिसनपानी, केउरे पानी र ठुलो पात्लेमा गाई चराउन गएँ म पनि । पात्ले पँधेरामा गाईबस्तुलाई पानी खुवाउन पुगेँ, त्यहाँको उत्तिस, पात्ले, साल, सल्ला र चिलाउने आदिका रूखै रूख भएको बाटामा म पनि हिँडेँ, लेखकसँगै थानपति महादेव स्थानमा गएर कराएर मैले पनि वर मागेँ । सतिबयर, काफल, ऐँसेलु, धँगेरो, किन्दुक र शिरीषको वनमा म पनि पुगेँ । पाकेका काफल र ऐँसेलु अनि सतिबयरको स्वाद पनि मैले लिन सकेँ । तामाकोसीमा घाघी हाल्ने, गोठालाहरूसँग वरिपरिको चरन घुम्ने, बेसीमा दाइँ भएका ठाउँमा म पनि परालका कुन्युकुन्यु हिँडेँ । म मन्थलीका छरछिमेकमा हरिया मकै पोलेर खान पनि पुगेँ । लेखकसँगै म पनि तामाकोसीको प्रेममा चुर्लुम्म डुबेँ ।

“मेरी प्रेमिका तामाकोसी उः त्यो डाडाको कातैकात बगेकी छ, नाङ्गै सुतेकी छ । मेरो आँखा त्यसको पाउबाट थालेर त्यसको बाङ्गो टिङ्गो शरीर सबै सुम्सुम्याएर सिउँदोसम्म पुग्छु ।”

मन्थलीप्रतिको मेरो अभिव्यक्ति यस्तै हुन नसके पनि म पनि मन्थलीप्रति मोहित हुन थालेकी छु । आँखाले भ्याउन नसक्ने गरी टाढाबाटै म मन्थली पुगिसकेकी छु ।

लेखकको पहिलो सिकार गौँथलीको छटपट मात्र मैले देखेको नभएर जलेश्वरमा पनि पहिलो पटक नौटङ्की र सर्कस देखेँ । समयको यात्राले म पनि धेरै वर्ष पछाडि जलेश्वरको तातो हावा अनुभव गर्न थालेँ । मैले पनि त्यहाँ मनु ब्राजाकी, पुष्पलाल, तुलसीलाल आदि प्रसिद्ध व्यक्तित्वसँग भेट गरेँ र लेखकले रोजेको, तर धेरैले नहिँडेको बाटो लागेँ । काठमाडौँका प्रारम्भिक दुःख पाएका दिनहरू अनि त्यसपछिका साहित्यिक चहलपहलमा नया सडकको पीपलको बोटको वरिपरि ईश्वर बल्लभ, लगायत भवानी घिमिरे, नारायणबहादुर सिंह, हरिभक्त कटुवाल, वासु शशि, अम्बर गुरुङ सहितका साहित्यकारहरूसँग अनि समीक्षा, मातृभूमि आदि पत्रिकाका सम्पादकहरूको घुइँचामा पनि पुगेँ । इन्दिरामा गएर कफी पनि पिएँ ।

म लेखकसँग पटना पुगेँ, त्यहाँ विश्वेश्वर कोइराला भेटेँ, कफी हाउसमा फणिस्वर रेणु र देवेन्द्र सिंहलाई पनि भेटेँ । लेखकले परिवार नियोजन सङ्घमा काम गर्दा पद्यावती सिंह, हेम हमाल, ईश्वरवल्लभसँग पनि चिनजान हुने मौका पाएँ । त्यसैगरी जाँचबुझ केन्द्र, सिआरएस प्रोजेक्ट र आइपीपी एफ लन्डनसम्म पनि एउटा पाठकको नाताले म पनि पुगेँ । यी सबै ठाउँमा म पुग्दा केही पनि नभएको स्वस्थ लेखकसँग पुगेकी थिएँ । यो सबै यात्रा गरुन्जेल मैले केही छिनको लागि लेखकले लेखेको मात्र पढिराखेकी थिएँ । अरू थुप्रै लेखकले सामान्य परिस्थितिमा सम्झिएको यात्रा डायरीको रूपमा किताबको ठुलो अंश सकिसकेपछि जब जीवन दर्शन सुरु हुन्छ अनि लेखकको लेखनीले वर्णनात्मक यात्रा डायरीका स्रष्टाबाट आफूलाई अलग्याएर दार्शनिक बन्न पुग्छन् । त्यो दार्शनिकतामा पुगेपछि म लेखकसँगै अघि जस्तो जान सक्तिनँ, यो परिच्छेदमा आएर म केवल पाठक बन्न पुग्छु, एक पर्यवेक्षक बन्न पुग्छु, किनभने यहाँ पनि म लेखकसँगै छु भनेर गरिएको दाबी सही हुन सक्तैन । लेखकका लागि यो न्यायिक पनि हँुदैन । जीवन दर्शनको परिच्छेददेखि पुस्तकको अन्तिम पातोसम्म पाठकले नत लेखकसँग आत्मसात् गर्न सक्छ न त उनको पारिवारिक गतिविधिसँग नै । यति हुँदाहँुदै पनि पाठक लेखकको मनभित्र चाहिँ पस्न सफल हुन्छ ।

अमेरिकाको ओक्लोहोमामा पुरस्कार लिन जाँदा भने मैले आफूलाई घिमिरे दम्पतिसँग पाउन सकेँ । यसको मुख्य कारण त डेढ दशक अगाडि आफू पनि एक वर्ष बसिसकेको ओक्लोहोमामा लेखकसँग मलाई पुग्न मन्थली, जनकपुर, पटना र अरू ठाउमा पुग्नु भन्दा सजिलो भएको थियो । असह्य ढाढ दुखाइले पुरस्कारका धेरैजसो कार्यव्रmममा भाग लिन असमर्थ लेखक आखिर अमेरिकी भूमिबाट नै आफ्नो जीवनको यो कठिन यात्रा आरम्भ गर्न पुग्छन् ।

“मलाई त्यो यथार्थ स्वीकार गर्न केही सेकेन्ड लाग्यो । ती सेकेन्डहरूमा म अर्को मान्छे भैसकेकि थिएँ ।”

“मेरो जीवनको गोरेटो फेरि फाटियो । यसपालि म नचाहेको बाटो रोज्न बाध्य भएँ, त्यो मेरो होइन, समयको खटन थियो र त्यै यौटा परिणामले त्यसपछिको मेरो र मेरो परिवारको सम्पूर्ण जीवनयात्रा फरक पा¥यो ।”

अस्पतालका सबैप्रकारका टेस्टहरूपछि पत्तालागेको मल्टिपल माइलोमा भन्ने भयानक रोग आफूलाई लागेको थाहा पाएपछिको लेखकको प्रतिव्रिmया थिए उपर्युक्त वाक्यांशहरू । पुरस्कार लिन अमेरिका पसेका लेखक अमेरिकाबाट फर्किंदा घातक रोग लिएर फर्किएका थिए । यहाँ आएर पाठक र लेखकको गोरेटो बाह्य रूपमा फाटिएको छ, तर यसपछि पाठक अन्तर्मनले लेखकसँग फेरि समेटिन्छ । लेखकको यात्रा बदलिएको छ, गन्तव्य प्रस्टिएको छ, पाठकले उनलाई पछ्याउने प्रव्रिmया पनि बदलिएको छ । जीवनलाई हेर्ने र स्वीकार्ने दृष्टीकोणमा हामी जति दाबी गरे पनि लेखकको छेउसम्म पुग्न सक्तैनौँ । जीवनलाई हामीले सिद्धान्ततः मात्र देखेका र भोगेका छौँ भने लेखकले जीवनलाई मात्र हैन, तर मृत्युलाई समेत नजिकबाट देखेको छ । आफ्नो रोगको वर्णन गर्नुअघिसम्म वास्तविक जीवनमा जस्तै लेखक पुस्तकमा पनि स्वस्थ छन्, किताबको अन्त्यतिर किमोले थिलथिलो भएको शरीर र जीवनको जिजीविषाले घँुडा टेक्न आँटेको मन समेतलाई छक्क पार्दै यो किताबको खाका तयार गरेको सुने पछि मेरा शरीरका रौँ ठाडिएका थिए । कस्तो इच्छा शक्ति ! कस्तो सकारात्मक र आशावादी मन ! ऐय्या र आत्था भनेर रोएर अनि स्वजनलाई रुवाएर बस्ने समय हुनुपर्ने त्यो सामान्य परिस्थितिको सामान्य मान्छेको लागि । अलिक कडा रुघा लाग्दा त “मरिलानु केही छैन जे सुकै होस्” जस्तो लाग्छ भने पुस्तक लेख्ने विचारै आउनु पनि अस्वाभाविकताको पराकाष्ठा हुनुपर्नेमा किताबमा लेखिने कुराहरू बारे खाका तयार गर्नु भनेको इच्छाशक्तिको पराकाष्ठा हो ।

“खुसीले दिन बितेको राति मिठो निद्रा लागे जस्तै सुखले र खुसीले बिताएको जीवनले आनन्ददायी मृत्यु ल्याउँछ” लियोनार्दो दा भिन्चीले भने जस्तै लेखकले पनि आफ्नो जीवन खुसी राख्न खोजेको हामी धेरै देख्छौँ ।

पेन्ट्रियाटिक क्यान्सरले आफ्नो जीवन केही महिना मात्र बाँकी छ भन्ने थाहा पाएका कार्नेगीमेलनका प्रोफेसर ¥यान्डी पाउसले पनि उनको प्रसिद्ध “द लास्ट लेक्चर” मा भनेका छन् — “जीवन ९त्रगबष्तिथ० गुणात्मक रूपले जिउनुपर्छ किनभने समय ९त्रगबलतष्तथ० को निश्चितता छैन ।”

भन्न जति गर्न सजिलो छैन, त्यसको लागि मृत्युलाई नजिकबाट देखेको हुनुपर्छ ।

मृत्युको ढोकामा पुगेका अर्का एक जना अमेरिकी प्राध्यापक र प्रसिद्ध किताब “ट्युज डेज विथ मोरी”का नायक मोरी भन्छन् — “कसरी मर्ने भन्ने सिकेपछि कसरी बाच्ने भन्ने कुरो सत्य हो ।”

यस्तो कुरा भन्न जस्ले पनि सकिन्छ, तर यसको अर्थ बुझ्न मृत्यु बुझ्नै पर्ने हुन्छ ।

हाम्रो सामाजिक परिवेशमा आफ्ना रोग अरूलाई भन्ने चलन छैन, अझै पनि हाम्रा डाक्टरहरूले पनि कतिपय घातक रोगहरू परिवारका सदस्यलाई मात्र भन्ने र रोगीलाई अन्तिम दिनसम्म पनि झुठो आश्वासन दिने गर्छन् । बिरामीलाई दुःख हुन्छ भनेर या उनीहरू आत्तिन्छन् भनेर यसो गरेको अरे, उनीहरूको जीवनप्रति गरिएको यस्तो बलात्कारले कसरी उनीहरूलाई मद्दत हुने हो त्यो त लालबुज्रुक समाजले नै जानोस् । त्यति मात्र हैन कतिपय बिरामीले समेत आफूलाई लागेको रोग लुकाएर त्यसबारे अरूहरूले समेत केही बोल्न नसकिने वातावरण बनाएका हुन्छन् । यो सबै भयका कारणले हो, सत्य स्वीकार्न डर लागेर केही नभएको छल गरेको हो, किनभने यस्तो भयानकता स्वीकार्न धेरै फराकिलो दिमाग र विशाल मुटु चाहिन्छ । मृत्युको काखमा बसेर जीवनको गीत गाउन ती दुवैलाई मनले जितेको मान्छेले मात्र सक्छ ।

अन्तर्मनको यात्रामा उल्लेख गरिएका भन्दा पनि उल्लेख नगरिएका, तर किताबको सुरुदेखि अन्तसम्मको पातामा छताछुल्ल पोखिएका भावनाले हाम्रो मन छोएका छन् । रोगको टुङ्गो भएको दिन त्यो बिरानो मुलुकमा दुर्गादिदीले सहनु परेको भयानकता, त्यो लामो बाटाबाट बैङ्ककसम्मको यात्राका ती लामा पट्यारलाग्दा अत्यास लाग्ने निमेषहरू, घर पुग्नै नपाई बैङ्ककमा उपचारको लागि बिताएका एकल र कहालीलाग्दा रातहरू, छोरा र छोरीलाई त्यो सबैभन्दा दुःख लाग्दो समाचार सुनाउँदाको हृदयविदारकता, छोराको बिहेको तयारी र बिहेको रुन्चे हाँसोको समारोह, त्यसपछिका जबर्जस्ती मनाइएका दसैँ तिहारहरू आदिको जटिलता र मार्मिकतालाई नत शब्दले समेट्न सक्छ नत भावनाले भेट्न सक्छ । त्यसैगरी शिशिरमा रूखबाट पात हराए जस्तै गरी एक एक गरी हराएका लेखकका आफन्तहरूको बियोग सबैले लेखकको सहनशीलताकै परीक्षा गरे जस्तो लाग्छ ।

आफ्नो होस् या आफन्तको होस् एक दिनको मरण नै सहिनसक्नुको हुन्छ भने यस्तो मरण बर्सौंसम्म प्रत्येक दिन भैरहँदा के हुन्छ होला ।

म दश वर्षकी हुँदा मेरा बा (हेमचन्द्र पोखरेल) साह्रै बिरामी भएर थला नै पर्नु भएको थियो । ममुनि तिन जना र ममाथि एक जना गरी पाँच जना छोराछोरीमध्ये बुझ्न सक्ने भएका जतिलाई करिब दुई वर्षसम्म बाले आफ्नु छेउ बोलाएर उहाँको परलोकपछि हामीले के के गर्ने भनेर अह्राउनु हुन्थ्यो, तेह्र दिनमा के के कसलाई दान दिने भनेर समेत उहाँले लेखेको हुन्थ्यो जताततै । भरे म मरिहाल्छु, चाँडै यसो गर उसो गर भनेर बारम्बार भन्नु हुन्थ्यो । दश वर्षको त्यो कलिलो दिमाग र बालक मुटुलाई त्यो सारै भारी हुने गथ्र्यो । मृत्युको काखमा पुगेँ भन्ने ठान्नु भएको बा (त्यसपछि अरू तिस वर्ष बाँच्नु भयो) सँगसँगै म पनि हरेक दिन अलि अलि मर्ने गर्थें भावनाले । मेरो मुटु हरेक दिन अलि अलि टुव्रिmने गथ्र्यो, यसरी बासँग दिनदिनै मरेको मेरो मुटुलाई बाको साँच्चैको देहावसानले भन्दा पनि दिनदिनैको बाको मरणले दुखाएको थियो । बिरामीबाट उठेदेखि अन्तसम्म पनि बाको लागि मृत्यु वा मरण एउटा अम्मल जस्तै भएको थियो । त्यसपछिका सद्दे दिनहरूमा पनि यस्तो कुनै पनि दिन थिएन जुन दिन बाले मृत्यु र यसको अवश्यम्भावितालाई उल्लेख नगरेको होस् । घरमा हरेक पल भएको मृत्युको वासले परिवारका सबैलाई बिस्तारै मार्दै जान्छ, भावनाले, सम्झनाले, कल्पनाले बिस्तारै पचाउँदै जान्छ, तर कोठामा तेर्सिएको हात्ती जस्तै मृत्यु त्यतै वरिपरि हुन्छ, नदेखौँ भन्दा पनि हात्तीलाई कसरी नदेख्नु र ?

कर्ण शाक्यले सोचमा लेखेका छन् — “हृदयाघात भएर मर्न सजिलो छ, हवाईजहाज दुर्घटनामा मर्न गाह्रो हँुदैन, तर म मर्दैछु भनेर बाँच्न अत्यन्त गाह्रो हुन्छ ।” शाक्यले मृत्युलाई पटक पटक नजिकबाट देखेको आधारमा नै यसो भन्न सकेका हुन् ।

यसैलाई सकारात्मक दृष्टीले हेर्दा मर्दैछु भनेर बाँच्न सबैले पाउँदैनन् । सयौँ वर्ष बाँच्छु भनेर नानाथरी दौडधुप गर्दागर्दै छोराछोरीलाई स्नेहका दुई शब्द भन्न नपाई मर्नुपर्नेलाई दोस्रो मौका हँुदैन, आफ्नो जीवनसाथीप्रति आभारको आलिङ्गन गर्न पाइएको हँुदैन, आफ्नी आमा र जन्मभूमिको काखको मूल्य बताउन पाइँदैन, यस्ता थुप्रै थुप्रै बाँकी रहन्छन् । अरू त के आफ्नै अन्तर्मनसँग परिचित हुने मौका हँुदैन, आफैलाई आफैले चिनाजानी गर्ने मौका सबैले पाउन सकिँदैन । यो खालि परिस्थितिलाई सकारात्मक स्वीकार मात्र हो । यो सबै व्यक्त गर्न यस्तो रोग लागेको राम्रो भनेको हैन, तर परिस्थितिसँगको सम्झौताको निहुँ मात्र हो यो ।

“द पावर अफ नाउ” अर्थात् वर्तमानको शक्ति नामको वेस्ट सेलर किताबका लेखक इकहार्ट टुली भन्छन् — “यदी तिमी कष्ट र पीडाविनाको सरल मृत्यु चाहान्छौ भने भूतकालसँग हरेक क्षण मर्ने गर, अनि जीवनभर समयको बोझले नुहेको र तिमीले अहिलेसम्म ठानेको “आफूलाई चम्किन देऊ उज्यालिन देऊ ।”

नियतिले आफ्नो भागमा हालिदिएको माइलोमाको देनले भनौँ पाठकले एउटा अमूल्य सृष्टि पाएको छ । यसैको कारणले यो पुस्तकको स्रष्टा जगदीश घिमिरेका जीवनले भोगेका सुखदुःख, जीवनका आरोहअवरोह, हारजित, हाँसो, आँसु, कष्ट आनन्द, खस्रो मसिनु मात्र नभएर उनको अन्तर्मनसम्म पुग्न सकेका छौँ । उनको देशभक्ति, साहित्यप्रेम, राजनीतिक प्रयोग, पारिवारिक परिवेश, सबैसँग हामी परिचित हुन पुगेका छौँ । भौगोलिक अन्तराल नाघेर म चोभारको सुन्दर घर आँगनमा पुगेर वरिपरिको हिम शृङ्खलाको मादकताको स्वाद लिइरहेकी छु ।

वैज्ञानिक होस् या दैविक अलौकिकता होस् या कुनै सञ्जीवनी जादुले होस् यस्तो अभूतपूर्व सृष्टिका स्रष्टाको आयु बढी रहोस् अनि अन्तर्मनको यात्रा भाग दुई, तिन ... निस्किरहोस् । हामी नजिक टाढा सबैतिर बस्नेले यसको रसास्वादन गरिरहन पाइरहौँ । मेरो तर्फबाट थानपति महादेवसँग कराई कराई मागेको वरदान ।

बोस्टन, अमेरिका

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 18 मङ्गसीर, 2067

लेखकका अन्य रचनाहरु