कृत्रिम इतिहास होइन पहाड हो

- डा. रवीन्द्र समीर

मैले अध्ययन गर्ने अस्पतालको बाथरुमबाट स्वयम्भूजस्तो डाँडो देखिन्थ्यो । हरियो थुम्को, मन्दिरजस्ता भवनहरू देख्दा स्वयम्भूको झझल्को आइरहन्थ्यो । पढ्दापढ्दै वाक्क भएको बेला बिनाकाम बाथरुमभित्र पसेर बेइजिङको स्वयम्भू हेर्ने मन लागिरहन्थ्यो । बहुउद्देश्यीय ट्वाइलेटलाई त्यही भएर बाथरुम, फ्रेस रुम भनिएको होला । कसैले चुरोट तानेर, कसैले सूर्ती च्यापेर, कसैले प्याड फेरेर, कसैले खामभित्रका पैसा गनेर .....फ्रेस हुन्थे, म भने भ्mयालमा अडेस लागेर आँखाहरूलाई जिनसेन पार्कमा टाँसिरहन्थे ।

हाम्रो होटल र अस्पतालबाट आधा घन्टा हिँडेर जिनसेन पार्क पुगिन्थ्यो । दुई युआनको टिकट लिएपछि हरियो दूबो, ब्युटीपार्लरबाट फर्केका धूपी तथा पूmलहरू, फेसियल गरेका ढुङ्गाहरू, कोरिडरमा आराम गर्न गाडिएका बेञ्चहरू ....आहा कति राम्रा दृश्य ! हामीहरू आँखालाई दृष्टिरस पिलाउँदै उकालो लाग्यौँ । स्वयम्भूको उकालोजस्तो ठाडो, तर धेरै घुम्तीहरू भएकाले जोर्नीहरू खल्बलाउनुनपर्ने । जिनसेन पार्कको टुप्पीमा पुगेपछि चारैतर्पm बेइजिङको शहर देखियो । ठूला भवनहरू, व्यवस्थित बाटाहरू, ठाउँठाउँमा हरिया पार्कहरू .........आहा ! स्वयम्भूबाट काठमाडौँ सहर हेरेजस्तै । जिनसेन पार्कको टाउकोमा पुगेपछि दक्षिणतिर फर्कंदा रातो रङको ठूलो सहर देखियो । इँटा, टायल र रोगनको कारण प्यालेस म्युजियम अर्थात् फर्विडन सिटीमा निर्मित ऐतिहासिक भवनका छानाहरू जति हे¥यो हेरूँहेरूँ लाग्ने । चीनमा राजतन्त्र हुँदाको राजदरबार हो फर्विडन सिटी र अहिले प्यालेस म्युजियमको रूपमा पर्यटकहरूको राम्रो गन्तब्य बनाएको छ चीनले । यो पार्कमा विशेष गरी वृद्धवृद्धाहरू गन्थनमन्थन गर्न, युवायुवतीहरू कन्सर्ट तथा सांस्कृतिक कार्यक्रमहरूको लागि र आम मान्छे मन बहलाउन जान्छन् । क्लिक .. क्लिक ...क्लिक ......जति फोटो खिचे पनि तृष्णा नमेटिने दृश्यहरूले हामीलाई औधी लोभ्याए, टुनामुना लगाए, मोहनी लगाए त्यसैले झोक चल्यो कि हामीहरू जिनसेन पार्क उक्लिहाल्थ्यौँ । चिनियाँ राजा तथा रानीका पहिरन लगाएर फोटो खिच्ने फोटोग्राफरहरूले हामीलाई पिछा गरे र हामीहरू पालैपालो राजा भएर भाडाका रानीसँग फोटोहरू खिचायौँ, खल्तीलाई डाम्रो पा¥यौँ ।

भरतपुर क्यान्सर अस्पतालमा कार्यरत दुई जना चिनियाँ चिकित्सकसँग हाम्रो त्यहीँ भेट भयो । कनिकुथी अङ्ग्रेजी बोल्ने उनीहरू र ‘ब्रोकन चाइनिज’ बोल्ने हामीहरू एकआपसमा परिचय ग¥यौँ, हात मिलायौँ, साख्खै भएर फोटो खिच्यौँ र तुरुन्तै नाम, अनुहार बिर्सियौँ । प्रायः यस्तै हुन्छ इन्काउन्टर भिजिटमा ।

जिनसेन पार्क सिनच्याङ जिल्ला अवस्थित Forbidden City को उत्तरमा अवस्थित छ । New Jingshon Street ले यी दुईलाई छुट्ट्याएको छ । गजबलाग्दो कुरा त यो पहाड कृत्रिम अर्थात् मानवनिर्मित पहाड हो । मान्छे र जनावरले ढुङ्गा, माटो तथा बिरुवाहरू बोकेर वर्षौं लगाएर यो ऐतिहासिक पहाड निर्माण गरेका रहेछन् । यो पहाड निर्माण गर्नुको तत्कालीन उद्देश्य दरबारको नजिक भएकाले शाही बगैँचाको रूपमा सुखोपभोग गर्न र उत्तरबाट चल्ने सिरेटोलाई छेक्नु रहेछ, ता कि दरबारमा चिसो नहोस् । ४.५ मिटर अग्लो यो कृत्रिम नामधारी प्राकृतिक पहाडको शिरमा पाँचवटा चुचुरा छन् र ती चुचुरामाथि गुम्बा पनि छन् । चीनका जति रमणीय स्थल, बगैँचा तथा पर्यटक केन्द्रहरूको इतिहास हेर्दा राजाहरूले भोगविलासको लागि बनाएको इतिहास साक्षी छ । कति बगैँचा, तलाउ तथा दरबारहरू चाहिएको राजालाई ? आखिर राजा जहाँका भए पनि उस्तै हुँदा रहेछन्, भूपति, अरबपति, हुकुमपति । जति धन, सम्पत्ति र भूगोल भएर के गर्नु ? त्यहाँका अन्तिम राजा Ming Dynasty, Chongzhen ले सन् १६४४ मा यहीँ झुन्डिएर आत्महत्या गरेका रहेछन् ।

साँच्चै हामीले माल पाएर चाल नपाएका रहेछौँ । घोडा, गधा तथा मान्छेले ढुङ्गा, माटो बोकेर बनाएको यो लघुपहाडको सुन्दरता, व्यवस्थापन एवम् प्रचारप्रसार हेर्दा मलाई स्वयम्भू, नागार्जुनजस्ता हाम्रा प्राकृतिक पहाडहरूको याद आयो । कम से कम सरसफाई गर्ने, बगैँचा बनाउने, जीर्णोद्वार गर्ने, प्रचारप्रसार गर्ने, प्रवेश शुल्क लगाएर त्यही आम्दानीले अप टु डेट बनाउने काम गर्न सकिँदैन र ? अरू देशहरूमा सामान्य संरचनालाई पनि तीलको ताड बनाएर पर्यटकीय केन्द्र बनाइएको छ । तर हामीहरूले ताडलाई तील बनाउन पनि सकेका छैनौँ । हाम्रो हरेक क्षेत्रमा राजनीति छ, गफ गर्ने फुर्सदैफुर्सद छ, ढुङ्गा हान्ने र टायर बाल्नेमात्र जोश र जाँगर छ । यस्तै विजोग हुँदोरहेछ राजनीतिमा पोल्टिक्स घुसेपछि, पोल्टिक्समा राजनीति घुसेपछि ।

जिनसेन पार्कको प्रवेश शुल्क मात्र २ युआन छ तर वर्षेनि करोडौँ आम्दानी हुन्छ, त्यो आम्दानी व्यवस्थापन र प्रचारमा खर्च हुन्छ । हामीले सरकारको, सरकारले दातृनिकायको मुख त ताक्नुपर्दैन नि, आपैmँले गर्न सकिने ठाउँमा ।

म जिनसेन पार्कमा छु, मेरो मन फोहोर, रुग्ण, अव्यवस्थित र भगवान् भरोसामा चलेका स्वयम्भूजस्ता हिराहरूमा छ । के गर्न सकिन्छ र हिरालाई छेपारोले चाटेको ढुङ्गो ठानेपछि ?

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 12 मङ्गसीर, 2067

लेखकका अन्य रचनाहरु