चीबेको चुरीफुरी

- नरेन्द्रराज पौडेल

वनबुट्यानहुँदो एक्लै भौँतारिँदै उड्ने रूखो भाका तीखो आबाजले चिच्याएर कराउने काँटछाँट नमिलेको छुच्चो स्वभाव, चुत्थो मतिको चीबे चरीलाई एक दिन वनमा बस्ने सबै खाले चराचुरूङ्गीको राजा बनेर एकछत्र शासन गर्ने इच्छा जागेछ । अनि सत्ते जुगदेखि नै सबैले मानी आएका पञ्छीराज गरूडलाई भेटेर राजपाठको आर्शीवाद माग्न विष्णुलोकतिर लागेछ । राम्रो जोगजोखाना हेराइकोराइ बाटा लागेकाले कुनै दुखकष्ट नभई दुइतीन दिनको लामो यात्रा फत्ते गरेपछि गरूडको छेउमा पुगेर विन्तीभाउ गरेछ—

"गरूड बाबा ! म नेपाल भन्ने देशको पञ्छी चीबे चरी हुँ । अहिलेसम्म म सीमान्तीकृत पारेर बाज चील लुइँचे लगायतका ठूला पर्टी भनाउँदा कर्महाराहरूबाट हेपिएको छु । मेरो सिकटे ज्यान देखेर खिज्याउँने कालो वर्ण देखेर गिज्याउँने धेरै शत्रुहरू भएकाले म अरूसँग बस्न रूचाउँदिन । अरूले पनि मलाई परापूर्व कालदेखि नै छिछि र दुरदुर गर्दै आएका छन् । ती मूलेहरूको मेख मार्नकै लागि पनि एकपल्ट सबै चराहरूको राजा बनेर पञ्छीजगत्माथि शासन गर्न चाहन्छु ।"

बुढो गरूडले चीबे चरीको एकपटक तलमाथि हेरेछ अनि उसको कुरा सुन्दै छक्क परेर भनेछ- "हेर बाबु सुन्दर स्वरूप , राम्रो बानीबेहोरा , तीखो बुद्धिभएका धेरै थरी सहयात्री चराहरू बस्थे नेपालमा । तिमी देख्तै फुच्चो , स्वभावैले छुच्चो चरी कसरी राजा हुन्छौ ? चुनावबाट आउन पनि सक्तैनौ होला । हिजोआज फेरि रोगतन्त्र गनगनतन्त्र के के आएको छ भन्छन् नेपालतिर । घारघुर ङारङुर मात्रै चल्या छ रे सबैतिर । यस्तो अशुभ बेला राजपाट चलाउन पनि गारै होला । हैन र ?"

गरूड बाबाको नरम बोलीले उत्साहित हुँदै चीवेले भन्यो— "चुनाउबाटै पनि न आउने त कुरै थिएन तर भोटर भजाउने धुपौरे उपाधीधारी नौरङ्गी हन्तकाली डाम्नाहरूसँग मेरो कुरै मिल्दैन । मान्छेहरूले कार्जेकर्ता भन्छन क्यारे तिनेरूलाई । उनीहरूले जे जे मागे पनि वचनले हुन्छ हुन्छ मात्रै भन्ने र काम जिरो गर्ने मान्छे जस्तै चुत्थो परानी बन्नु पनि कसरी ? नैतिकताले नै नदिने कुरो । वचन दिएपछ काम दिनु परो त्यो सकिने हो कि नाँहिँ । त्यही भएर यहाँको पाउ पर्न आएको । भोकप्यास न भनी धाएको । मेरोलागि गंगा जमुना काशी केदार सबै थोक हजुर नै हो । सत्ता शक्ति, भत्ता भक्तिका स्रोत मुहान दह दोभान जे जे भने पनि प्रभु नै प्रभु । आदेश निर्देश पालन गर्छु । जे जे दाउ मर्जी हुन्छ- त्यही त्यही हान्छु । खेला हजूरको खेल मेरो । रेला हजुरको रोल मेरो । चोला हजूरको चोली मेरो । तावेदार हुँ ठुलो कुराको दाबेदार मर्जी न होला । तमासा हजूरको मखुण्डो मेरो । समसा हजुरको, आलु प्याज चना मैदा नुन तेल मसला जेजे चाहिन्छ सबै सर्दाम मेरो । जाल झेल चटक जताबाटै भए पनि धामी विजुवाका तन्त्रमन्त्र आङमा चढाइपाउँ । अनि मर्जीअनुसार हानौंला दाऊ । फर्जी काम कुरा गर्नु परे दर्जी बनेर सिलाउँला पगरी, गुतौंला शिरमा र देखाउँला नाक घोक्रयाएर औतारी हाउभाउ ।

निकै चलाखीपूर्ण लवजमा लम्बिएको चीबेको चुरीफुरी साँच्चिकै प्रभावकारी लागेछ गरूडलाई । तर मोरो काले रूप हेर्दा राजै बनाइहाल्नु जस्तो पक्कै थिएन । के तर्कीव निकालुँ भन्ने सोचमा डुबेछ बुढो गरूड । तर भक्त बनेर पसि्रने पात्रलाई निरास फर्काउनु उसको धर्म थिएन । सानो उपाय सोचेपछि भनेछ — "त्यसो भए तिमी आङभरी मजूरको प्वाँख , टाउकामा कालीजको कल्की, च्याखुराको चुच्चो, सुगाको बोली, डाँफेको रूप साटेर आउ । अनि मात्रै बढ्ला तिम्रो भाउ । साथै दरै खाले वैशाखी पनि टेकेर आउ । मेरा सामु बाहेक अन्त कतै न दोबि्रने न घसि्रने न पसि्रने गरी ज्यान समरो बनाउ ।"

नभन्दै चीबे चरी पो के कम ? गरूड बाबाकै आदेश अनुसार छिमेकी जादू सिं सरदारको खेलौना कारखानामा गएछ । अनि जो लाग्दो मूल्य , ज्याला कबोलेर पुरानु ज्यानको नवनिर्माण गर्नेतर्फ लागेछ । नयाँ प्वाँख सिउरिएर पखेटा रँगाएछ । लामो कल्की लम्रङ्ग लतारेछ । नङ्ग्रा छोपिनेगरी खुट्टीमा खोल बेरेछ, बोलीमा मिश्री घोलेछ । अनि सबै आनी बानी नयँा फर्मुलामा साटेर हाजीर भएछ । नितान्त नौलो बोलीवचन, चालढाल र परिधानमा देख्तै छक्क परेका प्रसन्नचित्त गरूडको हातबाट सत्ताको कल्की भिरेर एक वर्षको लागि निष्कण्टक राज्य चलाउने शर्तसहित आशीर्वाद लिएर नेपाल लोक झर्दो भएछ ।

"न पाउनेले के पायो बोक्रैसुद्ध चपायो"— वस ! यसै उखानको सिको गर्दै बैशाखीपात्र चीबे चरीले हुल्यामुल्याहरूको बथानै पालेर राज्य कोषको ढुकुटी खलाँस पार्दै गएछ । तीनमहिने हनीमुन पिरियड सकिएकै दिन आˆनेा बहादूरीको बखान बाँड्न र फूर्ति छाँट्न सेना, प्रहरी, प्रशासक, माष्टर, जाशुस, पत्रकार आदि पोष्टधारी हिलो भकारोका भकारीे बकुल्ला चमेरा गिद्ध्हरूको मिटिङ बोलाएछ । पोखरी डीलमा माछा गँड्यौला कुरीबसेका बकुल्ला र सिनो कुरीबसेका गिद्ध आदिको बथान पनि के कम थियो र ? उ पनि के के न पाउँने आशाले ज्यान छोडेर प्रशंसामा खुलेछ चीवे राजाको— "चुरेको चट्टान टुट्याटुट्यै , तिनाउको बगर बग्याबग्यै , भावरको साल लड्यालड्यै, गैंडाको खाग डढ्याडढ्यै, टाटे बाघ उड्याउड्यै । कतै कुनै प्राकितिक स्रोत साधन बाँकी नराखी खन्तीखलाँस पाराले ढुट्याएर बढार्न र सफाचट पार्न सक्ने कति दरो, कति धारिलो चुच्चो पर्भुको ?" एउटाले प्रशंसा गर्दै भनेछ ।

"सगरमाथाको फेदैसम्म कलत्र-पौत्रिादिसहित चोपरमा उडेर झोेपड फाड्दै पाउकष्ट गर्ने अनि मिटिङ्गै ठोकिदिने कत्रो साहस ? कत्रो महानता ? हजूरको हिमालनीति विनाखतिपति शतप्रतिशत सफल । अचम्म उटाम्मरले भरिएको यस्तो लीला सुनेर कति गर्दा हुन विदेशी बबुरा छलफल ?" अर्कोले थपेछ ।

"हिमालनीति भन्दा तिमालनीति शय खण्ड बढी सफल ! झाडापखाला क्षेत्रमा गएर लगाएको माला अन्नपानी पीडित क्षेत्रमा भाषण गर्दा फुलेका गाला , बेला कुबेला आउने वारिपारिका हप्कीदप्की र खप्कीलाई खपेर थपडीकै तालमा छमछम नाचीदिने मारूनी चाला । तीतो टर्रो केही नभनी आए पाए जति साट्सुट् पारेर निल्ने पचाइदिने पेटको जठराग्निज्वला — कुशल नेतृत्वको खाँटि उदाहरणै भन्नुपर्छ ।" प्रशंशाका पुष्पपगरी थप्ने क्रम लामै समय चल्दै गएछ ।

"त्रेता युगको राम राज्यभन्दा कता हो कता सीतल, रसिलो, भरिलो हजूरको कलियुगी हामराज्य । यसको सुकीर्ति हुरी वतास बनेर देशदेशान्तर फैलिदै छ अनि चट्याङ बनेर डाँडा पहरा चड्किँदै छ प्रभो ।" चारो ढुकिबसेका जमात एकै स्वरले प्रशंसाको उपसंहार गर्दै आनन्दले कोही पखेटा उराल्न र कोही हिलो हुँडल्न थालेछन ।
गोरखापत्रबाट

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 11 मङ्गसीर, 2067

लेखकका अन्य रचनाहरु