बन्द झ्याल

- सन्जु बजगाईं

बिशेश्वरको चालढाल नै बिशेष खालको छ ! ‘बिएम डब्लु’ चढ्छ । ‘भर्साचि’को चश्मा नाकको डाँडीमा चढाएर हिड्छ । छुट्टीका दिनहरु आफ्ना साथीभाइ छाडेर खैरा कपाल र गोरा छालाहरुसँगै बिताएको देखिन्छ । ऊ बास्तवमै अगल छ । त्यसो त उसको नाम पनि चल्तिको नाम भन्दा अलग्गै अक्षरले बनेको छ ।

बिशेश्वर र मेरो अपार्टमेन्टका भ्यालहरु आमुन्ने–सामुन्ने छन् । यो संयोगवश भएको हो । वास्तवमा हामीमा आतेजाते प्रसङ्ग भने छैन । एकैतिरका मान्छे हामी, भ्यालहरु आमुन्ने–सामुन्ने हुनु पनि हर्षको कुरो भएको छ मलाई । यद्यपी ती गर्मीका केही दिनहरु मात्र खुल्ने गर्दछन् । तर केहीदिन यता भने विशेश्वरका कोठाका भ्यालहरु प्रायः खुल्लै देख्छु । फेरिएका पर्दाहरु ! अझ रातमा उसको बैठक कोठाको टी.भीमा आएका दृष्यहरु पनि प्रष्ट देखिन थालेका छन् ।

उसकी ‘मार्ली मुनरो’ आउने भन्दै थियो केही महिना अगाडि, आईछन् । तर मलाई नै थाहा नदिनु ? गुनासो गर्न मिलेन । आखिर हामी घनिष्ठ मित्र पनि होईनौ । उसकोमा कोही आउनु, मेराबाट कोही जानु हाम्रा आ–आफ्नै सरोकारका कुरा भए ।

भ्याल खोलिनु, पर्दा फेरिनु यी सबै उनैले गरिछन् । बिशेश्वरले टाँगेका काला बाक्ला पर्दाहरु झिकेर पारदर्शी सेता पर्दा हालिछन् । जीवन्त भएका छन् भ्यालहरु आजकल । ठिङ्गो लोग्नेमान्छे बसेको कोठाको सेटिङ्ग बेढङ्गकै त थियो होला म अनुमान गर्छु । बिशेश्वरलाई फुर्सदै कहाँ थियो र ? हप्ताभरि काम ‘वीक–एण्डमा’ मस्ति मार्दै ठिक्क । तैपनि फाट्ट–फुट्ट हाम्रो भेट गाडी पार्किङ्ग गर्दा नभएको भने होईन ।

“हैन निकै परिवर्तन देख्छु नि !”

आज पनि ऊ गाडी पार्किङ्ग गरेर फर्कदै थियो । मलाई कुरो उप्काउन मन थियो । बुझ पचाएरै सोधिदिएँ ।

“अझ धेरैथोक परिवर्तन हुनेवाला छ हेर्दै जानुहोला ।” दङ्ग पर्दै बोल्यो ऊ ।

“यो घर छिट्टै फर्काईलाई पनि परिवर्तन नै मान्नु पर्ला ।” मैले व्यङ्गय कसें ।

“त्यस्तै पनि होईन । स्वीकार गर्न मानेन र भन्यो–सरस्वती आईपुगिन् ।” अनि बेहुलो झै लाज मान्दै लाग्यो ढोकाको ईन्ट्री कोड दबाउन ।

“अनि चिनजान गराउनु हुन्न त ?” मैले कुरो ते¥स्याँए ।

“भैहाल्छ नि ।” उसले भन्यो ।

केहीदिनपछि उनकै एपार्टमेन्टमा भयो हाम्रो पहिलो चिनजान । शायद बिशेश्वरको कोठामा छिरेको यो पहिलो अवसर थियो मेरो । सरस्वती सामान्य नारी रहिछन् । उसो त धेरै महिलासँगको भेटमा मिनेटमै लुगा–गहना, घर, जग्गा–जमीनको गफगाफले प्राथमिकता पाउने गरेको अनुभव निकै छ । तर उनको र मेरो पहिलो भेट अन्य भन्दा फरक रह्यो ।

एक पटकको चिनजान पछि पुनः आऊ–जाऊ नभए पनि भ्यालबाट हुने देखादेखमा हात हल्लाउने क्रम भने बढ्न थाल्यो । बिशेश्वरसँग रहेको बर्षाैदेखिको औपचारिक सम्बन्ध बिस्तारै अनौपचारिकतामा बदलिन थाल्यो ।

एउटै मूलका दुई नारी आमने–सामने बसेपछि नारी प्रवृति चलखेल नगरीरहन कहाँ सक्छ र ? तिनका भ्यालहरुले मेरो ध्यान तान्न थाले । सरस्वती पनि त तिनका खुल्ला भ्यालहरुबाट मलाई नदेखिरहन सक्दिहोलिन् र ? म तिनका पट्टी हेर्न सधैं उत्सुक हुन थाले । बिरानो मुलुकमा भेटेकी उनी मेरी असल सहेली पनि त हुनसक्दिहुन् । के थाहा ? हुनत मेरो कोठाको बनौट नै यस्तै छ कि मैले मेरो मुख भ्यालतिर नै फर्काएर बस्नु पर्ने हुन्छ । यो बाध्यतालाई कसैले आक्षेप लगाउन मिल्दैन । बसिराखेको ठाउँ छोडेर तत्काल अन्त जाने अवश्था पनि छैन । रातमा पर्दा ढपक्क पर्दा लगाउँछु । दिनमा संभव छैन । रातदिन पर्दा झारेर बस्दा बाहिरको उज्यालो देख्नबाट बञ्चित भएको कैदी समान हुन्छु म । त्यसैले पनि दिनमा पर्दा खोल्नै पर्छ मैले ।

तसर्थ बिशेश्वरकातिर फर्किएका मेरा भ्यालहरुबाट उनकातिर बढी नै हेर्ने गर्छु । आज पनि उनकातिर बिहानै एक नजर लगाएँं । गजब लाग्यो ! उनले नयाँ लुक दिईछन् । आएदेखि नै रङ्ग–रङ्गका कुर्तासुरवालमा निस्कने उनलाई पाईन्ट र टीसर्टमा ठाँटिएकी पाएँ । अलि वजन घटाउनु पर्ने जस्तो लागे पनि ‘स्मार्ट’ देखिन्थिन् । लाग्यो–बिशेश्वरको टिपटप गेटअपलाई साथ दिने भईन् ।

“हेर्नुस न वहाँले गर्दा म पनि पाईन्ट लगाउन थाले ।” पाईन्ट लगाउने क्रम बढदै गएपछि एक जम्काभेटमा स्पष्टिकरणको भावमा उनले भनिन् ।

“ठिकै त हो नि देश अनुसारको भेष ।” मैले भने । एकअर्काका लागि नयाँ–नयाँ नै भएपछि सडकपेटीमा अन्य प्रसङ्गलाई के तन्काउने ? हामी आ–आफ्नैतिर लाग्यौ ।

बेला–बेलामा जम्काभेट हुँदै रह्यो । अनि हरेक जम्काभेटमा उनको परिवर्तित स्वरुपको प्रशंसा साथसाथै तिनका गुनासाहरु पनि म सुनिदिन थालें । उनलाई खाना बनाउन मन नलाग्नु, पिज्जाले वाक्क हुनु, ‘फिटनेस’ जाने समय मिलाउन नसक्नु आदि इत्यादी ।

यसरी नजिकिदै जाँदा मलाई आदत जस्तो भो तिनलाई ‘नोट’ गर्ने । के म मा नारी प्रवृत्ति हावी हुन थाल्या हो ? मनमनै प्रश्न गर्दछु । कोठामा हुदाँ बेलाबेलामा पर्दा सारेरै भएपनि के गर्छिन् ? के हुदै छ ? को आएका छन् तिनकामा ? जस्ता प्रश्नका जवाफ खोज्न थाले म । तिनीप्रति मेरो चासो किन बढ्यो ? म जान्दिन । तर दिनमा दुई–चार पटक म तिनमा नजर पु¥याएरै छोड्न थाले ।

बिस्तारै हामी गुजराँतीको ‘ग्रोसरी स्टोर’ मा भिण्डी, करेला, मसलाका निहुँमा गफिन थाल्यौ । उनी कहिले धँनियाँपात लिन आएकी हुन्थिन्, कहिले भरे वहाँका साथीहरुलाई कवाव बनाएर नख्वाई नहुने भो भन्दै मसलाका बट्टाहरु लिएर जान्थिन् ।

“तपाई यहाँ आउनु भएको कति बर्ष भो ?” एकदिन तिनले प्रश्न गरिन् ।

“दश बर्ष हुन लाग्यो ।” मैले भने ।

“दश बर्ष.....!” तिनलाई एक युग झै लाग्यो क्यारे । उनी प्रतिउत्तरमा केही नबोलि मुस्काईरहिन् ।

चाहिएका सामान उठाएर हामी फटाफट निस्कियौ ।

मेरो लत भने आज पनि उस्तै रह्यो । कोठामा पुगेको घण्टा नपुग्दै पर्दा सारेर एक नजर लगाएँ उनका तिर । बाहिर झपक्क अँध्यारो पोतिएको थियो । उनका कोठाहरुका चीम बलेका थिए । भित्तामा सजाएका फोटो फ्रेम राम्ररी देखिए । बिशेश्वर आईपुगेको रहेनछ । नत्र बैठकमा देखिन्थ्यो । सबै अपडेट भो । पर्दा बन्द गरें ।

‘बेक्ड चिकेन’ का ‘स्लाईस’ र ‘फ्रेस’ सलाद भरेर स्याण्डविच बनाएँ । ‘चकलेट मुश’ले मुख मिठो गर्न नभ्याउँदै खसखस लाग्न थाल्यो । फटाफट फेसबुकमा ‘लगअन’ गरे । विशेश्वरले बिषेश केही नयाँ थपेको थिएन । तिनै पुराना फोटोहरु । डाईमण्ड सिटी घुम्न जादै....भनेर दुई दिन अगाडी ‘प्रोफाईल’मा कोरेको थियो उसले । नयाँ फोटो अपलोड नगर्नुले मनको कौतुहलता साम्य भएन । सरस्वतीलाई सोध्ने आँट गरिन दिउँसो । डायमण्डको औठीं पो किनिदियो कि उनलाई ? कौतुहलता भो ।

मलाई एकपटक तिनकातिर नहेरी निदाउने बिचार आएन । नौ बजे राती भए पनि एक पटक पर्दा सारें । बैठकको टेवलमा वाईन ग्लासहरु । बिशेश्वर ओपनर घुमाउँदै थियो । एकैछिनमा ग्लासहरु भरिए ।

चारवटा ग्लासको ‘चियर्स’मा उनी पनि देखिईन् । परिवर्तनको एउटा रुप हो कि ? छोटो समयमै यत्रो फठ्को मारिछन् ! जीन्दगीका श्रृखलाहरुलाई नयाँ शैलीमा नढाले ज्युँनुमा मजा कहाँ होला र ?अर्थ लगाएँ– तिनले ठीक गरिन् । दशबर्षसम्म रङ्ग निखे्रर बाँचेको त्यो फोस्रो जीन्दगीलाई वाईनको झोलले छपक्कै भिजाईन् । बिशेश्वरको एडभान्स चरित्रलाई मनमनै धन्यवाद नदिरहन सकिन ।

नशा तिनले पिईन् तर मात मलाई चढे झैं भो । दिनप्रतिदिन तिनको परिवर्तनले मलाई ‘च्यालेन्ज’ गरे जस्तो हुन थाल्यो । मेरो दैनिकी उही पुरानो ढाँचामा चलिरहेको छ । एउटै समयमा निस्किएर एउटै समयमा घर फर्किन्छु । एकै ‘स्टाईल’को गेटअप छ । हप्ताको दुई पटक टिम्मुरको चट्नी नचाटे मन रसाउन्न । देश बाहिर बसेर पनि आखिर म उस्तै किन छु ? प्रश्न गर्छु आफैसँग ।

सरस्वतीसँगको मुक प्रतिष्पर्धामा आफूलाई जिताउन एक शनिबारको बिहानै क्रेडिट कार्ड ब्यागमा कोचेर लागें शपिङ्ग मलतिर । चहार्नु चाहारे । हर ब्राण्डका नयाँ कलेक्सन नियाँले । कुनै बेस्सरी गला खोलेका, कुनै कुमतिर प्वाल बनाएर खतरा सुचक स्टिकर टाँसेका,कुनै माने भञ्ज्याङ्गमा चढाउने ध्वजा जस्ता बाहुलाभरि टाँसेका । थरिथरीका डिजाईनहरु ! त्यत्तिका बहुचर्चित ब्राण्डका कपडाहरुले मलाई किन खिच्न सकेनन् ? जवाफमा एक सेट कोट र पाईन्ट बोकेर लागे काउन्टरतिर ।

“मभन्दा ऊ अगाडी !” झस्किएँ म ।

एक खात कपडा हातमा लिएर मिनी स्र्कटमा सजिएकी सरस्वती काउन्टरमा पालो पर्खिरहेकी थिईन् । अर्को फट्को मारिछन् । बिशेश्वरले मार्लि मुनरोसँग दाँज्थ्यो हिजोसम्म । आज सार्थक भएछ ।

“सरस्वती !” मैले बोलाएँ ।
“तपाईं पनि....।” तिनले भनिन् ।

“एक्लै हो ?” मैले पर्खिने आग्रह गरे ।

“एक्लै आज । सँगै फर्किउँन ?” तिनले चाह राखिन् । बिल लिएर हामी निस्कियौं । तिनको जन्मदिन रहेछ । अनि जन्मदिनको उपहार रहेछ तिनको पहिरन । बिशेश्वरले दिएको ।

“लुकिङ्ग नाईस !” मैले भने । तिनी लालुपाते भईन् ।

“थ्यांक्स ।” तिनले फर्काईन् ।

“भरे मेक्सिकन रेस्टुरेन्टमा पार्टी छ । तपाईलाई कल गर्ने वाला थिएँ, भेट भो राम्रै हो । हामी सँगै जाऔ है ।” तिनको निम्ता र प्रस्ताब एकैचोटी आयो । मैले हुन्छ भनिदिएँ ।

घरबाट निस्कनु अघि ढङ्ग पु¥याएर आफुलाई सिंगारे । मनले धक्का दिईरह्यो । ईश्र्या बोकेका दिमागका तन्तुहरु प्रतिष्पर्धामा उत्रिन लागे झैं सगबगाए । ‘डियोर’को परफ्युम छर्किएर रेष्टुरेण्ट जान गाडी लिन लागे पार्किङ्गतिर ।

क्याण्डिल लाईटले सजाएका टेबलहरु । निम्तालुहरुको भीडमा सिङ्गो विश्व भेटे मैले । धेरैको जीवनस्तर माथि उठ्नु कति खुशीको कुरो ! मन फुरुङ्ग भो । प्रथम विश्वका भनिने गोरा छालाहरुसँग कुममा कुम जोडेर वाईनका घुट लिईरहेकाहरुलाई देखेर तेश्रो विश्वका हामी भन्ने बिर्सिएँ ।

“ह्याप्पी बर्थ डे टु यू .......ह्याप्पी बर्थ डे टु यू सरस्वतीे.....!” स्वरलहरीमा तालीको गड्गडाहट ! सरस्वतीले केक काटेर बाँडिन् । कालो ‘हल्टर नेक’मा क्रिम कलरको स्कर्ट, ठुला–ठूला ईयरीङ्ग, चम्किलो लिप ग्लस......! आफ्नो गेटअप हेरे पुरातनवादी मान्यतालाई गजबले जोगाईरहेको भान भो । उनले मारेको फड्को र मेरो मनभित्र रोपिएको ईष्र्या दाँजेर हेर्दा आफ्नै छाँयामा कुहिरोको कागको बिम्ब देख्न थाले म ।

“चियर्स....!” सरस्वतीले ग्लास जोडिन् । तिनको वाईन र मेरो कोकका ग्लासहरु आ–आफ्नै बोली बोलिरहे ।

तिनका हरेक पलहरुले मलाई ‘च्यालेन्ज’ गरेको भारी अनूभूति लिएर पार्टीभर बसिरहें । तिनको कपल डान्स पनि देखें । डान्स पार्टनर लोग्ने नै चाहिन्छ भन्ने रहेनछ । प्रस्ट भो । भुतलाई बिर्सेर वर्तमानमा बाँच्नु शायद तिनको आशय हो त ? मनमा अनेक कुराहरु खेलिरहे । तिनको परिवर्तित स्वरुपले मलाई गिज्याए झैं
लाग्यो ।

“यहाँ बसिरहनु उचित छैन ।” मेरो मन बोल्यो ।

“थ्यांक्स फर द पार्टी ।” सरस्वती र बिशेश्वरसँग बिदा भएर निस्किएँ म । रातको दश बजे दिनभरको चटारो खेपेर सुस्ताउन लागेको सडकमाथि शान्त म गुडिरहे । कैयांैहरु रात भोगिरहेका, धेरैहरु रातमा दिन भोगिरहेका बर्षौ पछि देखें फेरी । तैपनि माथिको गजधम्म आकाश उस्तै थियो ।

नपिए पनि पार्टीको ‘ह्याङ्गओभर’ लिएर आईपुगें । एक्सप्रेसोले कप भरें । आँखामा निद्राका तरेली परेनन् । रातको एक बजायो घडीले । पर्दा सारेर भ्यालबाट चिहाउँदा छिप्पिएको अँध्यारो पोतिएको थियो बाहिर । तिनका भ्यालहरु बन्द थिए । बन्द भ्यालहरु पट्यारलाग्दा देखिए । उनीहरु अझै आईसकेका रहेनछन् । सरस्वतीले जन्मिनुको सार्थकता आज पक्कै अनुभव गरेकी हुनुपर्छ । म मनमनै कुरा गर्न थालें । मेरा आँखाहरु तिनकातिरै ठोक्किईरहे । शायद म तिनीहरुलाई पर्खिरहेकी थिएँ ।

चर्को हेडलाईट बाल्दै आएको गाडी तल सडकपेटीमा रोकियो ।

“फोल्ड द सिट !” बिशेश्वरको चर्को आवाज मेरा कानै सम्म आईपुग्यो । गाडीभित्रबाट म्याक्स निस्कियो । बिशेश्वरले घरको ईन्ट्री कोड थिचेर ढोका खुल्ला ग¥यो । दुवैले गाडीभित्रबाट सरस्वतीलाई घिसार्दै बाहिर निकाले ।

“टु मच अल्कोहल !” म्याक्स बोल्यो ।

“एस ईट्स टु मच !” बिशेश्वरले सही थप्यो ।

मुश्किलले तिनीहरुले सरस्वतीलाई कोठासम्म पु¥याए । यी सबै दृष्य मैले नियालिरहें । बिहान हुन अझै केही घण्टा बाँकी थियो । तर मेरो मनमा भने घाम झुल्किसकेको थियो । मेरो दैनिकीको अन्त्यसम्म पनि हरपल खुल्ने तिनका भ्यालहरु भोलिपल्ट पनि बन्द थिए ।

ब्रसेल्स, बेल्जियम

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 8 मङ्गसीर, 2067

लेखकका अन्य रचनाहरु