नेपथ्य

- प्रवीण राई जुमेली

“हन यो कस्तो पर्दा लाग्यो हाम्रो सामुन्ने?” बुडोले अचम्भ मान्दै सोध्यो।

“अब बिस्तारै हामी नेपथ्यका पात्रहरुमा परिणत हुँदै जाँदैछौं बुडा!” अर्कोले भन्यो र फेरि थप्यो, “मञ्चमा हाम्रो खेलको समय सकियो। अब यहाँ खेल्नेहरु नयाँ पात्रहरु हुनेछन्, बुझ्यौ?”

“अनि के हाम्रो स्मृति र गीतहरु पनि त्यो पर्दाले छोपिदिनेछ त?” पहिलोको प्रश्नसितै छोपिँदै गएका पात्रहरु हल्लाको झिझोमा भुलिँदै गइरहेका थिए।

“कति मायालाग्दो नी हामीहरु यसरी छोपिनु?” कसैले भन्दैथ्यो।

“त्यसरी हामी मात्र कहाँ छोपिन्छौं र? हामीद्वारा संरक्षित यो बनपाखा, मुरलीको धून र चराहरुका लोकगीतहरु पनि त छोपिएर जाने नै हुन् नी, बुडा!” दोस्रोको स्वर बज्दैहुन्छ।

“नयाँ हुद्दाको त भाषा पनि आफ्नै होला नी?” फेरि प्रश्न, अनि थपनी पनि, “कस्तो स्वरुप पाउला यो हाम्रो गाँउले?”

“के तिनीहरुले नेपथ्यको हाम्रो अस्तित्वलाई पनि सम्झना गर्लान् त?” गजमौरोमा अर्को प्रश्न फेरि।

उत्तर आएन। त्यसपछि भने पर्दाले उनीहरुलाई छोपिहाल्यो।

अघिल्तिर नयाँ मञ्च तयार भइसकेथ्यो। फेरि नयाँ पात्रहरु नयाँ खेलहरुसित पदार्पित भइसकेका थिए। कसैको हातमा बनपाखाको एकान्तको लाश थियो त कसैको हातमा धर्मग्रन्थका च्यातिएका पन्नाहरु थिए। नेपथ्यबाट रोएका स्वरहरु आइरहेका थिए।

समयले मात्र जान्दथ्यो, उनीहरुको लागि पनि एउटा भावी नेपथ्य प्रतीक्षारत थियो॥

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 3 मङ्गसीर, 2067

लेखकका अन्य रचनाहरु