उत्कण्ठा

- किशोर पहाडी

अन्ततः मैले त्यो मोटरसाइकल बेच्ने नै निर्णय गरेँ ।
आठ महिनाअघि छोराले ज्यादै कर गरेर उसकै लागि किनिदिएको थिएँ । आफ्नो बाइसवर्षे छोरोले कहिले, कतिखेर, कसरी लाइसेन्स लिएको थियो— मैले पत्तो नै पाइनँ । कार्यालयबाट स्वेच्छिक अवकाश लिएर मसँग पैसा भएको थाहा पाएपछि एक दिन ऊ मेरो अगाडि उभिन आयो र भन्यो— “बाबा ! मलाई एउटा मोटरसाइकल किनिदिनोस् न ।”
त्यसले मोटरसाइकल चढ्न जानेको छ भन्ने मलाई थाहा थिएन । कति पारङ्गत छ— त्यो पनि थाहा थिएन । फेरि आफ्नो जिन्दगीको उत्तरार्धमा कार्यालयले दिएको सञ्चित रकम यसरी तारनतुरसँग मोटरसाइकल भन्ने भाँडोमा खन्याउन पनि मन लागेन ।“
किन चाहियो मोटरसाइकल ?” मैले आँखा तर्दै भनेँ ।
“चाहियो नि । यसो यताउति जान काम लाग्छ ।” उसले मलाई किन्नुको उद्देश्य व्यक्त ग¥यो ।
“पर्दैन पर्दैन । कस्तो एक्सिडेन्ट भइरा’छ मोटरसाइकल ।” मलाई थाहा थियो— एकदुई लाख नभई मोटरसाइकल आउँदैन र त्यति खर्च गर्न मलाई मन थिएन । आपूmले जिन्दगीमा चढ्न जानिएन । यो मूलालाई चाहिँ... । आ... ।
त्यो दिन त छोरो अर्कै कोठामा गयो तर पछि फेरि हरेक दिन मागचाहिँ आउन नै थाल्यो । कतिसम्म भने त्यसको अगाडि पर्न पनि मलाई नमज्जा लाग्न थाल्यो ।
एक्लो छोरोले धेरै नै कराएपछि, अनि श्रीमतीज्यूको पनि तारन्तार दबाबपछि मैले यामाहा हो कि कावासाकी के जाति हो एउटा नयाँ मोडेलको मोटरसाइकल किनिदिएँ । छोरो मोटरसाइकल पाएर दङ्ग भयो र त्यसपछि त्यो घरबाट बाहिरै रहन थाल्यो । जुन काम अराए पनि मोटरसाइकल लिएर हुइँकिहाल्थ्यो ।
एक महिनाजति पछि छोरोलाई एउटा कार्यालयमा जागिर मिल्यो । महिनाको तेह्र हजार जति तलब आउने तर नवलपरासी जिल्ला जानुपर्ने ।
त्यो नवलपरासी गएपछि यता मलाई मोटरसाइकल–चाहिँ अनावश्यक घाँडोजस्तो पो भयो । आपूm चढूँ भने चढ्न आउँदैनथ्यो । थन्क्याएर राख्दा पनि एक लाख साठी हजार थन्किने भयो ।
एक दिन श्रीमतीज्यूले भनिन्— “मोटरसाइकल त्यस्सै थन्क्याएर के राख्ने ?”
“अनि के गर्ने त ?” मैले भनेँ— “म चढूँ भने पनि त चढ्न आउँदैन ।”
श्रीमतीले मनको कुरा खोलिन्— “बरु त्यसो भए सिद्धार्थलाई चढ्न दिउँ न त ।”
सिद्धार्थ भनेको उसको भाइ अर्थात् मेरो सालो । मैले ‘हुन्न’ भनेर सीधै भन्न पनि सकिनँ । भनेँ— “किन ? उसले भन्दै थियो र ?”
“अँ । त्यस्सै घरमा राख्नुभन्दा म चढ्छु नि भन्दैथ्यो ।”
र, त्यसपछि त्यो मोटरसाइलक मेरो सालो सिद्धार्थले चढ्न थाल्यो । सिद्धार्थ त्यो मोटरसाइकल लिएर कति हुइँकन्थ्यो— उसैलाई थाहा होला । मलाईचाहिँ भए नभएको एक लाख साठी हजारको यस्तो दुर्दशा भएकोमा चिन्ता लागिरहेको थियो ।
नवलपरासीबाट कहिलेकाहीँ काठमाडौँ आउँदा छोरोले पनि चढ्थ्यो तर ऊ कार्यालयबाट काठमाडौँ त्यति धेरै आउन पनि पाउँदैनथ्यो ।
एक दिन अचानक नवलपरासीबाट छोरोको फोन आयो— “बाबा ! अफिसले अर्को हप्तादेखि मलाई त पाँचथर पो खटाइदियो ।”
“लौ, किन त ?”
“खोइ, त्यता नयाँ प्रोजेक्ट सुरु हुन लाग्या रहेछ ।” उसको स्वरबाट उसलाई पनि त्यति टाढा जान मन थिएन जस्तो लाग्यो । छोरोले अझ भन्यो— “तर तलब बढाइदिएको छ— सोह्र हजार तीन सय रे !”
“त्यसो भए तेरो यो मोटरसाइकल के गर्ने त ?”
“खोइ के गर्ने भन्ने ?” छोरो असमञ्जसमा प¥यो ।
“बेच्ने हो कि क्या हो ?” मैले भनेँ— “कम्पनीले नै किन्दाखेरि पछि बेच्न ल्यायो भने तीस हजार रुपैयाँ घटाएर किनिदिन्छौँ भन्थ्यो नि त ।”
“अँ, त्यो त हो ।”
“कम्पनीमै लगेर बेचौँ त्यसो भए ।” मैले अन्तिम निर्णय गरेँ ।
छोरो नवलपरासीबाटै पाँचथरतिर गयो । उता उसलाई मजै रहेछ । अफिसकै मोटरसाइकल भेट्टायो उसले र त्यसमै चढेर रहर पूरा गर्दै थियो । त्यहाँ ऊ त्यो मोटरसाइकल चढेर गाउँगाउँ जान पर्ने रहेछ ।
यसरी अन्ततः मैले त्यो मोटरसाइकल बेच्ने नै निर्णय गरेँ ।
सिद्धार्थलाई लिएर म त्यो मोटरसाइकल कम्पनीमा गएँ र त्यहाँको काउन्टरमा गएर पहिले उनीहरूले भनेको कुरा सम्झाएँ— “तपाईंहरूले बेच्न ल्याउँदा तीस हजार कम गरेर किनिदिन्छु भन्नुभएको थियो नि !”
“होइन । कसले भन्छ यस्तो कुरा ? यसरी बेचेका मोटरसाइकल पनि किनेर साध्य हुन्छ र ?” काउन्टरमा बसेकी सुन्दरीले व्यापारिक मुस्कान छाड्दै भनिन् ।
उनको कुराले म छक्क परेँ । बिक्रीको बेलामा नानाभाँतिसँग लोभ्याउँदै बेचेकोमा अहिले खरिद गर्ने बेला त पहिले भनेका कुरा नै होइन पो भन्दी रहिछ । क्या फसेँ त म बेकारमा । अब कहाँ लगेर बेच्ने ?
मैले सिद्धार्थको अनुहार हेरेँ । सिद्धार्थले मेरो । सायद सिद्धार्थ त सोच्दैथ्यो— नबेचे पनि हुने । मजाले चढ्न पाइयाथ्यो ।
मैले बिक्रेता महिलालाई भनेँ— “त्यसो भए के गर्ने त ? पहिले बेच्ने बेलामा त तपाईंहरूले त्यस्तै भन्नुभएको थियो अहिले होइन भन्नुहुन्छ ।”
“खोइ कसले भनेको थियो मलाई त थाहा छैन ।” महिलाले ओठ लेब्य्राइन् । मैले त्यो ओठ हेरिराखेँ ।
हाम्रो कुरा भएको काउन्टर नजिकै दुई व्यक्तिहरू थिए । त्योमध्ये अलि मोटो खालकोलेभन्यो— “खोइ तपाईंको मोटरसाइकल हेरूँ त ।”
मोटरसाइकल बाहिर पार्किङ गरिएको थियो । म र सिद्धार्थ दुवै गएर देखाउन लाग्यौँ ।
त्यो मोटेले मोटरसाइकललाई चारैतिरबाट हे¥यो । यसो माइलमिटरतिर पनि आँखा लगायो र भन्यो— “त्यति चढ्नु भा’त होइन रहेछ ।”
“त्यही त भनेको ।” म अब त्यो मोटेतिर उत्सुक भएँ ।
मोटेले सोध्यो— “तपाईंले कतिमा बेच्न लाग्नुभएको ? लौ म किन्छु ।”
म मोटेप्रति झन् उत्सुक भएँ— “कम्पनीले मोलभन्दा तीस हजार कममा किनिदिन्छु भन्थ्यो । त्यतिमै बेच्न लागेको हो ।”
यसरी कुरा गर्दा सिद्धार्थ कहिले मतिर हेथ्र्यो, कहिले मोटेतिर ।
अब हामीबीच मोलमोलाइ सुरु भयो ।
मोटे भन्थ्यो— “तीस होइन, अठतीस हजार कम गरिदिनुभयो भने म किनिदिन्छु ।”
म भन्थेँ— “ए त्यो त धेरै भयो नि । बत्तीस हजार कम गरिदिउँला ल ।”
अन्तमा, एक लाख पच्चीस हजारमा मोटरसाइकल त्यो मोटेले किन्ने भयो । बीस हजार उसले बैना दियो र अरू पास गर्ने बेलामा दिने भनेर मोटरसाइकल लग्यो ।
छोरोलाई खबर गरेँ । छोरो पाँचथरबाट तेस्रो दिन नै काठमाडौँ आइपुग्यो । मोटेलाई मोबाइलबाट फोन गरेँ र चौथो दिन मोटरसाइकलको नामसारी भयो ।
राम्ररी चढ्न नपाएको त्यो मोटरसाइकल मन मारेर भए पनि म त्यति कम मूल्यमा बेच्न राजी भएको थिएँ ।
कम मूल्यमा बेच्न परेकोमा साह्रै दुःखित थिएँ तर पछि थाहा भयो— मभन्दा पनि दुःखी मेरो सालो सिद्धार्थ पो रहेछ ।
करिब एक हप्ताजति पछि सिद्धार्थले कुरैकुरामा मलाई सोध्यो— “भिनाज्यू ! अर्को मोटरसाइकल अब कहिले किन्नुहुन्छ तपाईं ?”
* *
गरिमा, असोज २०६७

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 30 कार्तिक, 2067

लेखकका अन्य रचनाहरु