नकच्चरो

- शेषराज भट्टराई

नकच्चरो छुद्र गोत्रको प्राणी हो । असन्तोष, घमण्ड र लिँडे ढिपी यसका प्रमुख विशेषता हुन् । यसको पूर्णकदलाई अन्न पानीले धानेको हुन्छ । आफूलाई अब्बल दर्जाको ठान्ने यो प्राणी चतुर र चलाख हुँ भन्ने अहंताको तरेलीमा पिङ खेलिरहेको हुन्छ । यसको जुनी यसै गरी बित्छ ।

नकच्चरो खाने कुराको साथै लाज पचाउने क्षमता पनि प्रचुर मात्रामा भएको भनेर दुनियाँले मानेको प्र्राणी हो । नकच्चराको पखेटा हुँदैन, तर सर्बत्र विचरण गर्नसक्छ । नियम कानून भन्ने कुरालाई नकच्चराले जता पनि बंग्याउन वा नङ्ग्याउन सक्छ । समाज, संस्कार र संस्कृतलाई खोकिलामा राखेर आफ्नो हुँकारबाट अरूलाई पाखा लगाउन तम्सिन्छ । आफूले चाहेको पुगे बहादुरी ठान्ने र पछाडिबाट ढुङ्गाले हान्ने यसको प्रमुख चतु¥याइँ हो । पृथ्वीका सबै प्राणीले आफ्नो स्तुतिगान र मान गरून् भन्ने यसको माग हुन्छ । नकच्चराका सन्तान दर सन्तान वा शाखा सन्तान निकृष्ट स्वभावका हुन्छन् । किनकि यिनको गुरु नै नकच्चरो हुन्छ । सरल रोचक स्वभाव भएका स्वावलम्बी प्राणीहरूलाई दिउँसो, राती जुनै प्रहरमा पनि अक्करमा पारेर ठक्कर दिनु, कुटु कुटु कुटु, कच कच कच झिज्याएर मनमस्तिष्क टोकी राख्न रुचाउने नकच्चराको आहारा भनेकै आफन्त, समाज, निकटस्थ र सरल स्वभावका छिमेकीहरू हुन् ।

छिमेकी, समाज र आफन्त रोए नकच्चरो हाँस्छ । छिमेकी, आफन्त हाँसे, आराम गरे नकच्चरो रुन्छ र बेचयन भएर नैराश्यको अन्तिम टुंगामा पुग्छ । अर्काको पीडामा यो खुल्छ । कसैको आराम र आनन्दमा यसलाई औडाहा हुन्छ । त्यसैले छक्का पन्जाको कौढा फ्याँकेर दुनियाँलाई चित पार्नु यसको अर्को विशेषता हो ।

सोझा सन्त साधु र आफन्तको कन्सिरी तताउनुमा नै आफ्नो विजय ठान्ने नकच्चरो हनुमानले झैं पुच्छरले लङ्का जलाउनु परे पनि पछि हट्दैन । कसले के भन्ला, के ठान्ला भन्ने लाज पनि पचाइसकेको हुन्छ । त्यसैले भनिन्छ “एक लज्जां परित्यज्य त्रैलोक्य विजयी भवेत्”।

नकच्चरो जुनसुकै देशमा पनि पाइन्छ । ठूला सभ्य र विकसित देशहरूमा पनि नकच्चराको विविध रूप बहुरूपी प्रतिभा देख्न भोग्न पाइन्छ । राजनीतिक नकच्चरा, धार्मिक नकच्चरा, आर्थिक नकच्चरा, साहित्यिक नकच्चरा आय, व्यय आउँदा जाँदा हरप्रकारका नकच्चराले शिर उठाइरहेका हुन्छन् । अल्प विकसित वा विकासोन्मुख देशको अर्थतन्त्रको प्रभाव नकच्चरामा खासै पर्दैन । उसको सोचाइ र भोगाइको धरातल साँगुरो हुने हुनाले रसातलोन्मुख स्थितिमै जीवनका आरोह अवरोहहरू फट्किरहेको हुन्छ । आनन्द मार्गीको गुबामा गबरा बनेर जीवन जिउन रुचाउने नकच्चरो ‘साग र सिस्नु खाएको वेश आनन्दी मनले’ भन्ने महाकबिको कविताको विरोधी नै भने पनि हुन्छ । नकच्चरालाई जँच्ने र पच्ने कविता भैरव अर्यालको

चोरी चाकरी नगरी चतु¥याइँ हुन्न ।
दंगा फसाद नगरे इज्जतै रहन्न ।

नकच्चराको हरेक प्रहर र हर सुसेलीमा गुञ्जिने हरफ हुन् यी । नकच्चराको जीवन जिउने कला उदेक लाग्दो हुन्छ । साँच्चिकै मानवता नरित्तिएका मान्छेहरूले यसको ताण्डव नृत्य पटक्कै मन पराउँदैनन् । तै पनि नकच्चराको छाँया वा मायामा परिसकेपछि बुझेर पनि बुझ पचाउने चेष्टा गर्दै, भित्र तिरस्कार र बाहिर नमस्कार गर्दै जयजयकार गरिन्छ र नकच्चराले फ्याँकेको जालबाट बच्ने ध्याउन्नका साथ काल पर्खिराखेका हुन्छौँ । जहाँ स्वस्थ शरीर भए पनि तनावै तनावको चक्रवात र भूमरीमा दोहोरो सासमात्र फर्नुको केही अर्थ हुँदैन । यस स्थितिमा कि त नकच्चरोतिर फर्किएर धूप बाली राख्नु प¥यो कि चाहिँ नकच्चरोलाई पछि पारेर अघि बढ्नु प¥यो । तपाइँ के गर्नुहुन्छ नकच्चरोतर्फ फर्किएर स्तुति गर्नु हुन्छ कि कुस्ती ? मैले भनेर हुन्छ भने यी दुवै त्याग्नुस् र अन्यत्र लाग्नुस् यसैमा आनन्दमार्गीका दिन घमाइलो र रमाइलो हुनेछ ।

पोखरा

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 26 कार्तिक, 2067

लेखकका अन्य रचनाहरु