अक्षरले जोडिएको नाता

- श्यामदास वैष्णव

मुनामदन छापिएको चार-पाँच वर्ष भएको थियो होला, मैले लक्ष्मीप्रसाद देवकोटाजीलाई पहिलोपल्ट भेट्दा । उहाँ तीस वर्षको हुनुहुन्थ्यो, म भने १४-१५ वर्षको थिएँ । डिल्लीबजार नाटकमण्डलीले उहाँलाई नाटक लेख्न भनेको रहेछ । उहाँले भरत मिलन नाटकको एक अध्याय लेखेर दिनु पनि भएको रहेछ । त्यसलाई सफासँग सारेर म अरू अध्यायका लागि ताकेता गर्न धोबीधारा गएको थिएँ । नाटक सञ्चालकले देवकोटाजी नरम मान्छे छन् भनेका थिए । म पुग्दा उहाँ विद्यार्थीहरूलाई पढाइरहनुभएको थियो । उहाँले पढाउनसकेपछि आफूले सारेको उहाँको नाटक देखाएँ । यसो हेर्नुभयो, अक्षर त साह्रैै राम्रो रहेछ । यस्तो अक्षर लेख्ने मान्छे म खोजिरहेको थिएँ, भन्नुभयो । अनि के खोज्छस् कानो आँखो भनेजस्तो भयो मलाई । म सारिहाल्छु नि भनेँ । मेरो अक्षरको नाताले उहाँसँग घनिष्टता भयो । अक्षरको पनि विशेषता हुँदोरहेछ । त्यसैले उहाँको संगतमा पर्न पाएँ । शाकुन्तल, सुलोचना, महाराणा प्रताप, पृथ्वीराज चौहानजस्ता थुप्रै कृतिहरू मैले साफी गरेको हुँ । देवकोटाजीमा पूर्वीय संस्कार भए पनि उहाँले लेखनमा पश्चिमी शैली ज्यादा अपनाउनुभयो । त्यसो गरेर आफ्नो देशलाई बौद्धिक रापले सिँगार्न लाग्नुभयो । विभिन्न जात र वर्गको उत्थानका लागि पनि उहाँले साहित्य रच्नुभयो । मुनामदनमा भोटको कुरा, म्हेन्दोमा तामाङको कुरा छ । धेरै वर्ग, जातिहरू उहाँका कृतिमा आएका छन् ।

पछि उहाँले नै मलाई भाषाअनुवाद परिषदमा जागिर पनि खुवाउनुभो । २००६ सालसम्म म उहाँको संगतमा परेँ । भाषाअनुवाद परिषदमा धेरै विद्वान, समाजसुधारकहरू भेला हुँदारहेछन् । इतिहास शिरोमणि बाबुराम आचार्य, पूर्णप्रसाद ब्राह्मण, रूद्रराज पाण्डेजस्ता उतिबेलाका नाम कमाएका विद्वानहरू त्यहाँ जम्मा हुन्थे । एककिसिमले जागरणको अखडा बनेको थियो परिषद । नाम भाषाअनुवाद भए पनि काम कृति निर्माणजस्तो भएको थियो । देवकोटाले महाकाव्य लेख्नुभयो, लक्ष्मी निबन्ध संग्रह लेख्नुभयो । बाबुराम आचार्यले इतिहास उतार्नुभयो । गोपालप्रसाद रिमाल पछि आउनुभयो । नाटक लेख्नुभयो । उहाँहरूको संगतले मैले पनि लेखेर देखाउन थालेँ । हामी संवेदनशील छौं भने प्रभावशाली व्यक्तित्वको गुण हामीमा पनि अज्ञात रूपले सर्दोरहेछ । देवकोटा र अरू लेखक विद्वानहरूको संगतले म पनि लेखक बनेँ । नाटक लेखेँ, कविताहरू लेखेँ । र सुधारको चेतले उत्प्रेरित बनेँ ।

२००४ सालमा विशेष साहित्य सम्मेलन भयो । जागृतिका लागि भएको सम्मलेन थियो त्यो । त्यसलगत्तै उहाँले यहाँ बसेरमात्र केही भएन, बाहिर गएर जागरण ल्याउनुपर्छ भनेर सोच्नुभयो क्यारे । उहाँलाई नजिकका अरू केहीले पनि त्यस्तै सल्लाह दिए । बनारस जानुभयो र युगवाणीको सम्पादन गर्नुभयो । तर त्यहाँ उहाँलाई राम्रो संरक्षण हुनसकेन । यहाँ छोराहरूको विजोग भयो, परिवारले दुःख पाए । र उहाँ क्रान्तिअघि नै नेपाल फर्किनुभयो । क्रान्ति सफल भएपछि उहाँले त्यसको श्रेय लिन खोज्नुभएन । उहाँले जागरण ल्याउनमात्र खोज्नुभएको थियो । तर पछि केहीले उहाँको विशेषता देखे र उहाँलाई राजनीतिक सुधारका लागि अघि

सारियो । सल्लाहकार सभामा उहाँलाई लगियो । र शिक्षामन्त्री पनि हुनुभयो । त्यतिबेला उहाँले त्रिभुवन विश्वविद्यालय स्थापनाका लागि ठूलो पहल गर्नुभएको थियो । प्रज्ञा-प्रतिष्ठानको परिकल्पना पनि उहाँकै हो । तत्कालीन राजा महेन्द्रलाई त्यसका लागि मनाउनुभएको उहाँले नै हो । हामीहरू उहाँलाई दरबारको ढोकासम्म छोड्न जान्थ्यौं । तर पछि अरूहरूले राजालाई प्रभाव पारे । हुन त देवकोटा, सम, भवानी भिक्षु, माधव घिमिरे लगायत त्यतिबेलाका नाम चलेका कवि-लेखक प्रज्ञा-प्रतिष्ठानमा पर्नुभयो, तर लेखनाथ पौडेललाई चाहिँ राखिएन । वैदिक दर्शनका प्रतीक पौडेललाई देवकोटा धेरै आदर गर्नुहुन्थ्यो । देवकोटाले नै लेखनाथ पौडेल नभएको प्रतिष्ठानमा म पनि बस्दिन भनेपछि पौडेललाई पछि राखिएको हामीले सुनेका थियौं ।

देवकोटा र बालकृष्ण समलाई लडाउन केही मान्छे लागिपरे । आफूले राम्रो लेखुँ भन्ने सबैलाई लागिहाल्छ । देवकोटाले नाटक लेख्दा रूद्रराज पाण्डेले तिम्रो विशेषता काव्यमा देखिन्छ । बाबुसाहेव -सम) ले नाटकमा जागृति ल्याउनुभा'छ, तिमी भरसक काव्यमै लाग भन्नुभएको थियो । समको सोचाइ र देवकोटाको तन्मयता फरक

छ । सम धेरैपटक साफी गरेर माझेरमात्र कृति तयार गर्नुहुन्थ्यो । देवकोटा भने बाबुसाहेवको जस्तो म माझेर, पुछेर लेख्न सक्दिन भन्न्ुहुन्थ्यो । मलाई दोहोर्‍याउन अल्छी लाग्छ भन्नुहुन्थ्यो । उहाँको भेल बगेको बग्यै हुन्थ्यो । उहाँ लेखेर सरसर्तीचाहिँ हेर्नुहुन्थ्यो । देवकोटा असाधारण व्यक्ति हुनुहुन्थ्यो । त्यसैले अरू साधारण मान्छेले उहाँलाई कुनै बेला पागल भएको पनि भन्ठाने । तर उहाँभित्र कत्रो हुन्डरी चलिरहेको थियो भन्ने कमैले मात्र थाहा पाउँथे । घरका मान्छेले उहाँको स्वास्थ्य ठीक भएन भनेर राँची, हेलम्बुतिर पनि लगे । संसार उहाँभित्र थियो, अनि बाहिरको संसारमात्र देख्ने साधारण मान्छेले उहाँलाई के बुझ्न सक्थे ।

सात सालपछि समजीले मलाई रेडियो नेपालमा लग्नुभएपछि मेरो पहिलेजस्तो सधैं भेट भएन, देवकोटाजीसँग । कहिलेकाहीँ नारायणप्रसाद बास्कोटाकहाँ भेटचाहिँ भइरहन्थ्यो । मन्त्री भएपछि भेट्न गएको थिएँ । खोई कतिन्जेल टिक्ने हो, मन्त्री बनाइदे भन्नुहुन्थ्यो । मन्त्री हुनु अघिसम्म मानिसहरूले उहाँलाई त्यति महत्त्व दिएका थिएनन् । तर त्यसपछि उहाँलाई यत्ति स्वागत-सत्कार गरे कि त्यसैले उहाँको पेट बिगारेर क्यान्सर भयो । उहाँ मासुको असाध्यै सौखिन मान्छे । पहिले दुःखमा परेर त्यति खान पाउनुभएन । मन्त्री भएपछि मान्छेले धेरै स्वागत-सत्कार गरेर जुन आदरले उहाँलाई अवसानतिर अग्रसर गरायो ।

देवकोटाजीको सोख भनेको कहिलेकाहीँ पासा खेल्नुहुन्थ्यो । कहिले गीत गाउनुहुन्थ्यो । तर धेरैजति बेला अक्षरसँगै खेल्नुहुन्थ्यो । दाजुभाइसँग पासा खेल्ने तर उहाँ सधैं हार्ने । एकपल्ट पैसा सबै हारेपछि फाउन्टेन पेनसमेत राख्नुभएको याद छ मलाई । चार सालमा काठमाडौंमा हिउँ परेको थियो । उहाँले मासु खाने रहर गर्नुभएकोले मैले लगिदिएको थिएँ । केही बेर बसेर म फर्केँ । उहाँले रातभरि बसेर तुषार वर्णन भन्ने खन्डकाव्य लेख्नुभएछ, १७६ स्लोकको । त्यस्तो शक्तिशाली मान्छे । उहाँको चुरोटको अम्मलको धेरै कुरा गर्छन्, तर मलाई चुरोटले नै उहाँलाई त्यतिविघ्न रोगी बनायो जस्तो लाग्दैन । खानपानले गर्दा नै उहाँलाई रोग लागेको हुनुपर्छ । फेरि उहाँले संस्कारमुक्त भएर खानपान गर्नुभयो । विदेशतिर जाँदा मदिरातिर पनि जानुभयो होला । विदेशी आतिथ्यलाई नाइ भन्नुभयो होला जस्तो मलाई लाग्दैन । मैले अभक्ष मासु खाएर यस्तो भएको हो कि भनेको छु, सुन्दरप्रसाद शाहसँग । 'संस्कार आफ्नो सबमा गुमाएँ, म शून्यमा शून्यसरि बिलाएँ' भनेर त उहाँ आफैंले भन्नुभएकै छ ।

उहाँले जीवनको उत्तरार्धमा धेरै पीडा पाउनुभयो । क्यान्सर भएको रिपोर्ट उहाँको ईश्र्या गर्नेहरूले घरमै पठाइदिएर उहाँलाई पीडा दिएका थिए भन्ने पनि

सुन्छु । साहित्य सम्मेलनमा रूसमा गएर फर्केपछि 'देवकोटा राजालाई नसोधी दिल्लीबाट पासपोर्ट लिएर गए, कम्युनिष्ट भए' भनेर राजा महेन्द्रलाई कुरा लगाइदिएछन् । प्रज्ञा-प्रतिष्ठानको उहाँको तलब

रोकियो । बालचन्द्र शर्मा उपकुलपति थिए । एकदिन देवकोटाजीले बोलाएर पैसाको साह्रै खाँचो पर्‍यो, केही रचनाहरू छापेर पैसा ल्याइदेऊ भन्नुभयो । मैले सबैलाई देखाउँदै हिडेँ । पछि 'दि कमनर'मा गोपालप्रसाद श्रेष्ठले पैसा त दिन सकिँदैन, रचनाचाहिँ छाप्छौं भनेर अंग्रेजी निबन्ध छापे 'फुड एन्ड सेक्स' भन्ने । देवकोटाको निधन हुनु महिना दिनजति अघिको कुरा होला ।

निधन हुने बेलातिरका दिनहरू निकै कठिन थिए, उहाँका लागि । त्यतिबेला कृष्णचन्द्रसिंह प्रधानले देवकोटाजी यस्तो बेला अब गीतातिर ध्यान दिनुपर्ला भनेका थिए । उहाँले सोध्नुभयो, 'तपाईं कम्युनिष्ट

होइन ?' त्यसपछि प्रधान चुप लागे । लगभग अन्तिम अवस्थामा भएका बेला हरि श्रेष्ठले फोटो खिच्दै महाकविज्यू महावाणी दिनुस् भनेका थिए । त्यतिबेला भन्नुभएको हो- आखिर श्रीकृष्ण रहेछ एक । पूरा चेतनामा नभएका बेला त मान्छेले जे पनि भन्छ, तर उहाँ आजीवन ईश्वर आफैंभित्र छ भन्ने मान्छे । त्यो उहाँको चेतनाले भनेको होइन होला भन्ने लाग्छ ।
(शरद चिरागसँगको कुराकानीमा आधारित)

कान्तिपुरबाट

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 23 कार्तिक, 2067

लेखकका अन्य रचनाहरु